सुरुआत आफैँबाट गरौँ। कोरोना बारे, अहिलेको अवस्था बारे, जीवन बारे र अहिले मनमा खेलिरहेका केही कुराहरु लेखौँ भन्ने लागिरहन्छ। आफ्नो नियमित कार्य छोडेर घरमा बन्दी भएर बस्नु पर्दाको पीडासँगै सतर्कता अपनाउन अपिलसहितको ब्लग लकडाउनको दोस्रो दिन लेखेँ।
त्यस्तै यो बीचमा कहिले आफ्नै चुलबुले मनलाई चिठ्ठीमार्फत सम्झाउन खोजेँ त कहिले आफैँभित्र आफू हराएर लकडाउनको आजको दिनसम्म आइपुगेको छु। त्यसयता सामाजिक सञ्जालमा अरुका पीडा पनि अनेकौँ देखियो। रमिता हेरियो।
आफ्नो अस्तित्व राख्न र अरुहरुले आफूलाई नभुलुन भन्नका लागि सामाजिक सञ्जालमार्फत कहिले कविता, कहिले प्रकृति प्रेमका त कहिले आफ्ना मनमा लागेका विभिन्न विष्लेशणात्मक अडियो भिडियोका सामाग्रीहरु पनि बेला बेलामा प्रस्तुत गरियो।
जागिर जिउँदो राख्न फाटफुट फेशनमा रहेको वेबिनार मिटिङ र सेमिनारहरुमा पनि आफूलाई प्रस्तुत गरियो। यतिबेला देश र आम नागरिकका लागि हामीले गर्न सक्ने यही त हो।
बाँकी काम गर्ने कुनै मेलोमेसो जुरेको छैन। कारण अल्छी। त्यो पनि कामै नभएर। काम गरेर थाकेपछि अल्छी लाग्ने हो या कामै नभएर अल्छी भइने हो? ४५ औँ दिनको लकडाउन पनि म अन्योलमै छु। सरकारले घरबाहिर ननिस्क भनेपछि झन् के चाहियो? बेडमै पल्टियो, ओल्टियो, कोल्टियो। धन्न मोबाइल छ। ल्यापटप छ। र, केही थान पुस्तक छन्।
केही मनपर्ने लेखक, पत्रकारका स्टोरी, आर्टिकलका लिंक आइरहन्छ। जस्तै मोहन मैनाली, बिनु सुवेदी, अमित ढकाल, दुर्गा कार्की, श्रेयज सुवेदी, बबिता राई, सरस्वती प्रतिक्षा आदि। नत्र लकडाउनमा पनि लफांगिएकै भइन्थ्यो होला। फेसबुक छ। ट्वीटर पनि छ, भएर के गर्नु? देशलाई संघीयता घाँडो भएझैं मलाई पनि यो गलपासो मात्रै भएको छ।
गत वर्षदेखि कोठामा माकुराले लगाएको जालो पनि छ। सफा नगर सरकारले भनेको छैन, जाँगर चले पो। काम नभएपछि झन् धेरै अल्छी भइने रहेछ। अहिले जीवन नै सामान्यभन्दा बिपरित चलिरहेको छ। पहिला-पहिला घरबाट निस्किन नपरे कती आनन्द लाग्ने जीवन अहिले घरबाट निस्किन नपाएर छट्पटाई रहेको छ।
अब कुन दिन नेपाल बन्दको घोषणा गरी रहने विप्लप माओवादीले आम जनतालाई घर बाहिर निस्किन अपिल गर्दै नेपाल खुल्लाको घोषणा गर्ने दिन पनि नआउला भन्न सकिन्न।
तपाईंलाई पनि यस्तै अनुभव त भएको त छैन? नपत्याए एक पटक मोबाइल नहेरी माथि हेर्नुस त, म जस्ता फुर्सदिला अल्छीहरूले त्यहाँ तपाईंकोमा पनि हुनसक्छ माकुराले लगाएको जालो। कि यतिका लागि फेरि अर्को छुट्टी चाहिने हो? फुर्सदमा अल्छी लाग्ने हो कि अल्छीलाई फुर्सद नहुने हो? यहाँहरू पनि अड्कल लगाउँदै गर्नुहोला।
लकडाउन अझै दुई/चार हप्ता थपियोस् मात्रै यस्ता जाला कसो नफालिएला। कति जालो बनाइराख्ला। यतिका दिनसम्म यो माकुरोले पनि हामीबाट आराम गर्ने आइडिया कसो नसिक्ला।
यो ब्लग पनि अल्छी लागी-लागी लेखेको हुँ। ब्लग भनेको गफै त हो, अल्छीलाई गफ दिन खासै अल्छी पनि लाग्दैन। मोबाइल फोनको स्क्रिन तलमाथि सार्नुस्, मेरो गफमा टाँसिनुस। मलाई थाहा छ, तपाईं पनि फुर्सदिलो अल्छी नै हो। नभए यस्ता ब्लग जाँगरिलाले किन पढुन्। पढ्दैनन्।
अब एकछिन हामी सबैको ‐संघीय सरकारको कुरा गरौं, त्यसपछि हाम्रो (प्रदेश) र राम्रो (स्थानीय) सरकारका कुरा पनि गरौँला।
हाम्रो एउटा चलन चल्तीमा रहेको उखानलाई हल्का मिलायो भने ‘खाने मुखलाई कोरोनाले छेक्दैन’ भन्ने हुन्छ। अहिले राजनीतिमा अनि जताततै 'समयानुकुल परिमार्जन' भन्ने शब्द खुब चलेको छ। त्यही भएर उखानलाई पनि समयानुकुल परिमार्जन गर्नु नै पर्यो। नत्र त्यो उखानलाई वर्षौँदेखि दिमागमा बोकी रहेको के अर्थ भयो र?
लकडाउनको सुरुआती दिनहरुमा हामी सबैको संघीय सरकारले स्वास्थ्य सामग्री खरिदमा घोटाला गर्यो रे भन्ने सुनियो, पढियो। मन्त्रीले पैसा खाएको, नखाएको, पचाएको वा पचाउन नसकेको आगामी समयले पर्दाफास गर्ला। यस्तो बेला खाएको प्रतिपक्ष बाहेक कसैले देख्दैन। फेरि अरुले देख्नलाई अनुभव पनि चाहियो, अनुमान गरेर मात्रै पनि भएन।
प्रश्न भने जरुर उब्जिएको छ, सरकारले कतै लकडाउनलाई लक्की टाइम ठानेर इज्जत डाउन त गर्दै छैन? विश्व यतिबेला कोभिड–१९ नामको भाइरसबाट त्रसित छ। चपेटामा छ। यसको संक्रमण विशेक भएको छैन। दिन दुई गुणा र रात चौगुणा फैलदो क्रममा छ। चिकित्सा विज्ञान हायलकायल छ। महाशक्ति राष्ट्र भनिनेहरूले यही सूक्ष्म जीवाणुसँग हार्नु परेको छ। यिनले पनि यो महामारी तोड्न सकेका छैनन्।
शत्रु चाहे सूक्ष्म किन नहोस्, उसलाई कम आँक्न हुन्न भन्ने गतीलो पाठ अहिले हामी मानव जातिले सिकेका छौँ। परिस्थितिले संसारलाई यस्तै पाठ सिकाईदिएको छ। यसलाई हतियारले हान्न मिल्दैन। पक्रन सकिदैंन। त्यसैले त यी देशहरू जाबो आँखाले देख्न नसकिने भाइरसको संक्रमणसँग जुध्न नसकेर बिमार छन्। थला परेका छन्।
गरुन् पनि के? उपाय पनि त केही छैन। यो के आइलाग्यो कुन्नि! भयावह संकट भइगयो। विश्व आज शताब्दीकै बिपदमा छ। बिमार पर्नु र मर्नु मान्छेका लागि सामान्य रहेको छ।
नेपालमा पनि यसको संक्रमण देखिएको छ। बैशाख २४ सम्म ८२ जनामा यसको संक्रमण देखिसकेको छ। नजाने, यस्तै संक्रमित अरु कति होलान्। औषधिमूलो पत्ता लागेको छैन। यसबाट जोगिने एउटै सर्त सजकता हो, मानवीय दूरी कायम गर्नु। मानवीय सम्पर्कबाट संक्रमणको दर उच्च हुने हुँदा मान्छेले मान्छे नभेट्नु।
देश लकडाउन छ। पाँच पटक गरेर सरकार जेठ ५ सम्मको लागि लकडाउन घोषणा गरीसकेको छ। यो अवस्था कहिलेसम्म हो केही अत्तोपत्तो छैन। हाम्रो सरकार आफैँ अलमलमा छ। सरकारले लकडाउन बाहेक अरु विकल्प केही देख्न सकेको छैन। लकडाउनले कतिको के-के बिताईसक्यो भन्ने तिर सोच्नै सक्दैन हाम्रो सरकार।
लकडाउन गरिदिए पछि आफ्नो कर्तव्य पूरा भएको सम्झन्छ हाम्रो सरकार। न त उल्लेख्य टेष्ट अगाडि बढाएको छ, न त जिल्लाको नाकाहरु कडा बनाएको छ। अझ काठ्मान्डौँमा त राति-राति दैनिक २००० मान्छे छिरिरहेको खबर आइरहेको छ।
यसको केही उत्तर नदिई लकडाउन मात्र बढाउँदा म जस्तालाई त मानसिक असर पर्न खोजेको छ भने ती बालबालिका के सोच्दै होलान् अनि एसइई दिन कुरेका विद्यार्थीको मानसिक अवस्था कस्तो होला?
यसरी नै जाने हो र लकडाउन बाहेक अरु केही उपाय नसोच्ने हो भने यो अवस्था ६ महिनासम्म नजाला भन्न सकिन्न। घरबाहिर निस्कन रोक छ। कोरोनाको कृपा, नेपालमा अहिलेसम्म कसैको ज्यान गएको छैन र कोरोना संक्रमित पनि अन्य देशको तुलानामा निकै न्यून छन्। कामना छ, यहाँ नदेखियोस्। नभेटियोस् पनि। आखिर हामीले गर्न सक्ने यही कामना न हो।
दिनभर मजदुरी नगरे बिहानसाँझ हात-मुखको भेट नहुने परिवारहरू पनि छन्। तिनलाई रोजीरोटीको समस्या छ। तैपनि जसोतसो कोठामा थन्किएकै छन्। उनीहरूलाई बाहिर निस्कनु र भीडभाड गर्नु संक्रमण फैलाउन जिम्मेवार हुनु हो भन्ने थाहा छ।
एक जनाको असावधानीले देशै अप्ठ्यारोमा पर्ने यिनले बुझेका छन्। भोकको ज्वाला पानीले निभाएर भए पनि यी जिम्मेवार नागरिक बन्दै छन्। तर बिडम्बना के छ भने जसले नागरिकलाई बाहिर ननिस्कन भनिरहेका छन्, तिनै भने आफू सजग छैनन्। यिनलाई लागेको छ हामी जत्तिको मान्छेलाई के कोरोनाले भेटाउँला।
त्यसैले त मन्त्रालय र क्वार्टरमा हुलका हुल मान्छे बोलाएर अंगालो हालेकै छन्। पास बनाएर काम छैन, काज छैन, सरर क्या राम्रो सडक, क्या राम्रो प्रकृति, आहा! भन्दै दौडिरहेकै छन। रमिता छ। मानौं यिनलाई दशैं आएको छ। अनुगमन र सहयोग संकलनका नाममा हुल बाँधेर हुर्रिएकै छन्।
जनताले मास्क नपाए पनि गलबन्दीले मुख छोपेकै छन्। सालका पात टाँसेर मुकुटो बनाएकै छन्। कमसेकम सजक त छन्। आखिर नेपाली न हुन्, गर्छन्।
‘मास्क लगाऊ, घर बाहिर ननिस्क, भीडभाडमा नजाऊँ, कोरोना भाइरस सर्छ’ सरकारले यसै भनेको छ। भनेर मात्रै के गर्नु? जनता जोगिए मात्रै पुग्छ? आफ्नो बानी काहीँ नजानी, यिनले जे गरे पनि हुन्छ।
जनताले लकडाउनको पालना गरेनन्। अटेरी भए। यसलाई पनि एक हदसम्म स्वभाविकै मान्न सकिन्थ्यो। तर यी अह्राई-सिकाई गर्नेकै यो तरिका हो के? यस्ता अस्वभाविक हर्कतलाई के भन्ने? तीन फिटको दुरी कायम गर्नुपर्ने हामी सर्वसाधारणले मात्रै हो?
रोग र संक्रमणले कति बेला कसलाई भेटाउँछ, कसैले अनुमान गर्न सक्छ? सकिँदो हो त बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोना संक्रमित हुने थिएनन्। रोगले वर्गीय विभेद गर्दैन। पद र पावर जान्दैन। सानो-ठूलो मान्दैन। भूगोल भन्दैन।
राम जाने…, यसको चंगुलमा जो पनि पर्न सक्छ। यी पावरवालालाई पनि संक्रमण देखिन सक्छ। हेलचक्य्राइँ गरेपछि जोखिम पनि त यिनैलाई बढी हुने भयो।
सूचना प्रविधिको युग छ। सहयोग आदान–प्रदान गर्न दुवै पक्ष भेट हुनैपर्छ भन्ने छैन। त्यो पनि चेक लिन/दिन। बैंकमा डिपोजिट गरिदिए हुने कामलाई फेसबुकमा असरल्ल पार्न हुल जम्मा गरेर हात मिलाउनै पर्ने कुम जोड्नै पर्ने के छ? सर्वसाधारणलाई सामाजिक सञ्जालमा फोटो राख्दा त्यसले के सन्देश दिन्छ? कि सरकारलाई सहयोग दिँदा टाँसिन पाइने, तरकारी किन्दा र बाटोमा हिँड्दा मात्रै दुरी मेन्टन गर्नुपर्ने हो? लिँदा नजिक दिँदा टाढा गर्दैमा कोरोना संक्रमणको जोखिमबाट बच्न कसरी सकिएला खै?
हामी नेपालीको एउटा काइदाको बानी छ। आफ्नाई गुन लगाईहाल्ने, परिस्थिति चाहे जस्तोसुकै किन नहोस्! यो गुन लगाउने काइदाले सधैं फाइदा गर्छ भन्ने पक्कै छैन। जस्तो यस पटक मान्छे गाउँ पठाएर लगाएको गुन। अनि अहिले काठमान्डौँ हुलेर लगाएको गुन। यो गुनको मुल्य राज्यले चुकाउनु पर्ने हुन्छ।
यस्तै गुनीहरुको गुनले तिनै गुनी आफैँ अलमल्ल परेर लकडाउन खोल्ने, नखोल्ने के गर्ने भनेर थप्दै बसेका छन्। नथपौँ आफैँले गुन लगाउँदै मान्छेहरु कहिले यताबाट उता, उताबाट यता गरेर बसिएको छ। गरुन पनि के? बस् यिनहरूलाई यति थाहा छ, जति गुन लगाएको जस्तो गरियो, त्यति अर्को चुनावमा उनीहरुको भोट बढ्नेछ।
कोरोना संक्रमितको ग्राफ उक्लिदै गरेको भारतबाट त्रासले भागेर आएकालाई बिना चेकजाँच सिधैँ घर पठाउनुले फाइदा गर्दैन। करामत गर्छ। चुनावताका भोटका लागि मतदाता ओसारे जस्तो अवस्था अहिले होइन। प्रियजनको मृत्युमा आँशु बगाउँदा पनि तीन फिट पर रहनुपर्ने बेला हो यो। रोगलाई तिरस्कार गर्दा रोगीलाई माया गर्न पनि नपाइने अवस्था हो। गर्नुहुन्छ के, नजिक गए आफैलाई सर्छ। एक-दुई हुँदै देशै थला पर्छ।
त्यतै अर्को रमिता पनि यतिबेलै छ, राहत बाँड्ने र टीठ मान्नेको। विशेषगरी लकडाउनले सुनसान र रित्तो सडकमा खटिएका प्रहरीको दया मान्नेहरू धेरै छन्। यिनलाई फलफूलदेखि नास्ता पानी बाँड्नेको कमी छैन। तछाडमछाड छ। भीड देखिन्छ।
प्रहरीको दयाभन्दा चाउचाउ र पानीको बोतल सहयोग गरेको फोटा पोष्ट्याउने होडबाजीले धेरैलाई दानी बनाईदिएको छ। ‘लाइट कम फोकस ज्यादा’ भनेको यही त होला?
नबुझेको कुरा- प्रहरी र स्वास्थ्यकर्मीले जसले जे दिए पनि मास्क खोलेर मुस्कुराउँदै किन लिनु? के यिनलाई भाइरस सर्ने जोखिम छैन? यस्ता असावधानीले यिनै बिरामी परे हाम्रो हालत के हुन्छ? जनताको स्वास्थ्य र सुरक्षा कसले हेर्छ?
जसको काम जे हो, उसले त्यही गर्ने हो। पेशागत धर्म पनि यही नै हो। यो टीठ मान्ने विषय होइन। तपाईंलाई यी शब्द पढ्दा ज्यादै झुर र असान्दर्भिक पनि लाग्लान्। किनकी समय त्यस्तै छ। प्रहरी हाम्रो साथी खासमा यस्तै बेला भएको छ।
स्वास्थ्यकर्मीले पूरा समय ड्यूटी यतिबेलै निभाएका छन्। जो होस्, सत्य के हो भने उसले आफ्नो ड्यूटी मात्रै निभाएको हो। छुट्टै परोपकार केही गरेको होइन, छैन। यस्तै विषयमा चासो दिएर भावनामा बग्दै संक्रमणको भयावह निम्ताउने छुट कोही कसैलाई छैन।
यो सावधानी अपनाउने बेला हो। उट्पट्याङ गर्ने र मुर्खता देखाउने उचित समय विल्कुलै होइन। यस्तो अवस्थामा आफ्नो ड्यूटी निभाउँदैमा कोही विचरा हुँदैन, न त कोही साहसी बन्छ।
अन्त्यमा,
लकडाउन लम्ब्याउने, टेस्ट नगर्ने? नाकामा आवत-जावत खुकुलो, सहरभित्र कसिलो? यो आम-नागरिकको प्रश्न हो। लकडाउनको नयाँ मितिसँगै सरकारले यो प्रश्नको जवाफ पनि नागरिकलाई दिन सकेको भए कति राम्रो हुन्थ्यो।
किनभने यो अवस्थाले मानिसहरूको मानसिक स्वास्थ्यमा असर पर्न थालेको छ र कोभिड-१९ लेभन्दा अरू रोगका कारण धेरै मानिसहरू मर्ने अवस्था आउन सक्छ। ज्याला मजदुरी गरेर खानेहरू समस्यामा परेका छन्। अरु केही नगर्ने हो भने अर्को ६ हप्ता लकडाउन गरेपनि अवस्था त्यही रहन्छ। अनि कहिलेसम्म लकडाउन गर्ने?
(लेखक सामाजिक अभियान्ता एवम् टेलिभिजन कार्यक्रम निर्माता हुन्।)