मास्टेक्टमी (क्यान्सर भएको स्तन सर्जरी गरेर निकाल्ने) गरेको दसौं दिन बिहान उठेर पलङबाट खुट्टा झारेर बसेँ। यसो आफ्नो देब्रे हाततिर हेरेँ, लुगाको बाहुला दाहिनेतिरको भन्दा एक बित्ता लामो देखेँ।
कोठामा ममी पस्नुभयो, ममीलाई भनेँ– हेर्नू त ममी, अब त लुगा पनि एउटा हातको लामो र एउटाको छोटो हुने भएछ!
देब्रे स्तन नभएपछि, त्यो ठाउँमा बस्ने लुगाको भाग कुमतिर झरेर कुमको सिलाइ पाखुरासम्म आउने भएछ।
ममीले सान्त्वना दिनुभयो– त्यस्तो भएर के हुन्छ त! रोग फालियो भनेर चित्त बुझाउनु पर्छ।
चित्त नबुझाएकी त कहाँ हुँ र! चित्त नबुझे पनि के नै गर्न सक्छु र!
शरीरको अंग काटेर फ्याँक्नु र त्यसबारे नसोच्नु सम्भव हुने कुरा होइन रहेछ।
मास्टेक्टमी गर्दा दाहिनेतिर छातीमा दुइटा 'ड्रेन पाइप' राखिएको थियो जसबाट सर्जरी गरेको भागमा जम्ने तरल फोहोर निस्किरहन्थ्यो।
उन्नाइसौं दिन ड्रेसिङ गर्ने भाइले स्वाट्ट तानेर त्यो पाइप निकालिदिनुभयो, दुखेर म चिच्याएँ।
मेरो स्वास्थ्यको बारेमा जान्न चाहनेहरू सोध्नुहुन्छ, अझै दुख्छ?
मलाई भन्न मन लाग्छ, एकपटक सियोले हातको औंला घोचेर हेर्नुस् त!
तर त्यसो भन्दिनँ।
नम्र बन्ने नाटक सिक्दै गुजारेको जिन्दगी अरूको अगाडि मुखुन्डोभित्रै बस्न रूचाउँछ।
सर्जरी गरेर स्तन फालेपछि, स्तनसँग जोडिने पाखुराका र पिठ्युँका मसिना नसाहरू पनि त काटिए होला। ती नसाहरू पाखुरातिर पुगेका थिए होला।
कहिलेकाहीँ दुखाइको असह्य पीडाले मरणासन्न बनाउँछ। ऐया र आत्थु भन्दै बिछौनामा नसुत्दैमा नदुखेको भन्ने पनि त हुँदैन।
भेट्न आउनेहरूले मेरो मनोबल बढाउन सकेको कोसिस गर्नुहुन्छ। उहाँहरूले क्यान्सर पीडितहरूको अनुभव सुनाउनुहुन्छ अनि यसो गर्नू, उसो नगर्नू भनेर सल्लाह दिनुहुन्छ।
हालसालै ब्रेस्ट अंकोसर्जन डाक्टर बानिरा कार्कीले एउटा चेतनामूलक भिडिओमा भनेअनुसार स्तन क्यान्सर अधिकांश नेपाली महिलामा पाइने एक प्रमुख रोग हो। ७५ वर्षको उमेरसम्मका १४ जना महिलामध्ये एक जनालाई स्तन क्यान्सर हुने गरेको छ। ती १४ जनामध्ये कम्तीमा एक जनालाई मैले वा तपाईंले चिनेका कसै न कसैले चिनेकै हुन्छ।
हामी नेपालीको अघोषित गुण वा अवगुण छ, हामीले नजानेको विषय नै हुँदैन। हामी आफ्नो विज्ञताको परिचय नदिई बस्नै सक्दैनौं। बिरामीलाई चित्त बुझोस् कि नबुझोस्, सुझाव दिइहाल्छौं।
यस अवस्थालाई पनि सकारात्मक मान्न कर लाग्दो रहेछ।
मैले यो अवधिमा धेरै जनाबाट धेरै कुरा सिकेँ। एक जनाले करिब डेढ वर्षअघि स्तनको आधा भागमात्रै काटेर फ्याँकिएको भोगाइको अनुभव सुनाउँदै अझै पनि आफ्नो हात पछाडि लैजान नसकेको बताउनुभयो।
मलाई मास्टेक्टमीपछि डक्टर सुजिता हिराचनले मेरो देब्रे हात सय पटक 'क्लकवाइज' र 'एन्टी क्लकवाइज' (घडी घुम्ने र उल्टो दिशातिर) घुमाएर कपाल कोर्ने अभ्यास दिनुभएको थियो। म यो अभ्यास गरिरहेकी थिएँ।
डेढ वर्षअघि सर्जरी गरेकी महिलाले हात पछाडि जाँदैन भने पछि डा. हिराचनले दिएको अभ्यास बढाएँ। भोलिपल्ट त मेरो देब्रे हात उचालिँदै नउचालिने भयो।
मेरो हकमा त अति सर्वत्र वर्जयेत भनेजस्तो भयो। नमागेको सल्लाह पाएकी थिएँ, मानेर हेर्दा आफूमाथि बज्रियो।
मैले यसअघि लेखेको ब्लग पढेर धेरैलाई सर्जरी गरेपछि मलाई निको भइसकेछ भन्ने परेछ। मैले त्यो ब्लग दुखाइको पीडा भोग्दै सर्जरीको छैठौं दिनमा लेखेकी थिएँ।
मेरो धेरै संघर्षका दिनकी साथी (उमेरले बहिनी) रोशना मिश्रले आश्चर्यचकित हुँदै अमेरिकाबाट सोधिन्– दिज्यू, भर्खर हजुरको त्यत्रो सर्जरी गरेको, कसरी त्यत्रो आर्टिकल लेख्न सकेको? रेस्ट गर्नुपर्छ।
रोशना ह्युस्टन सहरको एउटा अर्जेन्ट केयरमा कार्यरत नर्सिङ प्राक्टिसनर हुन्।
मैले त्यस बेला हातको दुखाइ र शरीरभन्दा बढी मेरोजस्तो स्थिति अर्कोलाई नपरोस् भन्ने सोचेँ। यस सन्दर्भमा म केही सफल पनि भएँ।
मेरो नजिकका केही साथीहरू, म्यामोग्राम गर्न जान तयार भए। अपरिचितहरूले पनि उक्त लेखले आफूहरूलाई सचेत बनाएको भन्ने सन्देश पठाए। सो लेखले मलाई थुप्रै स्तन क्यान्सर सर्भाइभरहरूसँग जोडिदियो।
मास्टेक्टमी गर्ने केही दिनअघि बेलायत निवासी मनोविद् डाक्टर नारायण अर्यालले फोनमा धेरै कुरा सम्झाउनुभएको थियो। उहाँले भनेअनुसार मास्टेक्टमी गरेपछि कोहीकोही डिप्रेसनमा जान पनि सक्छन्। आफूलाई मानसिक रूपले तयार राख्नुपर्छ, सबैभन्दा ठूलो कुरा रोग मुक्त भएर बाँच्नु हो। इत्यादि।
ड्रेसिङ गर्ने भाइ दिन बिराएर आउँदा सोध्नुहुन्छ– अमृता दिदी, कस्तो छ?
म भन्छु– भाइ, एक दिन फ्रेस भएजस्तो, अर्को दिन झ्याउरिए जस्तो हुन्छु।
उहाँ आत्मविश्वास राख्नुपर्छ भनेर हौसला दिनुहुन्छ र भन्नुहुन्छ– तपाईं त नदेखाएरै पनि मनमा कुरा खेलाउनुहुन्छ जस्तो छ, त्यसो गर्नु हुन्न दिदी।
कताकता उहाँको यो कुरा साँच्चै हो जस्तो लाग्छ। त्यसैले मलाई जीवनले दिएको अकल्पनीय दुःखद् क्षणहरू हाँसोमा उडाएर बाँच्न सिक्दैछु।
यस्तो समयमा चेतन मनले मात्रै होइन, अवचेतन मनले पनि अचम्मका कुराहरू सोच्दो रहेछ।
यससम्बन्धी एउटा उदाहरण मास्टेक्टमीपछि पोस्ट अपरेटिव रूममा ल्याएपछिको घटनातर्फ मोडिन्छ।
सर्जरीको दिन मलाई बिहान ९ बजे अपरेसन थिएटरमा लगेकोमा साढे एक बजेतिर बाहिर निकालिएको थियो क्यारे! एनेस्थेसियाले छाडेकै थिएन।
मेरो अवचेतन मनमा कताबाट गोरखाका राजा द्रव्य शाह र उनका दाजु लमजुङका राजा नरहरि शाहको राज्य विवादको मुद्दा टुंगो लगाउन उनीहरूकी आमा राजमाता वसन्तावतीले दूधपोखरी पुगेर चेपे नदीमा आफ्नै दूधको धारा बगाएर देशको सीमा छुट्याइदिएको किंवदन्ती आइरह्यो।
भलै, यस सन्दर्भमा मलाई आश्चर्य लाग्छ, इतिहासकारहरूले त्यस्तो बेतुकको कहानी कसरी रचे होलान्!
इतिहासमा लेखिएको त्यो कथाबाहेक मैले कहिल्यै पनि कुनै महिलाको स्तनबाट नदीको भेलमा समाहित गर्न पुग्ने गरेर दुग्धधारा बगेको देखेकी छैन, कसले त्यसो गरेको भन्ने सुनेकी पनि छैन।
ती इतिहासकारहरूले कल्पनाको कुरा लेखेरै भए पनि महिलाको मान भने बढाइदिएकै हुन्।
यदि द्रव्य शाह र नरहरि शाहकी आमाले त्यसो नगरेकी भए कति रक्तपात मचिन्थ्यो होला! धन्य, आमाले राज्यको सीमा छुट्याइदिइन्। ती राजाहरूले 'दूधको भारा' को मान राखे।
मेरो अवचेतन मनले सोचिरहेको थियो, दूधको धारा बगाउनु अघि नै अहिलेजस्तो मास्टेक्टमी गरेर राजमाताको स्तन फ्याँक्नु परेको भए?
यो प्रश्नले मलाई धेरै दिन पिछा गरिरह्यो। हाम्रो समाजमा 'दूधको भारा' को कुरालाई ठूलै महत्त्व दिइन्छ, बढाइचढाइ गरिन्छ।
जिउँदोमा पिठ्युँ फर्काएर हिँड्ने सन्तानहरूले पनि आमाको किरिया गर्दा 'दूधको भारा' तिर्ने नाममा दूध पिउँदैनन्।
हाम्रो देशमा स्तनको महिमा गाईसँग पनि जोडिएको छ। एक किंवदन्ती अनुसार, पशुपतिनाथको मन्दिरको उत्पत्ति गौमाताकै स्तनको सहाराले भएको थियो रे!
इतिहासकारहरूका अनुसार एउटी गौमाता दूध दिने बेलामा सधैं हराउँदिरहिछन्। चियो गरेर हेर्दा एक ठाउँमा गएर दुग्धधारा बगाउँदिरहिछन्! खोजी गरेर हेर्दा पशुपतिनाथको उत्पत्ति भयो।
गाईभैंसी दुहुन निकै गाह्रो हुन्छ। सिकारूका त हातपाखुरा नै बाउँडिन्छन्। तैपनि पुरुष इतिहासकारहरूले लेखिदिएको 'स्तन महिमा' नकार्ने साहस गर्न चाहन्नँ।
स्तनको पीडा मैले विभिन्न देशका विमानस्थल र भारतका अनेक तीर्थस्थलमा देखेकी छु।
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा हवाईजहाज ठोक्काएर हमला भएपछि विश्वव्यापी रूपमै विमानस्थलहरूमा सुरक्षा जाँच कडा बनाइयो। 'युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी' अन्तर्गत 'ट्रान्सपोर्टेसन सेक्युरिटी एड्मिनिस्ट्रेसन' नामक एजेन्सी गठन गरियो।
अमेरिकाको सुरक्षाका लागि खुलेको उक्त एजेन्सीको जस्तै काम विश्वका अन्य देशमा पनि हुन थाल्यो। अमेरिका जाने यात्रुहरूका लागि कुनै देशको ट्रान्जिटमा त दुई पटक पनि सुरक्षा जाँच हुन्छ।
नेपालमा भारतीय उडानमा जहाजको ढोकामा समेत सुरक्षा जाँच गरेको अनुभव पनि छ।
यो प्रसंग किन जोडेको भने विमानस्थलमा सुरक्षा जाँच गर्ने महिला प्रहरीको हात पहिले स्तनमै जान्छ।
सुरक्षा जाँचको प्रक्रिया सुरू भयो अमेरिकाबाट। त्यहाँको 'ट्रान्सपोर्टेसन सेक्युरिटी एडमिनिस्ट्रेसन' ले जारी गरेको सुरक्षा जाँच आचारसंहिताअनुसार सुरक्षा जाँच गर्ने अधिकारीले कसैको शरीर जाँच गर्नुअघि म तिम्रो शरीर छाम्न सक्छु भनेर सोध्नुपर्छ।
अनुमतिमा महिलाको स्तन र पुरुषको तिघ्राको कापमा हत्केलाले होइन, हत्केलाको माथिल्लो भागले मात्रै छुन पाइन्छ।
नेपाल र भारतमा सुरक्षा जाँचमा बस्ने अधिकांश महिला सुरक्षा कर्मचारीको हात पहिले महिलाको स्तनमै पुग्छ, त्यो पनि निचोरे जसरी।
अझ, भारतको काशी विश्वनाथजीको मन्दिर छिर्दा होस् वा अयोध्याको राम मन्दिर, जंगली पाराले स्तन निचोर्छन्।
अब, त्यस्ता ठाउँमा पुगेँ भने मेरो एक पाटोले त सुख पाउने भयो!
यही सोचेर पनि म दंगदास छु। मैले आधामात्रै पीडा भोग्नु पर्नेछ।
अँ, यस विषयमा चाहिँ कसैले पनि आफ्नो अनुभव सुनाउन र सल्लाह दिन पाएका छैनन्। यहाँ मैले नै बाँडिदिएँ।
मलाई आजकाल लाग्छ, मेरो दाहिने स्तनले देब्रे स्तनलाई कति गिज्याउँछ होला!
उसले भन्दो हो– म त नारीको महिमागान गर्ने माध्यम हुँ, तँसँग के छ र!
मैले जवाफ दिँदा हुने भए म भनिदिन्थेँ– मेरो छातीबाट एउटा गह्रौं भारी बिसाएँ, अब मलाई मेरो कामभन्दा रूपबाट चिन्ने जमातको खाँचो छैन।
मेरो शरीरको तौल घटाइदिएकोमा पनि धन्यवाद दिन्छु।
यति सकारात्मक भएपछि फेरि भन्छु– स्तन क्यान्सरबाट सचेत रहनुहोस्, आफ्नो परिवारमा कोही क्यान्सरबाट पीडित छ भने त झनै सचेत रहनुहोस्।
अन्त्यमा यति भन्छु, यो ब्लग मेडिकल सल्लाहका लागि लेखिएको होइन, केवल आफ्नो अनुभूति शब्दमा ढालिएको हो। डाक्टरसँग सल्लाह गरेर मात्र अघि बढ्नुहोला।
(अमृता लम्सालका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @AmritaLamsal