'म यस्तो समाजमा बाँच्न चाहन्छु जहाँ व्यक्तिको मूल्यांकन उसको जात, धर्म, पैसा, पेसा, लिंग, क्षेत्र, वर्णको आधारमा होइन; उसको विचार र व्यवहारको आधारमा होओस्। यस्तो समाज निर्माणका लागि म जीवन लगाउन तयार छु।'
यो भनाइ हो महावीर विश्वकर्माको।
थोरै मानिसले मात्र आफ्नो भनाइ र गराइमा एकरूपता ल्याउन सक्छन्। महावीर यस्तै थोरैमध्ये एक व्यक्ति भए जसले भनेअनुसारै जीवन लगाएर गए।
यही मंसिर ६ गते बिहान सधैंझैं समाचार हेर्न ओछ्यानमै मोबाइल खोल्दा एउटा अत्यन्तै स्तब्ध पार्ने समाचार राससबाट प्रेसित थियो।
शीर्षक थियो– सञ्चारकर्मी महावीर विश्वकर्माको निधन।
जन्म र मृत्यु जीवनको शाश्वत सत्य हो तर यसको पनि चक्र र समय हुन्छ भन्ने मानिन्छ। परिस्थितिअनुसार व्यवहारमा कहिलेकाहीँ मृत्यु पनि अपेक्षित हुन्छ, अब त 'गए' पनि हुन्थ्यो भन्ने कामना पनि हुन्छ।
अत्यन्तै ऊर्जावान् जिन्दगी बाँचिरहेको र समाजका लागि गरिरहेको ३५ वर्ष उमेरको लक्काजवानको अनायासै भौतिक अवसान हुन्छ भने त्यो खबरले जोसुकैलाई स्तब्ध बनाउँछ।
यस्तो व्यक्तिलाई नजिकबाट चिन्नेजान्नेका लागि त खबर पत्याउन पनि कठिन हुँदो रहेछ। महावीरको मृत्युको खबरले ममा यस्तै कठिनाइ उत्पन्न भयो।
कसरी पत्याउनु! कसरी हो भन्नु! अन्ततः पत्याउनु पर्यो, हो रहेछ भन्ने पर्यो।
महावीर प्रतिभावान् सञ्चारकर्मी, साहित्यकार, चिन्तक र क्रान्तिकारी विचारका व्यक्ति थिए। उनी आफूलाई एक दार्शनिकका रूपमा विकास गर्दै थिए।
उनका भनाइ र काम गराइले यो तथ्य पुष्टि गर्छन्।
नियतिको अगाडि कसैको केही सिप लाग्दो रहेनछ। जुन प्रकारले महावीरको मृत्यु भयो, त्यसको प्रकृति विचार गर्दा विश्वास गर्नै गाह्रो पर्छ। सामान्य दिमागले सोच्दा पनि षड्यन्त्रको गन्ध आउँछ।
महावीरको मलामी भएर आएका उनका अनन्य मित्र जेबी विश्वकर्माका अनुसार महावीर चितवन, भण्डाराका अत्यन्त सामान्य परिवारका व्यक्ति थिए। उनका आमाबुबा र दुई भाइबहिनी छन्।
भाइबहिनी दुवैको बिहे भई सन्तानसमेत भइसकेका छन्। महावीर भने अविवाहित थिए। उनले घरजमको सुरसार गरेकै रहेनछन्।
उनी चितवनमा केही वर्षको सञ्चारकर्मपछि काठमाडौंको एक स्थापित सञ्चारगृहमा सोही कर्ममा थिए। वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको 'जात उन्मूलन मोर्चा' का संयोजक पनि थिए। यस आधारमा उनको कर्मथलो काठमाडौं नै भएको थियो।
पैतृक घरबाट कर्मथलो काठमाडौं फर्किने क्रममा उनी घरकै नजिकै अत्यन्तै अपत्यारिलो दुर्घटनाको शिकार भए। अनि एक सामाजिक योद्धाको भौतिक अवसान भयो।
आजकाल गाउँतिर माइक्रोबसहरूले आफ्ना धेरैजसो यात्रुलाई घरबाटै उठाउँछन्। काठमाडौंबाट मध्यम दूरी अर्थात पाँच–छ घन्टाको यात्राका ठाउँहरूमा माइक्रोबसले झिसमिसेमै यात्रुहरू उठाउँछन् अनि १० बजेतिर काठमाडौं पुर्याउँछन्।
माइक्रोबसले दिएको यस्तो सुविधाले धेरैलाई सहज भएको छ। तर यही सुविधाले महावीरको ज्यान लियो। जुन माइक्रोबसमा उनी चढेका थिए, चालक गाउँकै चिनजानका रहेछन्। महावीर सुरूमा पछाडिको सिटमा बसेका रहेछन्। कालको दोष हुँदैन भनेझैं चिनजानको चालकले आफूसँगैको सिटमा अगाडि बस्न आग्रह गरेछन्। महावीरले ठाने होला, अगाडिको सिट सजिलो पनि हुन्छ, चालकले आग्रह गरिहाल्यो।
अगाडि गएर झ्यालपट्टि बसेछन्। त्यही सिटमा एक बालक पनि रहेछन्।
हिउँदको समयमा तराईमा हुस्सु लागेको हुन्छ। बिहान अबेरसम्म बाटो स्पष्ट देखिँदैन। चालक बडो होसियार हुनुपर्छ।
बिहानीपख कति बेला हो, धानको भुस बोकेको एउटा ट्रक राजमार्गको किनारामा रोकिएको रहेछ। त्यसको पछाडिको ढाला पनि खुला रहेछ।
किनारमा रोकिएको ट्रक हुस्सुका कारणले नदेखेर हो वा अर्को कुनै कारणले हो, माइक्रोबस त्यही ट्रकमा ठोक्किन पुग्यो। महावीर बसेको पट्टि ठोक्किएर भित्रैसम्म कच्याक्कै भयो। सँगै बसेको बालक र चालकलाई सामान्य चोट लाग्यो।
महावीरलाई तत्कालै उद्धार गरेर अस्पताल पुर्याउन पनि अत्यन्त कठिन भएछ। घटनाको डेढ घन्टापछि मात्रै क्रेन ल्याएर सशस्त्र प्रहरीले उद्धार गरेछ। त्यति बेलासम्म महावीरको शरीर तातै थियो रे। सास बिस्तारै चलेको थियो। अस्पताल पुर्याएपछि डाक्टरहरूले उनलाई मृत घोषित गरे।
जेबीका अनुसार घटना हेर्दा दासढुंगामा मदन भण्डारी र जीवराज आश्रितको जुन प्रकारले मृत्यु भएको थियो, त्यस्तै देखिन्छ। पत्याउनै मुश्किल!
महावीर भौतिकवादी चिन्तनका व्यक्ति थिए। यसैबाट प्रशिक्षित थिए। यसैकारण हिन्दु परम्पराअनुसार उनको काजकिरिया गरिएन।
महावीर आफ्नो रूचिको कुरामा मात्र सीमित भएनन्। जीविकोपार्जनलाई मात्र केन्द्रमा राखेर काम गरेनन्। उनले सञ्चारकर्मको सुरूवात जागरण मिडिया सेन्टरबाट गरेका थिए। पछि एन्टेना फाउन्डेसनमा कार्यक्रम प्रस्तोताका रूपमा आफूलाई स्थापित गरे।
उनी 'बहकिने मन' नामको रेडियो कार्यक्रम चलाउँथे। साहित्यानुरागी र सर्जक पनि भएकाले 'बहकिने मन' को कविता र मुक्तक सहितको प्रस्तुति आमश्रोतामाझ प्रिय भयो।
साहित्यको प्रस्तुति कति रोचक हुन्छ भन्ने कुरा दाहाल यज्ञनिधिले रेडियो नेपालबाट गरेर देखाएका थिए। त्यसको सार्थकता प्रमाणित गरेका थिए। अभिवादनको 'जदौ' शब्द जनजनको जिब्रोमा पुर्याइदिएका थिए।
दाहाल यज्ञनिधिले यति व्यापक नबनाएको भए 'जदौ' अझै विष्टबराजुलाई आदर गर्ने अर्थमा दलित समुदायमै सीमित हुन्थ्यो होला।
महावीरले सुरूका दिनमा 'बहकिने मन' लाई प्रेमिल परिवेशमा प्रस्तुत गरेका भए पनि उनमा आएको राजनीतिक र दार्शनिक चेतनाको परिणामस्वरूप उक्त कार्यक्रम क्रान्तिकारी परिवर्तनको पथमा पुगेको थियो।
उनले रेडियो कार्यक्रमको एउटा शृंखलामा प्रस्तुत गरेको एउटा कविताबाट पनि उनको क्रान्तिकारी चेतको गुरुत्व प्रष्ट हुन्छ।
कविता यस्तो छ–
कमरेडलाई तनाव छ
रातो रङ कमरेडलाई खुब मन पर्छ,
रातो भनेको क्रान्ति रातो भनेको विद्रोह
ऊ बेला शिरमा रातै फेटा बाँधेर लडेका हुन्छन् युद्ध
रातै किल्ला घोषणा गरेर चलाएका हुन्छन् सरकार
रातै झन्डा बोकेर बगाएका हुन् रातै रगत
अहिले कमरेडको रातो स्कार्पियोको रातै छ नम्बर प्लेट
रातो टाईको छेउमा रातै छ कलम
ऊ बेला कमरेडलाई मनपर्ने एंगेल्सको
परिवार निजी सम्पत्ति र राज्यको उत्पत्ति
अहिले लालपुर्जा मन पर्छ
सूर्य रेडको बिन्दास सर्को, युवतीको रातो लिपिस्टिक
आइएनजिओको रातो कार्पेट
ठेकेदारले टक्र्याएको रेड लेबल,
सोना गाछीको रेडलाइट यरिया
सबै सबै असाध्यै मन पर्छ कमरेडलाई कमरेडलाई रातो रङ खुब मन पर्छ
रातो भनेको क्रान्ति, रातो भनेको विद्रोह
केही दिन भयो अचेल कमरेडलाई तनाव छ
फेसबुकको रङ किन रातो छैन?
छोराले अमेरिकाबाट पठाइदिएको आइप्याडको रङ किन रातो छैन?
बैंकले छपाएको चेकबुक किन रातो छैन?
शेयर बजारको नेप्से परिसूचक बढ्दा किन रातो देखिँदैन?
किनभने कमरेडलाई रातो रङ खुब मन पर्छ
रातो भनेको क्रान्ति, रातो भनेको विद्रोह
(महावीरको फेसबुकबाट साभार)
यसरी उनले क्रन्तिबाट पतन भएका नेताहरूलाई कवितामा कटाक्ष गरेका थिए। महावीर आफू भनाइ र गराइमा एक थिए।
म आफ्नो विद्यार्थीकाल सम्झिन्छु। त्यति बेला अर्धभूमिगत वा भूमिगत रहेका अहिलेका धेरै जसो कम्युनिस्ट नेताहरूले पनि यस्तै विद्रोहको मसाल बालेका थिए। उनीहरू हाम्रा आदर्श थिए। चीनको क्रान्तिताकाकी एक विद्यार्थीलाई मुख्य नायिका बनाएर लेखिएको 'सङ अफ युथ' उपन्यासको विद्रोही पात्र जस्तै महावीर पनि विद्रोही थिए। क्रान्तिको मसाल लिएर हिँडेका युवा नायक थिए।
उनले जात व्यवस्थाविहीन समाजको सम्मानित नागरिक बन्ने सपना देखेका थिए। उनी त्यही सपनाको बाटो देखाउँदै हिँड्ने नायक थिए।
उनको अप्रत्याशित मृत्यु भयो तर उनको अभियानको सन्देश हाम्रो मानसपटलमा सधैं जीवन्त रहनेछ। आशा छ, महावीरको अभियान उनको भौतिक अवसानसँगै विलीन हुने छैन।