साढे दुई महिनाअघि रिलिज भएको 'मकैबारी दर्याम दर्याम' गीतले युट्युबमा तहल्का मच्चायो।
छोटो समयमै नम्बर वान ट्रेन्डिङमा परेको यो गीतमाथि टिकटकमा थुप्रै भिडिओ बने। गीत गाउने र म्युजिक भिडिओमा नाच्ने सुष्मा शाही ठकुरी र विशाल सोनी रातारात सुपरहिट भए।
गीतका शब्द र नृत्यबाट यी दुई जनाले लाखौं दर्शक/स्रोताको मन जिते पनि यसमा मिहिनेत गर्ने उनीहरू मात्र थिएनन्।
चार जना ब्याकग्राउन्ड डान्सरले पनि यो गीत हिट बनाउन उत्तिकै मिहिनेत गरेका छन्। तर सुष्मा र विशालको पछाडि पछाडि नाच्ने हुँदा उनीहरू भिडिओमा झल्यालझुलुक मात्र देखिन्छन्।
त्यही भएर गीतले जति नै बजार तताए पनि र अहिलेसम्म युट्युबमा २ करोड ८० लाखभन्दा बढी पटक हेरिएको भए पनि अधिकांश दर्शकले यी चारको अनुहारधरि सम्झिँदैनन्, चिन्नु त परै जाओस्!
तिनैमध्ये एक हुन्, हल्का गुलाबी रङको सर्ट लगाएर सोनीको पछाडि पछाडि नाच्ने ३२ वर्षीय मदन भण्डारी।
चौध वर्षदेखि समूह नृत्यमा संलग्न उनले सयौं गीतमा नाचेका छन्। ती गीत हिट पनि भएका छन्, म्युजिक भिडिओले बजार तताएको पनि छ। तर त्यही भिडिओमा मदनको नाच कमैले याद गर्छन्।
मदनका लागि यो नौलो कुरा होइन। उनलाई आफू हिट नभए पनि हिट गीतमा आफू र आफूजस्ता कलाकारको महत्त्व के हो भन्ने राम्ररी थाहा छ।
'हाम्रो काम नै आफू अँध्यारोमा बसेर मुख्य कलाकारहरूलाई चम्काउने हो,' उनले भने, 'कुनै पनि गीत मुख्य कलाकार एक जना मात्र नाच्दा आकर्षक देखिँदैन। गीतको शब्द र लयअनुसार पृष्ठभूमिमा नाच्नेहरू पनि हुनैपर्छ। पृष्ठभूमि राम्रो भए मात्र मुख्य विषयवस्तुमा दर्शकको ध्यान जान्छ।'
म्युजिक भिडिओमा फूलबुट्टा भर्ने यी ब्याकग्राउन्ड डान्सरको अनुहार भलै कसैले नचिनोस्, तर उनीहरूको मिहिनेत कम हुँदैन। उनीहरू मुख्य कलाकारले जस्तै शब्दले मागेअनुसार अभिनय गर्छन्। दु:खी हुन्छन्, खुसी हुन्छन्, वा शब्दअनुसार जस्तो भाव देखाउनुपर्छ, त्यस्तै भावमा प्रस्तुति दिन्छन्।
'दर्याम दर्याम' गीतमा नाच्दा भने फरक अनुभव भएको उनी बताउँछन्। यसमा शब्द र लयअनुसार प्रस्तुति दिन गाह्रो परेको उनको अनुभव छ।
'कथाले मागेअनुसार नृत्य गर्न सजिलो थियो। तर शब्द र लय नै यति हाँसो उठ्दो थियो, हामी त गीत बज्नासाथ मरी मरी हाँस्थ्यौं,' मदनले भने, 'टिमका सबै जना हाँसेको हाँस्यै गर्दा गाली पनि खाइयो।'
सामान्यतया ६–७ मिनेटको म्युजिक भिडिओ सुटिङ ४–५ घन्टामा सकिन्छ। त्यो गीतमा भने पूरै एक दिन लागेको उनी बताउँछन्।
उनले 'दर्याम दर्याम' गीतमा नाच्ने अवसर कसरी आयो भन्ने पनि हामीलाई सुनाए।

एक साँझ टिम लिडर राजाराम सिम्खडाले फोन गरेर 'भोलि सुटिङ छ, जानुपर्छ है' भने।
मदनलाई कुन गीतको सुटिङ, गीतको बोल के हो, गाउने को हो; केही थाहा थिएन। तर राजारामले भन्नासाथ उनले केही सोधेनन्, तुरून्तै 'हुन्छ' भने र भोलिपल्ट बिहान ६ बज्नुअघि नै बागबजारको डान्स सेन्टर पुगे।
बागबजारमा सिम्खडाको आफ्नै डान्स सेन्टर छ। मदन अहिले त्यहीँ नृत्य सिक्दै छन् र उनकै टिममा काम गर्छन्।
'त्यहाँ पुगेपछि अरू साथीहरूसँग भेट भयो। गाडी आयो, हामी सुटिङमा निस्किहाल्यौं,' उनले भने, 'हामीलाई कहाँ जान लागेको भन्ने पनि थाहा थिएन।'
करिब तीन घन्टामा चित्लाङ पुगेर गाडी रोकियो।
सुटिङ स्थल पुगेर उनले मेकअप गरे। लुगा फेरे। अनि गीतको बोलमा नृत्य अभ्यास गर्न तयार भए।
जसै गीत बज्यो, मदन र उनका साथीहरूको हाँसो रोकिएन।
उनीहरू एकछिन हाँस्थे, 'सरी' भन्थे, अनि फेरि नाच्न तयार हुन्थे।
गीत बज्नासाथ फेरि त्यही हालत हुन्थ्यो।
पटक पटक यस्तै अवस्था आएपछि निर्देशकले गाली नै गर्नुपरेको उनी सम्झन्छन्।
'हामीले त्यो दिन बल्ल बल्ल काम पूरा गर्यौं,' उनले भने, 'पछि त्यही गीत सुपरहिट भयो।'
गीत सुटिङ क्रममा गाली खाएको यस्तो अनुभव धेरै छ। जति गाली खानुपरे पनि उनले यो काम छाड्न सकेका छैनन्। आफूलाई मन परेको काम भएर पनि जस्तोसुकै परिस्थितिमा निरन्तरता दिइरहेको उनी बताउँछन्।
डेढ दशकको यो नृत्य यात्रामा मदनलाई आफै अगाडि उभिएर मुख्य भूमिकामा नाच्ने रहर नभएको होइन। उनले प्रयास पनि गरे, तर सफल हुन सकेनन्।
एकचोटि आफन्त र परिचित दाइहरूको सहयोगमा दुइटा म्युजिक भिडिओ बनाएर मुख्य भूमिका गरेका थिए। तर दुवै 'फ्लप' भए।
त्यसपछि अरूले लगानी गरिदिने हिम्मत गरेनन्। आफै लगानी गर्न पैसा नभएको उनको भनाइ छ।
'अलि अलि खर्च गर्ने हो भने अगाडि आउन नसकिने होइन, तर परिवारको समस्याले आफ्नो सपना सधैं सहिद हुन्छ,' उनले दिक्दार मान्दै भने।
सिन्धुपाल्चोकमा जन्मिएका मदनको बाल्यकाल भक्तपुरमा बित्यो। सामान्य परिवारमा जन्मिएका उनी कान्छा छोरा हुन्। उनका एक दाइ र एक दिदी छन्।
गाउँमा दुई धाक टार्न मुस्किल भएपछि उनका आमाबुबा तीन सन्तान च्यापेर उपत्यका भित्रिएका थिए। आफ्ना सन्तानलाई पढाएर आत्मनिर्भर बनाउने आमाबुबाको सपना थियो। त्यसैअनुसार हुर्काए, बढाए, पढाए।
उनका दिदी र दाइ आमाबुबाले देखाएको बाटोमै हिँडे। मदनले पनि पढेर सरकारी जागिर खाओस् भन्ने आमाबुबाको चाहना थियो। तर उनले फरक बाटो रोजे।
'मलाई सानैदेखि नाच्न मन लाग्थ्यो। समयसँगै त्यो रहर बढ्दै गयो,' उनले भने, 'मैले स्कुलका कार्यक्रममा नाच्न कहिल्यै छुटाइनँ। बिस्तारै पढाइभन्दा नाच्नतिरै मेरो ध्यान तानियो।'
छोरा यसरी नाचेर हिँडेपछि आमाबुबाले खुब सुर्ता माने। नाचेर भविष्य बन्दैन, खान–लाउन पुग्दैन भनेर उनीहरू गाली गरिरहन्थे।
मदनले भने कहिल्यै टेरेनन्।
'हामीकहाँ बिहान १० देखि साँझ ५ बजेसम्म कुर्सीमा बसेर काम गर्नेलाई मात्र राम्रो मानिन्छ। मेरो घरमा पनि त्यस्तै सोच थियो। म फरक सोच्थेँ,' उनले भने, 'मलाई कला क्षेत्रमै भविष्य बनाउनु थियो। कलाकार भएपछि पैसा नभए पनि देश–विदेश घुम्न पाइन्छ, टिभीमा देखिन्छ भन्ने सोचेर म मख्ख पर्थेँ।'
मदनले २०६७ सालमा भक्तपुरको महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट एसएलसी पास गरे। रिजल्ट आउने बेलासम्म नाच सिक्छु भनेर बागबजारको एक डान्स सेन्टरमा भर्ना भए।
उनी त्यति बेलाका चर्चित कलाकार शंकर बिसीका नृत्य हेर्थे। उनकै जस्तो नाच्ने कोसिस गर्थे।
उनी खासमा बिसीकै डान्स सेन्टर भर्ना हुन खोजेका थिए। घरबाट निस्कँदा त्यही सोचेका थिए। तर बिसीको सेन्टर कहाँ छ भनेर पत्तै लगाउन सकेनन्।
आखिरमा केही सिप नलागेपछि साथीको आग्रहमा अर्कै डान्स सेन्टर पुगे।
'साथीहरूले जहाँ सिके पनि उस्तै हो भनेपछि बल्ल म अरू ठाउँमा सिक्न राजी भएको थिएँ,' उनले भने, 'त्यो बेला मसँग खल्तीमा जम्मा दुई सय रूपैयाँ थियो। त्यो फारममा गइहाल्यो। त्यसबाहेक महिनाको हजार रूपैयाँ बुझाउनुपर्थ्यो। मलाई घरमा माग्न आँट आएन।'
उनी एक–दुई दिनसम्म पैसा नमागी बसे। तेस्रो दिन दिदीलाई भने। दिदीकै माध्यमबाट आमासम्म कुरा पुग्यो र आमाको मुखबाट बुबाले थाहा पाए।
बुबा कुनै हालतमा पैसा दिन तयार भएनन्।
मदन पनि आफ्नो कुरामा अडिग रहे।
एक सातासम्म अडान नछाडेपछि बल्ल घरबाट हजार रूपैयाँ पाएको उनी सम्झन्छन्।
यहाँ रोचक के भयो भने, त्यो डान्स सेन्टरमा सिक्न थालेको महिनादिन नपुग्दै उनले आफ्ना प्रिय कलाकार शंकर बिसीको डान्स सेन्टर पत्ता लगाए।
त्यसपछि त के चाहियो! उनी महिना कट्नेबित्तिकै बिसीकहाँ पुगे।

बिसीकहाँ सिक्न थालेको एक सातामै उनले जिन्दगीमा पहिलोपटक नाच्ने प्रस्ताव पाए।
त्यही डान्स सेन्टरमा सिकिरहेका एक जना दाइले ब्याकग्राउन्डमा नाच्ने प्रस्ताव लिएर आएका थिए। टिभीमा देखिने भनेपछि उनले केही नसोची हुन्छ भने।
यो २०६८ सालको कुरा हो। त्यति बेला उनी १८ वर्षका थिए।
'त्यो सांस्कृतिक गीत थियो। हामीले काभ्रेको साँगामा रहेको शिव मन्दिरमा सुटिङ गरेका थियौं,' उनले भने, 'गीत मलाई याद छैन। कलाकारहरूको नाम पनि बिर्सिसकेँ। तर त्यो दिन टिमका एक सदस्यले भनेको शब्द आज पनि मेरो दिमागमा ताजै छ।'
सुटिङकै बीचमा टिमका एक जनाले भनेका थिए, 'राम्रो नाच्दा रहेछौ। यो क्षेत्रमा तिम्रो भविष्य राम्रो छ।'
पहिलो दिन नै कामको प्रशंसा पाएपछि मदन उत्साहित भए।
'पैसा आउँदैनथ्यो। तैपनि रमाइलोका लागि म सुटिङमा गइरहन्थेँ,' उनले भने, 'तीन–चारवटा गीतमा डान्स गरेपछि पैसा आउन थाल्यो।'
उनले पहिलोपटक पाएको पारिश्रमिक ५ सय रूपैयाँ थियो। त्यसमा ५० रूपैयाँ टिम लिडर वा संयोजकले लिन्थ्यो। बाँकी ४ सय ५० उनको हात पर्थ्यो।
'एउटा गीतको सुटिङ सक्न दिनभरि लाग्थ्यो,' उनले ती दिन सम्झिँदै भने, 'एउटा गीत तयार पार्न त २४ घन्टासम्म नाचेको अनुभव छ। भिडिओमा बेला बेला मात्र देखिने भए पनि सुटिङमा हाम्रो दिनै बित्छ।'
उनका अनुसार पहिले पहिले दिउँसो मात्र सुटिङ हुन्थ्यो। बिहान छिट्टै गएर घाम अस्ताउनुअघि नै सक्नुपर्थ्यो। अचेल रातमा पनि सुटिङ हुन थालेको छ।
बिस्तारै कामको चाप बढ्दै गयो। उनले महिनाको २५–२६ दिनसम्म पनि काम गरे।
नाचमै टक बसेपछि कलेज पनि छुट्यो। मदनले कक्षा १२ को परीक्षा नै दिएनन्।
एक–दुई वर्ष यसैगरी काम गरेपछि उनको पारिश्रमिक ७ सय ५० रूपैयाँ पुग्यो। त्यसपछि आमाबुबासँग भक्तपुरमा बस्न छाडे। साथीहरूसँगै बसेर काममा व्यस्त भए।
लगभग १० वर्ष यसरी नै बित्यो।
बिस्तारै उनीसँगै नाच्ने केही साथीहरू विदेश लागे। उनी पनि नाचेर मात्र हुँदैन भन्ने सोचेर होटलमा काम गर्न गए। तर केही महिनामै होटलको कामबाट वाक्क भए।
उनले सोचे — म यसका लागि बनेकै होइन!
करिब ६ महिना होटलमा काम गरेपछि पुरानै पेसामा फर्किए र विदेश जाने तयारीमा लागे। त्यो तयारी पनि कोभिड महामारीले अवरूद्ध भयो।
'मेरो भाग्यमा यही लेखेको छ कि जस्तो लाग्छ,' उनले भने, 'अहिले म सारा कुरा बिर्सेर यही काममा केन्द्रित छु। यसैलाई निरन्तरता दिइरहेको छु।'
उनी अचेल एउटा म्युजिक भिडिओमा नाचेको १ हजार ८ सय रूपैयाँ पाउँछन्। तोकिएको पारिश्रमिक त २ हजार हो, तर २ सय टिम लिडर वा संयोजकलाई बुझाउनुपर्छ।
उनी महिनाको औसत १०–१५ वटा हुने भिडिओमा काम गर्छन्। विभिन्न कार्यक्रममा नाच्ने अवसर पनि आइरहन्छ। सबै जोड्दा महिनाको ४०–४५ हजार रूपैयाँ कमाइ हुने उनी बताउँछन्।
'अहिले नयाँ पुस्ताका डान्सर धेरै आएका छन्। उनीहरू निकै राम्रो नाच्छन्। त्यसैले प्रतिस्पर्धा चर्को छ,' उनले भने, 'नयाँ खालको नाच सिक्न, अभ्यास गर्न र आफूलाई तिखार्न छाड्न हुन्न।'
उनले हाँस्दै भने, 'तर एउटा कुरा चाहिँ मनमा राख्नैपर्छ — पछाडि नाच्ने भएपछि गीत जतिसुकै हिट भए पनि कसैले चिन्दैनन्।'
***