बौद्ध जातक कथामा एउटा पात्र छन्, अंगुलिमाल।
मान्छेको हत्या गर्दै उनीहरूका हातका औंलाहरूको माला घाँटीमा लगाउने गरेकाले नै उनको नाम अंगुलिमाल भएको हो। त्यसरी मान्छेहरू मार्दै औंलाको माला लगाउनुको कारण हो, उनले गुरूलाई दिएको वचन।
गुरूले आफ्ना अब्बल शिष्यलाई भनेका हुन्छन्, ‘अबदेखि म तिमीलाई सिकाउँदिन। यदी तिमीले अझैं मसँग सिक्न चाहन्छौं भने गुरू दक्षिणाका रूपमा मलाई औंलाको माला देऊ।’
यसैकारण उनी अब्बल शिष्यबाट अंगुलिमाल भएका हुन्छन्। त्यसअघि उनको वास्तविक नाम अहिंसक थियो, जसले कहिले पनि हिंसा गरेका थिएनन्। भगवान बुद्धलाई भेटेपछि भने उनी राम्रो बाटोमा लाग्छन् र बोधि–सत्व बन्छन्। नाटकमा भने उनको नाम अंगुलिमाल र अहिंसक राखिएको छैन। अहिंसकलाई छोटोमा अहिम भनिएको छ।
अहिंसक कसरी हिंसक अंगुलिमाल भए र कसरी राम्रो बाटोमा फर्किए भन्ने कथा ‘बोधि–सत्व’ नाटकमा देख्न सकिन्छ। बज्र कला कुञ्जको प्रस्तुति र ममा आर्टसको सहकार्यमा तयार भएको यस सांस्कृतिक नाटक टेकुस्थित कौशी नाटकघरमा मञ्चन भइरहेको छ।
यो नाटकले आफूले मान्ने मान्छेले भन्दैमा नराम्रो काम गर्नुपर्छ भन्ने कुरालाई हटाउन खोजेको छ। राम्रो वा नराम्रो कुरा आफैंले महसुस गर्दै त्यो बाटो पछ्याउन प्रेरित गर्छ।
बोधि–सत्व भनेको बुद्ध हुने क्षमता भइसकेको तर बुद्ध नभइसकेको अवस्था हो। बुद्ध नभई कोही लोकजनको कल्याण र उद्धारका लागि यही लोकमा बस्छ भने ऊ बोधि–सत्व हो।
‘बुद्ध भइसकेपछि त उसले निर्वाण प्राप्त गर्छ र उसको फेरि यो लोकमा जन्म लिनु पर्दैन। तर बोधि सत्व यो लोकबाट मुक्त भइसकेको हुन्न र अरूको कल्याण गरेर बस्छ,’ अहिमको भूमिकामा रहेका सुदन मुनिकारले भने, ‘जति पनि करूणामय, लोकेश्वहरू छन्, उनीहरू बोधि–सत्व हुन्।’
उनले अगाडि भने, ‘बोधि भनेको आफूभित्रको ज्ञान हो। यो संसारलाई चिन्नु हो। सत्व भनेको सबै वा तत्व हो। कोही पनि प्राणीले आफूभित्रको ज्ञानलाई चिन्छ भने उसले बोधिसत्व प्राप्त गरेको हो। र हामी सबै बोधि मार्गमा जान सक्छौं। बोधि मार्गमा जानलाई तपस्या नै गर्नपर्छ, भिक्षु हुनुपर्छ र सबै त्याग्नुपर्छ भन्ने होइन। यदी हामीले कसैको लागि राम्रो सोच्यौं र राम्रो गर्यौं भने पनि हामीले आफूभित्र भएको बोधि चित्तलाई उजागर गर्न सक्छौं।’
बौद्ध जातक कथामा भएको यस कथालाई नाट्य रूपान्तरण गर्दा चर्या नृत्य, नेवारी संस्कृति र धुनहरू प्रयोग गरिएको छ। इँगिहोपो कोँइच सुनुवारले नाट्य रूपान्तरण गरेको नाटकलाई चन्द्रमान मुनिकारले लेखन, परिकल्पना तथा निर्देशन गरेका छन्। कलाकार सुदन मुनिकारसँगै नाटकमा संगीता थापा मगर, नानुमैया महर्जन, युवाहाङ राई, अनिषा श्रेष्ठ लगायको प्रस्तुति देख्न सकिन्छ।
नाटक पुस ४ गतेसम्म चल्नेछ।
तस्बिरहरू: