सन् १९९५ को सेप्टेम्बरमा चीनको राजधानी बेइजिङमा भएको चौथो विश्व महिला सम्मेलनमा भाग लिन जाने मौका मिलेको थियो। उक्त सम्मेलनमा विभिन्न देशबाट करिब ३० हजार मानिस सहभागी थिए।
यीमध्ये धेरै संख्या महिलाको थियो। म सहभागी भएको समूहमा हामी २६ जना थियौं। एक दिन सहभागीमध्ये एक जनालाई ज्वरो आयो, अस्पतालम भर्ना गर्नुपर्ने भयो। उनी नाइजेरियाकी थिइन्।
आयोजक संस्थाले समूहका हामी सबैलाई अस्पतालमा पालैपालो कुरुवा बस्न आग्रह गरेको थियो।
मेरो पालोका दिन म गएँ। म बिरामीका छेउमा थिएँ। अचानक उनको टाउकोबाट बाटेको कपालको गुच्छा भुइँमा खस्यो। मेरो हंसले ठाउँ छाड्यो। ती बिरामी मस्त सुतेकी थिइन्। मलाई डर लाग्यो। उनलाई धेरै ज्वरो आएछ क्यारे भन्ने ठानेँ। मैले टाइफाइडका बिरामीको कपाल झरेको देखेकी थिएँ। कुरुवा बसेकी मैले केही पनि सोच्न सकिनँ।
केही बेरमा आयोजक संस्थाकी एक सदस्य पालो दिन आइन्। मलाई अंग्रेजी बोल्न राम्ररी नआउने, टुटफुट बोल्दै बिरामीको कपाल झरेको कुरा सुनाएँ। उनी त हाँसिन्। म झन् छक्क परेँ। आफू चाहिँ ती बिरामीलाई धेरै ज्वरो आएर कपाल झर्यो भनेर डराएकी छु, पालो दिन आएकी चाहिँ हाँस्छिन्।
उनले मलाई सम्झाइन्। अब हाँस्ने पालो मेरो थियो। त्यो त बाहिरबाट राखेको कृत्रिम कपाल पो रहेछ!
त्यो घटना मैले बिर्सेकी छैन।
ठुटो कपाल भएको टाउकोमा झपक्क हुने गरी शानदार कपाल हालिँदो रहेछ भन्ने मैले त्यसै दिन थाहा पाएँ।
कपालसँग सम्बन्धित अझ रोचक घटना अर्को छ।
यसपछिको कुनै समय मैले अमेरिकी सहर हुस्टनको ‘मेमोरियल हर्मन हस्पिटल’ मा स्वयंसेवा गर्ने अवसर पाएकी थिएँ। त्यो अस्पतालमा सेवा लिने, त्यहाँ काम गर्ने र स्वयंसेवा गर्ने समेत ९९ प्रतिशत व्यक्ति ककेसियन र स्पेनिस थिए। मैले त्यहाँ स्वयंसेवा गर्न थालेपछि, तीन जना अफ्रिकी–अमेरिकी महिला आए।
एक दिन फुर्सदको समयमा सबै जना अफिसमा वरिपरि बसेर गफिँदै थियौं। त्यत्तिकैमा ककेसियन एक महिला (गोरी महिला) अर्कोतर्फ फर्किँदा झन्डै हृदयाघात हुन लागेझैं तर्सिइन्।
के भएछ भने, भर्खरै स्वयंसेवक हुन आएकी अफ्रिकी मूलकी अमेरिकी एक महिलाले आफ्नो टाउकोमा लगाइराखेको डल्लो खालको विग (नक्कली कपाल) झिकेर काखमा राखेकी रहिछन्।
स्वयंसेवकको युनिफर्म सेतो पाइन्टमाथि अकस्मात त्यो कालो डल्लो देख्दा उनी तर्सिएकी रहिछन्। मैले आफूलाई रोक्न सकिनँ। मलाई हाँसोसँगै अझ बढी त आश्चर्य लाग्यो।
अमेरिकामै जन्मे-हुर्केर साठी वर्ष उमेर पार गरेकी ती ककेसियन महिलालाई झन्डै ९५ प्रतिशत अफ्रिकी–अमेरिकी महिलाले प्रयोग गर्ने नक्कली कपालको बारेमा थाहा नहुनु मेरा लागि आश्चर्यको कुरा थियो।
यो कुराले मलाई पाठ पनि सिकायो। सहअस्तित्वको र रंगभेदविहीन समाजको पक्षमा जतिसुकै कुरा भए पनि अमेरिकामा आज पनि त्यस्ता समुदायहरू छन् जो आफ्नोभन्दा फरक रङ र संस्कृतिका व्यक्तिहरूसँग कमै हेलमेल गर्छन्। फलस्वरूप उनीहरू आफ्नै नाकको डाँडीमुनि पनि के हुन्छ र भइरहेको छ भन्ने थाहा पाउँदैनन्।
अर्काको काखमा कपाल देखेर तर्सेकी ती महिलालाई अफ्रिकी–अमेरिकीहरूले प्रयोग गर्ने ‘विग’ का बारे सम्झाउनु गरेको थियो। यस्तो कुरा उनलाई मात्रै थाहा नभएको होइन, उनीजस्ता धेरैलाई थाहा रहेनछ। त्यस अस्पतालमा स्वयंसेवा गर्न आउनेहरूमा मुश्किलले एक प्रतिशत अफ्रिकी–अमेरिकी हुँदा रहेछन्। त्यस सहरमा पैसावाल ककेसियनहरू बसेका रहेछन्। उनीहरूलाई हिस्पानिक, अफ्रिकी–अमेरिकी, एसियाली इत्यादि जातिहरूका बारेमा साह्रै कम जानकारी हुँदो रहेछ। एसियालीको कुरा गर्दा अधिकांशले चाइनिज वा इन्डियन मात्र सोच्दा रहेछन्।
त्यस बेला मैले नक्कली कपालबारे धेरै जानकारी पाएँ। हेर्दै कडा देखिने ठूलो जुरो छोएर अनुभव पनि गरेँ। कुनैकुनै त ढुंगोजस्तै कडा पनि हुँदो रहेछ। त्यसरी कपाल बनाउन अफ्रिकी– अमेरिकीहरूले धेरै पैसा खर्च गर्दा रहेछन्।
कपाललाई विशेष आकार–प्रकार दिन महिलाहरू अमेरिकाका अन्य सहरहरूबाट हवाईजहाजमा न्यूयोर्क पुगेर सात–आठ घन्टा सलुनमा बिताउँछन् भन्ने पनि सुनेकी छु। त्यस्तो आकार–प्रकारको कपाल बनाउन विशेष किसिमको तालिम चाहिँदो रहेछ।
कपालसम्बन्धी यस्ता अनेक तथ्य–तथ्यांक समेटेर सन् २००९ मा अफ्रिकी–अमेरिकी कमेडियन तथा एक्टर क्रिस रकले ‘गुड हेयर’ भन्ने हास्यप्रधान डकुमेन्ट्री बनाएका छन्। मैले उक्त डकुमेन्ट्री केही वर्षअघि नै हेरेकी हुँ। डकुमेन्ट्रीका बारेमा ओपरा विन्फ्रेको कार्यक्रममा छलफल हुँदा क्रिस रकले भनेका थिए, 'अफ्रिकी–अमेरिकीहरू प्रेमी–प्रेमिका भेट्न डेटमा जाँदा पनि केटाले केटीको कपालमा हात लैजाँदैन।'
किनभने धेरै पैसा खर्च गरेर, धेरै घन्टा समय लगाएर कपाल बनाएको हुन्छ र त्यो संवेदनशील हुन्छ भन्ने कुरामा केटो जानकार हुन्छ।
अमेरिकामा कतिपय व्यक्तिहरू निकै लामो हुन्जेल कपाल राख्छन् र काटेर दान गर्छन्। यसरी दान गरेको कपाल क्यान्सर रोगको उपचारबाट कपाल झरेका व्यक्तिका लागि ‘विग’ बनाउन प्रयोग हुन्छ।
अमेरिकामै क्यान्सरबाट भर्खर तंग्रिँदै गरेकी एक महिला भेटेपछि भने क्यान्सर पीडितका लागि कपाल दान गर भनेर सुझाव दिन उचित लागेन। ती महिला पहिलोपटक स्तनको क्यान्सर र दोस्रो पटक पाठेघरको क्यान्सर भएर ठीक भएकी रहिछन्। मैले भेट्दा उनको फोक्सोको क्यान्सर पत्ता लागेको सात–आठ महिना भएको रहेछ। हतारहतार शल्यक्रिया गरिएको रहेछ।
उनी केमोथेरापी गरेर भर्खर मात्र घरबाहिर निस्कन थालेकी थिइन्। उनको कपाल लामो र राम्रो देखेर मलाई चासो लाग्यो। त्यहाँको समाजमा कसैसँग व्यक्तिगत प्रश्न राख्नु सजिलो हुँदैन। यस्तो प्रश्न गरेको मन पराउँदैनन्, निजत्वमा र व्यक्तिगत गोपनीयतामा हस्तक्षेप गरेको ठान्छन्।
क्यान्सरपीडित ती महिलासँग धेरै पुरानो चिनजान भएकाले माफीको शिष्टाचार पूरा गर्दै जिज्ञासा राखेँ– तिम्रो कपाल मानिसकै कपालबाट बनाएको विग हो?
उनले होइन, सिन्थेटिक हो भनिन्।
उनका अनुसार मानिसको प्राकृतिक कपालबाट बनेको विग धेरै महँगो हुन्छ। त्यसले गर्मी गराएर टाउको पोल्ने समस्या पनि हुन्छ। उनले प्राकृतिक कपालबाट बनाएको विग प्रयोग नगर्नु राम्रो हो भनिन्।
उनको कुरा सुनेपछि मलाई नक्कली कपाल अर्थात् ‘विग’ सम्बन्धी भ्रमबाट मुक्ति मिल्यो। एकातिर महँगो उपचारको क्यान्सर रोग लागेर बिरामीको धन रित्तिएको हुन्छ, अर्कातिर धेरै पैसा खर्च गरेर विग लगाउन प्रेरित गर्ने कुरा हुन्छ।
क्यान्सर पीडितका लागि के के न गरेझैं मानिसले कपाल दान गर्ने तर त्यही कपाल बिरामीले धेरै महँगोमा किन्ने! अवस्था यस्तो रहेछ।
यति कुरा बुझेपछि म क्यान्सर सर्भाइभर कोही पनि अतिरिक्त आर्थिक भार पर्ने गरी कपालको चक्करमा नलाग्नु नै उचित हो भन्ने निष्कर्षमा पुगेँ। अहिले त आफ्नै टाउकोको रौंले हरेक दिन टाउकोसँग दुश्मनी गरेर हैरान बनाएको छ।
जोसुकै व्यक्तिको, अझ विशेष गरी महिलाको सुन्दरतामा कपालको भूमिका महत्वपूर्ण मानिँदो रहेछ। यसै कारण आफ्नो टाउकोमा सलक्क परेको कपाल होओस् भन्ने ठान्नु स्वाभाविकै हुने भयो। यस्तो कुरा व्यक्तिको सोचमा पनि भरपर्ने हुन्छ। कसैले कपाललाई सौन्दर्यसँग जोडेको होला त कसैले यसमा वास्ता नगरेको पनि होला।
कपालले मानिसको व्यक्तित्व झल्काउन, आत्मविश्वास बढाउन, हानिकारक विकिरणबाट टाउकाको छाला जोगाउन, आफूलाई जवान देखाउन इत्यादिमा मद्दत गर्छ भन्ने पनि मानिन्छ। यसै कारणले होला, विश्व व्यापारमा कपालको व्यवसायमा ठूलो अर्थलाभ हुँदो रहेछ।
मानसिको प्राकृतिक कपाल आयात गर्ने देशहरूमध्ये अमेरिका, चीन, म्यानमार, भियतनाम, इन्डोनेसिया, इटाली र बंगलादेश क्रमैसँग पहिलो, दोस्रो, तेस्रो हुँदै आउने रहेछन्।
भारतका विभिन्न मन्दिरहरूमा भक्तजनले मुन्डन गर्दा जम्मा हुने सबै कपाल अमेरिका निर्यात हुँदो रहेछ। यसमा धेरै ठूलो रकमको कारोबार रहेछ। कर्नाटक राज्यस्थित बाटु केभको ‘श्री सुब्रमन्यमस्वामी मन्दिर’ मा भगवानको नाममा चढाइने कपाल व्यापारीहरूले अमेरिका पठाउँदा रहेछन्।
हालै ‘द स्टार’ अनलाइनमा आएको एक समाचारअनुसार भारतको तिरुमला, आन्ध्र प्रदेशको कपाल उद्योगको मूल्य दुई सय मिलियन अमेरिकी डलर पुगेको छ। मन्दिरबाट उठाएको कपाल प्रतिकिलोग्राम आठ सय अमेरिकी डलरसम्ममा बिक्री हुँदो रहेछ।
यो कुरा लामो कपालको हो। छोटो कपालको पनि व्यापार कम छैन। पेन्टिङ ब्रस र यस्तै प्रकारका अन्य सामग्री बनाउन छोटो कपाल प्रयोग हुँदो रहेछ।
त्यस्तो मूल्यवान कपाल मेरो टाउकोबाट उड्यो।
अनि मैले चाहिँ यति लाभदायी कपाल प्लास्टिकको झोलामा हालेर नगरपालिकाको फोहोर उठाउने ट्रकमा चढाइदिएँ!
किमो दिएपछि कपाल झर्छ भन्ने मानसिक तयारीमा थिएँ। गुगल चहार्दा थाहा भयो, किमोथेरापीको औषधिले क्यान्सरका कोषहरूलाई रफ्तारमा मार्ने काम गर्छ, सोही औषधिले शरीरका अन्य कोष पनि त्यसै गरी मार्ने हुँदा कपालको जरामा असर पर्छ। किमोले टाउकाको मात्रै होइन, शरीरका अरू भागका रौं पनि सखाप बनाइदिने रहेछ। किमोथेरापी र रेडिएसन थेरापी सकिएको केही हप्तापछि बिस्तारै रौं पलाउन सुरू गर्छ भनिन्छ।
तैपनि भुइँमा थुप्रो लागेको कपाल हेरेर मन काँपेको थियो।
कपालको चाकरी गर्नमा म कहाँ कम थिएँ र! कुनै समयको मेरो सुन्दर कपालले अपमान पनि कम्ता भोगेको होइन। कसैलाई रिस पोख्न पनि त्यही कपाल काफी थियो। ‘डायना कट’ बनाएर राजकुमारी डायनाजस्तै सुन्दरी देखिएँ भन्ने भ्रम पाल्दाको अपमान झन् ठूलो थियो।
करिब ४० वर्षअघि आफ्नो लामो, चम्किलो सललल परेको कपाल खुला छाडेर बिहे भोजमा जान लाग्दा सुन्नुपरेको कुरा त सम्झिसक्नुको छैन। त्यसरी ‘झाँक्रो’ छाड्ने त लोग्ने मरेकीले मात्रै हो रे! त्यस्तो कुराले कुँडिएको मेरो मन अझै चसक्क हुन्छ।
यी सबैका बाबजुद, पुल्पुल्याएर, सुम्सुम्याएर राखेको कपाल किमो दिएको दुई हप्तामा अलिअलि गर्दै झर्न थालेको थियो। एक बिहान नुहाउन बाथरूम पस्दा थाहा पाएँ, कपाल त जोगीको लट्टाजस्तो पो भएछ, न कोर्न मिल्ने, न नुहाउन!
त्यो कपाल एकएक गरेर फुकाउन खोज्दा, एक झोला जति बाहिर निस्कियो। टाउकोमा हुँदा एक मुठीजति लाग्ने कपाल झोलामा त अत्यासै लाग्ने गरीको भयो।
आखिर, काटेको खसीमा तातोपानी खन्याउँदै भुत्ल्याउँदा बन्ने थुप्रो जस्तै भएर सकियो मेरो कपाल।
अब चिन्ता गरेर हुने केही थिएन। स्याम्पु कम लाग्ने भयो, ठिकै भयो! सकारात्मक त हुनै पर्यो!
(अमृता लम्सालका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @AmritaLamsal