लेखक नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ को मञ्चन सुरू भएको छ। विमल सुवेदीको निर्देशनमा बनेको नाटक मण्डला थिएटरमा मञ्चन भइरहेको छ।
‘१० वर्षे सशस्त्र द्वन्द्वका बाछिटाका पर्खाइको कथा हो पल्पसा क्याफे,’ निर्देशक विमल सुवेदीले भने, ‘द्वन्द्व पूर्व केही राम्रो परिवर्तन हुन्छ भनेर पर्खिनेको कथा हो जसलाई हामीले नाटकबाट पस्किएका छौं।’
लेखक वाग्लेको मदन पुरस्कार प्राप्त पुस्तकको नाट्य रुपान्तरण लेखक सुरज सुवेदीले गरेका हुन्।
गत वर्ष नै प्रदर्शन गर्ने भनिएको नाटक कोरोना महामारीका कारण प्रदर्शनमा आउन सकेको थिएन।
अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्नेगरी तयारी भएको नाटक महामारीका कारण स्थगित भएको थियो। नाटकमा स्वस्तिमाको ठाउँमा अहिले अभिनेत्री सृष्टि श्रेष्ठले अभिनय गरेकी छिन्।
‘यो समयमा म घुम्न जाने तरखरमा थिएँ। यही बीचमा निर्देशक विमलले पल्पसाको भूमिका खेल्न प्रस्ताव गर्नुभयो,’ अभिनेत्री सृष्टि श्रेष्ठले भनिन्, ‘मैले पल्पसा क्याफे पढेकी थिइनँ तर संक्षिप्तमा कथा सुनेपछि नाटक गर्न इच्छुक भएँ।’
दीलिप रानाभाटले सह-निर्देशन रहेको नाटकमा सृष्टिसँगै दिपेश राई, विमल सुवेदी, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, चक्र पुलामीलगायत कलाकारको अभिनय छ।
‘उपन्यास पढेकाले नाटकमा सो पात्रलाई कसरी प्रस्तुत गरिएको छ हेर्न आउनुपर्छ,’ निर्देशक विमल सुवेदीले उपन्यास पढेका पाठकलाई इंगित गर्दै भने, ‘उपन्यास नपढेकाले संक्षिप्तमा कथा बुझ्न पनि नाटक हेर्नुपर्छ।’
नाटक वैशाख २५ गतेसम्म प्रदर्शन हुँदैछ। हरेक दिन साँझ ५ बजेदेखि थापागाउँ, बानेश्वरस्थित मण्डला थिएटरमा नाटक हेर्न सकिन्छ।
निर्देशक विमल सुवेदी र अभिनेत्री सृष्टि श्रेष्ट सँग नाटक पल्पसा क्याफेसम्बन्धी गरेको कुराकानी हेर्नुस् भिडिओमाः