काठमाडौंमा जन्मे–हुर्केकी ओशिन कार्की फुर्सदका बेला घरमा गुनगुनाएर बस्थिन्। गीतसंगीतमा झुकाव भएकाले गितार बजाउन पनि सिक्दै थिइन्।
एकदिनको कुरा- जाजरकोटमा रहेका उनका आर्मी बुवा केहीदिन बिदा लिएर घर आएका थिए। त्यहीबेला ओशिनले एलिमेन्ट्स ब्यान्डको एउटा गीत गितार बजाउँदै गाइरहेकी थिइन्। पछाडि बसिरहेका बुवाले मोबाइलमा भिडिओ कैद गरेका रहेछन्।
'भोलिपल्ट बाबाको जाजरकोटको फ्लाइट थियो। मैले भर्खरै गितार सिकेकी थिएँ, एलिमेन्ट्सको बिर्सिने हो कि गीत गुनगुनाएकी थिएँ,' त्यो पल सम्झँदै ओशिनले भनिन्, 'ममी र बाबा पछाडि बसेर सुनिरहेको बेला भिडिओ खिच्नुभएछ।'
आफूले अनायासमै गाएको गीत नराम्रो हुँदा किन रेकर्ड गर्नुभएको भनेर उनले बुवालाई सोधिन्। बुवाले जाजरकोटमा गएर साथीहरूलाई सुनाउँछु भन्ने जबाफ दिए।
ओशिनको मन फुरूंग भयो। त्यसपछि स्वर राम्रो छ कि भन्ने उनलाई लाग्यो।
'त्यही घटनाले म गाउन प्रेरित भएँ,' उनले भनिन्, 'बाबालाई मनपर्छ भने किन प्रयास नगर्ने भन्ने लागेपछि कभर गीतहरू गाउन थालेँ।'
ओशिनले स्कुल पढ्दाको एउटा रोचक घटना सुनाइन्।
उनले कक्षा चारमा पढ्दा पहिलोपटक गायन प्रतियोगितामा भाग लिएकी थिइन्। त्यसबेला उनलाई सुरतालमा गाउन सक्छिन् भनेर गुरूले भनेका थिए।
'म्युजिक पिरियडमा नोट हान्न सक्छु भन्ने भएता पनि एक्लै स्टेजमा गएर गाउन सक्छु भन्ने थिएन,' उनले भनिन्, 'तर प्रयास गरेर त्योबेला आस्था राउतको 'चौबन्दीमा' गाएँ। तर त्यतिबेला म केही पनि भइनँ।'
जब कक्षा ८ मा पढ्दा प्रतियोगितामा भाग लिइन्, उनै प्रथम भइन्।
'प्रथम भएपछि म्युजिक टिचरले त्यसपछिका प्रतियोगितामा भाग लिनै दिनुभएन,' उनले हाँस्दै भनिन्, 'उहाँले 'तिमी फेरि आयो भने अनफेयर हुन्छ' भन्ने कुरा गर्नुभयो। अनि म चुप लागेँ।'
पहिलेदेखि नै ओशिन कभर गीतहरू गाउँथिन्। आफूले गाएको कभर गीतहरू इन्स्टाग्राममा राख्थिन्। त्यहाँ उनलाई धेरैले रूचाए। लगत्तै उनले कक्षा ९ पढ्दा आफ्नै युट्युब च्यानल खोलिन्। त्यहाँ पनि उनले कभर गीतहरू हालिन्। गायक याबेश थापाको 'गाजलु' भन्ने कभर गीतले उनलाई झनै चर्चामा ल्याइदिएको उनी बताउँछिन्।
'गाजलुको कभरले मिलियन भ्युज पाएपछि मलाई पनि मानिसहरूले सुन्दा रहेछन् भन्ने लाग्यो,' उनले भनिन्, 'त्यतिबेला मैले पनि आफ्नै ओरिजिनल गीत निकाल्नुपर्छ भन्ने लागेको थियो।'
स्कुलका साथीहरूले ओशिनकै अगाडि उनैले गाएको कभर गीतहरू सुन्थे। तर त्यो ओशिनले गाएको भनेर उनको तीनजना मिल्ने साथीलाई बाहेक कसैलाई थाहा थिएन।
'नयाँ गीत राखेपछि उनीहरूले यो कभर एक लाखले हेर्छन् भन्दै हौसला दिन्थे,' उनले भनिन्, 'तर मेरो स्वर हो भनेर थाहा नपाएरै मेरो कभर सुन्ने साथी र अन्य स्रोता तथा दर्शकको राम्रो कमेन्ट र कभर गीतमा आएका भ्युजले मैले पनि राम्रो गर्ने रहेछु र यसमा भविष्य छ भनेर प्रोत्साहित भएँ।'
ममीले पनि पहिल्यैदेखि प्रोत्साहित गर्ने गरेको उनले बताइन्।
कोरोनाका कारण लकडाउनको बेला उनको भेट गायक याबेश थापा र क्लासिक्स प्रेसेन्टेसन (एक म्युजिक कम्पनी) का म्यानेजर ज्योति श्रेष्ठसँग भयो। याबेशले ओशिनलाई क्लासिक्समा राख्नुपर्छ भन्ने कुरा गरेपछि ओशिन त्यहाँ जोडिइन्। सिक्ने ठाउँ पाएपछि उनले आफ्नै गीतहरू बनाउन थालिन्। गीतहरू लेख्न थालिन्।
पहिलोपटक 'अंगाल्ने' गीतले नै मिलियन भ्युज पायो। राम्रो गीतहरू निकाल्न उनी झनै हौसिइन्।
'त्यसपछि 'रहर' भन्ने गीत निकालेको थिएँ। जुन अहिलेसम्म सर्वाधिक हेरिएको गीत हो,' उनले भनिन्।
यसो त उनको परिवारमा बुवा गायनमा रूचि राख्छन्। घरमा जमघट हुँदा बुवाको साथी राम कार्की आउने गर्थे। गीत गाएको देखेपछि ओशिनलाई ती बुवाका साथीले गीतसंगीतमा यस्तो हुन्छ भनेर सिकाउने गरेको उनी सुनाउँछिन्।
'राम अंकल वर्षमा ३-४ पटक मात्र आउनुहुन्थ्यो,' त्यतिबेलाको माहोल सम्झँदै उनले भनिन्, 'उहाँलाई पनि गीतसंगीतमा एकदमै रूचि थियो। अंकल आउँदा सधैं एक्स्ट्रा स्ट्रिङ बोक्नुपर्थ्यो। उहाँ र बाबाले गर्दा पनि गीतसंगीत क्षेत्रमा लगाव बढेको होला। अझ उहाँको त आफ्नै स्टुडियो पनि थियो।'
ओशिन म्युजिक र पढाइलाई सँगसँगै लैजाने बताउँछिन्।
'अहिलेसम्म भविष्य म्युजिकमै देखिराछु। जुन दिन देख्दिनँ, त्यही बेला सोच्छु,' स्नातक पढिरहेकी १८ वर्षीया ओशिनले भनिन्, 'गीत संगीतको क्षेत्रका कुन बेला के हुन्छ भन्ने कसैलाई थाहा हुँदैन। मैले अंगाल्ने छु र रहर बनाउँदा चल्छ भन्ने सोचेकै थिइनँ। तर गर्दै जाँदा आफैं बाटो खुल्ने रहेछ।'