प्रिय नवराज, खोइ कसरी पत्याए होलान् अरूले तिम्रो समाचार! मैले पत्याउन सकिनँ!
झन् कसरी पो विश्वास लाग्यो होला तिम्रा बाआमालाई! अनि के गरे होलान् उनीहरूले जसको छोरो अब यो संसारमा छैन!
तिम्रो खबर सुनेदेखि मेरै सास रोकिएलाजस्तो भएको छ। बेस्सरी रिस उठ्छ। मुठ्ठी बटारिन्छ। दाँत बाँधिन्छ। तर, रिस मर्दैन।
मस्तिष्क सोध्छ— भेरी नदीको पानीमा तिम्रो शव बग्यो कि मानव सभ्यता? कथित उपल्लो जातकी तिम्री प्रेमिकाका आफन्त र गाउँलेहरूको अधर्मको भेल कति उर्ली-उर्ली आयो र तिमी र तिम्रा साथीहरूलाई टाढाटाढा पुर्यायो होला?
सोमबार मध्यरात दुई बजेतिर मेसेन्जरमा गायक प्रकाश सपूतको सन्देश आयो- ‘दाइ रुकुमको घटनाले मन जलिरहेको छ, पोलेको छ, आवेगको पारो तातेको छ।’
प्रेम र जीवनभन्दा जात ठूलो मानिएको परिणाम हो यो घटना, जसले म, प्रकाश र दलित समुदायलाई मात्र छोएको छ कि सिंगो सचेत मानव जातिलाई?
मान्छे यतिसम्म क्रूर र आपराधिक किन बन्यो होला? पृथ्वीको सर्वश्रेष्ठ र सचेत भनिएको मान्छेको यो कस्तो किसिमको विवेक र चेतना हो? कथित तल्लो जातिको भनिएको एक युवाविरूद्ध किन यसरी पूरै गाउँ उल्टिएर मारपिट गर्यो होला? कुन साहसले यस्तो गर्न सक्यो होला मान्छेले?
यस्तो कारुणिक घटना हुँदा पनि नजिकैको प्रहरी किन मूकदर्शक बन्यो? कानुनको नजरमा जातभात नदेख्ने प्रहरीको आँखामा कुन पट्टि बाँधिएको थियो? सारा जनताको करबाट नुनपानी खाने प्रहरीले तल्लो भनिएको जातमाथि निर्मम कुटपिट हुँदा पनि जोगाउन किन सकेन?
प्रिय नवराज, तिमीलाई लघारी-लघारी ज्यान लिने केवल हुल थिएन। त्यहाँ त जनप्रतिनिधि नै थिए। अगुवाइ उनैको थियो।
हामीले हुलको न्याय मान्दैनौं भनेरै जनप्रतिनिधि चुन्ने व्यवस्था ल्यायौं। जनप्रतिनिधिकै अगुवाइमा यस्ता पाशविक घटना हुन्छन् भने दोष कसलाई दिने? कथित जातीय व्यवस्थालाई मात्र कि हामीले बसाल्न नसकेको कानुनी राजलाई? हामीले उकास्न नसकेको चेतनाको स्तरलाई?
मलाई ताज्जुब लाग्छ, हमलाकारी कसैले नवराजको अनुहारमा आफ्नो सन्तानको छवि किन देखेनन्? सबैले उनलाई मान्छे मात्र पनि किन देखेनन्? तिम्रो कथित तल्लो जात मात्र किन देखे?
के तपाईंहरू एकपटक एक मिनेट मात्र नवराज विक वा नेपालको दलित समुदाय भएर सोच्न सक्नुहुन्छ? सोच्नुहोस् त, के आउँछ मनमा?
जन्मेदेखि मर्ने बेलासम्म जनावरभन्दा तलको व्यवहार सहेर बाँच्नुपर्छ। जातीय छुवाछुत र विभेद नसहेको दिन हुन्न, चाहे जो जुनसुकै पदमा पुगोस् वा जतिसुकै बौद्धिक र सम्पन्न किन नहोस्! सबैलाई देखिने वा नदेखिने विभेदले मुटु पोल्छ। आत्मसम्मानमा गहिरो चोट नलागेको दलित समुदाय सायदै भेटिएला।
देशमा उथलपुथलकारी 'जनयुद्ध' भयो। जनआन्दोलन भयो। गणतन्त्र पनि आयो, तर व्यवहारमा म लगायत सिंगो दलित समुदायले परिवर्तन महशुस गर्न पाएका छैनौं। पाउँदो हो त कुनै बेला 'जनयुद्ध' को आधार इलाका मानिने र माओवादीले जनसरकारको अभ्याससमेत गरेको त्यही रुकुममा नवराजहरूको यो हालत हुने थिएन।
नवराजको यो घटना पहिलो होइन। पहिला पनि दर्जनौंले यसरी ज्यान फाल्नुपरेको छ। यस्तै किसिमको विभेदका कारण काभ्रेका अजित मिजारको शव चार वर्षदेखि शिक्षण अस्पतालमा छ। तर, सरकार चुप छ।
नवराज र अजित मात्र होइन, परिवार र समाजमा आफ्नो विवाहले मान्यता नपाउने भएपछि झापाका अस्मिता सार्की र ईश्वर भट्टराईले २०७३ माघ ७ मा एउटै पासो लगाएका थिए। तनहुँकी संगीता परियारले पनि गैरदलितसँग प्रेमविवाहकै कारण ज्यान गुमाइन्।
गैरदलित युवतीसँग प्रेम सम्बन्धकै कारण ०६८ भदौमा दैलेखका सेते दमाई मारिए। त्यही वर्ष १६ माघमा सप्तरीको पन्सेरा–३ का शिवशंकर दास पनि अन्तरजातीय प्रेम र विवाहकै कारण मारिए।
यी घटना हेर्दा यस्तो लाग्छ, सरकारले पीडितलाई न्याय दिने दिन होइन, अर्को घटनाको प्रतीक्षा गरेको छ।
जब यस्ता विभेद हटाऔं भनेर कुरा गर्यो, केही लेख्यो अनि एकथरी मान्छे जातका कुरा नगरौं, जातीय सद्भाव नबिगारौं भन्छन्। विभेद विस्तारै हट्छ भन्छन्। त्यो विस्तारै कहिले हो? हामी मान्छे भएर मान्छेको स्तरमा आउने कहिले हो? भोलिको पुस्तालाई विभेदरहित समाज हस्तान्तरण गर्ने कहिले हो?
मलाई त विभेदरहित दिनको पर्खाइ सपना मात्र हुने हो कि भन्ने डर छ।
कम्युनिस्ट पार्टीको कास्की जिल्ला अध्यक्ष तथा प्रदेश सांसद कृष्ण थापाले जातीय छुवाछुत तथा विभेदको पक्ष लिँदै उत्पीडित समुदायलाई नै उच्छृंखल तत्व भने। समाज नभाँड्न चेतावनी पनि दिए। यति हुँदाहुँदै नेकपा र सरकार चुइँक्क बोलेन। अब अरू के आशा गर्नू!
राष्ट्रियताको विषयमा खुकुरी भिरेर कालापानीमा युद्ध गर्न जान तम्सिने नेपाली युवा तथा सचेत आममान्छे किन यस्ता विभेदका विषयमा चुप हुन्छन् होला? अरू त अरू छुवाछुत तथा विभेदविरुद्ध फेसबुकमा लेख्न पनि किन आँट गर्दैनन् हँ?
भनिन्छ, न्यायको पक्षमा नबोल्नु भनेको अन्यायको कित्तामा उभिनु हो। यो जघन्य अन्यायको पक्षमा को-को हुनेछन् यसको चित्र पनि अब प्रस्ट हुनेछ।
बरू उल्टै अहिले नवराजको रुकुम घटनालाई उमेर नपुगेको, प्रेम नभएर यौन आकर्षण, जबर्जस्ती किन गरेको? अर्काको घरमा हुल बाँधेर किन गएको? लकडाउनमा सामाजिक दुरी किन कायम नगरेको? जस्ता तर्क गरेर घटनालाई अन्यत्रै मोड्न खोजिएको छ। तर, यो घटना नवराज कथित सानो जात भएकाले नै भएको हो। ठकुरी परिवारकी छोरी विवाह गर्न खोज्दा जातीय विभेदकै कारणले भएको हो।
अब यसप्रति आमसचेत मानव, राज्य, समाज तथा मिडियाले कसरी लिन्छ भन्ने कुरा आउँछ। रुकुम पश्चिमकै सांसद तथा जनयुद्धका तत्कालीन कमान्डर जनार्दन शर्माले नवराज विकका बाबुआमा र समाजसँग के भन्छन्! माफी माग्छन् कि माग्दैनन्! त्यो हेर्नुछ।
राज्यले पीडितलाई न्याय र पीडकलाई कडा कारबाही गर्ने भनी आश्वस्त कसरी पार्छ! देशैभर अब यस्ता घटना नघुटून् भनेर सचेतना फैलाउने अभियान थाल्छ या २/४ सातामा सबै भुल्छ! पर्खनु छ हामीले।
धेरै विषयमा सदनमा तार्किक र चर्का भाषण गर्ने सांसदहरू गगन थापा, भीम रावल, प्रदीप गिरी, टोपबहादुर रायमाझी, रामकुमारी झाँक्रीहरुले विभेदविरुद्ध संसदमा संकल्प प्रस्ताव राख्छन् कि के गर्छन् होला? दलितको विषयमा छविलाल विश्वकर्मा, मीन विक, दुर्गा विक वा सुजता परियारले मात्र बोले पुग्छ भनेर पन्छिन्छन् कि?
जनताको आवाज संसदमा नउठे कहाँ उठ्ला? सडकमा त दलित समुदायले सधैं उठाएका छन्। मात्र कामना गर्छौं, फेरि भोलि अर्का नवराजहरूले अन्तरजातीय प्रेमकै कारण अनाहकमा ज्यान गुमाउन नपरोस्।
प्रिय नवराज, तिमी भेरी नदीमा त्यसै बिलाएका छैनौं। सचेत मान्छेको मनमा बाँचिरहने छौ।