सिंगापुरमा पानी, मलेसियामा असिना
सकिनँ मैले तिमीलाई बिर्सन।
केही वर्षअघि मगर बस्तीमा केही दिन बिताउँदा 'कौरा नाच' मा उक्त गीत सुनेको थिएँ। कौरा मगर समुदायको परम्परागत नाच हो।
नवलपरासी भन्नेबित्तिकै हाम्रो दिमागमा गैंडाकोटबाट सुरू भएर दाउन्नेसम्मको महेन्द्र राजमार्गको क्षेत्र हो भन्ने पर्छ। यसको सदरमुकाम पहिले परासीमा थियो जुन भारतसँगको सीमावर्ती ठाउँ हो। नवलपरासीमा दुर्गम पहाडी बसोवास पनि छ भन्ने कल्पना पनि धेरैले गरेका हुँदैनन्। सुगम हो भन्ने लाग्छ।
अत्यन्त सुगम भनेर सोचिने तत्कालीन नवलपरासी जिल्लाको पहाडी बस्तीमा १४ वटा गाविस थिए। अहिले पूर्वी नवलपरासी जिल्ला गण्डकी प्रदेशमा पर्छ जो पूरै मगर बस्ती हो भन्दा फरक पर्दैन।
कालीगण्डकी नदी छेउका फाँटहरूमा विकसित बस्तीहरूमा मिश्रित बसोबास भए पनि डाँडाकाँडामा मगरहरूको बस्ती छ।
कामको सिलसिलामा कुनै बेला त्यहाँ करिब एक महिना बिताएको थिएँ। त्यति बेला त्यहाँको जनजीवन कर्णालीका बासिन्दाहरूको भन्दा कष्टपूर्ण थियो भन्दा खास फरक पर्दैन।
पहाडी भेग भएकाले यातायातको सुविधा थिएन। उब्जाउ जमिन अत्यन्त कम थियो, सिँचाइको सुविधा थिएन। त्यहाँको कृषिले बाक्लो मगरबस्तीको जनसंख्याको भार थेग्न सक्ने भएन। वनजंगल, डाँडाकाँडाहरू सखाप थिए; जताततै तितेपातीको झाडी देखिन्थ्यो। अन्य रूखबिरूवा अत्यन्तै कम थिए।
त्यस्तो प्राकृतिक अवस्थाले त्यहाँका बासिन्दाको जीवन कष्टपूर्ण छ भन्ने प्रष्ट देखाउँथ्यो।
हामीमध्ये धेरैले खोरिया खेतीका बारेमा कमै सुनेका हुन सक्छौं। पहाडको भिरालो जमिन गह्रा बनाएर खेती गर्नु त चल्तीको तरिका भइहाल्यो। मान्छे अडिन पनि मुश्किल गर्ने ठाउँमा पनि मकै, बोडी र यस्तै किसिमको खेती देखिन्थ्यो। यस्तो ठाउँमा कुटो-कोदालोले खन्नै मुश्किल हुन्छ, जोत्ने त कल्पना पनि हुने भएन।
यस्तो भिरालो ठाउँ नै खोरिया हो, त्यहाँ गरिने खोती खोरिया खेती।
नवलपरासीका पहाडी बस्तीहरूको वास्तविकता त्यही थियो। खोरिया कसैको व्यक्तिगत नाउँमा दर्ता हुने भएन। गाउँलेहरूले समझदारीमा आआफ्नो भाग लगाएर पर्मको प्रक्रियाबाट खेती गर्ने रहेछन्।
बर्खामा खोरिया झाडीले ढाक्ने भएकाले हिउँदमा मानिसले आगो लगाउने रहेछन्। डढेलो लागेपछि झाडी नष्ट हुने भइगयो, यसो गरेपछि माटो मलिलो हुन्छ भन्ने विश्वास पनि रहेछ।
मकै रोप्ने समय आएपछि गाउँलेहरू कुटो लिएर खोरिया जाने रहेछन्। झोला वा घलेक (मगर र गुरूङ महिलाहरूले ओड्ने पछ्यौरा) मा मकै र सिमी–बोडीको बिउ बोक्ने रहेछन्। कुटोले माटो खोस्रिँदै बिउ रोप्ने रहेछन्।
बिउबाट बिरूवा उम्रिन्छ तर खेतबारीमा जस्तो गोडमेल र स्याहार हुने भएन। प्राकृतिक प्रणालीमै बिरुवा हुर्केर फल लाग्ने रहेछ। यस्तै अवस्थामा बिरूवाले जे जति फल दिन्छ, त्यही नै बालीका रूपमा भित्र्याइने रहेछ।
त्यसरी भिरमा गरेको खेतीमा वर्षातको सामान्य पानीले पनि बढी नोक्सान गर्ने रहेछ। वर्षातबाहेक सिँचाइ हुने कुरै भएन। मल पनि नहालिने रहेछ। जति उत्पादन हुन्छ त्यसमै चित्त बुझाइने रहेछ।
यस्तो खेतीले किसानलाई जति उत्पादन र लाभ दिन्छ, त्योभन्दा जति बढी त वातावरण विनाश हुन्छ। तैपनि किन यसरी खोरिया खेती गरिन्छ भनेर हामी विकासेले गरेको प्रश्नको उत्तर सम्झिँदा अहिले पनि अनौठो लाग्छ।
पाँच रोपनी बारीमा एक हल गोरू, जोत्ने, बिउ छर्ने, डल्ला फोर्ने र सम्याउने गरी एक दिनमा पाँच जनाले काम सकिन्छ। पाँच रोपनी खोरियामा बिउ रोप्न गाउँ नै उल्टिनुपर्छ, उब्जनी कति हुन्छ भन्ने भर हुँदैन, तपाईंहरू खोरियामा किन श्रम गर्नुहुन्छ? किन समय खेर फाल्नुहुन्छ?
हामीले सोध्ने प्रश्न यस्ता हुन्थे।
उनीहरूको उत्तर हुन्थ्यो– हामीसँग अर्को विकल्प छैन, दुःख गरेर रोपेपछि जति फले पनि खान पाइन्छ। नरोपे त थोरै पनि पाइँदैन।
बिउ जोगाउन पनि खोरिया खेती नगरी हुँदैन भन्ने उनीहरूको तर्क हुन्थ्यो। अलिकति पनि बारी नहुनेहरू खोरियामा जान बाध्य नै थिए।
एउटा खोरियामा हरेक वर्ष खेती गर्न नसकिने रहेछ। एक वर्ष गरेपछि अर्को एक वर्ष त्यो ठाउँ यसै छाडिने रहेछ। खोरिया खेती गर्न पनि पर्याप्त ठाउँ थिएन। नयाँ ठाउँमा खेती गर्ने जोहो मिल्दा उनीहरूका लागि विकास खुलेको जस्तो हुन्थ्यो।
त्यहाँका करिब ८० प्रतिशत बासिन्दा खाद्यान्न जुटाउनकै लागि ज्यानको बाजी थापेर संघर्षमा दिन बिताउँथे। जीवन निकै कष्टपूर्ण थियो तैपनि उनीहरू रमाउँथे। खुसी देखिन्थे। कसैप्रति कुनै गुनासो र आफ्नो स्थितिप्रति खेद पनि थिएन। हरेक साँझ आफ्नो संस्कृतिमा रमाउँथे।
नवलपरासीका ती पहाडी बस्तीमा मैले बिताएको करिब एक महिनामा हरेक दिन कुनै न कुनै घरमा नाचगान हुन्थ्यो। म फागुन–चैतको समयमा त्यहाँ थिएँ। त्यही समय खोरिया खेती चल्दै थियो।
एक दिन खोरियामा आगो लगाउने र त्यसको केही दिनमा बिउ रोप्ने गर्थे। गाउँलेहरू हुल बाँधेर बिहानै खोरिया जान्थे। सामल (खाजा र खाना) लैजान्थे। खोरिया पुग्न निकै बेर हिँड्नुपर्थ्यो।
मगर समुदायमा यस्तै समयमा कौरा नाच हुँदो रहेछ। कौरा नाचमा ५ देखि १० जनासम्मको समूहमा किशोरीहरू कुनै एक घरको आँगनमा नाच्थे। नृत्यमा साथ दिने युवा र केही अधबैंसे पुरूषहरू विशेष प्रकारको खैजडी बजाउँथे।
मैले तीन प्रकारका खैजडी देखेको छु।
एउटा, भारतबाट आएको जसमा कर्तालको जस्तो आवाज आउने गोला पाताहरू जोडिएका हुन्छन्।
अर्को, ब्राह्मणहरूको बालन नाचमा बजाइने जो सामान्य छाला मोडेर बनाइएको हुन्छ।
तेस्रो, मगरहरूले बजाउने खैजडी जो गोहोरोको छालाले मोडेर बनाइएको हुन्छ।
मगर समुदायको खैजडी बालनमा बजाइनेभन्दा राम्रो आवाज आउने हुँदो रहेछ। एकै पटक दुई-तीनवटा खैजडी बजाउँदा सिंगै बस्ती गुन्जायमान हुने।
किशोरीहरूले खुट्टामा लगाउने घुंघुरू पनि फरक प्रकारको थियो। आधा खोलिएको फलामको कल्लीमा फलामकै दानाहरू राखिएका, बाजा र नृत्यको तालमा छमछम आवाज आउने हुँदो रहेछ।
यस्तो कौरा नाच जसको घरको आँगनमा भइरहेको छ त्यो परिवार त रमाउने भइहाल्यो, खैजडीको आवाजले बस्ती नै गुन्जायमान हुँदा सबै गाउँले रमाउने।
जसको घरमा कौरा नाच हुँदैछ त्यही घरका किशोरी र युवाहरू नाचमा सरिक हुन्थे। बहिनीहरू नाच्ने, दाजु र बाबुहरूले गीत गाउँदै खैजडी बजाउने। त्यहाँ कुनै संकोच देखिँदैन थियो। कुनै किशोरीले कौरा वा 'सालै जो' गीतमा नाच्न जानेको छैन भने त्यो अपवाद हुन्थ्यो।
उनीहरू उपस्थित पाहुनाहरूलाई पनि यस्ता नाचमा सरिक गराउँथे। मलाई खैजडी बजाउन रहर लाग्थ्यो, उनीहरूको तालमा बजाउँथे। मलाई तानेर नाच्न लैजान्थे। नाच्ने ताल सजिलो हुने भएकाले नजान्नेलाई पनि गाह्रो हुँदैनथ्यो।
यस्तो नाच राति आठ बजेतिर सुरू भएर एक–दुई बजेसम्म चल्थ्यो। त्यति बेला थाहा हुन्थ्यो खोरिया खेतीको महत्त्व।
खोरियाबाट आएको मकैको जाँड बनाएका हुन्थे। सहभागी सबैलाई बटुकामा बाँड्थे, सबैले घटघटी पिउँथे।
अरूले सुन्दा अनौठो लाग्न सक्छ तर मगर संस्कृतिमा त्यसरी जाँड बनाउनु अन्नको सदुपयोग मानिँदो रहेछ। जाँडमा हलुका नशा हुन्छ। त्यही मकैले अन्य परिकारका रूपमा खाँदा जति शक्ति दिन्छ त्यो भन्दा चार गुणा बढी शक्ति त्यसको जाँडले दिन्छ भन्ने कुरामा उनीहरूको विश्वास थियो।
खोरिया खेतीमा जानेहरू पनि राति अबेरसम्मको त्यो नाचमा सहभागी भएका हुन्थे। मलाई अचम्म लाग्थ्यो, रातभरिजसो नाचेर भोलिपल्ट बिहानै खोरिया जाने शक्ति कहाँबाट आउँछ! सहरमा भए त्यसरी रात बिताउहरूले बिहान नौ–दस नबजी ओछ्यान छोड्दैन थिए।
यहाँ मैले जुन ठाउँको चर्चा गरेँ त्यहाँ अहिले मेरोसमेत प्रयास जोडिएर दलदलेबाट डेढगाउँ (तनहुँ जोड्ने ठाउँसम्म) मोटरको बाटो पुगेको छ। अहिले नेपालकै ठूलो फलाम खानीको चर्चा भएको ठाउँ पनि त्यही हो।
हाल धौवादी लगायत ठाउँका केही मगर बस्तीमा होमस्टे छन्। तुलनात्मक रूपमा खोरिया खेती पहिलेभन्दा कम भएको छ। तैपनि जनजीवनमा खासै ठूलो परिवर्तन छैन। यस्तो अवस्थामा पनि उनीहरू आफ्नो संस्कृतिमा रमाएकै छन्, खुसी देखिन्छन्।