गत शुक्रबार र शनिबार नेपालयको 'आर'सालामा संगीतकार न्ह्यू बज्राचार्यको पलेँटी सम्पन्न भएको छ। झण्डै २ घण्टासम्म चलेको पलेँटीमा बज्राचार्यले संगीत दिएका दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो।
गीटार बजाउँदै स्टेजमा बसेका न्ह्यूकै गायनबाट कार्यक्रमको थालनी भएको थियो। उनले आफ्नो सांगीतिक यात्राका क्रममा भोगेका संस्मरण सुनाउँदै गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको पहिले गीत सुनाउँदा उनले केही वर्ष पहिले दिवंगत भएकी स्वरशिल्पी लासमित राईको सम्झना गरेका थिए। लासमितको स्वरमा रेकर्ड भएको 'नआऊ सपनाभरि' संगीतकारको आवाजमा सुन्दा दर्शकहरूमा भिन्दै रौनकता देखिन्थ्यो।
त्यसपछि उनले गीतकार दिनेश अधिकारीसँगको पहिलो भेटको सम्झना सुनाउँदै 'अघिअघि जिन्दगी' सुनाएका थिए। तेस्रो प्रस्तुतिमा गीतकार विप्लव प्रतीकको काव्यात्मक गीत 'एउटी सानी परी' रहेको थियो। यसपालीको कार्यक्रमलाई कवि विप्लवले नै सञ्चालन गरेका थिए। सोलो गीटार बजाउँदै प्रस्तुत भएका न्ह्यूले जब रमण घिमिरेको शब्द 'आधी बाटो हिंडेपछि' सम्पन्न गरे त्यसपछि कार्यक्रमले दोस्रो चरण प्रवेश गर्यो।
कार्यक्रमको दोस्रो चरणमा बानिका प्रधानको स्वर गुञ्जिएको थियो। उनले अरूणा लामाको स्वरमा रेकर्ड भएको 'यो मन त तलाउ हो' लाई कुशलतापूर्वक प्रस्तुत गरेकी थिइन्। राजेन्द्र थापाको यस गीतपछि बानिकाले विभिन्न चरणमा 'तिमी बाहेक', 'खाटा बसेछ', 'ए ऐना' र 'छाएछ बसन्त' बोलका गीतहरू प्रस्तुत गरेकी थिइन्।
न्ह्यूका धुनमा दुर्गालाल श्रेष्ठ, बसन्त चौधरी, मञ्जु लामा, भूषण खरेल, गोपाल प्याकुरेल, मदन कृष्ण श्रेष्ठ, क्षेत्रप्रताप अधिकारी र सुरेश स्थापितका शब्दहरू समेटिएका थिए। कार्यक्रममा न्ह्यू आफैँले लेखेका गीतहरू पनि प्रस्तुत भए। बानिका प्रधानको गायनलाई संगीतकार न्ह्यू बज्राचार्यका साथै पलेँटीका दर्शकहरूले मुग्ध कण्ठले प्रसंसा गरेका थिए।
कार्यक्रमको अर्को चरणमा न्ह्यूले पूर्ण वाद्यवादनका साथ केही गीतहरू सुनाएका थिए। जसमा 'मेरो प्यारो', 'पागल', 'अरबौं मान्छेहरूमा', 'जय होस्' बोलका गीतहरू रहेका थिए। आनी छोइङको स्वरमा लोकप्रिय बनेको 'फूलको आँखामा' गीतलाई न्ह्यूले नेपाली र नेवारी भाषामा मिस्रित गरेर गाएका थिए।

यसपालीको पलेँटीमा वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा शम्भु बानियाँ, बाँसुरीमा मिलन घिमिरे, पर्कसनमा पारशमणि सुवेदी, गिटारमा लुमन स्थापित र बेस गिटारमा सुदीप खत्रीको साथ थियो।
शुक्रबारको पलेँटी हेरेर बाहिरिँदै गरेका गायक शेषनारायणको प्रतिक्रिया सुनिन्थ्यो– 'न्ह्यूका गीतहरूलाई पलेँटीमा कसरी प्याकेजिङ गरिन्छ होला भन्ने जिज्ञासा थियो; त्यो मेटियो मात्र होइन; गज्जबको प्रस्तुति भयो। दामी कार्यक्रम।'
'आजको साँझ अविष्मरणी साँझ रह्यो। न्ह्यूको संगीत त सुन्दर छँदैछ; उसको सेन्स अफ ह्युमरले कार्यक्रमलाई झन् रोचक बनायो,' यसपालीको पलेँटी सञ्चालन गरिरहेका कवि तथा गीतकार विप्लव प्रतीकको प्रतिक्रिया थियो।
आगामी अगष्ट महिनाको पलेँटीमा संगीतकार तथा गायक रामकृष्ण दुवाललाई निम्त्याइएको पलेँटी संयोजक आभासले जानकारी दिए। रामकृष्ण दुवाल लामो समयदेखि नेपाल भाषा र नेपाली भाषाका गीत, संगीतमा क्रियाशील कलाकार हुन् । अगष्ट महिनाको अन्तिम शुक्रबार र शनिबार दुवालका सृजनाहरू समेटिएको पलेँटी हुनेछ।
कालिकास्थानस्थित नेपालयको 'आर'सालामा हुने यस कार्यक्रमको टिकट अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ।