द कन्भरसेसन– ६०
कवि, कथाकार, लेखक हुँदै निर्देशक बनेका उपेन्द्र सुब्बाले पहिलो फिल्म 'जारी' बाटै वाहवाही बटुले।
लिम्बू समुदायको कथामा आधारित यस फिल्मले दर्शक तथा समीक्षक दुवैबाट निकै प्रशंसा बटुल्यो। २०८० वैशाखमा रिलिज भएको फिल्मले नेपालमा १७ करोड रूपैयाँमाथिको व्यापार गर्दै १०१ दिन मनायो।
यसै फिल्मको दोस्रो शृंखला 'जारी २' शुक्रबारदेखि प्रदर्शनको तयारीमा छ। बहुप्रतिक्षीत यस फिल्ममा जारीकै कलाकारहरू; दयाहाङ राई र मिरूना मगर मुख्य अभिनयमा छन्। फिल्म रिलिजको पूर्वसन्ध्यामा निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री मिरूना मगर सेतोपाटी स्टुडिओमा एकअर्कासँग कुराकानी गरेका छन्।
खासमा उपेन्द्रले जारीको कथा आफैले फिल्म बनाउने उद्देश्यले लेखेका थिएनन्। यो कथा उनले साथीका लागि लेखिदिएका थिए।
'साथीहरूले फिल्म बनाएनन्' उपेन्द्रले सम्झिए, 'अनि मैले यसलाई उपन्यास लेख्नुपर्यो भनेर सोचेँ। १४–१५ हजार शब्द लेखेँ पनि।'
त्यस बेला उनले स्क्रिप्ट लेखेबापत थोरबहुत पैसा पनि पाएका थिए। उनको भर्खर कथासंग्रह 'लाटो पहाड' पनि निस्किएको थियो भने कविता संग्रहहरू पनि आइरहेका थिए। साथीहरूले फिल्म बनाउने छाँटकाँट नदेखेपछि उनी जारीको कथामा उपन्यास ल्याउन लागेका थिए।
'उपन्यास लेख्न धेरै नै धैर्य चाहिने रहेछ। हरेक दिन रूटिन जस्तो बनाएर लेख्दा मात्रै सकिँदो रहेछ। म फेरि लेखनमा मुडी खालको मान्छे। मन लाग्दा लेख्ने, मन नलाग्दा नलेख्ने। यसरी चाहिँ उपन्यास नसकिने लाग्यो। त्यसपछि, म फिल्म नै बनाउँछु भनेर लागेँ।'
त्यस बेला फिल्म बनाउने कुरा गर्दा कतिपय साथीहरूले पत्याएनन्। कतिसम्म कि सामाजिक सञ्जालमा व्यंग्यात्मक स्टाटस समेत लेखेको उपेन्द्र सुनाउँछन्। तर उनको दृढ संकल्पले जारीलाई एउटा ऐतिहासिक सफलताको शिखरमा पुर्यायो।
जारीको स्क्रिप्ट उपन्यासकै शैलीमा तयार पारिएकाले हुन सक्छ, अभिनेत्री मिरूना त्यस बेला आफूले स्क्रिप्ट पढ्दा उपन्यास पढेजस्तै महसुस गरेको सम्झिन्छिन्।
उनले भनिन्, 'क्यारेक्टर स्पष्ट, सेटिङदेखि सबै कुरा स्पष्ट थियो। सिंगापुर जाँदा फ्लाइटमा पढेको, अहिले पनि याद आउँछ।'
जारीको छायांकन उपेन्द्रले आफ्नै घर पाँचथरको आङ्साराङमा गरेका थिए। आफ्नै घरमा छायांकन गर्छु भनेर नसोचेका उनी कसरी त्यहाँ पुगे? भिडिओमा त्यस विषयमा समेत कुराकानी गरेका छन्।
अहिले उपेन्द्रको घर 'जारीको घर' भनेर प्रसिद्ध छ। टाढा टाढाबाट समेत मानिसहरू घर हेर्न पुग्छन्।
'जारी २' को सुटिङमा जाँदा पनि ताप्लेजुङ, तेह्रथुमबाट समेत मान्छेहरू आउनुभएको थियो,' मिरूनाले भनिन्।
उपेन्द्रले थपे, 'आउँदा रहेछन् मान्छेहरू। मैले टिकटक, रिल्सहरूमा समेत भिडिओ देखिरहेको हुन्छु।'
जब जारी रिलिज भयो, यसले दर्शकको मन जित्दै व्यापार मात्र गरेन, त्यसपछि सामुदायिक कथावस्तुमा आधारित फिल्महरू बन्ने क्रम समेत बढ्यो।
'मानिसहरूले आफ्नो ठाउँको, आफ्नो संस्कृतिको कथा पर्खिरहनुभएको रहेछ भन्ने लाग्यो,' मिरूनाले भनिन्।
लामो समयदेखि कला क्षेत्रमा रहेका उपेन्द्रलाई राम्रो कुरा, नयाँ कुरा सबैले मन पराउँछन् भन्ने भरोसा थियो। सोही अनुसार उनले जारी बनाएका थिए। तर त्यति ठूलो सफलताको आशा उनलाई थिएन।
उनी भन्छन्, 'उपेन्द्र सुब्बा ठीकठीकै फिल्म बनाउँछ भनून् भन्नेसम्मको आश थियो। यति भएँ भने बाँकी कथा भन्ने अवसर पाउँछु वा, निर्माताहरूले पत्याउँछन् भन्ने थियो। अलि धेरै सफलता पाइयो।'
मिरूना पनि फिल्मलाई दर्शकले रूचाउने विश्वास रहेको तर सोचेभन्दा धेरै राम्रो प्रतिक्रिया पाएको बताउँछिन्।
'ह्याङ्मा पात्र भएर काम गर्दा एकदमै रमाइलो लाग्यो। अहिले पनि काम, वा पहिचानको कुरा आउँदा सुरूमा आउने भनेकै ह्याङ्मा हुन्छ,' उनले भनिन्।
सशक्त कथा लेखिएको भएरै आफूले ह्याङ्मा जस्तो प्रभावशाली पात्रमा काम गर्न पाएको उनले बताइन्।
उपेन्द्रले मिरूनालाई जिज्ञासा पनि राखे — मैले जारी २ चाहिँ के बनाउँछु भन्ने थियो? पात्रलाई कसरी अगाडि बढाउँछु भन्ने थियो?
मिरूनाले भनिन्, 'त्यही कथा कसरी बन्छ होला भन्ने डर थियो। जारी एक हिसाबले पूर्ण थियो। अब के होला त भन्ने थियो, जारी २ को स्क्रिप्ट पढिसक्दा ढुक्क भएँ। एकदमै रमाइलो लागेको छ।'
जारीमा नयाँ कथा, परिवेश, पात्र थिए। जारी २ मा जारीकै पात्र छन्। यस्तोमा दर्शकले के रूचिले हेर्ने भन्ने पनि हुन्छ।
उपेन्द्रका अनुसार फिल्मको सिक्वेलमा पात्र निर्माण गर्नु नपर्ने सहजता हुन्छ। त्यसको इतिहास खोतल्न पर्दैन, मनोविज्ञान केलाउन पर्दैन। तर चुनौती अझ धेरै हुन्छ। किनभने, दर्शकमा ठूलो अपेक्षा हुन्छ। पहिलोभन्दा राम्रो बनाउनुपर्ने दायित्व पनि हुन्छ।
'जारी २ः सङ अफ च्याब्रुङ' नामबारे धेरैको जिज्ञासा छ।
यसबारे उपेन्द्र भन्छन्, 'सङ अफ च्याब्रुङ भन्दा कतिपयले यो च्याब्रुङको कथा बुझ्न सक्नुहुन्छ। यो च्याब्रुङको कथा होइन, च्याब्रुङेको कथा हो।'
फिल्ममा सांस्कृतिक पहिचानको विम्बको रूपमा लिम्बू समुदायका मानिसहरूको परम्परागत र मौलिक बाजा च्याब्रुङ राखिएको उनी बताउँछन्। फिल्ममार्फत च्याब्रुङलाई राम्ररी चिनाएको पनि उनले बताए।
जारी २ को टिजर, ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ। केही दिनअघिदेखि नै फिल्मको बुकिङ खुलिसकेको छ।
उपेन्द्रले बुकिङको सन्दर्भमा जारीको क्षण सम्झिँदै भने, 'अलि अगाडिसम्म त नर्मल लागेको थियो। बुकिङ यसरी हुन थाल्यो कि, हामी त आत्तिएको। डर लाग्यो। ला, मानिसले आश राखे। मलाई मात्र राम्रो लागेर भएन, दर्शकले के भन्ने हुन् भनेर कत्ति आत्तिएको थिएँ।'
जारी २ को अग्रिम टिकट बिक्री पनि उत्साहजनक छ। दर्शकले फिल्म रूचाउने विश्वास पनि उनीहरूको छ। तर व्यवसायको दबाब भने नलिने उनीहरूले सुनाए।
यो कुराकानीमा उपेन्द्र र मिरूना दुवैले समुदायका कथा फिल्ममा आउन किन आवश्यक छ भन्ने समेत कुरा गरेका छन्।
हेर्नुहोस् उनीहरूको कुराकानी भिडिओमा-