नेपाली शब्दकोशले गुरुको अर्थ विद्या वा शिक्षा वा शिल्प वा बुद्धि र कर्म सम्बन्धी योग्यता दिलाउने व्यक्ति भनेर उल्लेख गरेको छ। अर्थ त धेरै छन्, यहाँ भने संक्षेपमा मात्र उल्लेख गरिएको छ। विद्यालयमा पढाउने गुरुलाई अङ्ग्रेजीमा टिचर वा मास्टर अनि नेपालीमा शिक्षक भनिने कुरा सबैलाई थाहा भएकै कुरा हो। यहाँ मैले आफ्नो जीवनमा सम्बन्धित ठानिएका र कहिल्यै पनि नबिर्सने गुरुहरूको बारेमा चर्चा गरेको छु।
हामी तत्कालीन प्युठान र हालको रोल्पाको खुंग्रीस्थित श्री संस्कृत माध्यमिक विद्यालयमा दुई कक्षामा पढ्दा गुरु उपेन्द्र सिंहले अंग्रेजी विषय पढाउनु हुन्थ्यो। अंग्रेजी पनि दुई-तीन कक्षामा ‘माई इङ्लिस’ र ‘इजी इङ्लिस’ पढ्नुपर्थ्यो। त्यति सानो कक्षामा पनि त्यस्ता अप्ठ्यारा विषय पढाइनु त्यति उचित थिएन कि जस्तो लाग्छ।
घरमा भने हामीलाई चुमान हमालले अंग्रेजीको प्रारम्भिक शिक्षा दिनुभएको थियो। नाताले बाजे पर्नुहुने तिलकराम सुवेदीले सो विद्यालयमा हामीलाई नेपाली र संस्कृत पढाउनु हुन्थ्यो। उपेन्द्र सर बाइसी राज्य अन्तर्गत खुंग्री राज्यका अन्तिम राजा फत्यप्रचण्ड सिंहका छोरा हुनुहुन्थ्यो, डेढ वर्षअघि उपेन्द्र गुरुको निधन भएको खबर पाएको थिएँ। सो विद्यालयमा भारतीय भूपू सैनिक कृष्ण गिरीले पनि पढाउनुहुन्थ्यो, उहाँ हाम्रै गाउँकै बासिन्दा हुनुहुन्थ्यो। उहाँले चस्माको सिसाबाट सूर्यको प्रकाशको सहायताले चिलिममा भरेको सुर्तीको धुलो सल्काउनु हुन्थ्यो ह्याण्डलेन्सले पोले झैँ।
हामीलाई कालो पाटी र खरीको प्रयोग गर्नुपरेन। हामीभन्दा अघिकाले विद्यालयमा चकटी वा अरू कुनै बिछ्याउने वस्तु लगेर विद्यालय जाने गरेको कुराहरू सुन्नमा आउँथ्यो। गर्मीमा बिहान पढाइ हुने हुँदा झोलामा गहुँका रोटी नै बोकेर विद्यालय जान्थ्यौँ हामी। सात कक्षासम्म पढ्नका लागि हाम्रो विद्यालय नजिक भएको हुँदा बिहान दूध हालेको चियासँग अघिल्लो साँझमा बाँकी रहेका गहुँका रोटी खाएर विद्यालय जान्थ्यौँ र दिउँसो एक बजे मध्यान्तरको घण्टी बज्दा बित्तिकै जोडले कराउँदै कक्षाकोठाबाट बाहिरिने र दौडेर घर पुगेर सेलाएको खाने कुरा खाने गर्थ्यौँ। मध्यान्तरलाई सजिलोका लागि ‘हाफ छुट्टी’ भनिन्थ्यो।
हामीले सात कक्षासम्म पढेको गाउँकै त्रिपुरेश्वरी निमाविमा विद्यार्थीको अभाव भएपछि हाम्रा माहिला बुवा तथा शिक्षक गिरीराज अधिकारीले छोराछोरी जन्माइसकेका विद्यार्थीहरू समेत बटुलेर ल्याउनुभयो लेक-लेकबाट। ती बडेमानका विद्यार्थीहरूले उमेरले आफूभन्दा कान्छा शिक्षक शिवराज पोखरेललाई बोकेर कुद्न थाले।
शिवराज पोखरेललाई विद्यार्थीहरूले फुच्चे मास्टर भन्थे। त्यस बखतका हाम्रा गुरु शिवराज पोखरेलले विद्यावारिधि गरिसक्नु भएको छ। उहाँका भाइ मधुसूदन पोखरेल मेरा सहपाठी र प्रथम श्रेणीमा उत्तीर्ण हुने पहिलो रोल्पाली हुनुहुन्छ, जो अहिले नमुना विद्यालयको रूपमा चिनिने बालकल्याण माध्यमिक विद्यालय, लिबाङमा प्राचार्य हुनुहुन्छ।
नरेन्द्र मास्टरको नामले चिनिनुहुने नरेन्द्र विक्रम शाहले हामीलाई सात कक्षासम्म अङ्ग्रेजी पढाउनुभयो। उहाँलाई कोलम्बो प्लानअन्तर्गत एमबिबिएस पढ्न गाउँमा पत्र आउँदा उहाँ बम्बई जानुभएकोले सो अवसरबाट वञ्चित हुनुभयो। हामीलाई दश महिना रा.वि.से. द्वय विनोदराज पाठक र माधव शर्माले पनि पढाउनुभयो।
गाउँमा त्यति बेला कल्लु भनेर चिनिनुहुने प्रेम सिं भारतीले पसल खोल्नु भएको थियो। उहाँले पसलको ढोका माथि एउटा सूचना टाँस्नुभयो- ‘आइए बैठिए दुकान तुम्हारा, उधारो मागे तो दुस्मन हमारा’ उल्लेख गरेर। उहाँ पछि त्रिपुरेश्वरी माविको प्रधानाध्यापक बन्नुभयो। हाम्रो टोलमा कुनै बखत ‘लम्फा नाइट स्कुल’ पनि चलाइयो, गुरु कृष्ण पण्डितले बेचेको र हाम्रा माइला बुवाले किनेको घरमा।
गाउँको विद्यालयमा ढुण्डिराज सुवेदी पनि प्रधानाध्यापक हुनुभयो, पातला हँसिला र मसिनो स्वरका नेपाली विषयका गुरु। राइँला बाजे नाता पर्नुहुने गुरु केशवराज सुवेदीले पनि हामीलाई पढाउनुभयो। दुर्गा प्रसाद अधिकारीले स्वास्थ्य शिक्षा पढाउनु हुन्थ्यो। पछि उहाँ जि.बि.स. सदस्य पनि बन्नुभयो। पछि नेपाल औषधि लिमिटेडको सञ्चालक समितिको सदस्य पनि बन्नुभयो राजनीतिक नियुक्तिको रूपमा।
मेरा ससुरा बुवा स्व. खडानन्द सुवेदी केही दिन अघि मात्र निधन हुनुभएका पूर्वमन्त्री बालाराम घर्तिमगरका राजनीतिक गुरु हुनुहुन्थ्यो। खडानन्द सुवेदी २०१५ सालमा क्षेत्र नं ८३ (प्युठान) बाट निर्वाचित सांसद हुनुहुन्थ्यो। त्यति बेला सांसदलाई एम.पि. भनेर भनिन्थ्यो, एम.पि.को अर्थ मेम्बर अफ पार्लियामेन्ट हो। स्व. बालाराम घर्तिमगर भने नेपालमा सबैभन्दा बढी मन्त्री बन्ने सौभाग्य पाउनुभएका रोल्पाका राजनीतिज्ञमा गनिनुहुन्छ। पञ्चायत कालमा पटक र बहुदल कालमा समेत आठ वर्ष मन्त्री भइसक्नुभएको थियो उहाँ।
२०४० सालतिर उहाँका तीन छोरीहरूलाई विद्यालय भर्ना हुनुअघि मैले घरमै पढाउँथेँ। अर्थात् ती नानीहरूको म गुरु बराबर नै थिएँ। काखमा राखेर आफूले पढाएकी नानीसँग चार दशकपछि सातदोबाटोस्थित उनको माइतीघरमा भेट भयो केही दिनअघि। ती नानीकै छोरा छ फिट अग्ला देखेपछि म छक्क परेको थिएँ। साथै उनकी दुई दिदीहरू सुनिता र सुष्मासँग पनि चार दशकपछि भेट भयो। उनीहरू आफ्ना पिताजीको निधन भएको तेह्रौँ दिनमा माइतीघरमा थिए। पूर्वमन्त्री बालाराम घर्तिमगरले हाम्रा पिताजी तेजप्रसाद अधिकारीलाई गुरु भनेर सम्बोधन गर्नुहुन्थ्यो आफूभन्दा दश वर्ष कान्छा भए पनि।
हामीले २०३६ देखि २०३९ सालसम्म प्युठानको भिंग्रीस्थित अमर माध्यमिक विद्यालयमा पढ्दा हामीलाई पठाउनुभएका गुरुहरूमा अंग्रेजी शिक्षक झपेन्द्रराज वैद्य अग्ला र कालो वर्णका हुनुहुन्थ्यो। २०३९ सालमा उहाँसँग प्युठानको रातामाटामा अंग्रेजी विषयको ट्युसन पनि पढेका थियौँ। उहाँले रोल्पाको सदरमुकामस्थित बालकल्याण माध्यमिक विद्यालयमा पनि केही समय पढाउनुभएको थियो।
माध्यमिक तहमा हामीहरूलाई भूगोल विषय पढाउनुहुने गुरु बामदेव आचार्य चिल्ला अनि मोटाघाटा हुनुहुन्थ्यो। स्वास्थ्य शिक्षा पढाउनु हुने गुरु गुमानराज पुलामी पनि रातो पिरो अनुहारका र हिरो झैँ देखिनुहुन्थ्यो। अहिले उहाँ प्युठान रेडक्रससँग आबद्ध हुनुहुन्छ। गणित विषय पढाउनुहुने गुरु खेमराज पण्डितको घर प्युठानको पुणिखोलामा हामीले २०३९ सालमा गणितको ट्युसन पढेका थियौँ।
कृषि विषय पढाउनुहुने गुरु रमेशमान गुरुङ अलि झ्वाट्टै रिसाउने खालका हुनुहुन्थ्यो, विद्यार्थीलाई झापड हानिहाल्नु हुन्थ्यो। म २०३९ सालको एसएलसी परीक्षा उत्तीर्ण भएपछि गुरुङ सरले मलाई रामपुर क्याम्पसमा कृषि विषय (आइएस्सी एजी) पढ्नका लागि सुझाव दिनुभएकोमा म काठमाडौँ आउनुपरेको थियो। घरबाट म कानुन पढ्ने भनेर काठमाडौँ छिरेकोमा नेपाल ल क्याम्पसमा फाराम भर्ने म्याद सकिएका कारण लगनखेलस्थित प्राइभेट क्याम्पस नमुना मच्छिन्द्र क्याम्पसमा भर्ना भएँ कमर्स अध्ययनका लागि। रमेशमान गुरुङभन्दा अगाडि प्युठान खलंगाका कृष्ण गोपाल श्रेष्ठले कृषि विषय पढाउनुहुन्थ्यो। उहाँ हेर्दा सफा देखिनुका साथै कपालमा चमेली तेल लगाउनु हुन्थ्यो, कक्षाकोठा नै मगमगाउँथ्यो।
अमेरिकी नागरिक बारबरा नोमेनले पनि केही समयका लागि हाम्रो उक्त विद्यालयमा पढाएकी थिइन् हाम्रो ब्याचभन्दा अगाडि। उनले माडी नदीमा नाङ्गै नुहाउँथिन्, गाउँलेहरूले कुरा काट्थे। आखिर विदेशी न थिइन्। एक दिन हाम्रो घरमा बसेको बखत हामी उनको मुहारमा हेरेर छक्क पर्दथ्यौँ गोरा मान्छे भन्दै।
हाम्रा जेठान दाइ नारायणप्रसाद सुवेदी रोल्पाको पहिलो हेडमास्टर र पहिलो प्राचार्य पनि हुनुभयो। उहाँका तमाम शिष्य अर्थात् चेलाहरू उच्च पदमा पुगिसके। रोल्पामा धेरै जसो शिक्षकहरू प्युठानका नै हुनुहुन्थ्यो। रोल्पा र प्युठान जिल्ला टाँसिएर रहेको भए तापनि शिक्षाको दृष्टिकोणले प्युठानभन्दा रोल्पा धेरै नै पिछडिएको थियो र अहिले पनि पछाडि नै छ।
हाम्रा पिताजीले शिक्षकको जागिर छोडेर व्यापारमा लाग्नुभएको थियो। माहिला बुवाले रोल्पाको लिबाङ र भनभनेमा पनि पढाउनुभयो। कान्छा बुवा केशवराजले रोल्पाकै हिले, महेन्द्री र घोडागाउँ र अन्तिममा खुंग्रीमै पढाउनुभयो। हाम्रा दाइ गोविन्दराज केही समय रोल्पाको थुम्पाकीस्थित प्राथमिक विद्यालयको शिक्षक हुनुभयो, उहाँ पछि व्यापारतिर लाग्नुभयो। साहिँलो भाइ शान्तराजले पनि खुंग्रीकोटको प्राथमिक विद्यालयमा केही समय पढाएका थिए।
ट्युसन पलिफाप
२०३८ सालको एसएलसी टेस्टमा अनुत्तीर्ण भएपछि मलाई दुःख लागेको थिएन। किनकि दोहोर्याएर पढेपछि अर्को साल एसएलसी उत्तीर्ण भइन्छ भन्ने लागेको थियो। बडो दुःखका साथ पढ्नुपरेको थियो त्यो बखत। धनबाङ खोलाको आसपास अर्नी (खाजा) झाडीमा र दुलोमा लुकाएर राखिने र फर्कँदा मुसा वा चराले बेपत्ता पारिइदिनाले भोकै घर पुग्नुपरेका घटनाहरू कहिल्यै बिर्सिइँदैन।
म अघोषित गुरु
मैले २०४० सालमा ललितपुरको चाकुपाटमा सुनिता, सुष्मा अनि मिनालाई पढाएको प्रसंग माथि नै उल्लेख भइसक्यो। कुनै बखत बालुवाटारका बाबुकाजी अवालेका तीन जना छोराछोरीहरूलाई घरमै पढाएँ भने कुनै समय यट्खाका दुर्गेशमान सिंहका दुई छोराछोरीलाई पढाएँ ट्युसनको रूपमा। बालकको नाम बिर्सिएँ भने बालिकाको नाम करिस्मा थियो। यट्खामा पढाउँदा ट्युसन फी बापतको रकम खाममा राखेर दिने परम्परा थियो।
२०४३ सालमा मेरो व्रतबन्ध गरिदिने गुरु
२०४३ सालमा मेरो व्रतबन्ध गरिदिने गुरु भक्तपुरको तार्थली निवासी रामप्रसाद ढुंगानाको नाम यहाँ उल्लेख गर्न आवश्यक ठान्दछु। पेन्सन पाक्दा बित्तिकै निजामती जागिर छोडेर उहाँ पण्डित्याइँतिर लाग्नुभएको थियो। उहाँ समाजमा प्रतिष्ठित व्यक्तिमा गनिनुहुन्छ।
लुगा सिउने वाला वा सूचिकारलाई पनि ‘मास्टर’ नै भनिन्छ। गीत-सङ्गीतका गुरुलाई पनि ‘मास्टर’ नै भनिन्छ। बैंकका कर्मचारीहरूलाई केही दशक अघिसम्म ‘माड साप’ नै भनिन्थ्यो। पछिल्लो आधुनिक जीवनशैली सँगसँगै भाषा तथा सम्बोधन पनि फरक हुँदै गएको छ। त्यस्तै गाडीका चालकलाई पनि ‘गुरुजी’ भनेर सम्बोधन गरिन्छ आजकल भने पहिले पहिले ‘ड्राइभरसाप’ भनिन्थ्यो।
मैले सात कक्षासम्म पढ्दाका र माध्यमिक तह पढ्दाका गुरुहरूलाई धेरै नै सम्झिने गर्छु क्याम्पसका गुरुहरूको तुलनामा। किन कि क्याम्पस भनेको वृहत् क्षेत्र हो, जहाँ गुरुहरूसँग खासै घुलमिल हुने र प्रत्यक्ष संवाद हुने कुरा हुँदैन।