आज पाकिस्तान चरम राजनीतिक तथा आर्थिक अव्यवस्थाबाट गुज्रिरहेको छ। मैले करिब २० वर्षअघि एक महिना पाकिस्तानमा बिताउने अवसर पाएको थिएँ।
राजधानी इस्लामावाद, त्यसमै जोडिएको पुरानो सहर रावलपिण्डी, उत्तरतिरको कारमकुरम नदी रोकेर बनाइएको जलाशयले प्रभावित पारेको कालिन्जर गाउँ, भारतको सीमानासँग जोडिएको भावलनगर गाउँ, इस्लामावादबाट करिब दुई घन्टा जीप सवारीमा पुगिने अर्को एउटा गाउँ घुम्न पाएँ।
अहिले २० वर्षपछि आफ्नो भ्रमणको सम्झना गर्दै छु। मेरो अनुभवअनुसार मैले भ्रमण गरेका विश्वका विभिन्न देशहरूमध्ये पाहुनालाई राम्रो आदरसत्कार गर्ने देश हो पाकिस्तान।
कुनै समय भारत र पाकिस्तान एउटै देश थिए। सन् १९४७ को विभाजनपछि उनीहरू बीच शत्रुता बढ्यो। यति धेरै शत्रुता संसारका अन्य कुनै दुई छिमेकी बीचमा छ जस्तो लाग्दैन, इजरायल र प्यालिस्टाइन छोडेर।
मैले पाकिस्तानको भ्रमण गर्दाको समय एयरपोर्टमा अहिलेको जस्तो कडा सुरक्षा जाँच थिएन तर दिल्लीबाट लाहोर जान पिआइएको जहाज चढ्नुअघि ढोकामा पाकिस्तानी सुरक्षा निकायले सबै यात्रुको सुरक्षा जाँच गरेको थियो।
जहाज अवतरण गरेपछि भने परिस्थिति फरक थियो। लाहोर विमानस्थलको अध्यागमनमा छिर्दादेखि नै त्यहाँका सुरक्षाकर्मीले नेपाली पासपोर्ट देख्नेबित्तिकै बडो सहजताका साथ तुरून्तै छाप लगाइदिए।
मसँगै रहेका भारतीय यात्रुहरूलाई अलग कोठामा लगेर केके सोधे, मलाई थाहा भएन।
इस्लामावाद पुगेर त्यहाँका सहकर्मीहरूलाई सोध्दा भारतीय नागरिकलाई पाकिस्तान भित्र्याउन हाम्रो पनि बाह्र बज्छ भने। बुझ्दै जाँदा भारतीय नागरिकलाई पाकिस्तानको भिसा लिन कम्तीमा छ महिना लाग्ने र भिसा पाउँदा पनि जुन ठाउँमा काम हो त्यहीँ मात्र जान पाउने सुविधा रहेछ।
त्यस्ता भारतीयलाई पाकिस्तानी गुप्तचर वा सुरक्षा निकायका कर्मचारीले निगरानी गर्दा रहेछन्, पिछा पनि गर्दा रहेछन्। ती भारतीय नागरिक जाने ठाउँका सरकारी अधिकारीहरूसँग सम्पर्क गरेर निगरानी गर्दा रहेछन्।
पाकिस्तानी नागरिक भारत जाँदा यस्तै व्यवहार हुने मेरा पाकिस्तानी साथीहरूले बताए।
नेपाल फर्किँदा मसँगै एक जना पाकिस्तानी नागरिक थिए। उनी भारतमा रहेका आफन्तलाई भेट्न आएको भन्थे। उनले मलाई निकै लामो एउटा फारम देखाएका थिए।
सामान्यतया भिसा दिएपछि अर्को कुनै फारम भराउनु नपर्ने हो तर ती पाकिस्तानीलाई त्यस्तो सुविधा थिएन। उनले फारम राम्ररी नबुझेको भन्दै मसँग सहयोग मागेका थिए। यस्तो अवस्था देख्दा नेपाल र पाकिस्तान बीचको सम्बन्ध त साह्रै सहज रहेछ भन्ने लाग्यो।
आजभन्दा बीस वर्षअघिको इस्लामावाद देख्दा मैले हाम्रो काठमाडौं सम्झिएको थिएँ। त्यति बेला काठमाडौंमा कोलोनीमा घर बन्ने चलन सुरू भएको थिएन। उता इस्लामावादभरि कतै पनि मैले योजनाबिनाका सडक र बस्ती देखिनँ। मलाई लाग्यो, राजधानी सहर त यस्तो राम्रो र व्यवस्थित हुनुपर्ने हो।
पछि थाहा भयो, इस्लामावादसँग जोडिएको पुरानो रावलपिण्डी सहरबाट राजधानी सार्दा व्यवस्थित योजना बनाइएको रहेछ। पुरानो सहर भएकाले रावलपिण्डी भने भारतका पुराना सहरजस्तै अव्यवस्थित थियो।
म खास उद्देश्यका साथ पाकिस्तानको भ्रमणमा गएको थिएँँ। त्यस क्रममा त्यहाँका गाउँसहर, पुराना र नयाँ बस्ती, उच्च ओहोदाका र शिक्षित व्यक्ति अनि गाडी चालक र कार्यालय सहयोगीहरूसँग पनि संगत गर्ने अवसर पाएँ।
उनीहरूसँगको संगत मेरा लागि मानवीय मूल्यमान्यता बुझ्ने र अवलोकन गर्ने दृष्टिले निकै अविष्मरणीय रह्यो।
म त्यहाँका लागि पाहुना थिएँ। खाना खान होटलहरूमा जानु पर्थ्यो। केही वरिष्ठ वा कनिष्ठ व्यक्तिहरू मेरो साथमा हुन्थे।
सामान्यतया वरिष्ठ व्यक्तिले मैले खाएको खानाको पैसा तिर्न चाहनु सामान्य होला तर कनिष्ठ समेत पैसा तिर्न अघि सर्दा अचम्म लाग्थ्यो।
विदेशबाट फर्किँदा आफूलाई चाहिने वा उपहारका सामान किन्नु स्वाभाविक हुन्छ। मेरो साथमा पाकिस्तानी साथीले दुकानमा यी नेपाली साथी हुन्, राम्रो सामान देऊ भन्थे। दुकानदार पनि बडो सत्कारका साथ सामान देखाउँथे।
म कारमकुरम नदीलाई थुनेर बनाइएको जलाशयले प्रभावित कालिन्जर गाउँको भ्रमणमा गएँ। त्यहाँ गएको समय पाकिस्तानको स्वतन्त्रता दिवस, १४ अगस्ट परेको थियो।
नेपालमा राष्ट्रिय दिवस जनस्तरमा मनाउने चलन छैन भने पनि हुन्छ। दिवसको सामारोह सरकारी स्तरमा आयोजना हुन्छ। कालिन्जरमा त्यस्तो थिएन। त्यहाँका बासिन्दाहरू कुनै ठूलो नेता वा अतिथि नखोजी स्वतन्त्रता दिवस मनाउँदै थिए। अलिक अनौठो के थियो भने महिला र पुरुषका सभा छुट्टाछुट्टै थिए।
म सम्मिलित एउटा कार्यक्रममा करिब डेढ सय जति व्यक्ति भेला भएका थिए। विदेशी भएकाले उनीहरूका लागि म एउटा विशिष्ट पाहुनाजस्तै भएँ।
उनीहरूले कश्मिरको मुद्दा उठाएर भारतको विरोध गरे। भारत प्रशासित कश्मिर फिर्ता ल्याउने उद्घोष गरे। भारतसँगको सम्बन्ध पाकिस्तानी जनस्तरमा पनि अत्यन्त संवेदनशील रहेको पाएँ। कार्यक्रममा मलाई बोल्न लगाए। म हिन्दी भाषामा बोलेँ।
त्यति बेला म कार्यरत संस्थाको विश्वव्यापी मिसन गरिबी न्यूनीकरण थियो। मैले पाकिस्तानका ग्रामीण जनता र नेपाली ग्रामीण जनता गरिबीको मारमा छन् भन्दै गरिबीविरूद्ध लड्नु पर्ने कुरा गरेँ।
उनीहरूले मप्रति ठूलो सद्भाव र सम्मान प्रकट गरे। नेपाली जनताप्रति पनि सम्मान प्रकट गरे। त्यो दिन मेरा लागि अत्यन्त अविष्मरणीय रहेको छ। म जुन संस्थाको काममा गएको थिएँ त्यसमा कार्यरत कोही पनि पाकिस्तानी नेपाल आएका थिएनन्। नेपालप्रति उनीहरूको सद्भाव भने धेरै रहेको पाएँ। मैले भेटेका चार जनाले नेपालको भिसा लिएका थिए।
उनीहरू चाँडै पर्यटकका रूपमा नेपाल आउने तयारीमा थिए। समस्या के थियो भने त्यति बेला कराँची–काठमाडौं पिआइएको उडान हुन्थ्यो तर इस्लामावाद निवासी ती व्यक्तिलाई कराँची हुँदै नेपाल आउन अपायक र महँगो हुन्थ्यो।
उनीहरू दिल्ली हुँदै नेपाल आउने चाहन्थे। यसै कारण भ्रमणको मिति अनिश्चत भएको थियो।
पाकिस्तानीले भारत भएर नेपालको यात्रा गर्न नसक्ने भएकाले नेपाली र पाकिस्तानीबीच प्रगाढ सम्बन्ध हुन पाएन।
इस्लामावादस्थित नेपाली दूतावासले पनि नेपाल र पाकिस्तानबीच जनस्तरमा बलियो सम्बन्ध बनाउन प्रवर्द्धनात्मक काम गरेको केही सुनिएको छैन।
त्यति बेला मैले थाहा पाएअनुसार पाकिस्तानको जनसंख्यामध्ये करिब ४० प्रतिशत मध्यम वर्ग थियो। यसको अर्थ कुल १६ करोड जनसंख्याबाट ६ करोड ४० लाख मानिस विदेश भ्रमण गर्न सक्ने हैसियतका थिए। अहिले त्यहाँको जनसंख्या २२ करोड छ। मध्यमवर्गीय जनसंख्या करिब उस्तै छ।
पाकिस्तानी जनताको नेपालप्रतिको सद्भावलाई हामीले पर्यटन प्रवर्द्धनमा उपयोग गर्न सकेनौं। भारतबाट छुट्टिएर बनेका पाकिस्तान र बांग्लादेश दुबैसँग अत्यन्त सुमधुर सम्बन्ध हुँदा पनि नेपालले लाभ लिन सकेको छैन।
आशा गरौं, यी सबै अवस्थामा सुधार भई पाकिस्तान र बांग्लादेशसँग पनि जनस्तरमा नेपालको सम्बन्ध प्रगाढ हुनेछ।