गुड फ्राइडे सिनेमा
दोस्रो विश्वयुद्धमा हार बेहोरेपछि इटालीले युद्धको शोक, गरिबी र त्यसले सिर्जेको बेरोजगारीसँग जुध्नुपरेको थियो। युद्धपछिको समयमा इटालीका धेरै सिर्जनशील सिनेकर्मीले यही अवस्थालाई फिल्मको विषय बनाए।
यही क्रममा नवयथार्थवादी इटालियन फिल्महरू जन्मिए। नवयथार्थवादी धारका केही खास विशेषता थिए, जसकारण इटालियन फिल्मले संसारभरका दर्शक कमाउन सफल भयो। समीक्षकहरूको नजरमा पनि उत्तिकै योग्य ठहरियो।
विश्व सिनेमामा इटालीको अलग शैली र त्यसकै जगमा बनेको पृथक पहिचान छ। अस्कार, कान र अन्य ठूला मानिने महोत्सवहरूमा इटालियन फिल्मकर्मीको दबदबाले पनि यो कुरा पुष्टि गर्छ। संसारभरका समानान्तर फिल्ममा धेरथोर इटालीको नवयथार्थवादी धारको प्रभाव पाइन्छ।
कथाले मात्रै फिल्म राम्रो बन्दैन। फिल्म कुन सन्दर्भमा कसरी बनाइएको छ भन्नेले पनि उत्तिकै अर्थ राख्छ। फिल्मलाई सार्थक रूपमा समाजको प्रतिविम्ब बनाउन त्यस चरणका निर्देशक कृत्रिम सेटबाहिर निस्केर आमजीवनको नजिक पुगे। गैरव्यावसायिक कलाकारलाई नै पर्दामा उतार्न थाले।
प्रकाश र ध्वनिमा पनि प्राकृतिक पक्षलाई जोड दिन थालियो। पर्दामा देखिने कुरा अब टाढाको कल्पना नभएर दैनिक जीवनकै हिस्सासरह नजिक महसुस हुन थाल्यो।
यस्तै एउटा फिल्म हो 'ला स्त्राडा'।
यो यात्रा गर्दै सर्कस देखाउँदै मान्छेलाई मनोरञ्जन दिई गुजारा चलाउने मान्छे मान्छेहरूको कथा हो।
अरूलाई रमाइलो गराउने उनीहरूको आफ्नै जीवन भने सर्कस जत्तिको रमाइलो छैन।
शारीरिक रूपमा बलियो जाम्पानो सडकमा छाती फुलाएर फलामको सिक्री तोड्ने कला प्रदर्शन गर्छन्।
उनले आफ्ना सहयोगीका रूपमा एक जना विधवाकी छोरी गेल्सोम्नियालाई किनेर ल्याउँछन्। स्वभावले कठोर जाम्पानोको सहयोगी भने व्यावहारिक र मानसिक दुवै हिसाबले निर्दोष छन्। तर यो काममा रूचि भएकी उनी जाम्पानोको गाली र पिटाइ सहेरै पनि ट्रम्पेट बजाउन सिक्छिन्।
आफ्नो कुरा अभिव्यक्त गर्न नपाई जाम्पानोको निर्देशनमा चल्नुपर्दा उनले धेरै संघर्ष गर्नुपर्छ।
तर उनीसँग यसको विकल्प छैन। जाम्पानोको सर्कसमा एक जना मूर्ख पात्रको प्रवेश हुन्छ। उनी गेल्सोम्नियाप्रति आकर्षित हुन्छन्। मूर्ख पात्रको प्रवेशसँगै कथामा नयाँ द्वन्द्व थपिन्छ।
मूर्ख पात्र क्रुर होलान्, कि नम्र? त्यो द्वन्द्व कस्तो होला? थाहा पाउन फिल्म 'ला स्त्राडा' हेर्नुहोला।
निर्देशक फेदेरिको फेलिनीको यो फिल्मले मुख्य पात्रमार्फत मान्छेको क्रुर र निर्दोष स्वभावलाई सशक्त रूपमा चित्रण गरेको छ।
फेलिनी इटालीका सफल र प्रभावशाली निर्देशक हुन्। ला स्त्राडा अस्करमा विदेशी भाषाको उत्कृष्ट फिल्मको पुरस्कार जित्ने इटालीकै पहिलो फिल्म बनेर इतिहास रच्न सफल सिनेमा हो।
युट्युबमा हेर्नुस् ला स्त्राडा अंग्रेजी सबटाइटलसहित