सुजन चापागाईंको म्युजिकल फिल्म 'एक्लै भएँ नि– मेरो अधुरो प्रेम' सार्वजनिक भएको छ।
'फूलथुंगे रानी' पछि सुजनले आफ्नो अफिसियल युट्युबमार्फत आइतबार बेलुका 'एक्लै भएँ नि' ल्याएका हुन्।
आर्टमाण्डु प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरिएको यस म्युजिकल फिल्मले प्रेम, बिछोड, पछुतो र बिछोडपछिको पीडालाई कलात्मक चित्रण गरेको छ। यसले अधुरो प्रेमको वेदना र ब्रेकअपपछि मनमा उठ्ने भावनाहरूको गहिराइलाई संगीत र अभिनयमार्फत प्रस्तुत गरेको छ।
गीतका शब्द हर्क साउदका हुन्। सुजन चापागाईं र विद्या तिवारीको स्वर छ। संगीत सुजन चापागाईंकै हो। संगीत निर्माण, मिक्सिङ र मास्टरिङ कोविद बज्रले गरेका छन्।
भिडिओमा कथा वाचक साइग्रेस पोखरेल र माया लुना खानले अभिनय गरेका छन्। भिडिओमा अभिषेक सुवेदीको लेखन तथा निर्देशन छ।
चिन्तन राजभण्डारीको डिओपी रहेको भिडिओ सम्पादन र कलर ग्रेडिङ कृष्ण भण्डारीले गरेका हुन्। म्युजिकल फिल्मको सुपरिवेक्षण नवीन चौहानले गरेका हुन्।
गायक तथा संगीतकार सुजन चापागाईंले आफूलाई व्यक्तिगत रूपमा मन पर्ने जनरासँग पहिलो पटक साक्षात्कार गर्ने जमर्को मिलेको र यो गीत तिनै तमाम पीडित हृदयहरूप्रति समर्पित रहेको बताए।
'एक्लै भएँ नि' सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको छ। दर्शक र स्रोताबाट प्रतिक्रिया पनि सकारात्मक मिलिरहेको देखिन्छ।