आजले हिजो बिर्सिए झैं
बिर्सिने हौ कि...।
आफूलाई समकालीन रक ब्यान्ड भन्न रूचाउने 'एलिमेन्ट्स' को गीत हो यो। जसलाई युट्युबमा पाँच करोड ८० लाखभन्दा बढीपटक सुनिएको, हेरिएको छ।
यो गीत रिलिज हुनेबित्तिकै श्रोताको जिब्रोमा झुन्डिएको होइन। त्यो बेला औसत प्रतिक्रिया पाएको थियो। पछि सन् २०१८ मा टुबोर्ग ओपन सेसनमा सार्वजनिक भएपछि गीतको चर्चा बिस्तारै–बिस्तारै चुलिँदै गएको हो।
ब्यान्डका संस्थापक तथा गायक इशानराज वन्तले भने, 'त्यसअघि धेरैवटा गीत रिलिज भइसकेका थिए। त्यसमध्ये यो गीतले ढिलो तर बिस्तारै राम्रो प्रतिक्रिया पायो। त्यसपछि बल्ल स्रोताहरूले एलिमेन्ट्सका अरू गीत पनि सुन्न थाल्नुभयो। कुन ब्यान्ड रहेछ भनेर याद गर्न थाल्नुभयो।'
त्यसयता नयाँ नयाँ गीतसंगीत मार्फत एलिमेन्ट्स बिना हल्लाखल्ला निरन्तर आफ्ना प्रशंसकहरू बढाउन क्रियाशील छ।
ब्यान्डमा इशानसहित रौनकसिंह अधिकारी र दीपेश गुरूङ गरी तीन जना सदस्य छन्। रौनक गिटारिस्ट हुन् भने दीपेश ड्रमर।
काठमाडौंमै जन्मे हुर्केका यी तीनै जना सानैदेखि संगीतमा रूचि राख्थे। आआफ्नो तरिकाले संगीतमा काम पनि गरिरहेका थिए। २०७२ सालको भुइँचालोले धेरैलाई भयभित बनाइरहेको बेला यी तीन युवा ब्यान्डको औपचारिक स्थापना गर्नतर्फ लागे।
'भुइँचालो नआएको भए ब्यान्ड स्थापना नहुन पनि सक्थ्यो,' इशानले भने।
इशानका अनुसार उनले आफूलाई गर्न मन लागेका कुराहरूको 'टू डू लिस्ट' बनाएका थिए। त्यसमा संगीत सबैभन्दा माथि थियो।
'रौनक र दीपेशसँग पहिल्यैदेखि चिनजान थियो। भेटघाट पनि भइरहन्थ्यो। भुइँचालोपछि उनीहरूसँगको भेटमा संगीतबारे कुरा भयो। किनकि तीन जनामा साझा मिल्दो रूचिको कुरा संगीत थियो,' इशानले भने, 'पछि तीनै जना गीत लेखौं, रेकर्ड गरौं, ब्यान्ड बनाऔं भन्नेमा सहमत भयौं।'
यही सन्दर्भमा ब्यान्डका अर्का सदस्य दीपेशले थपे, 'त्यसअघि कहिलेकाहीँ साथीका रेस्टुरेन्टहरूमा बजाउँथ्यौं, कभर गीतहरू गाउँथ्यौं। ब्यान्ड बनाउने निर्णयमा पुगेको चाहिँ भुइँचालोपछि नै हो।'
ब्यान्ड सुरू त गर्ने, तर नाम के राख्ने?
अलमल भइरहेका बेला उनीहरूका एक अर्का साथीले दुई मिनेट आँखा चिम्म गरेर शान्त बस्न भने। केही समयपछि आँखा खोल्न लगाए। अनि सोधे – तिमीहरूको दिमागमा के आयो?
इशानले जबाफ दिए– अन्तरिक्ष।
रौनकले भने – आगो।
दीपेशले भने – पृथ्वी।
'यो सबै संसारको एलिमेन्ट्स हो नि त। त्यसपछि यही राख्ने सहमति भयो,' इशानले भने।
उनीहरूले पहिलो गीत 'त्यसैले हिँडे म' घरमै मोबाइलमा रेकर्ड गरेका थिए। भिडिओ पनि घरमै खिचिएको थियो। यसको अफिसियल भिडिओ पछि मात्रै सार्वजनिक भएको हो।
यो गीत बनाउँदा धेरै कुरा नसोची बनाइएको इशान सम्झिन्छन्।
'१५-२० मिनेटमै सकेका थियौं,' उनले भने, 'यस्तो बनाउनुपर्छ, उस्तो बनाउनुपर्छ भनेर धेरै सोचिएन। दिमागमा जे छ, त्यसलाई व्यक्त मात्र गरेका हौं।'
गीत धेरै नचले पनि जति प्रतिक्रिया आए, उनीहरूलाई उत्साहित बनाउन पर्याप्त थियो। तर चुनौती प्रशस्तै थिए।
'त्यसबेला हामीलाई विश्वास गर है भनेर दर्शकलाई मनाउनु ठूलो चुनौती थियो,' इशानले भने, 'त्यो अवस्थासम्म पुग्न केही समय लाग्यो।'
सीमितताबीच पनि सकेको राम्रो गर्ने सोचले नै यो ब्यान्ड आजका दिनसम्म आइपुगेको हो। बिर्सिने हौ कि सँगै उनीहरूको सपनाको मायालु, त्यसैले हिँडे म, पुतली जस्ता गीत श्रोता/दर्शकको मनमा बसिरहेका छन्।
यो सफलताको पछाडि एलिमेन्ट्सका गीतसंगीत सिर्जना गर्ने आफ्नै पृथक शैलीको ठूलो भूमिका छ। तीनजना साथीको संगत पनि राम्रो सिर्जनाको कारक मान्छन् उनीहरू।
केही गीत उनीहरूले काठमाडौंमा बसेर तयार पारेका थिए। बिस्तारै यहाँ मात्र बसेर गीत तयार गर्न सकिँदैन भन्ने लाग्यो। त्यसपछि गीत बनाउने बेला कहिले पोखरा त कहिले तनहुँ पुगे।
काठमाडौंमै हुर्के, बढेका ब्यान्डका तीनै जना सदस्य अचेल भन्न थालेका छन्, 'हामी काठमाडौंमै बसेर गीत सिर्जना गर्न सक्दैनौं।'
ऊर्जा एल्बम पोखरा बसेर लेखेका थिए। भरोसा एल्बम २४ दिन तनहुँमा बसेर।
'काठमाडौंमा केन्द्रित भइँदैन। आफू बनेर सोच्नै पाइँदैन। सहरबाट बाहिर गयौं भने पूरा समय गीतमा दिन पाउँछौं,' उनले भने।
काठमाडौं बाहिर उनीहरू शान्त, एकान्त ठाउँमा बस्छन्। त्यहाँ उनीहरूको कामै गीत लेख्ने मात्र हुन्छ। यसरी बाहिर काम गर्दा क्षणहरू भिडिओमा सार्वजनिक पनि छ।
इशानका अनुसार एलिमेन्ट्सको प्राथमिकता गीतको शब्द हो। आफ्ना शब्द र संगीतले समाजलाई प्रेरित गरोस् भन्ने उनीहरूको उद्देश्य हो।
'त्यसैले पहिलो एल्बमको नाम ऊर्जा राखेका थियौं। गीतको कोरस थियो, खेर नफाल त्यो ऊर्जा,' उनले भने, 'ब्यान्ड स्थापना हुँदा र अहिलेका गीतको थिम उस्तै भए पनि कुनै न कुनै हिसाबले परिवर्तन छ भन्ने लाग्छ।'
दीपेशले थपे, 'मलाई शब्द र संगीत शिव र शक्तिजस्तो लाग्छ। यी दुई संगै मिलेर गयो भने मान्छेलाई छुन्छ।'
यस्तै अर्थपूर्ण गीतका कारण कतिपय दर्शक-श्रोताले आफू प्रेरित भएको उनीहरूलाई बताएका छन्।
'एलिमेन्ट्स मान्छेलाई दुःख परेको बेला मोटिभेट गर्न सुरू गरिएको ब्यान्ड पनि हो,' दीपेशले भने।
उनीहरूको दुई महिनाअघि सार्वजनिक गीत 'चलचित्र' पनि यस्तै छ –
आफ्नो चलचित्रको आफू नै नायक
जीवनमा भेटिन्छ कि, भेटिन्न सायद
गीतले हरेक आम मान्छे आफ्नो जिन्दगीको नायक स्वयं हो भन्ने भाव बोकेको छ। यो गीत ब्यान्डले पछिल्लो समय भिडिओलाई पनि प्राथमिकता दिन थालेको उदाहरण समेत हो। संगीत बजार निरन्तर परिवर्तन भइरहेको छ। अहिले गीत लेखेर, रेकर्ड गरेर मात्रै पुग्दैन। भिडिओ निर्माण अनिवार्यजस्तै बनेको छ। त्यसैले 'चलचित्र' गीतको भिडिओमा तीनजनाले अभिनय समेत गरे।
भिडिओले गीत निर्माण खर्चिलो बनाए पनि संगीत क्षेत्र पहिलेभन्दा अहिले राम्रो भइरहेको इशानको बुझाइ छ।
'अहिले ठूलाठूला कार्यक्रम भइरहेका छन्। प्रोडक्सन पनि बढिरहेको छ। अब ट्र्याक मात्रै बजाएर गाउने होइन कि लाइटस्, स्टेज, आयोजकहरु पनि अनुभवी भएका छन्। टिकेटिङदेखि लिएर दर्शक-स्रोतालाई कसरी सुरक्षित वातावरण दिने भन्ने कुरामा पनि ज्ञान बढेको छ,' उनले भने, 'संसारको जुन कुनामा गए पनि नेपाली समुदाय छ।'
नयाँ परिवेशमा फिट हुन एलिमेन्ट्स डिजिटल प्लेटफर्म र लाइभ शोमार्फत श्रोता–दर्शकसामु पुगिरहेको छ।
'हामी आफूलाई टुरिङ ब्यान्ड भन्छौं। अनि हामी मात्र होइन, परफर्मिङ आर्टिस्ट हौं। यसर्थ हाम्रो पहिलो प्राथमिकता शो हो,' इशानले भने, 'दर्शकले हामीलाई प्रत्यक्ष देख्दा, गाउँदा, बोल्दा छुट्टै ऊर्जा हुन्छ। ब्यान्डको सुन्दरता पनि त त्यही हो।'
तीनै जना सदस्यका अनुसार ब्यान्ड एउटा चरणबाट अर्कोमा फड्को मार्दैछ। र, उनीहरू ब्यान्डलाई थप बलियो बनाउन मेहनत पनि गरिरहेका छन्।
तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी