विवेकशील साझा पार्टीमा विभाजन आएको छ। त्यसले केही दिनमा औपचारिकता प्राप्त गर्ला।
तत्कालिन विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भई विवेकशील साझा पार्टी निर्माण भएपछि त्यसको सदस्य बनेर राजनीतिक यात्रा थालेको म र मजस्ता कयौं साथीहरू (जसका आग्रह, पूर्वाग्रह र कुनै पनि खालका ‘ब्यागेज’छैनन्) लाई स्वभाविक रूपमा यो विभाजनले दु:खी बनाएको छ।
पार्टीमा आएको यो विभाजनले वैकल्पिक राजनीतिलाई स्थापित गर्ने हामीहरूको सत्प्रयास र त्यसमा लगातार उर्जा भरिरहेका लाखौं सहृदयीहरूको भरोसा टुट्छ कि भन्ने चिन्ता जाहेर भएको छ। त्यो स्वभाविक पनि हो। छुट्टिएर बन्ने दुबै दलले त्यो सत्प्रयास र भरोसा टुट्न नदिई साझा गन्तव्य भेट्टाउन अथक परिश्रम गर्नुपर्नेछ।
यो विभाजनपछि म कता?
गत चुनावमा मलाई र विवेकशील साझा पार्टीलाई अमूल्य मत दिनुभएका आदरणीय मतदाता र राजनीतिको यो यात्रामा अविचलित रहन प्रेरित गरिरहने तपाईंहरूलाई कतिपय कुरा सुनाउनै पर्ने हुन्छ। अगाडि पनि लेखेको छु- मैले एकीकरणपछि बनेको विवेकशील साझा पार्टीबाट राजनीति सुरू गरेको हुँ। र, मैले पार्टीका दुबै पक्षका गुण र दोष, सबल र कमजोर पक्षलाई अत्यन्त नजिकबाट नियालेको छु, स्वतन्त्र मूल्याङ्कन गरेको छु।
हो, वैकल्पिक राजनीतिको अभ्यासबारे दुई पक्षबीच मतभेद थिए। ती मतभेद साँघुऱ्याउन अर्थपूर्ण पहल गरिए कि गरिएनन्? सँगै बस्ने वा अलग हुने निर्णय गर्दाका प्रकिया कस्ता थिए? तिनलाई पनि नजिकबाट नियालेको छु र आफ्नो सामर्थ्यले भ्याएसम्म सौहार्दपूर्ण सम्बन्धका लागि पहल पनि गरेको छु।
दुई संयोजकमध्ये उज्वल थापाले एकल पहलमा तयार पार्नुभएको पार्टीको पछिल्लो स्थितिबारेको समीक्षा प्रतिवेदनका कतिपय विषय गम्भीर र यथार्थको नजिक थिए भने अध्ययनको विधि र कतिपय विषयको चित्रणमा उल्लेख्य त्रुटी थियो। पार्टीको संयोजन समिति वा केन्द्रीय समितिको निर्णयबाट नभई संयोजक थापाको एकल प्रयासमा तयार सो प्रतिवेदनको स्वामित्व ग्रहण गर्दा भोलिका लागि गलत नजिर बस्छ भन्नेमा म जति स्पष्ट थिएँ, त्यतिनै स्पष्ट थिएँ उहाँलाई सो प्रयासका लागि धन्यवाद दिँदै एउटा आधिकारिक कार्यदल बनाएर पार्टीको हालको स्थितिबारे गम्भीर र विधिवत् समीक्षा गरेर अघि बढ्नुपर्छ भन्नेमा।
मलाई पूर्ण विश्वास थियो, उज्वलजी लगायत विवेकशील नेपाली दलको पृष्ठभूमिका साथीहरू यो साताको सुरूमा बोलाइएको संयोजन समिति बैठकमा गएर पार्टीलाई उहाँहरूले चाहेजस्तै ‘सही दिशा’तर्फ लैजान समितिका अन्य सदस्यलाई आश्वस्त गर्न ठोस पहल गर्नुहुनेछ। त्यसो भएन, उहाँहरू विविध कारण देखाएर बैठकमै सहभागी हुनुभएन। अब पुष ३० गते बोलाइएको केन्द्रीय समिति बैठकमा उपस्थित भएर आफ्ना विमतिका स्वरहरू बुलन्द राख्नुहुन्छ भन्ने ठूलो विश्वास कायमै थियो। अहिले अलग दल निर्माणको पहल थाल्नुभएका केही साथीहरुसँग म नियमित सम्पर्कमा थिएँ र उहाँहरूले अहिलेकै अवस्थामा विभाजनको सोचमा रहेको रत्तिभर संकेत गर्नुभएको थिएन।
तर, हिजो (शुक्रबार) एकाएक पार्टी विभाजनका लागि निर्वाचन आयोगमा गएर निवेदन दिने जुन कार्य साथीहरूले गर्नुभयो, त्यसले म र मजस्ता साथीहरूलाई अत्यन्त निराश तुल्याएको छ। पार्टीका कतिपय महत्वपूर्ण निर्णय साझा पृष्ठभूमिका नेताहरूले कोठे बैठकबाट अपारदर्शी तरिकाले गर्ने गरेको चर्को आरोप लगाउने साथीहरूले २ लाख १२ हजार मतदाता र लाखौं शुभेच्छुकको विश्वासमा कुठाराघात हुनेगरी पार्टी विभाजनजस्तो गम्भीर र दूरगामी महत्वको निर्णय कति सुविचारित, पारदर्शी र सहभागितामूलक तवरले गर्नुभयो? मूल्यमान्यता, पारदर्शिता र जवाफदेहीताको प्रश्न के अरूलाई तेर्स्याउनमात्र हो? म चाहन्छु यी प्रश्नले उहाँहरूलाई घोचिरहोस्। उज्वलजी लगायत उहाँसँग नयाँ यात्राका लागि उद्वेलित मित्रहरूसँग मेरो अरू धेरै गुनासो छैन। तर, कुनै संगठनिक आधारबिनै गत चुनावमा होमिएर परम्परागत राजनीतिक दलका ‘हेभिवेट’ दुई-दुई जना उम्मेदरवारको तामझामपूर्ण/अत्यन्त खर्चिलो चुनावी अभियानकामाझ आफ्नो सादगीपूर्ण, अत्यन्त मितव्ययी प्रचारशैली तथा साधारण र पूरा गर्न सकिने चुनावी प्रतिवद्धतापत्र अघि सारेर मतदाताको मन जित्दै पार्टीलाई समग्रमा २ लाख १२ हजार मत ल्याउन सानोतिनो भूमिका खेलेको अनि हिजोको दिनसम्म कुनै पक्षमा झुकाव नराखी तटस्थ रहँदै पार्टी निर्माणमा प्रतिवद्ध मजस्तो एउटा सदस्यसँगसमेत एक पटक सामान्य छलफल गर्न उहाँहरूले आवश्यक ठान्नुभएन। यसर्थ तपाईंहरूले रातारात लिनुभएको यो निर्णय तपाईंहरूमात्रैको विचारको उपज हो या यसमा अन्यखाले प्रभावले पनि काम गरेको छ भन्ने जबर्जस्त रूपमा उठेको आशंका चिर्न तपाईंहरूले आउने दिनमा निकै ठूलो मेहनत गर्नुपर्नेछ।
अर्का संयोजक रवीन्द्र मिश्र र अरू केन्द्रीय नेताका पनि कैयन् कमजोरी छन्। कतिपय विषयमा अपरिपक्वता पनि छन् । तर उहाँहरूले आजका दिनसम्म निरन्तरको संवाद र सहकार्यबाट कमजोरी सच्याउँदै अघि बढ्ने प्रतिवद्धता जाहेर गर्न छाड्नुभएको छैन। हिंजो साँझ मात्रै पनि मिश्रले भन्नुभयो, “साथीहरू अलग्गिएर जान खोज्दा मन पक्कै दुखी भएको छ। हाम्रा कमजोरी छन् भने संवादमा बसेर सच्याउँला भनेर निकै प्रयास गरें। तर साथीहरूले बैठकमै नआई, आफ्ना कुरै आधिकारिक रूपमा नराखी अलग हुनुभएको छ। अब कमजोरी र सुदृढ पक्ष केलाएर थप दृढतापूर्वक अघि बढ्ने नै हो।“
यी सबै पक्षको गहन मूल्याङ्कन पछि मैले म विवेकशील साझा पार्टीमा नै अविचलित रहने निर्णय गरेको छु।
आगामी दिनमा यसको नेतृत्व तहमा रहेका सबल पक्षलाई थप प्रोत्साहन र प्रवर्द्धन गर्नेछु भने कमजोरी सच्याउन आफ्नो तर्फबाट सशक्त भूमिका निर्वाह गर्नेछु।
यो लेख लेख्नुअघि हिजो साँझ मेरा मित्र तथा प्रदेश नम्वर ३ को प्रदेशसभामा विवेकशील साझा पार्टीका संसदीय दलका नेता रमेश पौडेलसँग टेलिफोनमा कुरा गरें। हामीबीच अनायास आएको पार्टी विभाजनमा जाने उहाँहरूको निर्णय र त्यसका लागि उहाँहरूले गरेको छलफलबारे कुराकानी भयो। रमेशजीको जवाफ थियो, “स्थिति यस्तो भयो कि नयाँ पार्टी गठनबारे खासै छलफल गर्न पाइएन, तपाईं र तपाईंजस्ता साथीहरूको मन दुखाएको छौं। त्यसका लागि क्षमा गर्नुहोला।“
रमेशजी, तपाईं हामीले गर्व गर्ने नेता हुनुहुन्छ। तपाईंसहित प्रदेशसभामा विवेकशील साझा पार्टीका अरू दुई सदस्य विराजभक्त श्रेष्ठ र शोभा शाक्यको हरेक कदमलाई तपाईं हामीलेनै जोडदार रूपमा बहसमा ल्याउने गरेको नैतिक मूल्यमान्यतायुक्त राजनीतिक अभ्यासको कसीमा राखेर सहयात्री साथीहरूले मात्र हैन सारा नेपालीले मूल्याङ्कन गरिरहेका छन्। तपाईं र विराजभक्तजीसमेत मिलेर अब अर्कै दल बनाउने पहल औपचारिक रूपमा अघि सारिसकेपछि तपाईँहरू सांसद पदमा रहिरहनु नैतिकताको हिसाबले उचित हुन्न भन्ने मेरो मान्यता छ। विवेकशील साझा पार्टीका लागि समानुपातिक प्रणालीतर्फबाट आएको मतबाट प्राप्त सांसद पदको गहन जिम्मेवारी तपाईंहरूले यही पार्टीमा रहेर बहन गर्दै जानुपर्थ्यो। तर, त्यसो हुन नसक्ने स्थिति भएपछि तपाईं र विराजभक्तजीले तत्काल मतदातासमक्ष क्षमायाचना गर्दै सांसद पद त्याग गरेर आफनो राजनीतिक कद बढाउने र वास्तविक वैकल्पिक राजनीतिक यात्रा कस्तो हुनुपर्छ भन्ने जोडदार सन्देश दिने यो अवसर गुमाउनुहुने छैन भन्ने मैले विश्वास लिएको छु।
अन्त्यमा, पछिल्लो केही दशकयता नेपालमा वैकल्पिक राजनीतिक अभ्यासलाई स्थापित गर्ने थुप्रै प्रयास असफल भएका छन्। हामी यो सबै जान्दाजान्दै यो यात्रामा होमिएका हौं। हामी असफल हुनु भनेको यो मुलुकमा वैकल्पिक राजनीति सम्भव छैन भन्ने सशक्त सन्देश जानु हो। त्यसैले नयाँ दल बनाउन कसिएका अनन्य मित्रहरू र विवेकशील साझा पार्टीमै रहेर यो देशमा आफ्नै जीवनकालमा परिवर्तन ल्याउन प्रतिवद्ध सहकर्मी साथीहरूलाइ आह्वान गर्छु: सत्कर्ममा विश्वास राखौं। एक अर्कालाइ प्रतिष्पर्धी हैन, परिपुरककै रूपमा हेरौं। आम जनताका मुद्दामा कसिलो सहकार्य गरौं। र ती सबै काम गरौं जसलाई अबको दुई दशकपछि मूल्याङ्कन गर्दा गर्वले छाती फुलोस्। पश्चातापको लेस नहोस्।
(पाठक गत वर्ष भएको चुनावमा चितवन ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए।)