घर छोड्दा मान्छे रुन्छ। नवजात शिशु नौ महिना बसेको आमाको गर्भ छोड्दा रुन्छ। छोरी बाल्यकाल बितेको माइति घर छोड्दा रुन्छे। छोरा प्रदेश जादा निराश हुन्छ र मर्द भएर पनि रुन्छ।
गोठमा नयाँ गाई, गोरु किनेर ल्याउदा पहिलाको गोठ सम्झेर सितिमिति नयाँ गोठ छिर्न मान्दैन। झन् बिरालोलाई त कुनै अर्को ठाँउमा लिनु परेमा बोराभित्र राखेर लिने गरिन्छ। खुल्ला रुपमा लगेमा बिरालो सात समुद्रपारिबाट पनि आफू हुर्केको घरमा नै फर्किन्छ। वनका चराहरु वन छोडेर साँघुरो पिजँडामा पर्दा वन सम्झेर रुने गर्छन्।
अस्तिसम्म घर छोड्दा रुनेहरु, हिजोआज घर फर्किदा रुने गरेका छन्। तथापी निलो आकाशलाई घर सम्झेर चौर र चोकमा रात बित्दै छन्। कुनै दिन कुनै महलको बलेसी घर बनेको छ त कुनै दिन पिपल चौतारी। गर्व गर्न लायक देश हुँदाहुँदै पनि आज शाषकहरुको लाचारीले मजदूरलाई एकै चोटि राज्य बिहीन र सरकारहीन बन्न बाध्य बनाइएको छ।
कति मजदूरलाई लाग्दो हो, मिल्ने भए त हिजो भोट ठोकेका मतपत्र वापस लिएर धुजा-धुजा बनाईदिउँ। यिनलाई शाषन मका पुर्याएर भोग्नु परेको पाप पखाली दिउँ। यिनले संसारका मजदूर एक हौं भनेर भाषण गर्दा प्रफुल्लित मुद्रामा ताली ठोकेका हातहरु पटक-पटक मिचिमिचि डिटोल पानीले धोईदिउँ। यिनलाई चुनाव जिताउन अनायासै जिन्दावाद भन्ने मुखमा सात तीर्थको जल चढाएर पवित्र पारिदिउँ।
भोको पेट छ र पनि घर देख्ने आशा अझैँ मरेको छैन। बाटो-बाटोमा भेटिने पुलिसका भाटाहरुले समेत घर पुग्ने एक मात्र अभिलाषामा चोट पुर्याउन सकिरहेको छैन। आज त्यही घरले कालीको जंगार तर्ने आँट दियो। घर नहुँदो हो त कसरी सोलुका मान्छे कैलाली पुग्दा हुन् र?
निरपेक्ष रुपले भए पनि सरकार समेत घरमै बस भनेर भन्छ। त्यही घर पुगेपछि घरमै बस्छु भनेर हिँडेकाहरुलाई सरकार धित मरुन्जेल लखेट्छ। आज बल्ल थाहा भयो- घर नभएको भएर न गल्ली-गल्ली डुल्ने कुकुरलाई सबैले ढुंगा हान्ने रहेछन्। घर छुटेको हो भन्ने थाहा पाएपछि पो ओराली लागेको मृगलाई सबैले तर्साउन सक्ने रहेछन्।
घर नभएको भएर कोइलीले आफ्नो फुल कागको गुँडमा राख्छे। विचरा ती अन्डाहरुले आफ्नी आमाको न्यानो भुँवाको स्पर्श कति खोज्दा हुन्। गर्भबाटै पराएको कोखमा हुर्कने भएर होला, अरु सबै हाँस्ने वसन्तमा कोइली बिरह पोखेर ऋतु कटाउँछे।
उभौलीमा चल्ला कोरल्न साईप्रसबाट कोशिटप्पु पुगेका चराहरु घरको न्यास्रो लागेपछि जवान बचेरा सहित उतै फर्किन्छन्। भुटानमा एकताका वन विनाशले बेसीमा अलपत्र परेको बाघ बायोलोजिकल करिडोर बनेपछि आफ्नै घर फर्केको कुराले वातावरण संरक्षणको क्षेत्रमा सधैँ प्रेरणा दिइरहेको छ।
चिनियाँ तानाशाहले बन्धक बनाएपछि घर फर्किन नपाएका अरनिको र विश्व युद्धका बेला बर्मा लगायत दक्षिण एशियाली देशमा छुटेका नेपाली बाहेक अरु सबै घर फर्किएका छन्। मुना मरिसकेपछि भएपनि भोटमा छुटेका मदन घर फर्किए। १४ वर्ष वनबासमा गएका राम लक्ष्मण र पाँच पाण्डव घर फर्किए।
स्विजरल्याण्डमा स्वर्गीय भएका राजा त्रिभुवनको लास नै भए पनि घर नै फर्किएको थियो। अरबमा भिषा सकिएका अर्थतन्त्रका जीउदा शहिद रुपि श्रमिक र देह त्याग गरेपछिका शहिद रुपि लासहरु घर नै फर्किने गरेका छन्। यिनै घर फर्किनेहरुको मर्म बुझेर नै बाल्मिकिले रामायणमा लेखेका होलान्- ‘जननी जन्मभुमिश्चः स्वर्गादपी गरियशि।’
पूर्खा खोज्नेहरुले पनि सबैभन्दा पहिले घर खोज्ने गरेका छन्। छैठौँ शताब्दी तिर बनेको भद्राधिवास खोज्न हाँडीगाँउमा उत्खनन् चलेको थियो। घर गृहस्थी देखेर बरालिएका सिद्धार्थ गौतम जन्मेको शाक्यवंशिको दरबार कहाँ हो भन्ने चासो संसारले देखाएको छ।
मिस नेपालदेखि गिनिज बुकमा विश्व किर्तिमानी कायम राख्ने नेपाली सबैले अहिलेसम्म दिने एउटै सन्देश छ- ‘बुद्धको घर नेपाल हो।’ घर ढुंगा-माटोको संरचना मात्र हैन। घर आत्मा हो, पूर्खाको विरासत हो, धर्म हो, सिर्जना हो र, भावना हो। यदि घर भावनाको पर्याय नहुँदो त तीन सय वर्ष पुराना बाइसे-चौबिसे राज्य दरबारका जग अझैँ सुरक्षित हुने थिएनन्।
२५ वर्ष सिक्किमको मुख्यमन्त्री बनेका पवन चाम्लिङ, पूर्खाको घर नेपाल आउँदा अनुग्रहित हुन्छन्। कुनैबेला विश्वका सर्वाधिक शक्तिशाली व्यक्ति मानिएका बाराक ओबामा केन्या जान लालयित हुन्छन्। गैर-आवासिय नेपाली र नेपाली भाषी विदेशीहरु नेपाली माटो छुन पाउँदा द्रव्यभूत हुन्छन्।
मनिषा कोइराला, उदित नारायाण झा र आचार्य बालकृष्णहरु समेत घर कहाँ हो? भन्ने प्रश्नमा सोच्न बाध्य हुन्छन्। सरोज खनाल र प्रेम राजा महतहरु चरि-चारो खोज्न उडेको र चारो खोजिसकेपछि घर नै फर्किने कुरा गर्छन्। आफ्नो घर समेटेका देशलाई केही सहयोग गर्न सकियोस् भनेर विदेशमा समेत सम्पर्क समिति गठन गरिदै आएका छन्।
सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी नियन्त्रण गर्न सम्पूर्ण सूचक संस्थाहरुमा ग्राहक पहिचानको अभ्यास सुरु भएपछि बैंकमा खाता खोल्दा आफ्नो घरसम्म जाने नक्सा बनाउनु पर्ने व्यवस्था भयो।
गैर-इन्जिनियरिङ पृष्ठभूमिका व्यक्तिहरुले नक्साको माथिल्लो भागलाई उत्तर सम्झेर अन्दाजको भरमा नक्सा तयार गरेको दृश्य कोर्ने र कोरेको हेर्ने दुबैलाई हेर्न रमाइलो लाग्छ। तर, यो व्यवस्थाले कतिलाई ‘भारीमा सुपारी’ भने झैँ चोटमाथि चोट दिने गरेको छ। एक जना व्यक्तिले खाता खोल्ने फाराम भर्दा म हेर्दै थिएँ उनले नक्सा बनाएको।
दोलखा घर भन्ने उनी पोखरा जाने नक्सा बनाउँदै थिए। मनले नमानेपछि सोधे ‘दोलखा लेख्नु भाछ, किन थानकोट तिरको बाटो बनाउनु भएको?’ उनले जवाफमा भने- ‘भाइ ७२ वैशाख पछिको मेरो घरको नक्सा यस्तै बन्दैछ।’ पछि मैले महशुस गरेँ, कमसेकम मान्छेको अगाडि ठेगाना भन्न मात्रै भएपनि घर हुनु पर्दो रहेछ।
कुनै ठाँउमा दिन सुत्छ र रात जुर्मुराउछ। कुनै ठाँउमा दिन जागेर रात निदाउँछ। दिन जगमगाए नि, रात जगमगाए नि, जब यो सहरका क्याफे र रेष्टुराँहरुका ढोका बन्द हुनेछन्, तब हाम्रा सामु घरतिर लाग्नुको दोस्रो विकल्प हुने छैन। तर, फर्केर आउदा त्यही घर पनि भईदिएन भने?
मान्छेको मात्रै होइन, हरेक चेतनशील प्राणीको लडाई घर बनाउनकै लागि हो। दिनभरी वनमा छोडिएका गाईवस्तु गोधुलीमा घर खोज्दै गोठसम्म आइपुग्छन्। झिसमिसेमै चारो खोज्न दरबारका डबलीहरुमा निस्कने परेवाहरु सूर्यले क्षितिजलाई डाक्दा घुँघुँ गर्दै दलानमा बास बस्ने चाजोपाजो मिलाउँछन्।
कतिखेर कसले भत्काउने हो भन्ने थाहा पाउँदा पाउँदै पनि कमिलाले घर बनाउनकै लागि आफ्नो शरीरको तुलनामा दश गुणा ठूलो माटाको भारी बोकेर ताँतीमा ताँती मिलाएर गन्तव्यतिर जाने गर्दछन्। तर, घर फर्किदै गर्दा त्यही भएको घर पनि भईदिएन भने?
कुमालेको चक्रजस्तो गरी घुम्ने जिन्दगीमा सरोकार र लडाईको सबैभन्दा ठलो विषय घर नै हो। सन् १९९० को भदौरे भेल तरेर अर्को घर खोज्न भनि नेपाली भाषी भुटानीहरु शरणार्थीको रुपमा झापामा भित्रिए।
बर्माको घर पीडित कर्मले भोग चलन गर्न नदिए पछि दशौँ हजार रोहिंग्या केही समयका लागि भएपनि घर देउ बंगलादेशी सरकार भन्दै सपनाको गुराँस ओईलाएको परारको वसन्तमा बंगलादेशमा शरणार्थी बन्न पुगे।
तत्कालीन प्रधानमन्त्रि डा. बाबुराम भट्टराईको सरकारले बागमती किनारका सुकुम्बासी (भनिएका) वस्तीहरुमा डोजर चलाउँदा पालको घर जोगाउन भनि प्रतिकारमा उत्रिए बागमती किनार निवासीहरु। पाल भएनि दरबार भएनि, संरचनाका आवरण मात्र फरक हुन्। तर, दुबैको शाब्दीक अर्थ घर नै हो।
आलोक भन्दै दिनभरी भिक्षा माग्न चहार्ने एउटा जोगी अध्यारो बढ्दै जाँदा स्टीलको बाल्टीको पोको पुन्तुरो पार्दै आश्रम अर्थात घरतिर लाग्छ। तिलौराकोटको दरबार छोडेका गौतम बुद्धले बोधगयामा घर खोज्दै जाँदा पिपलको रुख मुन्तिर बास बसे।
आफू सुत्ने धर्तीमाथिको आकाशमा पाल होस् वा सुनको ढाल होस्, यी दुबैको काम घरको भूमिकामा उभिनु नै हो। तर, दिनभरिको थकाई मार्न घरतिर लाग्दा, त्यही घर पनि भईदिएन भने?
रारा, सिम्ला र मनिला त महिना दिनको मधुमासोत्सव मनाउनका लागि हुन्। बाँकी जिन्दगी जिउन र छोरा-छोरी हुर्काउन रारा र सिम्लाहरुले साथ दिने छैनन्। यसका लागि पनि त घरको विकल्प छैन नि। विश्व बैंकले प्रकाशन गर्ने रेमिट्यान्स फ्याक्ट बुकको आँकडाअनुसार कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा २९ प्रतिशत रहेको छ।
कोरियाको भाषा परीक्षा ईपिएसको फाराम भर्न रात भरिलाईन बसेको पनि घर बनाउन नै हो। अरबको ५५ डिग्री सेन्टिग्रेडमा पसिना बगाएको पनि घर बनाउन नै हो। घर बनाउने यात्रा यतिमै सिमित रहँदैन। हामी डिभि भर्ने, अष्ट्रेलिया जाने, रातभरी लोकसेवाका पाठ्यवस्तु पानी-पानी बनाउने, र चुनाव प्रचार प्रसार गर्ने पनि त घर बनाउनै लागि होइन र?
काठमाण्डौंको मनमैंजु र नयाँ बसपार्क क्षेत्रमा बनेका अधिकांश नयाँ घरहरु वैदेशिक रोजगारीमा गएकाहरुले बनाएका घरहरु हुन्। तर, विदेशबाट फर्केर आउँदा त्यही बनाएको घर पनि भईदिएन भने?
एउटा सुरक्षित घर बाहेक नागरिकले अरु खासै केही खोजेका छैनन्। २०७२ साल बैशाख १२ र २९ गतेको भुर्ईचालोले भत्काएका घर बनाउन नसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले डा. गोविन्दराज पोखरेलको नियुक्ति रद्द गरी सुशिल ज्ञवालीलाई भत्केका घर बनाउने जिम्मा दियो।
फेरि, नेकपाका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले ज्ञवालीले भत्केका घर बनाउन कुनै चासो नदेखाएको भन्दै डा. पोखरेललाई नै भत्केका घर बनाउने कार्यको नेतृत्व सुम्पियो। कहिले ज्ञवाली त कहिले पोखरेल, आखिर राजनीति पनि त घर बनाउनकै लागि गरिने रहेछ।
त्यसैले त सरकारले तीन वर्ष लगाएर भएपनि भत्केका घर पुनर्निर्माण गर्न भनि दुई लाख रुपैयाँ वितरण गरेको छ। अहिले दुई लाख लगानी गरेर बनाएको झुपडी दुई/चार सालपछिका दुई/चार झट्काले भत्काईदियो भने?
भूकम्पपछिको आवश्यकता पहिचान (पिडिएनए) प्रतिवेदनअनुसार भूकम्पको क्षतिका कारण गरिब नागरिकको संख्यामा २.५ देखि ३.५ प्रतिशतले बृद्धि हुन सक्ने आँकलन गरेको थियो। पाँच लाख घर भत्किदा दश लाख नागरिक गरिबीतिर धकेल्न्छिन् भने हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको लागि योभन्दा अर्को ठूलो दुर्भाग्य के नै हुन सक्ला र?
हिजोको प्रकोपमा पनि हाम्रा घरहरु भत्केका थिए। आजको दिनको प्रकोपमा पनि हाम्रै घरहरु भत्केका छन् र भोलिको दिनमा आउने प्रकोपहरुले पनि यथावस्थामा हाम्रा घरहरुलाई निशाना बनाउन छोड्ने छैनन्।
अब घरको विकल्प नै छैन भने त हाम्रो घर हामीले नै बचाउने हो। आज कोरोनाले प्रमाणित गरेको छ, सरकार र सिँगो राज्य व्यवस्था आफ्नो नहुन सक्छ। राज्यको दोहोन नेताका आसेपासे र अवसरवादीले मात्र गर्न सक्दछन्। तर आफ्नो घर आफ्नै हुने रहेछ।
सालनाल सेलाएको माटोसँग आत्मा हुन्छ र त सबै मान्छे आत्मा बिहीन सरकारको शाषन छल्न आफैँले खेलेको ढुंगो माटोको सामिप्यता तिर हिडिरहेछन्। तर एकपटक सोचौं त, आज घर छ र पो पुलिसको लाठी र सरकारको दोस्रो दर्जाको व्यवहार सहेर भएपनि घर फर्किदै छौँ। तर घर नै नभए कहाँ फर्कने? के हामी देशभित्रै घरबार बिहीन हुने त?
घरबार बिहीन पार्ने प्राकृतिक प्रकोपको यो दुष्चक्रको सामना गर्ने जम्मा दुई वटा तरिका छन्। पहिलो बिकल्प हो पहिले जस्तै घर भत्किएपछि राहतको आशा राख्दै गरिबीको बाटो तिर हानिने। दोस्रो बिकल्प हो- घरको बीमा गरेर जोखिम व्यवस्थापनमा ध्यान दिदै क्षति भईहाले पनि बीमाको सहयोगमार्फत पहिलेकै आर्थिक अवस्थामा फर्किने।
न हिउँद, न वर्षा, न वसन्तमा सुरक्षित छन् हाम्रा घरहरु, न त शरदमासमा नै। भूकम्प, बाढी/पहिरो, डुबान, शितलहर, लु, र चिस्यान लगायतका प्रतिकूलतासँग लड्न हाम्रा घरहरु सक्षम छैनन्। हामी तब मात्रै यस्ता प्रकोपसँग लड्न सक्षम हुनेछौँ जब हामीले हाम्रा घरहरुको बीमा गर्नेछौं।
किनभने घरको बीमा गर्नु भनेको घर भत्केपछि दाबी भुक्तानी प्राप्त गर्नु मात्र होईन। यो त घरको संरचना वातावरणमैत्री र प्रकोप प्रतिरोधी बनाउने र पुर्वशतर्कतामा ध्यान केन्द्रित गर्ने एउटा विशिष्ट पद्धती पनि हो।
तर, मेरो सरकार यस्ता व्यवहारिक आधुनिक वित्तिय संयन्त्रको प्रयोग गरेर जोखिम न्युनिकरण गर्दै गरिबी निवारणबाट आम समृद्धि हासिल गर्ने कार्यक्रमहरुको व्यवस्था गर्नुको सट्टामा समाजवादको नाममा राज्यलाई भारी हुने सामाजिक सुरक्षा र अनुदानका कार्यक्रमहरु प्राथमिकताका साथ आफ्नो वार्षिक नीति तथा कार्यक्रममा राख्दछ र सोही खर्चको अंश हेरेर देशको जिडिपि बढेको भनेर हर्ष बडाई गर्दछ।
कुनै पनि प्राकृतिक प्रकोपले हातमा कालोपाटी र चक लिएर विपदको पाठ पढाएर जादैनन्। विपदको चिर मनन् गरेर हाम्रै स्वविवेकले हामी आफैँले पाठ सिक्ने हो, जसरी सन् २००१ को भुईचालोपछि गुजरात र सन् १९६० को भुईचालो पछि चिलीले पाठ सिकेका थिए। जोखिम व्यवस्थापनको मामलामा हामी गुजरात, चिली, र जापानले हिडेको बाटोमा हिड्न सकेनौं।
नेपालको महाभूकम्प पछि गार्हस्थ बीमाको प्रगती हेर्यौँ भने थाहा हुन्छ कि कतै हामी सन् २०१० को महाभूकम्पबाट खासै पाठ नसिकेको हाईटीको बाटोमा त हिड्दै छैनौं भनेर।
दुःख-सुखमा आमा र चाडबाडमा मामा सम्झिन्छौँ। चाडबाड गएपछि मामाले छोड्नु हुन्छ र आमा बाँकी रहन्छिन्। आमाले घरको दैलो उघारी राखुन् भन्ने चाहन्छौँ भने हामीले आजैबाट जोखिम व्यवस्थापन र जोखिम वित्तियकरणमा ध्यान दिनै पर्छ।
लाखौंका घर भत्किदा सरकारको दुईचार पैसाको अनुदान ताक्ने होइन, बरु बीमा कम्पनीबाट पूर्ण क्षतिपूर्ति लिएर नयाँ घर ठड्याउने हो। सरकारले अनिवार्य गार्हस्थ बीमा कार्यक्रम लागू गरोस् या नगरोस्। त्यो सरकारको मर्जी, तर आफ्नो घरको बीमा हामी आफैँले गरौं।
हरेक बिहानको एक कप कफीको मूल्य मात्रै हामीले बचत गर्यौँ भने करोडौँका घर बीमा गर्ने पैसा तयार हुन्छ। कमसेकम राति बास बस्नकै लागि मात्र भए पनि घर खोजौं। घरको बीमा गरौं। (पुनश्चः यो बीमा गर्ने बेला हुँदै होइन। यो बच्ने, बाच्ने र बचाउने बेला हो।)
एकदमै सुरक्षित तरिकाले घर फर्किने र घर मा सिर्जनशील भएर बस्ने बेला हो। आज यो विश्व महामारीले फेरि एकपटक घरको महत्व बुझाई दिएको छ। अब अवस्था सामान्य भईसकेपछि सबैभन्दा पहिले घर बलियो बनाउँ। पानी पर्दा, हावा चल्दा, जमिन हल्लिदा घर भत्किनु भएन। र, घर बनाएकै भरमा गरिब बन्नु भएन। यसको एउटै बिकल्प बीमा गर्नु हो।
(लेखक सामाजिक बीमा विशेषज्ञ तथा सो सम्बन्धी स्वतन्त्र परामर्शदाता हुन्।)