ऊ : ओइ तैले थाहा पाइस्? उसलाई कुरिरहेका थियौं, एक्कासी सुनिताले सोधी ।
म : के कुरा ?
त्यसले डिभोर्स गरी नी!
हँ ! कैले ? किन ? मैले उसको जवाफै नकुरी एकैपटक पाँच ‘क’ वाला प्रश्न उतिर तेर्स्याएँ।
उसले भनी- दुई वर्ष भैसकेछ, मैले पनि भर्खर थाहा पाएको। त्यो पनि उसले भनेकी हैन उसको बूढोले भनेको। मैले भनेको नभन है उसलाई, सुनिताले यो पनि भन्न भ्याइ।
‘हामी दुवै जना उसका मिल्ने साथी।’उसले भन्दै थिई, मेरा आँखा रसाए, तुरुक्क एक थोपा गालामा खस्यो।
ऊ अरूसँग पनि धेरै लडाइँ लडी होली, तर उसको प्रेम हुर्काउन मेरो पनि हात थियो।
कलेज सकेपछि मेरो घर गएको भन्दै ऊ धेरै पटक डेटिङ गएकी छे। फर्किंदा मैले पठाइदिएको भन्दै उसले कतिपटक आफैं लालमोहन किनेर आमालाई लगिदिएकी छे। कैले हुँदै नभएको मेरो जन्मदिन भनेर केक लगिदिएकी छे।
‘ओइ ममीले सोध्नु भयो भने हो भन् है ?’ ऊ भन्थी।
म हाँस्दै टाउको हल्लाउँथे र उसलाई विस गर्थें। उसको ममी एकदमै कडा।
घरमा सबै निर्णय उहाँको हुन्थ्यो, अहिले पनि हुन्छ। कलेज छुटेर समयमा घर पुगेन भने केरकार सुरू भइहाल्थ्यो।
यसरी हुर्किएको थियो उसको प्रेम।
हामीले स्नातक सक्यौं। उसले बिहे गरी। आमाको सल्लाह मानिन उसले। पेलेरै उसले आफ्नो निर्णय सुनाइ। त्यो पनि आमा जस्तै हठी थिई।
केटाको भन्दा उसको आर्थिक अवस्था धेरै बलियो थियो। त्यसैले पनि आमाले उसलाई निकै सम्झाउनुभएको थियो। बिहेको केही समयपछि उनीहरूले आफ्नो बिजनेस सुरू गरे।
छोटो समयमै बिजनेस राम्रो चल्यो। विजनेसमा सुरूदेखि नै उसको श्रीमानको भन्दा उसले धेरै मेहेनत गरी र आफ्नो आत्मविश्वास बढाई। राम्रो हुँदै गयो। बिजनेसमा राम्रो गर्न सकिन्छ भन्ने भएपछि उनीहरूले अन्य क्षेत्रमा पनि विस्तार गरे।
दुवै जनाले हाँसी खुसी चलाइरहेका थिए। विजनेस राम्रो भएपछि घर गाडी जोडी उसले। हामी भेट्थ्यौं। ऊ असाध्यै खुसी थिई।
बीचमा हामी साढे २ वर्ष जति ग्याप भयौं। हामी फोन गर्थ्यौं र भेटघाट हुन्थ्यो। यो बीचमा दुवै भएन।
ऊ आफ्नो काममा व्यस्त म आफ्नो। त्यो बीचमा सामाजिक संजालबाट पनि ऊ गायब भै। पहिला पनि ऊ त्यति सक्रिय हैन। त्यसैले सोचेँ व्यस्त होली। त्यही बीचमा भूकम्प गयो। एक हप्तापछि उसलाई फोन गरेँ। भाग्दा च्यानल गेटमा लागेर खुट्टामा घाउ भयो निको हुँदैछ भनी। केयर गर् भनेर फोन राखेँ।
मैले सधैँ उसलाई तेरो बूढाको के छ भनेर सोध्थेँ। त्यो दिन सोधिनँ। त्यसपछि फेरि लामो समय हाम्रो सम्पर्क भएन।
एकदिन उसले पोखरा घान्द्रुक र पुनहिल ट्रेकिङका तस्वीरहरू फेसबुकमा हाली। सबै फोटो हेरेँ, लाइक कमेण्ट गरेँ। फोटोमा उसको श्रीमान् थिएन। सोचेँ क्यामेरा म्यान भयो होला।
त्यसको केही समयपछि हाम्रो सुनिताकोमा भेट्ने सल्लाह भयो।
अफिस सकेर म उसकोमा गएँ। मेरो अफिसबाट सुनिताको अफिस नजिक छ। उसको टाढा। म पहिला पुगेँ।
उसलाई कुर्दै गर्दा सुनिताले यो खबर सुनाइ। कुरा गर्दै थियौँ। उसले आफ्नो आकस्मिक काम परेर आउन नसकेको भन्दै फोन गरी र माफ मागी।
उसले अर्को दिन पक्का भेट्ने वाचा गरी। म त्यहाँबाट निस्किएँ।
मलाई उसको डिभोर्सको कारण जान्ने हुटहुटी थियो। सोचेँ भेटेपछि सोध्छु। तर भेट्ने बेलासम्म कुर्ने धैर्यता थिएन। पहिला हामी र उसको परिवार धेरै पटक भेट्थ्यौं। रमाइलो गथ्र्यौं।
हामी भेट्यौं अर्को दिन, लगभग ३ वर्षपछि।
उसको अनुहार नियालेँ। ऊ पहिला जस्ती हँसमुख थिई त्यो दिनपनि त्यस्तै। अनुहारमा कतै पनि दुःखको एकरति छाप थिएन।
उसको जीवनमा कुनै पनि घटना भएकै छैन खालको पारामा आई ऊ। अलि मोटी भैछ। विजनेस वुमन जो हो। कुनै कुराको कमी छैन उसलाई। गाडी हाँकेर हिँड्छे । देशविदेश गइरहन्छे। जिम पनि जान थालिछ। ज्यान चाहिँ घटेको छैन। हामीले हग गर्यौं।
एकछिनसम्म एकअर्कालाई अंगालो हालिरह्यौं। मलाई लाग्यो उसको दुःखमा मैले साथ दिन सकिनँ। उसले पनि त भनिनँ। जे भए पनि हामी मिल्ने साथी हौं।
कुराकानी सुरू भयो।
मेरो हुटहुटी बढ्दै गयो। कसरी सोध्ने होला ? उसले त्यो कुरा निकाल्दिन। मलाइ आँट आउँदैन। लामो समयपछि भेटेको। रमाइलो हुँदै थियो। मैले त्यो कुरा निकाले माहोल बिग्रने हो कि भन्ने डर थियो।
सोध्नु चाहिँ मलाई जसरी पनि थियो। उसको प्रेमको बारेमा थाहा नभएको भए मलाई सायद यति कौतहुल हुने थिएन होला। मैले आँट गरेँ।
‘ओइ किन छोडिस् भन्!’, मैले कुरा सुरू गरेँ।
‘मलाई त्यो कुरा सम्झिनँ मन छैन छोड्दे यार’, उसले भनी।
अनि थपी ‘तर म एकदमै ह्याप्पी छु।’
त्यो उसको व्यवहारले देखाइरहेकै थियो। मैले उसको ढाड मुसारेँ। एकछिनको सन्नाटालाई चिर्दै उसले अरु कुरा निकाली। तर मेरो हुटहुटी शान्त भएन। ज्यूँ का त्यूँ रह्यो।
भेटको केही समयपछि उसको भाइको बिहे आयो। निम्तो गरी। म गएँ। पार्टी कै बीचमा आमालाई तानेर एकान्तमा लगेँ र सबै कुरा सोधेँ।
विजनेसमा उसको निर्णय क्षमता उसको श्रीमानको भन्दा धेरै र चुस्त थियो भन्ने मलाई पहिला नै थाहा थियो। आमाको कुरा सुनेपछि मैले जे शंका गरेकी थिएँ त्यो प्रमाणित भयो।
विजनेसमा बढ्दै गएको आफ्नी श्रीमतीको आत्मविश्वासले उसको निद्रा हराएछ। उसले रक्सी पिउन सुरू गरेछ। ऊमाथि कुटपिट र मानसिक हिंसा गर्न पनि थालेछ। दिनभरि काम गरेर थाकेको शरीर, बेलुका ऊसँगको लडाइँ। त्यही पनि लामै समय सहेरै बसी। आमालाई समेत नभनी। घरमा उसले गर्ने ज्यादती सहेर सकेसम्म मिलेर बस्ने कोशिस गरी उसले र चुपचाप सहेर बसी।
श्रीमानको कुण्ठा बढ्दै थियो। यो घरमा मात्रै सीमित रहेन। उनीहरू दुवै जना दिनभरी सँगै हुन्थे तर पनि उसले श्रीमतीलाई शंका गर्न थाल्यो। कार्यालय मै सबैको अगाडि उसको कुण्ठा छताछुल्ल भयो। कर्मचारीको अगाडि उसले श्रीमतीमाथि हात उठायो। बेइज्जत गर्यो।
अनि उसले निर्णय गरी। अब सहन सक्दिनँ। सँगै बस्न सकिँदैन। विजनेसमा ऊ स्थापित भइसकेकी थिई। सँगै हुँदा पनि ऊ नै धेरै खट्थी। रातदिन घोटिन्थी।
अन्ततः ऊ छुट्टी। घर गाडी र विजनेसको एउटा हिस्सा श्रीमानलाई छाडिदिई। विजनेसको मात्रै अर्को हिस्सा लिएर ऊ अलग्गिई।
आफूले लिएको बाँकी विजनेसबाट म फेरि यत्तिकै हुन सक्छु, उठ्न सक्छु भन्ने आँट उसमा थियो। त्यो भन्दा राम्रो गरेरै उठी ऊ।
अलग्गिएको केही समयपछि नै उसले आफ्नो घर बनाइ र परिवार पनि गज्जबले बसाइँ।
अहिले उसको घरमा उसको उसकी छोरी, बुवा, आमा, दाइ भाउजु, भाइ बुहारी, दिदी भिनाजु र बहिनी सँगै बस्छन्।
एउटा उदाहरणीय संयुक्त परिवार।
हामी अहिले निरन्तर भेट्छौं। नभेटे पनि सामाजिक सन्जालमा कुरा गर्छौं तर पनि मैले फेरि उसलाई सोध्ने आँट गरेकै थिइनँ।
बेकारमा किन उसको नमीठो विगत सम्झाइदिनु जस्तो लाग्दै थियो।
केही दिन अघि एकसाँझ उसले हामीलाई डिनरमा लगी।
सुनिता, म र ऊ थियौं। तर मलाई किन हो उसको मुखबाट यसको बारेमा अझै बढी यथार्थ जान्न मन थियो। पार्टी मै भए पनि छोटो समयमा आमाले आधाउधी कौतुहलता मेटाइदिनु भएको थियो।
त्यो साँझ हामी रेष्टुरेण्टमा कुरा गर्दै खाँदै थियौं। उसले आफ्नो कथा आफैं सुरू गरी। सोध्नै परेन।
कसरी विजनेसमा ऊ खटी र उनीहरू सफल हुँदै गए। विजनेसमा स्थापित हुँदै गर्दा ऊप्रति उसको श्रीमानको कुण्ठा कसरी बढ्दै गयो र एकदिन विष्फोट भयो। छरपष्ट भयो सबैका अगाडि। हाँसी खुसी सानो परिवार आफ्नै श्रीमतीको मेहेनतले पाएको सफलता सहन नसकेपछि छिन्नभिन्न भयो।
तर ऊ उठी गजबले। दुःख मानेर शोक मनाएर बसेको भए उसले यो सफलता कहाँबाट पाउँथी र ! उसलाई इख थियो, उसको अगाडि झन् ठूलो सफलता पाएरै छोड्छु भन्ने। त्यो पूरा गरी।
उसको विजनेसका योजना सुनेर म चकित पर्छु। कति वर्षपछि उसको अहिलेको विजनेस राम्रो चल्दैन र केमा सिफ्ट गर्ने, उसले योजना बनाइसकेकी छ।
सफलताका सिँढी चड्ने उसको अभियान निरन्तर जारी छ।
‘कसैको डर, दकस छैन म जे योजना बनाउँछु त्यो कार्यान्वयन गर्न झन् सजिलो भएको छ’, उसले आफ्नो पछिल्लो अनुभव सुनाई।
‘जिन्दगी तनावमुक्त भएर हाँसी खुसी बिताउने हो के’, ऊ भन्छे, ‘गर्न सक्नेलाई नेपाल मै सबै छ। विदेश जानै पर्दैन।’
एकदिन मैले उसलाई जिस्क्यारै भनेँ, ‘ओइ बिहे गर्!’
‘नदुखेको टाउको डोरी लाएर फेरि दुखाउनु छैन’, भन्दै ऊ हाँसी।
श्रीमानको सफलताका लागि थुप्रै श्रीमतीले त्याग गरेको मैले देखेकी छु। परिवारका लागि स्थायी जागिर छोडेर छोराछोरी हुर्काएर बसेका छन्। सासूससुरा स्याहारेका छन्। तर तिम्रो स्थायी जागिर छ नछोड। म छोडेर घर व्यवहार सम्हाल्छु भन्ने पुरुष हुन त होलान् तर एकदमै कम।
कतिजना कामकाजी महिलाको यस्तो अनुभव सुनिन्छ।
एक जना श्रीमतीको सफलताले श्रीमानहरूमा किन कुण्ठा पलाउँछ ? आखिर जसले सफलता पाए पनि त्यही परिवारको लागि हैन र? यसको जवाफ कसरी पाइन्छ? के यो प्रवृत्ति कम गर्न वा निमिट्यान्न पार्न सकिन्छ ? सम्भव छ ?