वर्ष २०८१ मा नेपाली फिल्म क्षेत्रमा बहार छायो। यस अर्थमा कि, एउटै फिल्मले नेपालभित्र ४६ करोड रूपैयाँ भन्दा धेरैको व्यापार गर्यो। व्यावसायिक सफल हुने फिल्मको संख्या पनि ह्वात्तै बढ्यो।
गत शुक्रबार रिलिज 'वसन्त' र आउँदो शुक्रबार रिलिज हुन लागेका दुई फिल्म 'पिताम्बर' र 'कर्मा' लाई छाडेर प्रदर्शनमा आएका ५९ फिल्मले स्वदेशमा कुल एक अर्ब ८० करोड रूपैयाँ कमाइ गरे। त्यसमध्ये विजय बराल अभिनीत 'पूर्णबहादुरको सारंगी' ले मात्रै बक्स अफिसमा ४६ करोड ८० लाख रूपैयाँ कमाइ गरेको चलचित्र विकास बोर्डले सेतोपाटीलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ।
यो फिल्मले अहिलेसम्मकै धेरै कमाउने फिल्मको रेकर्ड बनायो जुन यस वर्षको सबभन्दा ठूलो सफलता मान्न सकिन्छ।
वर्ष २०८१ को सुरूआतमै फिल्म 'बोक्सीको घर' सुपरहिट भएको थियो। केकी अधिकारी निर्मित यो फिल्मले बक्स अफिसमा १० करोड २ लाख रूपैयाँ कमाइ गर्यो। त्यसपछि पनि एकपछि अर्को फिल्मले दर्शकलाई हलसम्म तान्दै राम्रो व्यापार गरे।
वैशाखमै रिलिज उपेन्द्र सुब्बा निर्देशित 'मनसरा' ले ४ करोड ७८ लाख रूपैयाँ कमायो। जेठमा रिलिज दिनेश राउत निर्देशित 'पुजार सार्की' ले सात करोड ३७ लाख रूपैयाँ कमाउँदा सुयोग गुरूङ निर्देशित 'फर्की फर्की' ले ४ करोड ८४ लाख रूपैयाँ कमायो। त्यस्तै जेठमै रिलिज नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो' ले चार करोड १९ लाख कमाइ गर्यो।
असारमा रिलिजमध्ये अनिल बुढा निर्देशित 'घर ज्वाइँ' ले राम्रो व्यापार गर्यो। यो फिल्मले बक्स अफिसमा ५ करोड ९ लाख रूपैयाँ कमायो। भदौमा रिलिज मीन भाम निर्देशित 'शाम्बाला' ले २ करोड १२ लाख रूपैयाँ कमायो।
असोजमा भने हलमा दर्शकको भीडभाड देखियो। यो महिनामा रिलिज धेरै फिल्मले दर्शकलाई हलसम्म ताने। 'खुश्मा', '१२ गाउँ' र 'छक्का पञ्जा ५' सुपरहिट भए। 'बेहुली फ्रम मेघौली' र 'ज्वाइँ साब' को व्यापार पनि सुखद रह्यो।
अशोक थापा मगर निर्देशित 'खुश्मा' ले ४ करोड १० लाख रूपैयाँ कमाइ गर्यो। साजन काफ्ले र आकाश बरालको निर्देशनमा बनेको 'बेहुली फ्रम मेघौली' को कमाइ ३ करोड ५४ लाख रूपैयाँ रह्यो।
विराज भट्ट निर्देशित '१२ गाउँ' ले १९ करोड ९२ लाख रूपैयाँ कमायो। यो वर्षको सर्वाधिक कमाउनेमा दोस्रो नम्बरमा रह्यो।
दीपाश्री निरौला निर्देशित 'छक्का पञ्जा ५' ले १५ करोड २० लाख कमाइ गर्यो।
कात्तिकमा रिलिज सरोज पौडेल निर्देशित 'पूर्णबहादुरको सारंगी' कीर्तिमानी कमाइ गर्दै लामो समयसम्म प्रदर्शन भइरह्यो। कात्तिक अन्त्यमा रिलिज चन्द्र पन्त निर्देशित 'ह्रस्व दीर्घ' को कमाइ ४ करोड ३३ लाख रूपैयाँ रह्यो। मंसिरमा रिलिज शंकर घिमिरे निर्देशित 'तेल भिसा' ले २ करोड ४५ लाख रूपैयाँ गर्यो।
पुस र माघमा रिलिज फिल्मले राम्रो कमाइ गर्न सकेनन्। फागुन १४ मा रिलिज कुमार कट्टेल निर्देशित 'लाज शरणम्' ले सुखद व्यापार गर्यो। यो फिल्मले ४ करोड ३४ लाख रूपैयाँ कमाइ गरेको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ।
त्यसपछि फागुन २३ मा रिलिज सशान कँडेल निर्देशित 'होस्टेल ३' ले ४ करोड ५ लाख रूपैयाँ कमाएको छ।
फागुन अन्तिममा रिलिज मिलन चाम्स निर्देशित फिल्म 'अञ्जिला' ले आक्रामक व्यापार गरेको देखिएको छ। यो फिल्मले सात करोड ५० लाख रूपैयाँ कमाएको विवरणमा उल्लेख छ। यो फिल्मसँग एकसाथ रिलिज विक्की महर्जन निर्देशित 'आउट ल' को कमाइ एक करोड ४४ लाख रूपैयाँ छ।
फिल्मको व्यापारलाई लिएर सम्बन्धित फिल्म निर्माताले सार्वजनिक गरेको तथ्यांक र विकास बोर्डले दिएको विवरणमा भने फरक देखिएको छ।
विधामा विविधता, नपत्याएका फिल्मले आश्चर्य बनाए
यस वर्ष स्टार (कलाकार) भन्दा पनि कथा बिकेको पाइयो। एउटा विधा नभई विविध विधाका फिल्म चले। कमेडी, सामाजिकदेखि एक्सन, बायोपिक फिल्मसम्म राम्रो चले। एक्सन फिल्म नचलेको धेरै भइसकेको अवस्थामा यस वर्ष '१२ गाउँ' ले नेपाली फिल्ममा एक्सनको माहोल फर्कायो। पछिल्लो समय बायोपिक फिल्म 'एन्जिला' ले राम्रो व्यापार गर्दै धेरैलाई चकित बनाइदियो।
रिलिजअघि धेरै आशा नगरिएका फिल्मले पनि आक्रामक व्यापार गरे। '१२ गाउँ' र 'एन्जिला' मा पनि यति धेरै आशा गरिएको थिएन।
वैशाखमा रिलिज 'बोक्सीको घर' र कात्तिकमा रिलिज 'पूर्णबहादुरको सारंगी' पनि सुरूमा धेरै नपत्याएका फिल्महरू थिए।
फिल्म फेस्टिभल (फिल्म महोत्सव) मा पुगेकाको पनि सुखद व्यापार
यसअघि फेस्टिभलमा पुगेका फिल्मले स्वदेशमा सुखद व्यापार गरेको विरलै पाइन्थ्यो। यस वर्ष विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेका फिल्मले स्वदेशमा पनि सुखद व्यापार गरे।
'गाउँ आएको बाटो' र 'शाम्बाला' लाई त्यसको उदाहरणका रूपमा लिन सकिन्छ। अन्तर्राष्ट्रिय फेस्टिभलमा राम्रो उपस्थिति जनाएको अर्को फिल्म 'राजागंज' भने स्वदेशमा व्यावसायिक हिसाबमा सफल भएन।
कलाकारले पाएको चर्चा
यस पटक फिल्म क्षेत्रमा केही कलाकारको चर्चा निकै लोभलाग्दो रह्यो। जसमा 'पूर्ण बहादुरको सारंगी' बाट अभिनेता विजय बराल र '१२ गाउँ' बाट डेब्यु गरेका समीर भट्ट सर्वाधिक चर्चामा रहे।
अभिनेता विराज भट्टका छोरा समीर नयाँ भएर पनि दर्शकले निकै रूचाए। त्यस्तै यस वर्ष अन्य केही नयाँ पुस्ताका कलाकारको पनि तारिफ भयो।
अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीको डेब्यु फिल्म नचले पनि उनी चर्चामा रहिन्। अधिकांश नयाँ कलाकार लिएर बनाइएको 'होस्टेल ३' का कलाकारहरू पनि चर्चामा रहे।
केही अपेक्षा गरेका फिल्मले निराश बनाए
धेरै अपेक्षा नगरिएका फिल्म चल्दा केही अपेक्षा गरिएका फिल्मले भने निराशा बनाए। जसमा पल शाह र पूजा शर्मा अभिनीत 'रावायण', प्रदीप खड्का, राजवल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी सहितको अभिनय रहेको 'एक्टरः टेक वन', दयाहाङ राई, जितु नेपाल, दिया मास्के अभिनीत 'कार्साङ', दयाहाङ राई र आँचल शर्मा अभिनीत 'दुखी आत्मा' लगायत छन्।
शुक्रबारदेखि प्रदर्शनमा आएको प्रकाश सपुत निर्देशित 'वसन्त' ले सुखद व्यापार गरे पनि अपेक्षित छैन।
अब आउने शुक्रबार रिलिज 'पिताम्बर' र 'कर्मा' को नजिता कस्तो आउने हो त्यो भने हेर्न बाँकी छ।
विकास बोर्डले दिएको विवरणअनुसार सर्वाधिक कमाउने पाँच फिल्म
१) पूर्णबहादुरको सारंगी– ४६ करोड ८० लाख रूपैयाँ
२) १२ गाउँ– १९ करोड ९२ लाख रूपैयाँ
३) छक्कापञ्जा ५– १५ करोड २० लाख रूपैयाँ
४) बोक्सीको घर– १० करोड २ लाख रूपैयाँ
५) अञ्जिला– ७ करोड ५० लाख रूपैयाँ