‘तपाईं त सरकारी अफिसमा काम गर्ने हो दिदी भनेको बेलामा बिदा पाइन्छ। धेरै सुविधा पाइन्छ तर प्राइभेट अफिसमा त कहिलेकाहीँ त मान्छेले पनि अफिस चलाएका छन् र भन्ने पनि लाग्छ’, कुरैकुरामा एक जना भाइले गुनासो पोखे।
भर्खर तीस वर्ष पुग्नै लागेका ती भाइ एउटा निजी अफिसका सिनियर अधिकृत हुन्।
अफिसमा काम गरिरहेको थिएँ, एक्कासि घरबाट फोन आयो।
फोन बुवाको थियो। एकदम आत्तिएर बुवाले ‘कान्छा आमालाई त्यहाँ ल्याएको छ उपचार गरा है’ भन्नुभयो। फोन काटियो।
कम्प्युटरमा काम गरिरहेका हात एक्कासि थर्रर्र काँपे। बिहानमात्रै कुरा गरेको आमासँग, के भयो? केही पनि भन्नुभएन बिहान त। बुवाले केही भन्न खोज्दा अर्कै पो सुनेको हो कि ? फेरि बुवालाई फोन गरेँ।
‘आमा एक्कासि बेहोस भएको’ मात्रै बताउनुभयो बुवाले।
अरू केही भन्न सकिनँ, सोध्ने आँट पनि भएन, भान्जा दाइले लिएर आएको भन्नुभयो बुवाले। भान्जा दाइलाई फोन गरेँ। दाइले एक्कासि आमा बेहास भएपछि गाउँबाट काठमाडौं आउँदै छु भन्नुभयो।
भगवान पुकारा गर्नुको विकल्प थिएन, कतिबेला आमा आउनुहोला? आमाको अवस्था के होला? न बाटामै केही हुने हो कि? मनमा हरेक तर्कना खेले।
दुई घण्टा मेरो लागि दुई वर्षजस्तै भए।
बल्लतल्ल दाइले आमालाई अस्पतालमा ल्याउनुभयो।
बिहान ‘कान्छा खाजा खाइस्’ भनेकी आमा मुडोजस्तै इन्तु त चिन्तु अवस्थामा पुग्नुभएको थियो। आँसु पनि धेरै पीडामा आउँदा रहेनछन्, म रूँन सकिनँ आमालाई देखेर।
आमा भने बोलाएँ, अहँ आमा बोल्नु भएन।
आमाको हालत देखेर केही सोच्न सकिनँ, डाक्टरको सल्लाह अनुसार आमाका एकपछि अर्को जाँच गर्नमै व्यस्त रहेँ।
अफिसको पदीय जिम्मेवारी र दायित्व एकातिर छ, एक्लो छोराको हैसियतले आमाको लागि निभाउनुपर्ने भूमिका अर्कोतिर छ।
उनले आफ्ना सहकर्मी तथा कार्यालय प्रमुखलाई आमाको स्वास्थ्यका कारण केही दिन अफिस आउन नसक्ने जानकारी समयमै गराएर हिँडेका थिए।
उनले पाँच दिनको मौखिक बिदा माग गरेका थिए। स्वीकृत पनि मौखिक रूपमै भएको थियो। पाँच दिन सकिएपछि अफिसबाट तारन्तार फोन आउन थाल्यो, ‘सर तपाईं कहिले अफिस आउने हो?’ हाकिमले पनि फोन गर्न थाले, ‘तपाईं कहिलेदेखि काममा आउनुहुन्छ ? पाँच दिन बिदा भन्नुभएको थियो, बिदा त सकियो।’
अन्य सहकर्मी साथीहरू पनि एकपछि अर्को फोन गर्छन्। हाकिमले यो फाइल मागे, त्यो फाइल मागे, कहाँ छ ? त्यो फाइलको काम कति भएको छ ? हाकिमलाई के जवाफ दिऊँ ? तपाईं अफिसमा कहिलेदेखि आउने हो ? यस्तै यस्तै।
म आमा बचाउन लागिरहेको छु। गाउँबाट बुवाले फोन गर्नुहुन्छ, ‘बाबु कस्तो छ आमालाई? डाक्टरले के भनेका छन् ? कति दिन राख्छन् रे अस्पतालमा? रिपोर्ट के आयो? आमा बोल्न सक्छे भने लौ न एकैछिन फोन लाइदे।’
उता सुत्केरी दिदीको फोन आउँछ, ‘कान्छा आमालाई कस्तो छ? म कति अभागी दिदी है? यस्तो बेलामा मेरो भाइलाई सहयोग गर्न सकिनँ’, दिदीले गला अवरूद्ध पार्दै भन्नुभो।
छिमेकी आफन्तहरूको फोन आउँछ, ‘कस्तो छ कान्छा आमालाई?’
सत्तरी वर्षको उमेरसम्म कुनैदिन एउटा सिटामोलको चक्की पनि नखाएकी मेरी आमा एक्कासि घरमै बेहोस हुनुभएछ।
चेक गराउँदा आमाको शरीरमा रगतको मात्रा निकै कम देखियो। प्रेसर, सुगर पनि थपघट भइरहेको थियो। बोनम्यारोको पनि चेक गराउनु भने डाक्टरले, चार पोका रगतै चढाइयो।
दुनियाँलाई रगत चढाएँ, आफ्नै आमालाई रगत चाहिने बेलामा भिखारीजस्तो सत्रतिर फोन लगाउँदै रगत मागिरहें।
रगतमा पनि राजनीति हुने रहेछ, रगत पनि सोर्स लगाएर मात्रै किन्न पाइयो।
बोनम्यारोको रिपोर्ट आउन धेरै समय लाग्ने रहेछ, आमाको स्वास्थ्यमा क्रमश: सुधार आउँदै थियो।
सात दिनपछि आमालाइ कोठामा लगेँ। बोनम्यारोको रिपोर्ट आएपछि भेट्नु भनेका थिए डाक्टरले त्यसकै प्रतीक्षामा थिएँ।
‘म कोठामा एक्लै बस्छु तँ अफिस जा बाबु। हामिकले कराउलान् फेरि,’ आमा मलाई ढाडस दिनुहुन्थ्यो।
तर मन कहाँ मान्थ्यो र? घरबेटी अंकल आफ्नै परिवारको जस्तो हुनुहुन्थ्यो।
‘बाबु आमालाई यो खुवाऊ, त्यो खुवाऊ’ आफ्नो करेसा बारीमा भएका तरकारी, फलफूल टिपेर ल्याइदिनुहुन्थ्यो।
दिनमा एकपटक आमालाई भेट्न आउनुहुन्थ्यो।
‘मेरो पिरले तँ दुब्लाइस् छोरा पिर नगर म ठिक हुन्छु, अब त ठिक भएँ’ आमा चाउरी परेका हातले मेरो गाला मुर्सानुहुन्थ्यो।
मलाइ खुसी पार्न खोज्नुहुन्थ्यो तर आमालाई पूर्ण रूपमा निको भएको थिएन।
फोन गर्ने सबै आफन्तजनहरूलाई एकएक गरी जवाफ दिन्छु। फेरि अफिसबाट फोन आउँछ, ‘तपाईंले बिदा बस्नुभन्दा अगाडि फलानो सप्लायर्सलाई इमेल पठाउनु भएको हो? उताबाट त केही जवाफ आएन नि अहिलेसम्म।’
आमाको रिपोर्ट र रोगका कारण दिमाग काम नगर्ने हालतमा पुगेको छ। अफिसको इमेलको तनाव कसरी हो कि होइन भन्नु? म केही सोच्न नसक्ने अवस्थामा पुगेँ।
कस्तो ठाउँमा जागिर खाएछु भनेर आत्मग्लानी पनि भयो।
दुई सातापछि आमाको रिपोर्ट आयो। रिपोर्ट लिएर डाक्टर भेट्न पुगेँ। त्यसपछि एकाएक जमिन भासिन थाल्यो, मेरै मुटुले काम गर्न छाड्यो! जब डाक्टरले मेरी आमालाई ब्लड क्यान्सर भएको रिपोर्ट देखाए मेरो आधा प्राण त्यही बेला उड्यो।
भोलि पहिलो केमो चढाउने भने। त्यही बेलामा फेरि अफिसबाट फोन आयो।
‘तपाईं एकैछिन अफिस आएर जानुस् न। इमर्जेन्सी काम छ रे तुरून्त आउनुपर्ने भयो। हाकिम साबले सबै अफिसरहरूलाई बोलाउनु भएको छ। ग्रुप मिटिङ छ रे।’
मेरो हाकिमको मिटिङ ठूलो हो कि मेरो आमाको ज्यान? आमा बचाऊँ कि जागिर ? आमालाई कुन मुखले हेरौँ भन्ने संकटमा उभिएको छु।
‘आमा तपाईंलाई रगतको क्यान्सर भएको छ’ कसरी भनौं मेरो जन्मदातालाई? बुढो भएका बालाई कसरी सुनाऊँ? भर्खरकी सुत्केरी दिदीलाई आमाको बिमार कसरी सुनाऊँ? सबभन्दा मुख्य त म आफू कसरी सम्हालिऊँ?
मलाई निकै झोंक चल्यो। आमा बचाउन सके भने त जागिर जति पनि भेटाउँछु। यस्ता टर्चरवाला जागिर खान्नँ भनेर मौखिक रूपमा राजीनामा दिऊँ कि!
फेरि अर्को मनले सोचें, ‘आमाको उपचारमा यत्रो खर्च भइसक्यो, खर्च त गर्नैपर्छ। आमाले मलाई यत्तिको बनाउनु भएको थियो र त म खर्च गर्न सक्ने भएको छु। आमाको उपचार खर्च कोही कसैसँग माग्नु परेको छैन। अर्को विकल्प नहुन्जेल जागिर छोड्दिनँ!
‘हतारमा कहिल्यै निर्णय नगर्नू’ आमाले सधैं यसै भन्नुहुन्थ्यो।
‘एकातिर रोग, अर्कातिर छोरो बेरोजगार भएको सुन्नुभयो भने आमाको हालत के होला ? बरू अर्कातिर कोसिस गर्छु’, मनमनै मन सम्हालेँ।
‘तपाईंकी आमाको स्वास्थ्य कस्तो छ ? आमालाई सुधार भएको छ कि छैन ? खर्चपर्च छ कि छैन? केही सहयोग गर्नुपर्छ कि ? डाक्टरले के भनेका छन् ?’ एक वचन पनि मेरा हाकिमले सोधेनन्। सहकर्मीहरू पनि खासै सोधीखोजी गरेनन्। सोधी गरे त केबल अफिस कहिलेदेखि आउँछौ? अफिसको फलानो काम के भएको थियो? कहाँ पुगेको थियो? हाकिमहरू पत्थरको मुटु भएका हुन्छन् कि कसो? नत्र मानवीय हिसाबले बाहिरी मान्छेलाई त सोधीखोजी गरिन्छ भने आफ्नो स्टाफको आमा बिरामी परेर अस्पतालमा छ, उसँग पैसा के कति छ? आमाको अवस्था के कस्तो छ? एकपटक मानवीय हिसाबले पनि सोधिँदैन र? कामको भन्दा अरूको सवाल नहुने रहेछ। चेतनाको स्तर यतिसम्म विकास भइसक्यो भन्ने कुरा तीन दशक उमेर पार गरिसक्दा पनि थाहा पाएको रहेनछु।
सबै अफिस यसैगरी चल्छन कि मानवीयता भन्ने कुरा पनि हेरिन्छ? ती भाइले गुनासोको पोको एकएक गरी फुकाए।
यी भाइको वेदना सुनेपछि एक जना साथीको याद आयो।
प्राइभेट अफिसको स्टोर प्रमुख उनी सुत्केरी बिदामा दुई महिना घरमा बसिन।
उनले कार्यालयलाई जानकारी गराएकी थिइन, बिदा सकिएपछि काममा आउँछु भनेर तर कार्यालयले काम रोक्न नहुने भन्दै उनको बिदा सकिएको दोस्रो दिनमा नयाँ स्टाफ नियुक्त गर्यो। त्यही अफिसमा चार वर्ष बिताएकी उनलाई एक दिन पनि अफिसले सहुलियत दिएन।
ती साथी निकै रोइकराइ गरिन् तर हाकिम यति कठोर बनेकी मानौं उनले कुनै महिलाको स्वरूप देखेका छैनन् जसरी।
उनका पनि छोरी होलान्, प्रमुख कुरा त उनी कुनै महिलाकै कोखबाट पैदा भएका हुन्। उनकी छोरीलाई कुनै अफिसले यस्तै व्यवहार गरे कस्तो अनूभुति गर्दा हुन्!
अहिले पनि ती साथीसँग कुराकानी हुन्छ। क्षमता भएपछि जागिर त अन्यत्र पनि पाइँदो रहेछ नि। उनको आत्मविश्वास छ। बच्चा हुर्काएर जागिर गर्दैछिन् अहिले।
बच्चा जन्माउने अघिल्लो दिनसम्म काममा घोटिएको हाकिमले देखेनन्, बच्चा पाएपछिको एकदिन बिदा पनि मेरो लागि त्यत्रो पहाड भयो? यी साथीको दुई पटक अपरेसन गर्नुपर्यो।
‘तपाईंको स्वास्थ्य कस्तो छ ? बच्चा कस्तो छ ? अफिसबाट एक पटक सोधिएन। तपाईंको बिदा भोलिबाट सकिँदैछ, पर्सि अफिस आउनुहुन्छ नि ? एकैचोटि यही शैलीको फोन आयो अफिसबाट। पर्सी बच्चालाई खोप लगाउनु छ , खोप लाएको दिन बच्चालाई ज्वरो आउँछ भोलिपल्ट आउँछु भनेर जानकारी गराएँ।
त्यही दिन अर्को मान्छे राखिसकेछन्।
मानवीयता नभएकाहरूसँग केही लाग्दो रहेनछ।’ साथीले निकै गुनासो गरिरहन्थिन्।
यी त प्रतिनिधी पात्र हुन्, यस्ता हजारौं पात्रहरू हाम्रै समाजमा छन्।
यी पात्र र यस्ता धेरै पात्रहरूको साझा भोगाइबाट भन्न सकिने कुरा के हो भने पहिले मान्छे बनौं त्यसपछि पेशाकर्मी।
अफिस सरकारी, प्राइभेट भन्ने होइन चेतनाको स्तरको कुरा हो। मान्छेको नियतको कुरा हो, अधर्मी र अमानवीय आचरण बोकेका पात्रहरू जहाँ पनि हुन्छन्।