पारिजातको चर्चित कृति 'शिरीषको फूल' मा आधारित नाटकमार्फत अभिनेत्री सनिशा भट्टराई पहिलोपटक रंगमञ्चमा देखिने भएकी छन्।
कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटक 'शिरीषको फूल' मा उनले प्रमुख पात्र 'सकम्बरी' को भूमिकामा अभिनय गर्ने भएकी छन्।
थिएटर प्रमुख प्रकाश पुरीका अनुसार पात्रको गहिरो भावबोध बुझ्न सक्ने कलाकारको खोजीमा उनीहरूले सनिशालाई रोजेका हुन्।
नाटकमा सनिशाको अपोजिटमा दशकअघि नेपाली फिल्ममा सक्रिय रहेका अभिनेता जीवन लुइँटेल रहनेछन्। उनले सुयोगवीरको भूमिका निभाउनेछन्। अमेरिका बसाइपछि जीवन रंगमञ्चमा फर्किन लागेका हुन्, र नाटकको तयारीका लागि चाँडै नेपाल आउने तयारीमा छन्।
नाटकको कार्यशाला सुरू भइसकेको छ।साउनको पहिलो साताबाट मञ्चन सुरू हुने तयारीमा रहेको नाटकको निर्देशन कान्तिपुर फिल्म एकेडेमीकी विद्यार्थी पत्रिका घिमिरेले गर्दैछिन्।
म्युजिक भिडिओबाट चर्चामा आएकी सनिशाले '१२ गाउँ' बाट फिल्ममा डेब्यु गरेकी थिइन्। यो नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने तेस्रो फिल्म समेत बनेको छ।
उनले दोस्रो फिल्म 'नरसिंहा अवतार' पनि प्रदर्शनमा आइसकेको छ। सनिशाले म्युजिक भिडिओ र फिल्म हुँदै अहिले आफूले नयाँ यात्राको अनुभव सुरू गर्न लागेको बताएकी छन्।
साथै, 'शिरीषको फूल' को पात्र 'सकम्बरी' आफ्नो लागि विशेष हुने अपेक्षा राखेकी छन्।
यो पनिः डेब्युमै हिट सनिशा
