मोटरसाइकल यात्रालाई जति रोमाञ्चक मानिन्छ, दुर्घटना दृष्टिले त्यति नै जोखिमपूर्ण छ।
पछिल्लो समय नेपालमा मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको छ। कोभिडपछि मोटरसाइकल चलाउनेको संख्या अझ बढेको छ। दसैंमा घर जाँदा समेत मोटरसाइकलमै जानेको संख्या ठूलो छ।
कसरी सुरक्षित मोटरसाइकल चलाउने?
१) सबभन्दा पहिला आफू जाने ठाउँको बाटोबारे सबै थाहा हुनुपर्छ। बाटोको अवस्था, खाल्डाखुल्डी, उकालोओरालो, पिच, ग्राभेल वा कच्ची बाटो, नयाँ सडक बनाइँदै छ कि भन्नेबारे जानकारी लिने।
२) मोटरसाइकलको कन्डिसन राम्रो हुनुपर्छ र परीक्षण गरेर मात्र चलाउनुपर्छ। आवश्यक कागजातहरू साथमै राख्नुपर्छ।
३. रियर भ्यू ऐना मिलाउनुस्, मोटरसाइकल चलाउनुअगाडि आफ्नो बसाइ र पोजिसनअनुसार दुवै ऐना मिलाउनुपर्छ। यसले सडकमा हिँड्दा तपाईंलाई बाटोको अवस्था जान्न सहयोग पुग्छ।
४) तपाईंको उचाई, शरीरको क्षमता र तौललाई मिल्न सक्ने मोटरसाइकल चलाउनुपर्छ। मोटरसाइकल ठूलो र चलाउने मान्छे सानो भयो भने मोटरसाइकल ढल्किँदा उसले थाम्न सक्दैन र दुर्घटना हुन्छ।
५) आकर्षकभन्दा सुरक्षातिर ध्यान दिई बलियो हेलमेट प्रयोग गर्ने। सकेसम्म पछाडि बसेर यात्रा गर्नेले पनि हेलमेट लगाउनुपर्छ। प्राय: कमसल हेलमेट प्रयोगका कारण दुर्घटना भएको अवस्थामा चालक वा पछाडि बस्ने यात्रुको मृत्यु हुने सम्भावना धेरै हुन्छ। मोटरसाइकल चालकले राइडिङको समय अनिवार्य रूपमा डर्ट सर्टिफाइट हेलमेट प्रयोग गर्नुपर्छ। यस्ता हेलमेटमा राम्रो सामग्री प्रयोग गरिएको हुन्छ जसले दुर्घटनाको समय टाउकोमा असर पर्नबाट जोगाउँछ।
६) मोटरसाइकल चलाउन सजिलो हुने र पछाडि बस्नेले सजिलो बस्न र ओर्लन सक्ने खालको कपडा लगाउनुपर्छ।
७) सुरक्षाका लागि पन्जा, ज्याकेट, चस्मा, माक्स र पानी पर्नसक्ने भएकाले रेनकोट पनि लिएर जानुपर्छ।
८) कहिलेकाहीँ बाटोमा मोटरसाइकल बिग्रेर या पेट्रोल सकेर अलपत्र पर्न सक्छ। त्यसैले आफू जाने बाटो कहाँ कहाँ पेट्रोल पम्प छ, कहाँ कहाँ वर्कसप छ सबै बुझेर निस्कनुपर्छ। अहिले गुगलबाट कहाँ के छ सबै सजिलै थाहा पाउन सकिन्छ।
९) घरमा लानु छ भनेर धेरै सामान बाइकमा अगाडि वा पछाडि राखेर नलाने। केही हलुका सामान र दुई जना मात्रै बसेर जाने। ओभरलोड भयो भने दुर्घटना हुन सक्छ।
१०) अधिकाशं दुर्घटना लापरबाहीले हुने भएकाले सानो लापरबाहीले जीवन नै जानसक्ने हुँदा लापरबाही तथा हतार नगरी बिस्तारै चलाउने।
११) बाटोमा ट्राफिक प्रहरी पनि हुँदैन, रमाइलो गर्दै जाने भनेर मापसे गरी सवारी चलाएर जानु हुँदैन।
१२) सडकमा गुड्ने ठूला सवारी साधनबाट सजग रहने, छाडा चौपाया तथा अन्य कारणले पनि सडक अवरोध हुन सक्छ। त्यसतर्फ ध्यान दिने।
१३) ख्याल राख्नुपर्छ, अरूले गल्ती गर्न सक्छन् र नियम पालना नगर्न सक्छन् त्यसैले आफू जोगिन सक्ने गरी तयार रहनुपर्छ।
१४) अरू सवारी साधनलाई ओभरटेक गर्दा आफू स्वयंलाई र अरूलाई पनि कुनै खतरा हुँदैन भन्ने यकिन भए मात्रै उछिन्न सुरू गर्नुपर्छ। लेन अनुशासन पालना गर्नुपर्छ।
१५) पहिरो गएको ठाउँमा ठूला-ठूला ढुंगा खस्ने सक्ने, मोबिल वा अन्य तरल पदार्थ पोखिएर बाटो चिप्लो भएको, बालुवा भएको वा चिप्लो माटो हुन सक्ने भएकाले ध्यान दिनुपर्छ।
१६) तनाव, रिस, आवेगमा सवारी नहाक्नु होला, मोबाइल फोन प्रयोग गरेर प्रतिस्पर्धामा सवारी नचलाउनु होला।
१७) मोटरसाइकल चलाइरहेको समय तपाईंको आँखा जहाँ पर्छ, स्वाभाविक रूपमा तपाईंको ध्यान त्यहीँ पुग्छ। त्यसैले मोटरसाइकल चलाउँदा ध्यान केन्द्रित गर्नुपर्छ। मोटरसाइकल चलाउँदा एकैछिन त हो वा ५-१० सेकेन्डमा कुरा सकिहाल्छु भनेर मोबाइलमा कुरा गर्ने, म्यासेज गर्ने लगायत काम गर्नुहुन्न।
१८) पहिरो, बाटो बिग्रेर र अन्य कारणले बाटो अवरोध भई ट्राफिक जाम हुन सक्ने भएकाले हल्का खानेकुरा र पानी साथैमा लानुपर्छ।
१९) मोड वा घुम्तीहरूमा तीव्र गतिमा नचलाउनुहोला।
२०) चाँडै पुग्न वा ढिला हुने भयो भनेर तीव्र गतिमा नचलाउनुहोला। प्रतिकिमी ४० को स्पिडमा मात्र ब्रेकले थाम्न सक्ने र त्योभन्दा बढी भएमा ब्रेक लगायो भने नियन्त्रणभन्दा बाहिर गई दुर्घटना हुने सम्भावना बढी हुन्छ। अत्याधिक गतिका कारण मोटरसाइकल नियन्त्रण बाहिर गई दुर्घटना हुनसक्छ। त्यसैले मोटरसाइकल चलाउँदा सडकको अवस्था र नियमअनुरूप आफ्नो मोटरसाइकलको स्पिड कायम गर्नुपर्छ।
२१) हामी जहिल्यै हतारमा हुन्छौं तर ठाउँठाउँमा बसेर आराम गर्दै जानुपर्छ। लामो समयसम्म हाइवेमा बाइक चलाइरहेको बेला आरामले तपाईंको आँखालाई पनि आराम दिनेछ। जतिसुकै हतारमा भए पनि ५-१० मिनेटको आरामले केही फरक पर्दैन।