लेख्ने तलतल भनेको पनि यस्तो 'ज्यानलेवा' बिमारी हो, एउटा कुनै कुराले मनमा दस्तक दिएपछि जबसम्म त्यो अक्षर बनेर पोखिन्न, तबसम्म मान्छे कोमामा जान्छ।
कुमः सागरको गीतले मलाई त्यस्तै बनायो।
हुन त यो स्टोरी कुमः सागरलाई भेटेर, कुराकानी गरेर नै लेख्नुपर्ने थियो। सोचेको त्यस्तै थिएँ। तर मिलेन।
अचेल कुमः असाध्यै व्यस्त छन्। साताको दुई दिनजसो त काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा कन्सर्ट दिइरहेका हुन्छन्। बाहिर पनि उत्तिकै गइरहेका हुन्छन्, गाइरहेका हुन्छन्। आफ्नो ख्वपः ब्यान्डसँग पहिलो विदेश टूरको निम्ति अस्ट्रेलिया जाने तयारीमा पनि छन्।
यी सबैको बन्दोबस्त, रियाज र रिहर्सल — कुमःलाई भ्याइनभ्याइ नै छ।
भेट्ने हुटहुटी त अहिलेलाई थाती राखेँ, तर लेख्ने तलतल चाहिँ कसरी थन्क्याउनू!
यो ज्यानलेवा बिमारी यत्तिकै पालेर राखेँ भने म साँच्चै कोमामै जान्छु र पो!
त्यसैले निधो गरेँ — म अब यो स्टोरी लेख्छु, आफ्नै पाराले!
कुमः आजको मितिमा नेपाली संगीत क्षेत्रका यस्ता गायक हुन् जसको लहर देशैभरि छ। पछिल्लो समय लोकप्रिय गायक त धेरै छन्, सबैको आ–आफ्नै क्रेज पनि छ, तर लोकप्रियताको भिडमा लहर चलाउन सफल नयाँ पिँढीका गायक कुमः मात्र हुन्।
उनको गायनले के बालक के तन्नेरी, के युवा के प्रौढ, के महिला के पुरूष; सबै उमेर समूह र सबै लिंगीहरूलाई मन्त्रमुग्ध पारेको छ। उनको स्वरको मिठास र उनको संगीतको जादूले सुन्नेलाई लठ्ठै पार्छ।
कुमःको गायनमा त्यस्तो के खासियत छ? उनका गीतमा भएको जादू के हो?
यसबारे म आफ्नो अनुभव सुनाउँछु। र, गीत–संगीत क्षेत्रमा लामो समय काम गरेका गायक–कलाकारसँग कुरा पनि गर्छु।
मैले यो स्टोरीका लागि 'नेपथ्य' ब्यान्डका गायक अमृत गुरूङसँग कुरा गरेको छु। नेपथ्य ब्यान्डका व्यवस्थापक 'नेपालय' का प्रमुख किरणकृष्ण श्रेष्ठसँग कुरा गरेको छु। कुमः सागरलाई सार्वजनिक मञ्चमा चिनाउन र तिखार्न मद्दत गरेको 'भ्वाइस अफ नेपाल' का तत्कालीन निर्णायकहरू आस्था राउत र राजु लामासँग कुरा गरेको छु। कुमःले भ्वाइस अफ नेपालमा 'मायाको डोरीले, निष्ठुरी मोरीलाई' भन्ने जुन गीत गाए, त्यसका ओरिजिनल गायक दीपक बज्राचार्यसँग कुरा गरेको छु।
त्यस्तै, उनको संगीतको समीक्षा निम्ति मैले आजका चर्चित संगीतकार कालीप्रसाद बाँस्कोटासँग कुरा गरेको छु। उनले प्रयोग गर्ने नेवाः भाषाका मल्लकालीन भजनबारे सामाजिक अभियन्ता तथा नेवाः संस्कृतिका अध्येता राजेन्द्र महर्जनसँग कुरा गरेको छु।
कुमः सागर काठमाडौं उपत्यकाभित्र परम्परागत भजन संस्कृति ज्यूँदै राख्ने दाफा खलःमा गाएर हुर्केका हुन्। मैले त्यसैका एक गुरू शेषनारायण महर्जनसँग कुमःले पछ्याएको दाफा संस्कृतिबारे कुरा गरेको छु।
जहाँसम्म कुमःको व्यक्तिगत जीवनको सवाल छ, उनले 'द स्टोरी-एलर्स' भन्ने कार्यक्रममा विस्तारमा बताएकै छन्। सुजिता श्रेष्ठसँगको पडकास्ट वार्तामा कुमः र ख्वप: ब्यान्डकै सदस्य रोजमान महर्जनले आफ्नो दोस्तीदेखि ब्यान्ड निर्माण र जीवनको उतारचढावदेखि प्रेम सम्बन्धका प्रसंगहरू खोलेकै छन्। म डायरी र कलम हातमा लिएर तिनै अन्तर्वार्ता सुन्छु र कुमःलाई प्रत्यक्ष भेटेजस्तै रिपोर्टिङ गर्छु।
आखिरीमा कुमःको गीति लहरमा उडिरहन मन भएका केही फ्यानलाई पनि मैले सोधेको छु — तपाईंलाई कुमःको गीत किन मनपर्छ?
मेरो यो स्टोरी कुमःको पडकास्ट वार्तादेखि यिनै व्यक्तिहरूसँगको कुराकानीमा आधारित छ।

सबभन्दा पहिला कुरा गरौं — मलाई कुमः सागरबारे लेख्ने तलतल कहिलेबाट लाग्यो? किन लाग्यो?
मैले कुमःको गीत सुन्न थालेको ठ्याक्कै छ महिना भयो। उनलाई सुन्न थालेदेखि अरू कसैलाई सुनेको छैन।
छ महिनाअघि, इन्द्रजात्राको केही दिनअघि एउटा गीत; गीत पनि होइन, गीतको एउटा टुक्रा मेरो फेसबुक मेसेन्जरमा कता कताबाट टुप्लुक्क आइपुगेको थियो।
त्यो टुक्रा थियो —
कुमारी जननी ए ह,
कुमारी जननी देवी,
अमूर्त भैरव
ए जननी!
पहिलोचोटि यो टुक्रा सुन्दा यस्तो लाग्यो, मानौं कुनै भक्त चीर ध्यानमा कुमारी र भैरवलाई पुकार्दै छ।
मैले यो कतिचोटि सुनेँ, त्यसको गन्ती पनि गर्न सक्दिनँ।
हरेकचोटि सुन्दा मेरो जीउमा काँडा उम्रिन्थ्यो। तालुदेखि पैतालासम्म सिहरन दौडिन्थ्यो। म त्यो गहिरो आवाजमा मग्न हुन्थेँ। आवाजको जादू भनूँ या भाव; जतिचोटि यो टुक्रा सुनेँ, त्यति नै चोटि कुमारी र भैरव आँखाअगाडि साक्षात् भएझैं लाग्यो।
को हुन् यी गायक? कुन गीतको टुक्रा हो यो?
मैले छोरीलाई सोधेँ। युट्युबमा खोजेँ।
त्यसपछि थाहा पाएँ, मेरो तन–मन वशीभूत बनाएको त्यो टुक्राको पूरा गीत रहेछ —
जाने भए जाऊँ
ए माया अब धेरै नसताऊ,
तिम्रो त्यो चाल देखेर आज
फुरफुरी लाग्यो नि हौ!
अनि, गायक रहेछन् — कुमः सागर।
त्यसपछि त के चाहियो, मैले युट्युबमा भएका उनका सबै गीत पटक पटक सुनेँ।
उनको नेवाः भाषाको गीत 'ए चम्पा' पहिले नै सुनेको रहेछु। त्यति बेला कुमःको गीत हो भन्ने थाहा भएन। त्यस्तरी डुबेको पनि थिइनँ।
यसपालि त के जादू चल्यो कुन्नि, उनका हरेक गीतले मुटुमै हान्यो।
म राति कोठामा एक्लै उनको गीत सुनेर रोएको छु। उनको गीत सुनेर रमाएको छु। उनको गीतले मेरो मुटु पोलेको छ, मुटुमा सख्खर घोलेको पनि छ। कहिले दुःखले मन स्याइँय्य कामेको छ, कहिले हर्षले मन फुरर्रर भाको छ।
कुमःको विशेषता के भने — उनले काठमाडौं उपत्यकामा सदियौंदेखि बजाइँदै आएको नेवाः लोकभाका र ताललाई यस्तरी उनेका छन्, शब्द हटाइदिए पनि त्यो शतप्रतिशत नेपाली गीत नै सुनिन्छ। कुनै मिसावट छैन। काठमाडौंको माटोमा जन्मेको ठेट संगीत।
यस अर्थमा, अचेलका धेरै नेपाली गीतभन्दा कुमःका गीत फरक लाग्छन् मलाई।
उनले नेवाः लोकबाजा र लोकतालमा केही पश्चिमी बाजा र पश्चिमी तालको मिश्रण त गरेका छन्, तर यहाँको मौलिकता र ठेटतालाई बिटुलिन पनि दिएका छैनन्। उनी लोकभाका पक्रिन्छन् र त्यसमा आधुनिक रङ यस्तरी मिसाउँछन्, सुन्नेहरूलाई भुतुक्कै पार्छ। यस्तो लाग्छ, मानौं हामी काठमाडौं, पाटन वा भक्तपुरको कुनै फल्चामा बसेर भजन गाइरहेका बाजेहरूलाई सुन्दैछौं!
उनका गीतको सूचीमा मलाई सबभन्दा खास लाग्छ —
परबाट आयौ एक्कासि तिमी,
इन्द्रेणीको रङ छरेसरी!
मेरो विचारमा यो कुमःको अहिलेसम्मकै 'मास्टरपिस' हो।
यो गीत पहिलो दुई अन्तरापछि आठ सेकेन्ड थामिन्छ — गायकको स्वर पनि बन्द हुन्छ, धुन पनि बन्द। पूरै निःशब्द, पूरै मौन।
चारैतिर शब्दहरूको बाढी उर्लिरहेका बेला कहिलेकाहीँ एकछिनको मौन पनि कति अर्थपूर्ण हुन्छ र त्यो मौनले कति शुकून दिन्छ भन्ने यो गीत सुन्दा थाहा हुन्छ। लामो हिँडाइपछि टक्क अडिएर थकाइ मारेझैं। लामो तनावपछि गहिरो सास फेरेझैं। खैलाबैलाको बीचमा सन्नाटा छाएझैं।
आठ सेकेन्डको मौनपछि जसै कुमः 'याये मफू थ्वं हागू हा, राजा श्री रणजितया' भन्दै नेवाः भाषामा भजन गाउँछन्, मनको तरंग एकैचोटि शून्यबाट सातौं आसमानमा पुग्छ।
त्यही भजनमा 'दया तया क जितँ छँ करूणा' भन्ने अंश छ, जहाँ उनी अलि द्रुत लय समात्छन्।
भजन गाउँदा उनको आवाजको गहिराइ र त्यसमा भरिएको वेदना अर्कै उचाइको छ। त्यो यस्तो उचाइ हो, जहाँ गायक–कलाकारहरू विरलै पुग्छन्। गाउँदा गाउँदै ध्यानमा लीन भएर समाधिमा पुगेपछि मात्र त्यो उचाइ हासिल हुन्छ। कुमःले यो भजनमा त्यही उचाइ छोएका छन्।
समाधिको चरण यतिमै सकिन्न।
भजन सकिएपछि उनी हा... हा.... गर्दै लामो आलाप तान्छन्। एकछिन शान्त हुन्छन् र फेरि गाउँछन् —
जिन्दगीमा आयौ फेरि शितल बनी
रहिरहन मन भो तिम्रै छाया बनी
बिहानको किरणसँगै उज्यालो पारी
धर्तीमा,
आयौ फेरि भगवानसरी!
गीतको यो अंश यति बेजोड छ, शब्द–शब्दले मुटुमै हान्छ।
यहाँ पनि कुमः समाधिमा लीन भएझैं सुनिन्छन्।
यही गीत जति त भन्दिनँ, तर मलाई कुमःको अर्को एउटा गीतले पनि यस्तै समाधिको उचाइ नाप्न सफल भएझैं लाग्छ।
त्यो गीत हो —
हावाको लहरसँगै
उडिरहन मन भो
तिम्रो त्यो बास्ना मनमा चल्यो रे
तिम्रो त्यो बोलीमा मगन भएर
तिम्रै अगाडि फूलहरू पनि चमचम गर्दै नाच्यो रे!
माया यस्तो भाव हो, जसमा चोट र मह्लम एकै ठाउँ हुन्छ। जुन मायाले चोट दिन्छ, त्यही मायाले मह्लम पनि लगाउँछ। ओठमा हाँसो ल्याउने पनि माया, आँखाबाट आँशु झार्ने पनि माया। बाँध्ने पनि माया, फुकाउने पनि माया। फूल माया, काँडा पनि माया।
कुमःको यो गीतमा जति चोट छ, त्यति नै मह्लम छ। जति हाँसो छ, त्यति नै आँशु छ। भाषा जति सरल छ, भाष्य उति गहिरो छ।
मायाको यति सुन्दर र दार्शनिक चित्रण कुमःले कसरी गरे होलान् भन्नेमा मलाई गीत सुनेदेखि खुल्दुली थियो। सुजितासँगको वार्तामा कुमःले मेरो खुल्दुली मेटिदिए। उनले गीतको रचनागर्भ वर्णन गरेका छन्। त्यो सुनेर थाहा भयो, यो गीत यति गहिरो हुनुको कारण त यसमा पोखिएको आमाको ममता पो रहेछ!
भएछ के भने, कुमः पाँच–छ दिनका लागि घरबाहिर गएका थिए। आफ्नो घर, आफ्नो ठाउँ छाडेर जाँदा उनलाई खुब नियास्रो लागेछ। खासगरी आमाको यादले खुबै पिरोलिएछन्। आखिरमा जब उनी घर फर्के र आफ्नै कोठामा सुतेर उठे, उनलाई त्यो बिहान आँखा अगाडिका सबै दृश्य रमाइलो लाग्यो। उनी आफ्नै घर, आफ्नै आँगन, आफ्नै गल्ली, आफ्नै चोक देखेर मन्त्रमुग्ध भए।
त्यही बेला उनले कोठाभित्रबाट आमाको आवाज सुने। धेरै दिनपछि आमा चिच्याई–चिच्याई बोलेको सुनेर उनी यति खुसी भए, उनलाई आकाशबाट इन्द्रेणीको सप्तरंग आफ्नो कोठाभरि, आफ्नो हृदयभरि छरिएझैं भयो।
र, त्यही इन्द्रेणीको सप्तरंगमा रंगिँदै हावाको लहरसँगै उडिरहन मन भो!
उनले तुरून्तै कापी–कलम उठाए, अनि गीतको अन्तरा लेखे —
परबाट सुन्दा तिम्रो त्यो बोली
मुटुमै लागेर मन रमायो रे
तिम्रो त्यो हेराइमा मगन भएर
यो बेरंगी जिन्दगीमा इन्द्रेणी बनी आयौ रे!
कुमःका प्रायः सबै गीतको रचनामा यस्तै भावनात्मक संवेग उर्लिएको भेटिन्छ। सायद त्यसैले, उनका गीत अर्गानिक सुनिन्छन्, ठेट सुनिन्छन्। यसमा थुप्रै उदाहरण दिन सकिन्छ।
उनले पहिलोपटक मोबाइलमा रेकर्ड गरेको 'बाजेको बजां' सुनौं —
आकाशैमा उडेझैं लाग्यो
खोलैमा बगेझैं लाग्यो
बाजेको बजांले!
छमछम नाचीदिऊँजस्तो
लाग्यो नि तिम्रो हेराइले
धुवाँ धुवाँ भयो खरानी
खरानीमै उडौं लाग्यो नि!
यहाँ प्रयोग भएको बजां शब्द आफैमा ठेट छ। तमाखुलाई नेवाः भाषामा बजां भनिन्छ। यो अचेल कमै सुनिने शब्द हो। त्यसमाथि गीतको ताल र नेवाः बाजाहरूको संयोजनले साँच्चिकै बजांको सर्को तानेर आकाशमा उडेझैं बनाउँछ। खोलामा बगेझैं बनाउँछ। खरानी बनेर छरिएझैं बनाउँछ।
अर्को गीत सुनौं —
मालेगाउँ हाम्रो फेभरेट ठाउँ...
यो गीतमा कुमःले बाँचेको त्यो समयको चित्रण छ, जब उनी काँधमा गितार र बाजागाजाको भारी बाइकमा लादेर काठमाडौं वरिपरिका डाँडाकाँडा, सुनसान ठाउँमा अल्लारेझैं घुमिहिँड्थे।
कुमः र उनका साथी रोजमानले पडकास्ट वार्तामा त्यो कालखण्डको विस्तृत बयान गरेका छन्। कसरी उनीहरू एउटै बाइकमा कहिले धुलिखेल कहिले चोभार, कहिले दक्षिणकाली कहिले नगरकोट पुग्थे र एकचित्त भएर संगीत सिर्जना गर्थे भन्ने त्यो वार्ताबाट थाहा हुन्छ।
यो कुमः र रोजमानको मात्र होइन, हरेक युवा जसमा गीत–संगीत सिर्जना गर्ने धुन सवार छ र जो पारिवारिक बन्देजका बाबजुद गीत–संगीतमै रमाउन चाहन्छ, उनीहरू सबैको भोगाइ हो।
गीत–संगीत मात्र किन, आफ्नै सर्तमा जिन्दगी बाँच्न चाहने हरेक युवा कुनै न कुनै कालखण्डमा यस्तै भोगाइबाट गुज्रेका हुन्छन्। मनमा अल्लारेपन भरिएको हुन्छ, दिमागमा केही हासिल गर्ने लालसाले घर बनाएको हुन्छ, सपनाको इन्द्रेणीले तन–मन रंगिएको हुन्छ र सँगसँगै त्यो सपना कसरी साकार पार्ने भन्ने तुलबुलले मन व्यग्र पारेको हुन्छ; यी सबै युवा मन र युवा आकांक्षाहरू कुमःको यो गीतमा एकाकार भएका छन्।
उनको सबभन्दा हिट गीत 'फुरफुरी' को त जति कुरा गरे पनि कमै हुन्छ।
यो तामाङ सेलो भाकामा रचना गरिएको छ। काठमाडौं उपत्यका वरिपरिको उचाइमा बाक्लो बसोबास रहेको तामाङ समुदायको संस्कृति र उनीहरूले गाउने गीतबाट प्रभावित भएर 'फुरफुरी' रचेको कुमःले बताएका छन्।
स्टेजमा उक्लेर यो गीत गाउँदा कुमःको हाउभाउ नै बेग्लै देखिन्छ। उनी एउटा हात दर्शक/स्रोतातिर सिधा तन्काउँछन् र अर्को हात अलिकति पछाडि फर्काएर फेरि दर्शकतिरै लैजान्छन्। यो उनको 'सिग्नेचर' स्टाइल हो। कसैले कुमःको पेन्टिङ बनाए यो स्टाइल उतार्दा क्यानभासमा वास्तविक झलक आउला भन्ने मलाई लाग्छ।
कुमःले अहिलेसम्म थोरै गीत गाएका छन्। ती थोरै गीतमा पनि नेपालको विविधतायुक्त संस्कृति झल्काउने उनको कोसिस देखिन्छ।
जसरी उनले 'फुरफुरी' मा तामाङ सेलोलाई नेवाः लोकधुनसँग मिसाए, त्यसरी नै 'माईखोला' मा पूर्वेली भाकालाई नेवाः भाकासँग मिश्रण गरेका छन्। 'रारा तालैमा' गीतलाई त कर्णाली र काठमाडौंको सांस्कृतिक संगम भन्दा फरक पर्दैन।
यसरी आफ्नो मनको भावमा नेवाः लोकबाजा, नेवाः भजन र नेवाः लोकधुनको संयोजन र त्यसमाथि आधुनिक रङको मिश्रणले नै आज कुमः सागरलाई नेपाली संगीतको 'सेन्सेसन' बनाएको हो भन्नेमा सायदै कसैको दुईमत होला।
यो मेरो मात्र धारणा होइन, मैले कुरा गरेका गीत–संगीत क्षेत्रका हस्तीहरूले पनि कुमःको यही मौलिक शैली र लोक–आधुनिक संयोजनको तारिफ गरेका छन्।

करिब ३५ वर्षदेखि सक्रिय 'नेपथ्य' ब्यान्डका गायक अमृत गुरूङ पछिल्लो समय उदाएका कलाकारमा कुमः सागरको स्वर र शैली पृथक रहेको बताउँछन्।
'उनको संगीत संयोजन र गायन एकदमै फरक छ,' उनले भने, 'मीठो आवाज त धेरैको हुन्छ, तर मन छुने फरक खालको आवाज कमै मात्र सुनिन्छ। अहिले नेपालको सांगीतिक दुनियाँमा कुमः सागर त्यस्तै फरक आवाज भएका गायक हुन्।'
कुमःले काठमाडौंका डबली र फल्चामा पहिल्यैदेखि सुनिँदै आएको भजन र यहाँको परम्परागत नेवाः भाका र लय पक्रेकाले नै उनका सिर्जना अरूभन्दा विशेष सुनिएको अमृतको भनाइ छ।
'व्यक्तिगत रूपमा नचिने पनि आवाजले हामीलाई जोडेको छ,' अमृतले भने, 'उनको आवाज मलाई सुनिरहन मन लाग्छ।'
'नेपालय'का किरणकृष्ण श्रेष्ठ पनि लामो समयदेखि गीत–संगीत क्षेत्रसँग जोडिएका व्यक्ति हुन्। 'भेडाको ऊनजस्तो' एल्बमदेखि नै नेपथ्यसँग सहकार्य गर्दै आएका श्रेष्ठ अहिले नेपालको सांगीतिक क्षेत्रमा कुमःको लहर चलेको बताउँछन्। यस्तो सांगीतिक लहर धेरै समयपछि देख्न पाएको उनको भनाइ छ।
यो लहरका पछाडि उनी दुइटा मुख्य कारण देख्छन्।
पहिलो कारण त, कुमःको ठेट नेपालीपन नै भइहाल्यो, उनले भने, 'अचेलका धेरै गीत शब्द निकाल्यो भने नेपाली हुन् भनेर चिन्न गाह्रो पर्छ। कुमःका गीत भने धुन मात्र सुन्दा पनि काठमाडौं उपत्यकाको परम्परागत लय प्रस्ट छुट्टिहाल्छ। गीतहरूको भिडमा उनको स्वर र संगीत दुवै अलग छ।'
अर्को कारण हो, नेपालको सांगीतिक ट्रेन्ड।
किरणकृष्णका अनुसार नेपालमा प्रायः तीन किसिमका गीत बढी चर्चामा रहन्छन् — लोक गीत, दोहोरी गीत र भजन। त्यसैले लोकलयमा आधारित रक तथा आधुनिक गीत नेपाली स्रोतालाई बढी मनपर्छन्। यस्ता गीत सदाबहार हिट हुन्छन्।
त्यसमाथि उपत्यकामा सदियौंदेखि चल्दै आएको नेवाः लोकभाका र भजनलाई अहिलेसम्म कमै गायक–कलाकारले प्रयोग गरेका छन्। यसअघि मुक्ति एन्ड रिभाइभल ब्यान्डले नेवाः लोक संगीतलाई रक शैलीमा उतारेको थियो। आफ्नो समयको यो प्रख्यात ब्यान्डका गीत एकसेएक हिट छन्। कालान्तरमा उनीहरूले नेवाः लोक संगीत छाड्दै गए र अर्कै खालको संगीततिर लागे।
'मुक्ति एन्ड रिभाइभल पछिका अरू ब्यान्ड र गायकले नेवाः लोक संगीत एकदमै कम पछ्याएको पाइन्छ,' किरणकृष्णले भने, 'सांस्कृतिक रूपले सम्पन्न नेवाःहरूको परम्परागत गीत–संगीत र भजनमा धेरै नै सम्भाव्यता छ। अघिल्लो पुस्ता र अहिलेको पुस्ताका गायक–कलाकारले यो सम्भाव्यता खासै उपयोग गर्न सकेका थिएनन्। कुमःले त्यही अछुतो सम्भाव्यता पक्रेका छन्।'
'उनका गीतमा नेपालमा सदाबहार रूचाइने लोकलय छ, अरू गायक–कलाकारले प्रयोग गर्न नसकेको काठमाडौंको नेवाः भाका छ, काठमाडौंका डबलीहरूमा गाइने परम्परागत भजन छ र सँगसँगै युवा पुस्तालाई आकर्षित गर्ने रक शैली पनि छ,' उनले अगाडि भने, 'उनी जस्ता गीत गाइरहेका छन्, त्यसलाई नेपालको सांगीतिक ट्रेन्डमा राखेर हेर्दा पनि स्वाभाविक रूपले हिट हुने श्रेणीमा पर्छन्।'
मैले कुमःको गायनबारे अहिलेका चर्चित संगीतकार कालीप्रसाद बाँस्कोटासँग पनि कुरा गरेको थिएँ। 'पारि त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो' जस्तो उत्साहपूर्ण र तीव्र गतिको बब्ली गीतदेखि 'राई माइलाले गाँवै छाड्यो रे' जस्तो गम्भीर भावपूर्ण गीतका सर्जक कालीप्रसादको भनाइमा कुमःका गीत जति मौलिक सुनिन्छन्, त्यति नै आधुनिक पनि छन्।
'गीत भनेको समाजसँग नजिक हुनुपर्छ। त्यसले छुट्टै तरंग प्रवाह गरेर आफ्नो विशिष्ट माहौल बनाउन सक्नुपर्छ,' उनले भने, 'कुमःका गीत समाजसँग नजिक पनि छन् र स्रोताहरूमा छुट्टै तरंग प्रवाह गरेर माहौल बनाउन पनि सफल छन्।'
कुमःले मल्लकालीन नेवाः धुनदेखि हावापानी अनुसार गाइने विभिन्न किसिमका राग अनुसरण गरेकामा उनले प्रशंसा गरे। सँगसँगै, पूर्वेली भाका र तामाङ सेलोमा आधारित गीत पनि गाउनु कुमःको खासियत भएको बताए।
सर्जक मात्र होइन, स्रोताहरू पनि कुमःको गीतमा मौलिक स्वाद र मुटु छुने गहिराइ भएको बताउँछन्।
मैले यो स्टोरी लेख्ने क्रममा कुमः सागरका केही फ्यानसँग कुरा गरेको थिएँ। उनीहरूले कुमःका गीतमा प्रयोग हुने नेवाः बाजा, भजन र त्योभन्दा बढी उनको आवाजको तारिफ गरे।
'कुमःको गीत सुन्दा मेरो आँशु नै आउँछ,' काठमाडौं चमतीका राकेश महर्जनले भने, 'शब्दहरू मार्मिक लाग्छन्। आवाज पनि यति गहिरो छ, सिधै मुटुमै लाग्छ।'
कालिमाटी ट्रेड सेन्टरस्थित क्याफेमा काम गर्ने उपमा महर्जन पनि कुमःका फ्यान हुन्। अचेल उनको मोबाइल प्लेलिस्टमा कुमःका गीत सबभन्दा अगाडि छन्। कीर्तिपुर बस्ने उनी राति ८ बजे ड्युटी सकेर फर्किँदा तिनै गीत दोहोर्याइ–तेहर्याइ सुनिरहन्छिन्।
'मलाई कुमःले गाउने भजनले शुकून दिन्छ,' उनले भनिन्।
यसरी सर्जकदेखि स्रोतासम्मले कुमः सागरका गीतको तारिफ गर्दा एउटा कुरा नछुटाई भनेको मैले पाएँ। त्यो हो, उनले प्रयोग गर्ने नेवाः भजन। मलाई व्यक्तिगत रूपमा पनि तिनै भजनले कुमःतिर तानेको हो।
के भन्छन् त ती भजनले? के हो त्यसको कथा र इतिहास?

कुमः सागरका गीतको कुरा गर्दा उनले गाउने भजनको कुरा नगर्नु भनेको त्यस्तै हो, जस्तो काठमाडौंको कुरा गर्दा यहाँका गल्लीलाई बिर्सनू!
जसरी काठमाडौंको आत्मा यहाँका गल्लीमा बसेको छ, त्यस्तै कुमःका गीतको आत्मा बीचबीचमा आउने भजनहरूमा बसेको छ।
यही जिज्ञासा लिएर म सामाजिक अभियन्ता तथा नेवाः संस्कृतिका अध्येता राजेन्द्र महर्जनकहाँ पुगेँ।
उनका अनुसार नेवाः भाषाका भजन धेरैजसो मल्लकालमा सिर्जना भएका हुन्। कतिपय मल्लकालभन्दा पुराना छन्। केही शाहकालका सुरूआती दिनमा रचना गरिएका पनि छन्।
खासगरी मल्लकालमा राजा र रानीहरूले समेत गीत र भजन लेख्ने गरेको इतिहास छ। सामाजिक जीवनमा क्रियाशील आममान्छेले पनि लेखेको पाइन्छ। त्यति बेलाका गीत/भजन धेरैजसो नेवाः भाषामा लेखिएका छन्। काठमाडौं उपत्यकामा मैथिली संस्कृतिको गहिरो प्रभावका कारण केही भजनमा मैथिली शब्दहरू पनि सुनिने राजेन्द्र बताउँछन्।
'ती गीत र भजनमा धार्मिक आस्था त झल्किने नै भयो, त्यसबाहेक सामाजिक उत्पीडन र राज्यको आन्तरिक कलहले ल्याएका बेथिति पनि दर्शाइएको हुन्छ,' उनले भने, 'दाजुभाइको कलहले मल्ल राज्यमा टुटफुट उत्पन्न भएको थियो। त्यसबाट आहत जनताले भगवान वा स्वयं मल्लराजाको नाम पुकार्दै शान्ति वा न्यायको अपिल गरिएका गीत पनि प्रशस्त भेटिन्छन्।'
करिब तीन–चार सय वर्ष पुराना र बाजे–बराजुका पालादेखि गाइँदै आएका त्यस्ता गीत र भजनलाई भक्तपुरले लगभग उस्तै रूपमा जोगाएर राखेको छ। पाटनमा भक्तपुरभन्दा कम सुनिन्छन्। त्योभन्दा कम काठमाडौंमा सुनिन्छन्।
सबभन्दा बढी सुनिने भक्तपुरमा जन्मे–हुर्केकाले नै हो, कुमः सागरका गीतमा त्यस्ता भजनको प्रभाव स्वाभाविक रूपले गहिरो छ। त्यसमाथि उनको सांगीतिक हुर्काइ नै दाफा खलःबाट भयो, जहाँ बूढापाकाहरू साँझ–बिहान भेला भएर परम्परागत बाजा बजाउँदै भजन गाउँछन्।
यो दाफा संस्कृति एक समय लगभग हराइसकेको थियो। बूढापाकाले जेनतेन धानेका थिए, युवा पुस्तामा भने चासो र रूचि निकै कम थियो। तर पछिल्ला दुई दशक, खासगरी २०६२–६३ को राजनीतिक परिवर्तनले आफ्नो भाषा, आफ्नो संस्कृति र आफ्नो पहिचानको सचेतना जुन स्तरमा बढायो, त्यसले दाफा संस्कृति ब्युँताउन ठूलो भूमिका खेल्यो।
त्यसैबीच २०७२ को भुइँचालोमा उपत्यकाका थुप्रै सांस्कृतिक सम्पदा र धरोहर ढलेर माटो भएपछि युवा पुस्तामा आफ्नो संस्कृति र सभ्यता जोगाउने अभूतपूर्व लहर दौडियो। त्यो लहरमा जननिर्वाचित स्थानीय नगरपालिकाहरूले दरिलो साथ दिए। संस्कृति र सभ्यता जोगाउन विभिन्न खालका कार्यक्रम मात्र ल्याएनन्, ठूलो परिमाणमा बजेट पनि निकासा गरे। यो मामिलामा भक्तपुर नगरपालिका सबभन्दा अगाडि छ।
भक्तपुर लगायत उपत्यकाका स्थानीय तह सरकारहरूले यहाँको नेवाः संस्कृति जोगाउन जुन स्तरमा लगानी बढाएका छन्, त्यसले दाफा खलः जस्ता सांस्कृतिक स्थलहरू फेरि चलायमान हुन थालेको राजेन्द्र महर्जन बताउँछन्।
'युवा पुस्तामा संस्कृति, सभ्यता, जात्रापर्व र परम्परागत गीत–संगीतप्रति रूचि हलक्कै बढेको छ,' उनले भने, 'यो लहर यति बाक्लो पहिले देखिएको थिएन।'
यही लहरले नेवाः बाजा बजाउन जान्ने युवाहरू बढेका छन्। नेवाः भजन गाउने युवाहरू बढेका छन्। काठमाडौंको इन्द्रजात्रा होस् वा पाटनको रातो मच्छिन्द्रनाथ वा भक्तपुरको बिस्काः जात्रा; दिनभरि होय होय गर्दै, धिमे बजाउँदै, गीत/भजन गाउँदै हिँड्ने युवाहरूको सहभागिता अभूतपूर्व रूपमा बढेको छ। साना साना केटाकेटी पनि आफूभन्दा ठूलो धिमे काँधमा झुन्ड्याएर जात्रामा रमाउँदै हिँडेका देखिन्छन्। साँझ–बिहान फल्चाहरूमा बाबुबाजेसँग स्वरमा स्वर मिलाउँदै नेवाः भजन सिकिरहेका देखिन्छन्।
कतिसम्म भने, दैनिक जीवनमा कमै प्रयोग हुने काठमाडौंको मौलिक रञ्जना लिपि सिक्ने युवा जमात पनि बढेकै छ।
उपत्यकामा आएको यो सांस्कृतिक चेतकै परिणाम हुन्, कुमः सागर।
उनले पडकास्ट वार्तामा भने अनुसार सानैदेखि बाजेको पछि लागेर दाफा खलःहरूमा जाने गर्थे। बिस्तारै त्यसैमा रंगिँदै गए। त्यहीँ गाउन सिके, खिँ र धिमे बजाउन सिके।
त्यही क्रममा सिकेका पुराना भजन नै गीतमा हालेको र कतिपय भजन त आफूलाई सिकाउने दाफाका बाजेहरूबाटै गाउन लगाएको उनले बताएका छन्।
'ए चम्पा गीत बनाएपछि मैले त्यसको बीचमा भजन हालेँ। खतरा भयो जस्तो लाग्यो,' कुमःले भनेका छन्, 'पछि दाफा भजनकै दुई जना बाजेलाई गाउन बोलाएँ। उहाँहरूलाई कुन स्केलमा गाउनुपर्छ भन्ने ज्ञान नहुने, तर गाउँदा खतरै गाउने। त्यसैले स्केल मिलाउन मैले सुरूमा गाएँ र माथि–माथि बाजेहरूलाई गाउन लगाएँ।'
कुमःले गाएका भजनमा मलाई उत्कृष्ट लाग्ने 'छरेसरी' गीतको 'याये मफू थ्वं हागू हा, राजा श्री रणजितया' र 'दया तया क जितँ छँ करूणा' हो, जसका बारेमा माथि नै उल्लेख गरिसकेँ।
यो भजनमा भक्तपुरका अन्तिम मल्लराजा रणजित मल्लको नाम प्रस्ट बुझिन्छ। त्यसैले उनकै पालामा रचना गरिएको हो भन्नेमा शंका छैन। मैले यसबारे पनि राजेन्द्र महर्जनसँग कुरा गरेको थिएँ। यो भजन राजा रणजित मल्लप्रति समर्पित गरिएको र हारती मातालाई सम्बोधन गर्दै दया गर, करूणा गर भनेर प्रार्थना गरिएको उनी बताउँछन्।
'त्यति बेला रणजित मल्लमाथि ठूलो राजनीतिक दबाब थियो। एकातिर मल्लराजाहरूको आन्तरिक कलहले उनी पिरोलिएका थिए भने अर्कातिर पृथ्वीनारायण शाहको आक्रमणपछि त राज्य जोगाउने चुनौती पनि बढेको थियो। यसले उपत्यकावासी त्रास र चिन्तामा थिए। यो भजनले मल्लकालको अन्तिम समयमा उत्पन्न त्यही गञ्जागोल चित्रण गर्न खोजेजस्तो बुझिन्छ,' उनले भने।
उपत्यकाका दाफा खलःमा मल्लकाल र अझ त्योभन्दा पहिलेदेखि गाइँदै आएका भजनमा कुमः सागरजस्ता नयाँ पुस्ताका गायकको आकर्षणले खासगरी दाफा संरक्षण अभियन्ता र गुरूहरू बढी खुसी देखिन्छन्।
तिनैमध्ये एक हुन्, नेवाः देय् दबुअन्तर्गतको नेवाः कलकमी दबुका अध्यक्ष शेषनारायण महर्जन।
'दाफा खलः भनेको सदियौं पुरानो नेवाः लोकगीत र भजनलाई पुस्ता–दर–पुस्ता जीवित राख्दै आएको सांस्कृतिक धरोहर हो। यसमा खिँ र अन्य परम्परागत बाजा बजाउँदै दोहोर्याइ–तेहर्याइ भजन गाइन्छ,' उनले भने, 'नयाँ पिँढीका कलाकारले दाफामा गाइने भजन र धुनलाई आधुनिक शैलीमा गाउँदा मलाई निकै खुसी लागेको छ।'
'कुनै समय हराएर जान लागिसकेको दाफा भजनमा अब कुमःकै प्रभावले नयाँ पुस्ताको आकर्षण बढ्छ भन्ने मलाई लाग्छ,' शेषनारायणले अगाडि भने, 'दाफा संस्कृतिले नयाँ पुस्तामा नयाँ ढंगले निरन्तरता पाउँदै जान्छ भन्नेमा आशावादी छु।'
उनी आशावादी हुनु यस कारण पनि जायज छ, किनभने कुमःका प्रायः सबैजसो कन्सर्टमा जब उनी भजन गाउन थाल्छन्, तब दर्शकदीर्घामा उर्लेको युवा भिड हातहातमा मोबाइलको प्रकाश लहराउँदै त्यही भजन दोहोर्याउँछन्।
यस्तो दृश्य उपत्यकाभित्र मात्र होइन, देशैभरिको कन्सर्टमा देखिन्छ।
त्यो भिडमा कुमः सँगसँगै भजन गाउने युवा जमातमध्ये केही संख्याले मात्र भए पनि कुमःको पदचिह्न पछ्याउँदै दाफामा रूचि देखाए वा नेवाः लोकबाजा र लोकगीत सिक्न थाले त्यो पक्कै पनि संस्कृति संरक्षणमा ठूलो फड्को हुनेछ।
त्यसलाई कुमःको सांस्कृतिक योगदान नै मान्नुपर्छ।

कुमः सागरको सबभन्दा ठूलो विशेषता भनेकै उनी जुन माटोमा जन्मे–हुर्के, त्यही माटोको गीत–संगीतलाई समातेर अगाडि आएका गायक हुन्।
उनले हिट गीत सिर्जना गर्ने लोभमा नेवाः लोकधुन र भजनको प्रयोग जबर्जस्ती गरेका होइनन्। त्यो उनको अर्गानिक स्वाद र अर्गानिक पहिचान हो। उनी त्यही पहिचानसँग हुर्के–बढेका हुन्। त्यसले नै उनको व्यक्तित्व निर्माण गरेको हो। जसले आफ्नो जरा बलियो गरी समात्छ, उसले उत्तिकै उचाइ पनि छुन्छ। वृक्षजस्तै।
कुमःको व्यक्तित्व, पहिचान र उनले सिर्जना गर्ने गीत–संगीत आपसमा जोडिएका छन्। यसलाई बुझ्न उनको हुर्काइ र गायन यात्रा फर्केर हेर्नुपर्छ।
कुमः भक्तपुरको च्याम्हसिंमा जन्मेका हुन्। खास नाम सिद्धिसागर प्रजापति हो।
प्रजापति भनेको माटोको भाँडा बनाउने समुदाय हो। यो समुदायलाई कुमाले पनि भनिन्छ। यसैबाट कुमः र सिद्धिसागरको सागर जोडेर कुमः सागर नाम राखेको उनले बताएका छन्।
उनको परिवार गरिब थियो। बुबा भट्टामा काम गर्थे। कुमः जन्मेपछि मात्र उनले भट्टाको काम छाडे। त्यसपछि जग्गाको काम गर्न थाले। अहिले पनि त्यही गर्छन्। जग्गाको काम थालेपछि नै बुबाले घर बनाएको र खान–लाउन दुःख नभएको कुमःको भनाइ छ।
त्यति बेला कुमःकी आमा घर–व्यवहार चलाउन सजिलो होस् भनेर उनलाई जे भए पनि काम गर भनिरहन्थिन्। कुमः आमाको कुरा वास्ता गर्दैनथे। सानैदेखि बाजेको हात समातेर भजन गाउन थालेका उनमा संगीतको धुन सवार थियो। पढाइमा कुनै रूचि थिएन।
उनले 'द स्टोरी-एलर्स' कार्यक्रममा आफ्नो बाल्यकाल सम्झिँदै भनेका छन्, 'मेरो घरमा पढाइलाई बढी नै महत्व दिइन्थ्यो, किन दिइन्थ्यो मलाई थाहा छैन। म पढ्थेँ, आफ्नै पाराले।'
उनको पारा चाहिँ कस्तो भने, प्रायः पाँच पिरियडपछि स्कुलबाट भागिहाल्ने। उनले त्यसलाई 'हाफ बंक' भनेका छन्। त्यसरी भागेर कहिले खोलामा नुहाउन जान्थे, कहिले टोलका साथीसँग खेल्न जान्थे। झैझगडामा पनि खुब लागे।
'म एक हिसाबले भन्दा बिग्रेरै हिँडेँ। जहाँ पनि गइदिने, जे पनि खाइदिने,' कुमःले भनेका छन्, 'एकचोटि झगडामा परेर नराम्रो चोट लाग्यो। त्यसपछि बुबाले झन्डै दुई वर्ष घरमै 'रिह्याब' हालिदिनुभयो।'
घरेलु 'रिह्याब' को त्यही दुई वर्ष कुमःको सांगीतिक यात्रामा पहिलो 'टर्निङ प्वाइन्ट' बन्यो।
'पहिले सात कक्षा पढ्दा एक जना दाइसँग उधारोमा गितार किनेको थिएँ। त्यो गितार बुबाले फुटाइदिने हो कि भन्ने खुब पिर थियो,' कुमःले भनेका छन्, 'पछि घरमै थुनेर राख्दा बुबाले नै 'तँ बरू गितार बजाएर बस्' भनेर एउटा इलेक्ट्रिक गितार ल्याइदिनुभयो। मलाई त्यही चाहिरहेको थियो। म त खुसी नि!'
त्यही गितारमा कर्ड हान्दै धेरै गीत रचना गरेको उनले सम्झेका छन्।
कुमःका बुबा धेरै पछिसम्म गीत–संगीतमा लागेर छोराको भविष्य बर्बाद हुने भो भनेर चिन्तित थिए। 'तैंले यसबाट कमाएर खान सक्दैनस्' भन्दै छोरालाई सम्झाइरहन्थे। भनेको नमान्दा कुमःले धेरैचोटि कुटाइ पनि भेटे।
उनको गायन यात्रामा दुई जना व्यक्तिको ठूलो भूमिका देखिन्छ — साथी रोजमान र श्रीमती सुजाताको।
रोजमानसँगको दोस्ती र सुजातासँगको प्रेम कुमःको सांगीतिक यात्रामा दोस्रो 'टर्निङ प्वाइन्ट' हो।
कुमः आज जहाँ छन्, त्यहाँसम्म पुग्न रोजमानको दोस्ती र सहकार्यले पुल हालेको छ। यो कुरा स्वयं कुमःले आफ्ना अन्तर्वार्तामा स्वीकार गरेका छन्। उनी रोजमानलाई भेट्नु 'भगवान भेटेझैं भयो' भन्छन्।
पहिलो भेट भक्तपुरको नलिनचोकमा आयोजित तिहार कार्यक्रममा भएको थियो।
'रोजमान त्यहाँ बजाइरहेको थियो, गाइरहेको थियो। म पनि बजाउन गएको थिएँ। त्यहीँ हाम्रो भेट भयो, कुराकानी भयो,' कुमःले भनेका छन्, 'म पहिल्यैदेखि विभिन्न बाजा बजाउँथेँ। दाफामा हुँदादेखि नै खिँ बजाउने गर्थेँ। खतरै बजाउँछु जस्तो लाग्थ्यो। जब मैले रोजमानलाई भेटेँ, उसले बजाइरहेको सुनेँ, त्यसपछि मैले बजाउनै छोडिदिएँ। ऊ त झन् खतरा बजाउने रहेछ। पहिले आफैले बजाएर रेकर्ड गरिसकेको गीतमा पनि उसैलाई बजाउन लगाएँ।'
यो दोस्तीको सुन्दर पक्ष के भने, उनीहरूबीच आपसमा कुनै इर्ष्या देखिन्न।
रोजमान आफैमा एक सफल गायक र संगीतकार हुन्। उनले रचना गरेका नेवाः गीतहरू 'ऐला लुवैया', 'सालुच गाचा', 'मखं त्वया ग्वा' लगायत सुपरहिट छन्। तैपनि उनी कुमः सागरका कन्सर्टमा सबभन्दा पछाडि बसेर चुपचाप बाजा बजाइरहेका हुन्छन्। कन्सर्टका पोस्टरमा कुमःको अनुहार ठूलो देखिन्छ, रोजमानको सानो। यसमा पनि उनलाई कुनै गुनासो छैन।
उनी बरू अन्तर्वार्तामा खुलेरै भन्छन्, 'जिन्दगीमा हाम्रो जोडी भगवानले नै जुराएजस्तो लाग्छ। म एक्लै भौंतारिरहेको थिएँ, भगवानसरी नै हाम्रो भेट भयो।'
रोजमानले कुमःबारे यतिसम्म भनेका छन्, 'मलाई अब अरू कसैसँग बजाउनु छैन। (कुमः) सागरसँग बजाउँदा म तृप्त हुन्छु। गर्व लाग्छ मलाई।'
कुमःमा पनि रोजमानप्रति हदैसम्म माया देखिन्छ।
उनले कतिपय कन्सर्टको बीचमा आफूले गाउँदा गाउँदैको गीत रोकेर एक–दुई अन्तरा रोजमानलाई गाउन लगाएका छन्। मिडियासँग बोल्नुपर्दा कतिपय ठाउँमा कुमः चुपचाप उभिएर मात्र बसेको देखिन्छ, मुख्य कुरा रोजमानले नै भन्छन्।
जहाँसम्म सुजाताको कुरा छ, कुमःको निम्ति उनी प्रेरणा र मार्गदर्शक मात्र होइनन्, उनले सिर्जना गर्ने गीतका पहिलो स्रोता पनि हुन्।
'प्रायः म आफूले बनाएको गीत सबभन्दा पहिला उसैलाई सुनाउँछु। उसले राम्रो छ भनेपछि त्यसलाई अगाडि बढाउँछु,' कुमःले भनेका छन्, 'सुजातालाई संगीत र स्केलको राम्रो ज्ञान छ। मलाई कतिपय ठाउँमा गीत राम्रो बनाउन मद्दत गर्छ।'
कुमः र सुजाताको भेट ७ कक्षा पढ्दा भएको थियो। कुमः ७ कक्षामा फेल भएर बसेका थिए भने सुजाता ६ कक्षा पास गरेर आएकी थिइन्।
'उसलाई पहिलोचोटि देख्दा अरू सबै फोकस–आउट भएको थियो। ऊ मात्र देखेको थिएँ। पछि त मेरै जिग्री साथीको बहिनी पो रहेछ। जिग्री भएकाले उसले केही भनेन, नभए त हानिहाल्थ्यो नि!' कुमःले आफ्नो प्रेमकथा सुनाउँदै भनेका छन्, 'दुई वर्ष लाग्यो उसलाई मनाउन।'
त्यही प्रेम सम्बन्धकै क्रममा कुमःले नेवाः भाषाको आफ्नो हिट गीत 'ए चम्पा' लेखेका थिए। यो गीत सुजाताकै निम्ति लेखेको उनको भनाइ छ।
जहाँ रोजमान र सुजिताले कुमःलाई प्रेरणा दिने र हौसला भर्ने काम गरे, त्यहीँ 'भ्वाइस अफ नेपाल' कार्यक्रमले उनलाई एक व्यावसायिक गायकका रूपमा तिखार्ने काम गर्यो।
कुमःले आज जुन सांगीतिक लहर ल्याएका छन् र 'रकस्टार' का रूपमा आफूलाई स्थापित गरेका छन्, त्यसको प्रस्थान विन्दु भ्वाइस अफ नेपाललाई मान्नुपर्छ।
यो उनको सांगीतिक यात्रामा तेस्रो 'टर्निङ प्वाइन्ट' हो।
सयौं प्रतियोगीमध्येबाट उक्त कार्यक्रममा छानिएको क्षण सम्झिँदा कुमः भावुक हुन्छन्। त्यो दिन एक अपरिचित व्यक्तिले फोन गरेर उनलाई भनेका थिए, 'तपाईं भ्वाइस अफ नेपालमा छनौट हुनुभयो। हामी भिडिओ खिच्न तपाईंको घर आइरहेका छौं।'
कुमःले पत्याएनन्।
त्यसअघि पनि उनका एक दाइले फोन गरेर झुक्क्याएका थिए। यसपालि पनि कसैले झुक्क्याएका होलान् भन्ठानेर उनी फोनमा अलि झर्किएर बोलेका थिए।
उनी त्यतिखेर चकित खाए, जब भ्वाइस अफ नेपालको गाडी घरअगाडि आइपुग्यो।
'मलाई त आँशु नै आउलाजस्तो भयो,' कुमःले द स्टोरी-एलर्समा भनेका छन्, 'मैले सबभन्दा पहिला ड्याडीलाई फोन गरेको थिएँ। धेरै दुःख दिएको थिएँ मैले उहाँलाई। मैले केही गरेर खाँदिनँ भनेर उहाँले मतलबै गर्न छाडिसक्नुभएको थियो। त्यसैले जिन्दगीको आफ्नो पहिलो सफलता उहाँलाई सुनाउँदा म निकै खुसी भएको थिएँ।'
उनले अगाडि भने, 'उनीहरूले मेरो घरमै आएर बुबा र आमालाई अगाडि राखेर भिडिओ खिचे। त्यो बेला मेरो आँखाबाट खुसीको आँशु आइरहेको थियो।'
भ्वाइस अफ नेपालको 'ब्लाइन्ड राउन्ड' मा कुमःले लोकप्रिय गायक दीपक बज्राचार्यको 'मायाको डोरीले निष्ठुरी मोरीलाई' गाएका थिए। ब्लाइन्ड राउन्डको त्यो भिडिओ सामाजिक सञ्जालहरूमा भाइरल छ।
'कुमःको त्यो भिडिओ तपाईंले हेर्नुभएको छ?' मैले यो प्रश्न गायक दीपक बज्राचार्यलाई सोधेँ।
जबाफमा उनले भने, 'हेरेको छु।'
'कुमःको स्वरमा आफ्नो गीत सुन्दा कस्तो लाग्यो त?'
'मैले गाएभन्दा बिल्कुलै फरक शैलीमा गाएका छन्,' दीपकले भने, 'त्यो फरक शैली र फरक आवाज नै कुमःको विशेषता हो।'
यहाँ उल्लेख गर्नैपर्ने चाहिँ के भने, कुमःले त्यति बेलाको आफ्नो गायनलाई आफैले मजाक उडाएका छन्।
'गितार बजाउँदै जब म 'मेरो भावना, मेरो संसार' भन्दै गाउन थालेँ, मलाई खतरै गाएजस्तो लाग्यो। जज (निर्णायक) हरूले पनि तारिफ गर्नुभयो। ल मैले त खाएँ है भन्ने भयो। पछि भिडिओ हेर्दा त मैले पात गाइरहेको रहेछु। एक जनाले त 'सुपारी थुकेर गा' भनेर कमेन्ट नै गर्यो।'
आफैलाई 'उडाएको' यो प्रसंग कुमःले जति मजा मानी मानी सुनाएका छन्, त्यसले उनको आत्मविश्वास र सरलता झल्काउँछ। कुमःको यही आत्मविश्वास र सरलता दीपक बज्राचार्यलाई खुब मनपरेको छ।
'आज हावाको लहर भनेकै कुमः सागर हो,' दीपकले मसँगको कुराकानीमा भने, 'मलाई पनि उनको आवाज र शैलीको फरकपन एकदमै मनपर्छ।'
उनले अगाडि भने, 'हाम्रा नेवाः बाजा र नेवाः धुन जोगाउनुपर्छ है भनेर म एक्लै कराइरहेको थिएँ। मेरो प्रयास त्यही थियो। आज कुमः सागर र अरू गायक यसमा लागेको देख्दा खुसी लाग्छ। आफ्नो कुरा बुझ्ने साथी पाएजस्तो महसुस भइरहेको छ।'
भ्वाइस अफ नेपालका तत्कालीन चार निर्णायकमध्ये गायक आस्था राउतले ब्लाइन्ड राउन्डमा कुमःको सबभन्दा बढी तारिफ गरेकी थिइन्। मञ्चमा उभिएर कुमःले गाइरहँदा उनको समर्थन गर्ने पहिलो निर्णायक उनै थिइन्। उनी कुमःको गीतमा मच्ची मच्ची नाचिनन् मात्र, उनलाई आफ्नै समूहमा पनि राखिन्।
मैले कुमःको लहर चल्नुभन्दा धेरैअघि उनको गायन यात्राको त्यो सुरूआती दिनबारे आस्था राउतसँग कुरा गरेको थिएँ।
'सबभन्दा बढी त उनको आवाज नै मनपर्यो,' आस्थाले मसँग भनिन्, 'उनको आवाजमा जुन भारीपन छ, त्यो कमै गायकमा हुन्छ। म त्यसैबाट प्रभावित भएँ।'
यसबाहेक आफैभित्र रमाउँदै आनन्दले गाउने उनको शैलीले पनि छोएको आस्था बताउँछिन्।
उनी कार्यक्रमभरि कुमःको पक्ष लिँदै धेरैचोटि अरू निर्णायकसँग बाझेकी थिइन्। खासगरी कुमःको आवाजमा सुनिने भक्तपुरे नेवाः लवजमाथि टीकाटिप्पणी हुँदा सधैं उनको पक्षमा उभिइन्।
'कुमःको आवाजमा मातृभाषाको लवज मिसिएको छ। अरूले त्यसैलाई उनको कमजोरी ठाने। म चाहिँ सधैं उनको पक्षमा उभिएँ। मलाई उनको आवाजमा विश्वास थियो। जहाँसम्म लवजको कुरा छ, त्यो बिस्तारै सफा गर्न सकिन्छ भन्ने लाग्थ्यो,' आस्थाले भनिन्, 'त्यसको निम्ति मैले उनलाई खुब रियाज गराएँ। गीत गाउँदा कसरी शुद्ध उच्चारण गर्ने भनेर सिकाएँ। कुमःले पनि धेरै कोसिस गरेका हुन्।'
'मैले निर्णायक र मेन्टर (प्रशिक्षक) का रूपमा उनलाई माया पनि गरेको छु, भनेको नमान्दा गाली पनि गरेको छु,' आस्थाले अगाडि भनिन्, 'म उनलाई उच्चारण ठिक गर भन्थेँ, उनी 'हे... हे... हे दिदी' भन्दै जीउ बटार्थे। उनलाई रिसाएको, झर्किएको वा एटिच्युड देखाएको मैले कहिल्यै देखिनँ।'
यसलाई कुमःले पनि स्वीकार गरेका छन्।
'हामी सानैदेखि नेवाः भाषा बोलेर हुर्कियौं। भक्तपुरमा सबैसँग नेवाः भाषामै बोल्छौं। त्यसैले मेरो नेपाली सफा छैन। म त (ट) भनिरहेको हुन्छु, मान्छेहरू त भयो भन्छन्,' कुमःले भनेका छन्, 'भ्वाइस अफ नेपालले मलाई उच्चारण सफा गर्न सिकायो। कसरी शुद्ध बोल्ने भनेर धेरै प्राक्टिस गरेँ। आस्था म्यामले सधैं मलाई 'तिमी सक्छौ' भनेर हौसला दिनुभयो। यस्तो गर, उस्तो गर भनेर सिकाउनुभयो।'
तर मातृभाषाको जुन लवज कुमःको रगतमा बगिरहेको छ, त्यो केही दिनको अभ्यासले कसरी हटोस्!
आखिरमा त्यही कारणले उनी प्रतिस्पर्धाबाट बाहिरिए।
प्रतिस्पर्धाबाट बाहिरिँदा कुमःले भनेका छन्, 'मैले उच्चारण सफा गर्ने खुब कोसिस गरेँ। सकिनँ। सरी!'
नियतिको खेल हेर्नुस्, जुन नेवाः लवज र उच्चारणका कारण कुमः प्रतिस्पर्धाबाट बाहिरिए, आखिरमा त्यही नै उनको सबभन्दा ठूलो खासियत बन्यो।
आज पनि उनको गीतमा नेवाः लवज प्रस्टै झल्किन्छ। उनको बोलीमा 'ट' र 'त' को मिसावट प्रस्टै सुनिन्छ। फरक के भने; आज त्यही लवज, 'ट' र 'त' को त्यही मिसावट कुमःको ट्रेडमार्क बनेको छ। दर्शक/स्रोताहरूले उनको त्यही लवज मनपराएका छन्। त्यही लवजको फ्यान भएका छन्।
सबभन्दा ठूलो कुरा त, आजको मितिमा कुमः सागरले नेवाः लवजमा सुनिने 'ट' र 'त' को मिसावटलाई 'कूल' बनाइदिएका छन्।
अब मातृभाषा बोल्ने कोही पनि; चाहे नेवार होस् वा मधेसी, राई होस् वा लिम्बू, तामाङ होस् वा गुरूङ, मगर होस् वा शेर्पा; उनीहरूले नेपाली भाषा शुद्ध उच्चारण गर्न नसकेकोमा धकाउनुपर्दैन, लजाउनुपर्दैन।
प्रत्येक जातीय, जनजातीय लवजलाई 'कूल' बनाउनु नेपालको समावेशिता आन्दोलनमा कुमःको ठूलो देन हो।
कुमःले भनेका पनि छन्, 'नेवाः, राई, लिम्बू, लामा, तामाङ, शेर्पा; यी सबै नेपाली संस्कृति हुन्। हामीले यी सबै संस्कृतिलाई अर्कै लेभलमा लैजानुपर्छ। बुझ्न चाहनेले अर्थ खोजी खोजी पनि पत्ता लगाउँछ, धेरै टेन्सन लिनु हुँदैन।'

सांगीतिक यात्राका तीन 'टर्निङ प्वाइन्ट' का अतिरिक्त तीन यस्ता पक्ष पनि छन्, जसले कुमःलाई आजको उचाइमा पुर्यायो।
ती तीनै पक्ष कुमःको व्यक्तित्वसँग जोडिएका छन् — उनको इख, उनको रनाहा र उनको सरलता।
पहिला कुरा गरौं, कुमःको इखको।
कुमः ९ कक्षामा फेल भएका थिए। फेल भएपछि उनले पढाइ नै छाडे। पछि घरपरिवारको करकापले १० कक्षा भर्ना भए। त्यो पनि बीचैमा छाडे।
त्यसपछि दुई वर्ष पढ्दै पढेनन्।
यसबीच सँगै स्कुल पढेका साथीहरू युनिफर्म लगाएर कलेज जान थाले। त्यो देखेर कुमःको चित्त दुख्यो।
उनले बुबासँग भने, 'ड्याडी म फेरि पढ्छु।'
यो सुनेर बुबा हाँसेका थिए।
कुमः भने दृढ थिए। उनलाई जसरी पनि स्कुल पास गर्नु थियो र साथीहरूसँगै युनिफर्म लगाएर कलेज जानु थियो।
उनी फेरि १० कक्षा भर्ना भए, एसइईमा स्कुल टप गरे।
'मैले जम्मा ५६ कि ५८ प्रतिशत ल्याएको थिएँ, तर त्यो स्कुलमा सबभन्दा बढी नम्बर मेरै थियो,' कुमःले सुजितासँगको कुराकानीमा भनेका छन्।
एसइईपछि उनले बागेश्वरी कलेजबाट प्लस–टू गरे। स्नातक भने पढ्दा पढ्दै छाडे।
उनले विदेश जाने सोच पनि बनाएका थिए। त्यही बेला भ्वाइस अफ नेपालमा छानिए र उनको जिन्दगी नै बदलियो।
दस कक्षामै छुटेको पढाइलाई स्नातकको आधाआधीसम्म निरन्तरता दिएको यो घटनाले कुमःको व्यक्तित्वसँग जोडिएको अथाह इख झल्काउँछ।
झट्ट सुन्दा इख लिनु भनेको नराम्रो हो भन्ने लाग्न सक्ला। तर यो यस्तो भावना हो, जसले मान्छेलाई अन्तरआत्मादेखि नै अगाडि बढ्ने हुटहुटी जगाउँछ। अरूको इर्ष्या गरेर भुटभुटिने मान्छे कहीँ पुग्दैन, तर जो इख लिएर हुटहुटिन्छ, उसले उचाइ छुन्छ।
एउटा उखान नै छ — बिख नभएको सर्प र इख नभएको मान्छे काम लाग्दैन!
कुमःको सांगीतिक सफलतामा पनि कहीँ न कहीँ त्यो इख जोडिएको छ। त्यो इख गरिबीले जन्माएको हुनसक्छ, वा आफ्नो मनको व्यग्र चाहनामा घरपरिवारको साथ र समर्थन नपाउँदा जन्मिएको पनि हुनसक्छ!
नेवाः लवजमा 'ट' र 'त' को भेद पचाउँदै आफ्नै पारामा गीत गाउने जुन ट्रेडमार्क कुमःले बनाएका छन्, त्यो पनि उच्चारणकै कारण भ्वाइस अफ नेपालबाट बाहिरिनुपरेकाले जन्माएको इख हो कि!
उनको व्यक्तित्वसँग जोडिएको दोस्रो पक्ष हो रनाहा, जुन कुनै पनि सफलताको निम्ति नभई नहुने गुण हो।
हरेक काम वा हरेक पेसामा राम्रा मान्छे धेरै हुन्छन्। तर ती राम्रा मान्छेमध्ये सफल उही हुन्छ, जसमा कामप्रति हदैसम्मको रनाहा छ।
बलिउड अभिनेता शाहरूख खानले उचाइमा पुग्ने रनाहा कस्तो हुन्छ भनेर राम्ररी बयान गरेका छन्।
उनी भन्छन्, 'सफल हुनुछ भने निद्रा त्याग, भोक त्याग, आराम त्याग, सन्तुष्टि त्याग। यी सबै तिमीलाई उचाइमा पुग्नबाट रोक्ने तत्वहरू हुन्। तिमी जति असन्तुष्ट हुन्छौं, त्यति मिहिनेत गर्छौ। जति मिहिनेत गर्छौ, उति सफल हुन्छौ। मिहिनेत गर्दा गर्दै पनि सफल हुन सकेनौ भने बुझ, तिम्रो मिहिनेतमा पक्कै कुनै कमी रह्यो। वा, तिमीभन्दा बढी मिहिनेत तिम्रो प्रतिस्पर्धीले गर्यो।'
कुमःका अन्तर्वार्ता सुन्दा र खासगरी उनका घनिष्ठ रोजमान महर्जनले उनका बारेमा बोलेको सुन्दा कुमःमा पहिल्यैदेखि सफल हुने रनाहा गढेर बसेको थियो भन्ने थाहा हुन्छ।
रोजमानले भनेका छन्, 'म कयौं रात उनको घरमा सुतेको छु। गीत–संगीतमा उनको कति धेरै लगाव छ भने, जति बेला पनि गितार निकालेर गाउन तयार भइहाल्छन्। मलाई निद्रा लागिसकेको हुन्थ्यो, उनी भने राति १२ बजे पनि खिँ निकालेर बजाउन लगाउँथे। दिमागमा कुनै धुन आएपछि उनलाई तुरून्तै बजाइहाल्नुपर्छ। जतिसुकै रात परे पनि रेकर्ड नगरी चित्त बुझ्दैन। रातरातभरि काम गर्न लगाउँछन्। निद्राले आफ्नो आँखा सानो भइसकेको हुन्छ, उनलाई नबजाई हुँदैन।'
यसमा सही थाप्दै कुमःले भनेका छन्, 'हो, दिमागमा धुन आएपछि मलाई तुरून्त बजाइहाल्नुपर्छ। राति उठेर पनि बजाउँछु। बजायो, रेकर्ड गर्यो, अनि बिहान सुन्यो।'
त्यस्तै एउटा अर्को सन्दर्भ पनि रोजमानले सम्झेका छन्।
'उनी चम्पा भन्ने गीत बनाउँदै थिए। कोठामा बसेर एक्लै काम गर्दै थिए। हामी कौसीमा थियौं। उनले एकैचोटि हामी सबैलाई तल आऊ भने। हामी गयौं। उनले बाजा बजाउँदै गीत सुनाए। बीचमा भजन आएपछि त मलाई खतरै छोयो। गीतको बीचमा भजन राख्न सकिन्छ र त्यसले गीतलाई झनै राम्रो बनाउँछ भन्ने त मैले सोचेकै थिइनँ,' उनले भने, 'त्यही नै कुमःको सिग्नेचर स्टाइल बन्यो।'
हो, यही हो रनाहा भनेको!
यति मात्र कहाँ हो र! जति बेला कुमः गीत गाउने अवसरको खोजीमा थिए, उनले रेस्टुरेन्टमा गाउने कुनै पनि मौका छाडेनन्। कहीँ जम्मा हजार रूपैयाँ लिएर गाए, कहीँ सित्तैमा गाउँदै हिँडे। यस्ता प्रत्येक मौकालाई उनी आफ्नो प्रतिभा तिखार्ने माध्यमका रूपमा लिन्थे।
'उनको जिन्दगीमा धेरै दुःख थियो। जति दुःख भए पनि एक थोपा आँशु झारेको मैले देखेको छैन,' रोजमानले भनेका छन्, 'त्यसैले त हामी उनलाई भगवान भन्छौं।'
हो, यही हो रनाहा भनेको!
कुमः जति बेला हजार रूपैयाँ लिएर रेस्टुरेन्टमा गाउँथे, त्यति बेलादेखि नै उनको धोको कुनै दिन असंख्य दर्शक/स्रोताका अगाडि उभिएर गाउनु थियो। कुमः र रोजमान 'हामीले ठूलो अडियन्सका अगाडि उभिएर स्टेज पफर्मेन्स दिने कहिले होला' भनेर कुरा गरिरहन्थे। सपना बुनिरहन्थे। उनी आज पनि कीर्तिपुरको ल्याकुमा गरेको पहिलो कन्सर्टलाई जिन्दगीको 'गर्विलो क्षण' मान्छन्।
'हामी २५ जना दर्शक आए पनि कन्सर्ट हान्ने भनेर गएका थियौं। त्यहाँ पुग्दा त ठूलो भिड थियो,' कुमःले दंग पर्दै भनेका छन्, 'त्यो भिडले हामी सँगसँगै 'श्री राजेन्द्र' भनेर भजन गाउँदा मेरो त 'गुजबम्प' (जीउमा काँडा उम्रने) नै आएको थियो।'
हो, यही हो रनाहा भनेको!
इख र रनाहापछि कुरा गरौं, कुमः सागरको सरलताको।
कुमःका फ्यान मात्र होइन, सर्जकहरू पनि कुमःको सादा जीवन र सरल व्यक्तित्वको खुलेर प्रशंसा गर्छन्। उनलाई लोकप्रिय बनाउनुमा त्यो सरलताको ठूलो हात छ भन्ने धेरैको भनाइ छ।
कुमः सागरको पालामा भ्वाइस अफ नेपालका निर्णायक रहेका गायक राजु लामा जति तारिफ कुमःको फरक आवाज र शैलीको गर्छन्, त्यति नै तारिफ उनको सरलताको पनि गर्छन्।
'पहिलोपटक भ्वाइस अफ नेपालमा देख्दा मैले उनलाई एकदमै शिष्ट, नम्र र मिजासिलो पाएको थिएँ। लजाई लजाई बोल्थे। आफू सानो भएर कुरा गर्थे। अरूलाई होच्याउने काम कहिल्यै गरेनन्। आज उनी देशकै चर्चित रकस्टार भएका छन्। तर आज पनि उनको स्वभावमा कुनै परिवर्तन छैन,' राजुले भने, 'धेरै समयपछि अस्ति फोनमा कुरा गरेको थिएँ। उनी त्यसरी नै बोले, जसरी पहिले बोल्थे। उचाइमा पुगेपछि सबभन्दा छिटो फेरिने भनेको मान्छेको स्वभाव हो। कुमःमा त्यो परिवर्तन पाइनँ, मलाई खुसी लाग्यो।'
राजुले भनेजस्तै पछिल्लो समय सामाजिक सञ्जालहरूमा भाइरल कुमःका छोटा भिडिओहरूले पनि उनको सरलता झल्काउँछ।
उनी कहिले सानी बच्चीलाई काखमा राखेर आफ्नै गीत सुनाइरहेका वा सुनिरहेका देखिन्छन्। कतै आफ्ना फ्यानसँग नारिँदै गाइरहेका वा बजाइरहेका हुन्छन्।
उनी जात्रामा त्यसैगरी जान्छन्, जसरी पहिले जान्थे। त्यसैगरी बजाउँछन्, जसरी पहिले बजाउँथे।
उनको बोली उस्तै ठेट छ, जस्तो पहिले थियो।
उनको हाउभाउ उस्तै अर्गानिक छ, जस्तो पहिले थियो।
उनको बोलीमा बनावट छैन, व्यवहारमा मिसावट छैन।
उनी जस्ता छन्, उनको गीत त्यस्तै छ।
र, त्यस्तै सरल छ उनको जीवन दर्शन पनि।
उनले भनेका छन्, 'रमाइलो गरेर बिताउनुपर्छ जिन्दगी। पहिले पनि रमाइलो थियो, अहिले पनि रमाइलो छ। भोलि पनि रमाइलै हुनेछ।'
त्यसैले त फ्यानहरू हावामा हात लहराउँदै कुमः सँगसँगै गाउँछन् —
बतासमा उडेझैं
लाग्न थाल्यो मन,
तिम्रै कल्पनामा भुलेझैं
लाग्यो नि यो तन
तिम्रै संसारमा
डुब्न मन भो नि
मेरा सारा खुसी
गरेँ तिम्रै निम्ति
अब, हावाको लहरसँगै
उडिरहन मन भो नि
तिम्रो त्यो बासना मनभरि चल्यो रे
तिम्रो त्यो बोलीमा मगन भएर
तिम्रै अगाडि फूलहरू पनि चमचम गर्दै नाच्यो रे।
तिमी आई यो धर्तीमा रंगीन छायौ रे
कटाउँला जिन्दगी यो तिम्रै हात समाई रे!
***
सबै तस्बिरः सुप्रिन्स शाक्य
