पछिल्लो केही वर्षदेखि सडक चौडा, सुधार र विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। राजधानीका प्रमुख सडक खण्डहरूमा ठूला-ठूला संरचनाहरू समेत भत्काएर सडक संरचनामा व्यापक सुधार ल्याउने प्रयास गरिएको छ।
यस कदम स्वागतयोग्य छ। तर सडकको विस्तारले मात्र यातायात क्षेत्रमा सुधार ल्याउन सक्दैन। उपत्यकामा हाल यातायातको अवस्था, विशेषगरी सार्वजनिक यातायातको अवस्था निकै नाजुक छ।
बढ्दो सवारी तथा यात्रुको संख्या, कमजोर संरचना, सडक प्रयोगकर्ताको लापरबाही, ट्राफिक व्यवस्थापन वैज्ञानिक तरिकाले हुन नसक्नु आदि कारणले राजधानीको यातायातको अवस्था दयनीय छ।
काठमाडौँ उपत्यकाका सडकमा सवारीको रफ्तार औसत ३० किलोमिटर प्रतिघण्टाभन्दा कम छ जुन दक्षिण एसियामै खराब अवस्था हो। ठूलो संख्यामा उपत्यकाका यात्रुहरूलाई सेवा दिनुपर्ने सार्वजनिक यातायातको स्थिति त झन् खराब छ।
यस्तो अवस्थामा सरकारले अगाडि बढाएको सडक विस्तार तथा सुधारका योजनाले आशातित परिणाम ल्याउन सक्दैनन्। सडक चौडा गर्ने कार्य सँगसँगै सार्वजनिक यातायातको विकास अगाडि बढाइएको भए आज राजधानीको यातायात व्यवस्थापनमै उल्लेख्य सुधार आउने थियो।
लाखौँको संख्यामा रहेका सर्वसाधरण यात्रुले सार्वजनिक यातायातमा भोग्नु परेको दुर्दशामा कुनै सुधार आउन सकेको छैन। सडक चौडा पारियो, सार्वजनिक यातायातमा सुधार गरिएन, सवारी साधनको संख्या ह्वातै बढ्यो तर सवारीको सही व्यवस्थापन हुन सकेन। त्यसैले सडक जाम पहिलेको भन्दा झन् खराब हुन थाल्यो।
यही हो अहिलेको यातायातको अवस्था। यस्ता गम्भीर विषयलाई त्यति बेवास्ता गर्दा सर्वसाधारणले सार्वजनिक यातायातमा यात्रा गर्दा सास्ती कहिलेसम्म व्यहोर्नु पर्ने हो थाहा छैन। यस्ता समस्या भोगिरहेको यातायात क्षेत्रमा अन्य चुनौतीहरू पनि कम छैनन्।
ट्राफिक जाम धेरै हुनु कुनै देशको अर्थतन्त्रको लागि नकारात्मक पक्ष हो। यो समस्याले मानिसको अमूल्य समय त खेर जान्छ नै यसबाट ठूलो धनराशी बराबरको मूल्य चुकाउनु पर्ने यथार्थता पनि छ। संसारमा ५५ प्रतिशत जनसंख्या सहरमा बस्छन, यो तथ्याङ्क २०५० सम्म ६८ प्रतिशत पुग्ने अनुमान छ।
तर संसारमा कुनै पनि देशले यो तथ्याङ्कलाई मध्यनजर गरी यातायात प्रणाली विकास गरेको देखिँदैन जसको परिणाम ट्राफिक जाम समस्याको रुपमा ज्यूँका त्यूँ रहने गरेको छ। इनरिक्स भन्ने यातायात कम्पनीले गरेको अनुसन्धानले अमेरिकाको ट्राफिक जामले त्यहाँको उत्पादकत्व ८७ अर्ब डलरले घटेको छ।
नेपालमा करिव ४० लाख सवारी साधन दर्ता भएका छन् जसमध्ये ८५ प्रतिशत मोटरसाइकल छन् र करिब १२ लाख सवारी साधन काठमाडौँ उपत्यकामा चल्छन्। काठमाडौँ उपत्यका पनि ट्राफिक जामको समस्याबाट मुक्त छैन। यो समस्या बढ्दो क्रममा देखिन्छ।
दैनिक बिहान, दिउँसो र बेलुका ट्राफिक जाम हुनु सामान्य भइसकेको छ। मानिसहरूको जनसंख्या बढिरहेको, हिँडडुल गर्न समस्या बढिरहेको र सवारी साधनको संख्या पनि बढिरहेको तर हामीहरूले ट्राफिक जाम हटाउने कुनै पनि वैज्ञानिक अवधारणा प्रयोग नगरेको हुँदा यो समस्या दिन प्रतिदिन बढदै गइरहेको छ।
व्यस्थापनका आधारहरू
ट्राफिक जाम समस्याको रुपमा वर्षौंसम्म रहे पनि यसलाई व्यवस्थापन गर्न नसकिने विषय समस्या होइन। त्यसैले हामीले निम्न उपायहरू अपनायौंमात्र भने पनि यो समस्या धेरै हदसम्म समाधान हुने देखिन्छ।
पहिलो चरण (चरणवद्ध रुपमा दुई वर्षभित्र गर्ने)
१. सार्वजनिक यातयात कम्पनी खडा गरी सार्वजनिक यातयातको सुधार
विश्वभरी ट्राफिक जाम हटाउन प्रयोग हुने विकल्प मध्ये सार्वजनिक यातायातको विकास उत्तम विकल्पको रुपमा मानिन्छ। 'एउटा मिनीबसको यात्रुले ठूलो बसको यात्रुको दाँजोमा तीन गुणाले बढी सडकको स्थान ओगट्छ' भन्ने तथ्यांक छ। जति सानो सवारी साधनको प्रयोग सार्वजनिक यातायातामा हुन्छ त्यति नै सडकको बढी ओगटिन्छ।
२७० जनासम्म यात्रा गराउने क्षमताको बस उपलब्ध भएको हुँदा ट्राफिक जाम हटाउन मानिसहरूलाई निजी सवारी किन्न हतोत्साहित गरी सार्वजनिक यातायातको विकास गरी सार्वजनिक यातायातको प्रयोगको लागि प्रोत्साहित गर्नुपर्छ।
काठमाडौँमा सरकारको समेत लगानी लगाई सार्वजनिक यातयात कम्पनी खडा गरी माग अनुसारको सार्वजनिक बस सेवा उपलब्ध गराउने जसले गर्दा यहाँको समस्या धेरैसम्म हल हुनेछ। यो काम एक वर्षमा गर्ने।
२. अत्याधिक जाम हुने स्थानमा प्रवेश शुल्क
अत्याधिक जाम हुने स्थानको प्रवेशमा न्यूनतम शुल्क लगाउने हो भने चालकले त्यसको वैकल्पिक सडक खोज्न बाध्य हुन्छ जसका कारण सवारीको समान वितरण भइ सडकहरूमा सवारी चाप पनि कम हुन्छ। वैकल्पिक सडक भएका क्षेत्रमा यो लागु गर्न सकिन्छ।
यो प्रणाली बेलायतमा सफल रुपमा कार्यान्वयन भएको छ। नेपालमा पनि यसलाई लागु गर्न सकिने धेरै सम्भावना छ। जस्तैः भक्तपुर-कोटेश्वर सडक खण्ड निकै जाम हुने सडक खण्ड हो।
यदि यो खण्डमा बिहान ९/१० बजेसम्म यात्रा गर्दा न्यूनतम शूल्क लिने हो भने हतार नहुने यात्रु १० बजेपछि त्यो सडक खण्ड प्रयोग गर्छन् भने कति शुल्क बचाउन मनोहरा करिडोर पनि प्रयोग गर्छन्। त्यसले ट्राफिक जामको समस्या समाधान गर्न सहयोग पुग्ने थियो। यही कुरा गौशाला(चाहबिलमा लगायतका अत्याधिक जाम हुने स्थानहरूमा लागु गर्ने।
३. ट्राफिक बत्तीको प्रयोग
हाम्रा भएका ट्राफिक बत्तीको अवस्था अध्ययन गर्ने र हामीलाई चाहिएको के हो भन्ने कुरो पहिचान गर्ने र सोको आधारमा सिस्टम विकास गर्ने। काठमाडौँको केही सडक चोकमा ट्राफिक बत्ती छन् भने केहीमा छैनन्। यसले गर्दा सडकको चोक-चोकमा एकिकृत रुपमा सवारीको आवतजावत छैन।
यो कारणले सवारी आवतजावतमा अस्तव्यस्त हुन जान्छ। विशेषता प्रत्येक चोकको ट्राफिक बत्तीहरू एकिकृत रुपमा काम गर्नुपर्ने हुन्छ। सिद्धान्त एउटा सवारी साधन एउटा हरिया बत्तीबाट पास भएपछि कम्तीमा ३ वटा ट्राफिक बत्ती पास हुनुपर्ने गरी मिलाउनु पर्छ। यो हाम्रो देशको हकमा लागु भएको छैन। त्यसैले हरेक चोकमा ट्राफिक बत्ती जडान गर्नुपर्छ र यिनीहरू सबै एकिकृत रुपमा संचालन गराउने।
४. साइकल यात्रा र पैदल यात्रा प्रवर्द्धन गर्ने
अवलोकन गर्दा पनि देखिन्छ मानिसहरू बिहान दौडने, हिँड्ने गरेको साथै रमाइलोको लागि साइकल प्रयोग गरेको। नेपालका सडकहरू सवारी साधनका लागि योजना र डिजाइन गरी बनाइएका छन्। त्यसैले नेपालका सडकहरूमा मुख्यतः फूटपाथ र साइकल लेन हुने गर्दैन।
विस्तारै सहरी सडकहरूमा फूटपाथ व्यवस्थापन गर्न थालिएका छन्। नेपालका सहरहरूमा पनि साइकल लेन बनाउन सकियो भने यसले धेरै मानिसलाई साइकलप्रति आकर्षित गर्नेछ र फूटपाथले मानिसहरूलाई हिँड्न प्रोत्साहन गर्नेछ।
साइकलको प्रयोग र हिँडाइले वातावरणमा प्रदुषणको कमी गराउँछ र मानिसहरूको स्वास्थ्य सुदृढ गर्छ। साइकल प्रयोग र हिँड्ने बानीले सडकमा सवारीको संख्या कम गरी ट्राफिक जाम घटाउन सहयोग गर्छ।
साइकल यात्रा र पैदल यात्रा प्रवर्द्धन गर्ने साइकल लेनको संजाल विकास गर्ने र पैदल मार्गको उचत्तम विकास गर्ने। पैदल मार्गलाई चौडा बनाउने र रुखहरू रोपी आकर्षित बनाउने जसले गर्दा मानिसलाई हिँड्न प्रोत्साहन गर्छ।
जामको समस्या आउने वित्तिकै जहिले पनि सडक विस्थार गर्न सकिँदैन। ट्राफिक जामको समस्यालाई टालटुले तरिकाले नभई एकीकृत प्रणालीको विकास गरी कार्यान्वयन गर्न सकिन्छ।
हाम्रो देशमा ट्राफिक समस्या विकराल नै त छैन तर समस्याको समाधानमा अहिलेदेखि नलाग्ने हो भने यसले सहरको आवतजावत नै अस्तव्यस्त पार्ने देखिन्छ। सार्वजनिक यातायातको सुधारलाई प्राथमिकतामा राखी माथि उल्लेख भएका उपायहरू लागु गर्ने र सवारी जामको समस्या समाधान हुन्छ।
दोस्रो चरण
१. बिआरटीको विकास
बिआरटी भनेको एउटा बस सिस्टम हो जुन प्रायःजसो छुट्टै लेनमा हिँड्छ र कुनै अवस्थामा मिश्रित ट्राफिकमा पनि संचालन गर्न सकिन्छ। यसले रेल र बसहरूका राम्रा विशेषताहरू प्रयोग गर्छ।
बिआरटी विकास गर्दा पहिलो फेजमा २७.५ किमी रिङरोडमा पाइलट प्रोजेक्टको रुपमा बिआरटी हाल्न सकिन्छ। त्यसपछिको फेजमा मुख्य सडकमा यो सेवा सञ्चालन गर्न सकिन्छ। यसरी धेरै फेजमा यसको विकास गर्नुपर्ने हुन्छ। अहिले रिङरोडमा बिआरटीका लागि एउटा छुट्टै लेन बनाउने ठाउँ पनि उपलब्ध छ।
बिआरटी सञ्चालनका लागि एउटा छुट्टै लेन बनाउनु राम्रो हुन्छ। ट्राफिक लाइटलाई अटोमेटिक बनाउनु पर्छ। भाडा तिर्ने अटोमेटिक सिस्टम र एकीकृत प्रणाली लागु गराउनुपर्छ। निजी क्षेत्रले सञ्चालन गर्नुपर्छ। सबै वर्गलाई हुने खालको उच्च क्षमताको बस हुनुपर्छ।
बिआरटीलाई ट्राफिक लाइटमा प्राथमिकता दिनपर्छ। आरामदायी हुनुपर्छ। सस्तो हुनुपर्छ। आकर्षक हुनुपर्छ, विश्वसनीय र सुरक्षित हुनुपर्छ। यति भयो भने निजी गाडी चढ्नेहरू बिआरटीतिर आकर्षित हुन्छन्। यो काम ३ वर्षभित्र गर्ने।
२. मेट्रोरेल विकास
पाँच वर्षमा मेट्रोरेल संचालन सम्भव हुन्न तर यो विषयमा काम सुरु गरेकै दिनबाट अध्ययन गर्न सुरु गर्नपर्छ। मेट्रोरेल निर्माण तथा संचालन महानगरबाट गर्न सकिन्छ जस्तो लाग्दैन किनभने यो निकै ठूलो र गाह्रो परियोजना हुन्छ। त्यसैले यसका लागि छुट्टै बलियो निकाय बनाउन उपयुक्त हुन्छ। मेट्रोरेल विकासका लागि पहल गर्ने, सहजीकरण गर्ने र झकझकाउने काम गर्ने।
काठमाडौँजस्तो सहरमा मेट्रोरेलको सपना कार्यान्वयनमा धेरै ढिला भइसक्यो। करिब ४० लाख जनसंख्या पुगिसकेको सहरका लागि एउटै मात्र सहज र प्रभावकारी यातायातको साधन मेट्रोरेल नै हो। विश्वका ठूलाठूला सहरहरूमा मात्र नभएर साना सहरहरूमा समेत मेट्रोरेल सञ्चालनमा ल्याइएका छन्।
त्यो हाम्रोमा पनि सञ्चालन गर्न नसकिने भन्ने होइन। तर जागरूकता चाहियो। हामीले भाषणमा त मेट्रोरेलको कुरा गरेका छौँ, तर व्यवहारमा उतार्न सकिरहेका छैनौँ। यसलाई कार्यान्वयन गरी मेट्रोरेल सञ्चालन गर्न सकियो भने अहिलेको ट्राफिक जाम घट्छ।
काठमाडौँजस्तो सहरमा मेट्रोरेलले मात्र दीर्घकालीन यातायात प्रणालीको व्यवस्थापन गर्छ। यातयात को सिद्धान्तअनुसार सहरको जनसंख्या ३० लाख वा बढी छ भने व्यवस्थित यातयातको लागि मेट्रो चाहिन्छ। हाम्रो छिमेकी देशहरू भारतको धेरै सहरहरूमा मेट्रो संचालनमा छन्, चिनमा त रेलको विकासमा संसारकै उत्कृष्ट छ, बंगलादेशमा निर्माण हुँदैछ, पाकिस्तानमा संचालनमा छ।
नेपालमा पनि बनाउन नसक्ने होइन। सन् २०१२ मा नै काठमाडौँमा मेट्रो विकासको लागि सम्भाव्यता अध्यन भएको छ, त्यसैको आधारमा हामीलाई अगाडि बढ्न गाह्रो छैन।
माथि विश्लेषण गरिएका ६ उपायहरू हामीले लागु गर्न सके हाम्रो यातायात व्यवस्थामा निम्तिएको चुनौती दीर्घकालीन रूपमै समाधान हुन्छ। सडक विस्तार गर्नुपर्छ। तर सहरी सडक विस्तारलाई मात्र प्राथमिकतामा राख्नु हुँदैन। किनभने हामीसँग सीमित जमिन भएकाले जामको समस्या आउनासाथ सडक विस्तार गर्न सकिँदैन।
सार्वजनिक यातायातको सुधारलाई प्राथमिकतामा राख्दै माथि उल्लेख गरिएका उपायहरू मात्र लागु गर्ने हो भने नेपालका मुख्य सहरहरूमा जामको समस्या समाधान हुन्छ। ट्राफिक जामको समस्यालाई टालटुले तरिकाले हैन, प्रणालीको रूपमा विकास गर्नुपर्छ।
(लेखक यातायात विज्ञ हुन्।)