गत फागुनमा एक आफन्तले छोरीको गुन्यु चोलीमा निम्ता गरे। आठ वर्ष पुगेकी,स्कुल जाने उमेरकी सानी छोरीलाई यति धेरै सिंगारिएको थियो कि झट्ट हेर्दा बेहुलीजस्तै देखिन्थिन्।
हातभरी मेहन्दी, दुवै हातमा चुरा, सारी चोलो, सिरबन्दी, गलामा, घाँटीमा सुनका गहना, पाउजू, सुनकै हेयरबेन्ड सिरमा, निकै पहेँलपुर देखिएकी थिइन् नानी। निम्तालु भएर गएकी मैले नानीलाई टीका लगाइदिएँ, खाममा दक्षिणा दिएँ।
नानीकी मावलकी हजुरआमा आउनु भएको थियो, आमासँग एकैछिन कुराकानी भयो। आमा उमेरले सत्तरी वर्ष पार गर्दै हुनुहुन्थ्यो। आमाले नातिनीको गुन्यु चोलीको लागि भनेर सत्तरी हजार आसपास मूल्यको चाँदीको खड्कुलो, चाँदीकै करूवा ल्याउनु भएको रे ...., त्यही खड्कुलोमा नातिनीको गोडा धोएको बताउनुभयो। ‘नातिनीको बिहे हुने बेलासम्म बाँचिन्छ कि बाँचिदैन, मेरो भागको दाइजो यही हो भनेर ल्याइदिएँ नानी... ऊ त्यहीँ खड्कुलो हो’, (खड्कुलो तिर देखाउँदै) आमाले सविस्तार सुनाउनुभयो।
गुन्यु चोली संस्कार पनि हुँदोरहेछ भन्ने कुरा थाहा पाएको काठमाडौंमा आएपछि हो। मेरो गाउँतिर यो संस्कार, चलन छैन। छोराको ब्रतबन्ध गर्छन् तर छोरीको गुन्युचोली गरेको थाहा थिएन। राजधानी सहरले अनेक कुरा देखायो, सिकायो, अभ्यस्त बनायो।
एउटा छोरी हो, सबै जनालाई बोलाउनु पर्यो नि, सबैकोमा गएर खाइएको छ, आमा बुवाले सुनाउँदै थिए।
चार पाँचसय जति पाहुनालाई छोरीको गुन्यु चोलीमा निम्ता गरिएको रहेछ।
नानीकी आमाले सुनाइन्।
‘हेर्नु न अस्तिमात्रै बहिनीको छोरीको गुन्यु चोली थियो, ज्वाइँ टन्न कमाउँछन्। बहिनीले निकै भव्य तरिकाले छोरीको गुन्यु चोली गरी। बहिनीको तुलनामा कमजोर देखिन पनि भएन, आफन्तको सामु कमजोर देखिन पनि भएन।’
छोरीको लागि पाँच तोलाका गहना बनाएको बताइन्।
‘पाँच तोला जतिको हामीले बनायौं, एक दुई तोला जतिका सुनका गहना त माइती, मावली, फुपू, बहिनीले पनि ल्याइदिएका छन्।’
सानी, पातली नानी नयाँ लुगा र गहनामा निकै सुन्दर देखिएकी थिइन्।
आफ्ना साथीहरूलाई यो मामुले बनाइदिएको, यो बाबाले, यो मावली हजुरआमाले, यो फुपूले ल्याइदिएको सबै बेलिविस्तार लगाउँदै थिइन्।
सबै देखिसकेपछि मनमनै गम खाएँ, यति सानी बच्चीको एउटा संस्कारमा त यति खर्च गरे बाआमाले, बिहेमा कति खर्च गर्लान्?
आठ वर्षकी छोरीले बल्लबल्ल थेगेकी छ गहना र लुगाको भारी। अब त्यो छोरीले म राम्री हुनुपर्छ, गहना लाउनुपर्छ, नयाँनयाँ लुगा लाउनुपर्छ....यो भन्दा अरू के के सोच्न भ्याउँछिन् होला?
सानैदेखि छोरालाई आत्मनिर्भर बन्न र छोरीलाई राम्री बन्न सिकाउने यस्तै चलनका कारणले रहेछ भन्ने थाहा भयो।
यही नानीकै उमेरको छोराको ब्रतबन्ध भएको भए उसलाई के सिकाइन्थ्यो होला?
गुन्यु चोलीको अघिल्लो दिन मेहन्दीको कार्यक्रम गरिएको थियो। मेहन्दीको दिन सबै आफन्तहरूलाई हरियो लुगामा आउन उर्दी गरिएको थियो। मलाई पनि हरियो लुगा लगाएर आउनु है। सबै जनालाई हरियै लगाएर आउन भनेकी छु। नानीकी आमाले खबर गरेकी थिइन्।
म आफू अफिसमा भएको र आउन ढिला हुने भन्दै मेहन्दीमा गइनँ।
ढिलो नभएको भए पनि मसँग उनीहरूको मापदण्ड अनुसारको लुगा पनि तयारी अवस्थामा थिएन, त्यही भएर म गइनँ।
मेहन्दी सकिएपछि सामाजिक संजालमा छरप्रष्ट फोटा भिडिओहरू देखिन थाले। हिन्दी गीतमा बच्चीलाई नचाउँदै आफन्तहरू हरियो पोसाकमा, सबै जनाले मेहन्दी लगाएका प्रफुल्लित अनुहारहरू देखिए।
म गुन्यु चोली भन्ने संस्कार थाहा नपाएरै हुर्केकी, यतिविधि भव्य हुँदो रहेछ यो चलन भन्ने पहिलो पटक देख्दै, थाहा पाउँदै थिएँ नजिकबाट।
संस्कार आफ्नो ठाउँमा छ, चालचलन आफ्नो ठाउँमा छ त्यसको महत्व पनि आफ्नो ठाउँमा छ होला कि!मनमनै सोचें।
सानी बच्चीको गुन्यु चोली त यति धुमधामसँग मनाउन खप्पिस् छन भने विवाह एक सातासम्म चल्नु के नौलो कुरा भयो र?
एक हप्ते विवाहका कार्यक्रम खासै नौलो लागेन।
अर्को प्रसगं,
गत मंसिरमा होला एक जना आफन्तको छोरीको बिहेको निम्ता आयो। निम्ता भन्दाभन्दै त्यहाँ जानुभन्दा पहिले पालना गर्नुपर्ने मापदण्ड पनि तोकियो।
‘तिमी भनेको हाम्रै परिवारको मान्छे हौ, सधैंभरी सोझो, सिम्पल भएर चल्दैन है। ठाउँ अनुसार चल्न सिक्नुपर्छ, जमाना कहाँबाट कहाँ पुगिसक्यो, ऊ भने हाम्रा आमा हजुरआमाको पालामा जस्तै देखिन्छे…’ ममाथि निम्ता भन्नेहरूले कटाक्ष गर्दै थिए।
म एकोहोरो सुनिरहेँ, ‘अँ भन्नुस् न के के नियम पालना गर्नुपर्ने हो? छोरीको बिहे हो जसरी पनि आउनै पर्यो नि .... म आउँछु’ मेरो कुरा राखेँ।
बेहुलीकी काकीले ‘खै खै फोन मलाई देऊ त म बोल्छु’ भनिन्।
‘हेर है नानी हाम्रा पालामा जस्तो आजकाल हुँदैन, अलि मोर्डन बन्न सिक, जहाँ पनि सोझो, सिधा बनेर लुरूक्क जाने/आउने गर्न हुन्न। जमाना कति आधुनिक भइसक्यो, चार जोर लुगा यो बहिनीको बिहेको लागि भनेर तयार पार्नु। फेरि फेरि बहिनीको बिहे हुँदैन क्यारे। एकचोटि गर्ने बिहे त धुमधाम गर्नुपर्यो नि कि कसो? त्यही भएर पैसाको मुख नहेर्नु, एकजोर हरियो, एउटा पहेंलो, एउटा म म्यासेन्जरमा फोटो पठाउँछु बिहेको दिनको लागि त्यस्तै अनि अर्को पनि म पठाउँछु पार्टीको लागि कस्तो लगाउने भनेर ....’ म एकोहोरो सुनिरहेँ, केही बोलिनँ।
‘हस्’ भनेर फोन राखें।
आधा घण्टापछि मेहन्दीमा लगाउने, हल्दीमा लगाउने, बिहेमा लगाउने, पार्टीमा लगाउने लुगाको नमूना फोटाहरू एकपछि अर्को आए।
सबै हेरेँ, सबै जनाले अनलाइनबाट अर्डर गर्ने योजना बनाएका रहेछन्।
‘मेरो इसेवामा पैसा पठाइदेऊ, हामी सबै अनलाइनबाट एकैचोटि किन्ने हो, धेरै किन्यो भने केही सस्तो पनि हुन्छ। एउटा लुगाकै मूल्य सुन्दा सात्तो जाने खालको थियो, त्यसमा चार चार जोर लुगाको अर्डर छ। म केही भन्नै सकिनँ। म आफैं किन्छु तपाईंहरू किन्दै गर्नुस्’ भनेँ।
नजाऊँ भने यति बोलाउँदा पनि भाउ खोजेकी भन्ने बात लाग्ला भन्ने पिर, जाऊँ भने उनीहरूको मापदण्डमा म समावेश हुने कुनै आधार छैन।
यति मात्रै होइन गहनाको समेत उनीहरूले डिजाइन बनाएका थिए।
यो यो लगाउने, सबै जनाको एकैनासको हुनुपर्छ भनेर। यो कस्तो चलन हो? सबैको हैसियत समान हुन्छ, सबै जनाले उत्तिकै आँट गर्न सक्छन् भन्ने त छैनन् नि तर पनि उनीहरूको समूहमा समावेश हुनको लागि जे जे भन्छन्, त्यो गर्न बाध्य पारेकै हुन्छन्। हैसियत हुनेहरू त जे पनि गर्लान् तर हैसियत नहुनेहरू के गर्ने?
मनमा अनेक कुराहरू खेले। यी जो जो हर्ताकर्ता छन् उनीहरू आफू कमाउँदैनन्, श्रीमानको कमाइमा उतिविधि स्वतन्त्र छन कि जे गरौं, जसो गरौँ भने पनि रोक्ने, छेक्ने कोही छैन।
म आफू थोरै भए पनि कमाउँछु र पनि खर्च गर्दा हजार पटक सोच्नुपर्छ। उनीहरू जागिरे छैनन म जागिरे छु, उनीहरू जस्तासुकै गहना, कपडा वा अन्य चाहेको खर्च गर्नमा स्वतन्त्र छन्, आँटेको गरिहाल्छन म हजार पटक सोचेर, विचार गरेर हिसाब गरीगरी खर्च गर्छु।
मैले आफैं किन्छु भनेपछि पनि उनीहरूलाई विश्वास लाग्दैन।
‘खै कस्तो किन्यौँ? देखाऊ त .... फेरि सस्तो हजार पन्ध्र सयको किन्ने होइन नि ....’ यस्तै म्यासेज गरिरहन्थे।
‘हस्’ भन्दै बसेँ।
मेहन्दीको अघिल्लो दिन फोन गरेँ।
‘म बिहेको दिन आउँछु, त्योभन्दा पहिले आउन सकिनँ। मलाई सन्चो छैन’ भनेर बहाना पारेँ।
एक जनाले त भन्न भ्याइसकिन्, ‘यसले यही भन्छे भन्ने पहिल्यै थाहा थियो। बरू मलाई तिमीहरुसँग रमाउनु छैन भनेको भए भइहाल्थ्यो, जागिर खाने मान्छे अफिसमा बिदा मिलेन, हाकिमले यो काम लगाए, यता जानुपर्यो, उता जानुपर्यो, अफिसमा फुर्सद भएन भनेको भए भइहाल्थ्यो नि .... किन बिरामी भएँ भन्नु पर्यो नि?’, एकपछि अर्को कटाक्ष हानिरहे, म स्रोता बनेर सुनिरहेँ, केही बोलिनँ।
के के नाम दिएर मनाउँछन्, बिहेका अघिल्ला कार्यक्रमहरूमा म मन नलागेरै गइनँ। उनीहरूसँग हैसियत बराबरी बनाउन नसकेर, आडम्बर देखाउन मन नभएर पनि म गइनँ, जान मन लागेन।
साँझ त फोटा, भिडिओहरू एकपछि अर्को सामाजिक संजालमा आइहाले।
सबै हेरेँ, हुनेवाला बेहुलीभन्दा अरू पो सिंगारिएका थिए।
पार्टी प्यालेसमा त्यो तामझाम, त्यो खुसीयाली ओहो। कल्पनाभन्दा बाहिरका कुरा थिए।
पैसा भएपछि खुसी जति पनि किन्न सकिने रहेछ भन्ने पनि लाग्यो।
गाउँबाट आएका आफन्त आमा हजुरआमा धरी पहेँला, हरिया पोसाकमा सजिएर हिन्दी गीतमा नाचेका देखिन्थे।
ती आमाहरूको मनले भन्दो हो कसार बनाउने, दुना टपरी गाँस्ने ती चलन त हाम्रा पालामा मात्रै थिए भनेर।
शुभ कार्यमा रमाउनुपर्छ, खुसी हुनुपर्छ तर यतिविधि आडम्बरी तरिकाले पनि खुसी हुनु जरूरी छैन भन्ने पनि लाग्यो। मलाई लागेर केही हुनेवाला थिएन र हुँदैन पनि। उनीहरूको बिहे हो, उनीहरूको पैसा हो, मन लागे जसरी खर्च गर्छन् भने मेरो टाउको बेकारमा दुखाउने किन? अनावश्यक चिन्ता गर्ने किन?
अर्को मनले भित्रभित्रै भनिरहेको थियो।
बिहेको दिन मेरो अफिस बिदा थिएन। शुक्रबार थियो अफिस बिदा भएपछि बिहेमा उपस्थिति जनाउन गएँ।
मलाई कस्ले के भन्छ? के सोच्छ भन्ने कुनै परवाह थिएन। बिहेमा गएँ, बेहुला बेहुलीलाई टीका लगाइदिएँ, आफू सक्दो दक्षिणा दिएँ,आशीर्वाद दिएँ। सुन-सुनले पुरिएर गए पनि आखिर गर्ने कर्म त त्यही हो।
बेहुलीभन्दा पहेँलपुर बिहेमा अरू महिलाहरू देखिएका थिए। मण्डपमा मन्त्र भनिरहेका गुरूजी एकातिर, बेहुला बेहुली अर्कातिर व्यस्त थिए।
गुरूका कुरामा केही चासो थिएन, बेहुला बेहुली क्यामेरा पर्सनको एंगलमा व्यस्त थिए।
‘खै यता हेर्नुस्... फोटो नराम्रो आउला है... एंगल मिलाउनुस्....’ उता पण्डित जी ‘यो गर्नुस र त्यो गर्नुस् भनेका छन्, अर्कातिर क्यामेरा पर्सनले यता हेर्नुस् र उता हेर्नुस् भनेको छ बेहुला बेहुली क्यामेरा पर्सनकै पक्षमा अभ्यस्त थिए।
एकछिन त अचम्म पनि लाग्यो। गहना कम लगाएर वा गहना बेगर बिहे असम्भव रहेछ। गहना पनि ठिक्क लगाए त हुने नि, गोडादेखि शिरसम्म पहेँलपुर हुँदा पनि नपुग्ने कस्तो चलन हो यो?
परिवारका सबै सदस्यहरूको लुगादेखि गहनाका हरेक डिजाइन एकैनासका छन्। हुनेहरू त खर्च गर्छन्, के हैसियत नहुनेहरूले बिहे नै नगर्ने त? बिहेमा सुनको मापदण्ड कति हो? कति सुन भएपछि पुग्ने हो? सबा लाख तोला पुग्न लागिसक्यो, कम्तीमा दश तोला घटी सुनमा आजकालका बिहे नहुने रहेछन्, शिक्षित पुस्ता, आत्मनिर्भर भएको वा हुने प्रयासमा रहेको पुस्ता किन यतिविधि पहेँलपुर हुन मरिहत्ते गर्छ?
पहिले पहिले छोरीलाई पढाउने चलन थिएन, कम्तीमा छोरीले दु:ख पर्यो भने त्यही सुन बेचेर भए पनि गर्जो टार्न सकोस् भनेर सुनचाँदी, पैसा दाइजोको रूपमा दिइन्थ्यो रे तर अहिले? उच्च शिक्षा छोराले जति छोरीले पढेका छन्, आफ्नो खुट्टामा उभिएका छन् तर पनि पहेँलपुर हुनैपर्ने, लाखौंको खर्च गर्नैपर्ने, हैसियत नभए पनि फलानाको बिहेमा यो यो गहना बनाएको हाम्रोमा यो यो बनाउने पहिल्यै पक्कापक्की हुने रहेछ।
यो एउटा प्रतिनिधि घटना हो, यस्ता हजारौं पात्रहरू सहरमा देखिन्छन् जो अरूलाई देखाउनकै लागि भए पनि आडम्बरी बन्नैपर्छ भलै त्यो ऋण तिर्न त्यही बेहुला विदेशिन किन नपरोस्।
छोरीको बिहेमा लागेको ऋण तिर्न बाउआमा आजीवन ऋणी हुन किन नपरोस्। हुनेखानेले आडम्बर देखाएपछि नहुनेहरू पनि जसरी भएपनि .... गर्नैपर्ने मनस्थितिमा देखिन्छन्। देखासिकी र आडम्बरले कहाँ पुर्याउला? मान्छेको बिहे हो कि सुनको बिहे? मान्छेको बिहे हो कि महँगा वस्त्रको बिहे? बेलाबेलामा सोच्नुपर्ने अवस्था आउँछ।
कम्तीमा युवा पुस्ताले हैसियत हेरेर आडम्बरी बन्न सिकोस्। जिन्दगीमा एकचोटि गर्ने बिहे हो तर यो भन्दैमा आजीवन बाउआमाको थाप्लोमा ऋणको भारी बोकाउन पनि भएन नि।
कुनै युवापुस्ता अपवाद भएर बाहिर आओस्, जसले शिक्षा, रोजगारी र समानतामा विश्वास गरोस्, महँगा वस्त्र र आभूषणको आडम्बरमा संस्कारलाई विकृत नपारोस्। हैसियत हेरेर संस्कार मानौं, अरूलाई देखाउनकै लागि आडम्बरी नबनौं।