वरिष्ठ लोक गायिका इन्दिरा गोले गुरूङको निधन भएको छ। उनको ५९ वर्षको उमेरमा गएराति १२ बजे हात्तीवनस्थित अपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
लोकदोहारी, आधुनिक, तामाङ सेलो, देउडा, काठेलगायत विभिन्न भाषा र भाकाका गीतमा स्वर दिएकी इन्दिरा विगत २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन्। हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उनी दुई सातादेखि अपार्टमेन्टमा बसेर उपचार र आराम गरिरहेकी थिइन्।
उनको स्वरमा रहेका नारायणथानमा गेट, चाँगु नारायणथान, जाइफूलको बासना, घर त छाउनीमा, असारको महिना लगायतका थुप्रै गीत चर्चित छन्।
उनको बुधबार दिउँसो स्वयम्भुमा बौद्ध संस्कार अनुसार दाहसंस्कार गर्ने तयारी छ। त्यसअघि श्रद्धान्जलीका लागि उनको शव संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने छ।