गाउँ र ग्रामीण जीवनको कुराले हाम्रो दिमागमा कस्तो चित्र बनाउँछ होला! बाटोघाटोको असुविधा; हिले, धूले वा भिरपाखाको बाटो; गरिबी र अभावमा बाँचेको जीवन; अपायक स्कुल, कलेजको कुरै भएन। मधेसमा भए रिक्सा वा साइकलमा जान सकिने, पहाडमा भए हिँडेर जाने बाटो।
हामी नेपालीहरू यस्तै ग्रामीण जीवनमा अभ्यस्त छौं।
संसारका विकसित देशमध्येको बेलायतमा ग्रामीण जीवन कस्तो होला! नेपालीसँग मिल्दोजुल्दो कि नितान्त फरक!
नेपाली र बेलायती ग्रामीण जीवनमा केही समानता र केही भिन्नता देखिन्छन्। समानताको कुरा गरौं। पातलो वा छरिएको मानव बस्ती, उद्योग र कलकारखानाहरू नभएको, खेतीपाती र पशुपालनमा आधारित आर्थिक गतिविधि नेपाली र बेलायती ग्रामीण जीवनका समानताहरू हुन्।
यीबाहेक सबै भिन्नता।
लन्डनबाट १५१ माइल अर्थात् २४२ किलोमिटर दक्षिण–पश्चिम तटमा छ बेलायतको 'चार्ड सोमरसेट' गाउँ। मैले यहाँ पहिलोपटक एक हप्ता बिताएको थिएँ। दोस्रो र तेस्रोपटक गरी दुई हप्ता बिताएँ। त्यही समयको सम्झनाको विम्बमा यहाँ गाउँको चर्चा गर्दैछु। मलाई लाग्छ, बेलायतको स्कटल्यान्ड छाडेर अधिकांश गाउँहरू 'चार्ड सोमरसेट' जस्तै छन्।
बेलायत टापू देश हो, आन्ध्र महासागरले घेरिएर रहेको छ। अधिकांश युरोपेली देशझैं यहाँ पनि ठूला पहाडहरू नभएको भूमि छ। तीव्र धारले बग्ने नदीहरू छैनन्। हामीले भन्ने गरेका खोल्सा नै उनीहरूका नदी हुन्।
नागबेली आकारमा रहेका ससाना पहाडहरू छन् जसलाई उनीहरू 'रोलिङ हिल' भन्छन्। यस्तो सहज भूगोल भएकाले बेलायतमा सडक र रेलमार्ग निकै कम खर्चमा बन्छन्। यसै कारणले सडक र रेलको सञ्जाल जताततै पुगेको छ।
लन्डन र चार्ड सोमरसेट बीचको २४२ किलोमिटर दूरी पार गर्न दुई–अढाई घन्टा मात्रै लाग्छ। यहाँका बासिन्दाका लागि लन्डन वा यस्तै अर्को सहर पानी पँधेरो जस्तो छ। चार्ड सोमरसेट गाउँबाट करिब ४५ मिनेटको सडकयात्रामा पुगिन्छ टाउन्टन सहर। उनीहरू किनमेलका लागि लन्डन वा टाउन्टन जता गए पनि ठूलो फरक पर्दैन।
म जुन समयमा चार्ड सोमरसेट पुगेको थिएँ त्यो समय नेपालमा होम–स्टे प्रचलनमा थिएन। उता चाहिँ 'बेड एन्ड ब्रेकफास्ट' नाममा होम–स्टे चल्तीमा थियो। केही मापदण्ड पूरा गरेपछि घरमा 'बी एन्ड बी' (ब्रेन्ड एन्ड ब्रेकफस्ट) लेखेर राख्न पाइन्थ्यो।
घरमा बी एन्ड बी लेखेर अधबैंसे एक जोडीले पूर्ण पारिवारिक वातावरणमा होम–स्टे चलाएको रहेछ। खाने र बस्ने सुविधासँगै त्यहाँको ग्रामीण जीवन नजिकबाट नियाल्ने अवसर पनि थियो।
त्यो बस्तीमा घरहरूबीचको दूरी निकै देखिन्थ्यो, छिमेकीसँग भलाकुसारी गर्ने अवसर नहुने।
नेपाली मध्यम वर्गीय परिवारमा लगभग मान्छेपिच्छे मोटरसाइकल भएजस्तै त्यहाँ हरेक घरमा दुई–तीनवटा कार हुनु सामान्य थियो। घरहरू एकआपसमा जोड्ने दुई लेनको पिच बाटो, न खाल्डाखुल्डी न धुलोधुवाँ। ती सबै सडक ठूला राजमार्गमा जोडिएका।
यस्ता ग्रामीण सडकमा पनि ४० किलोमिटर प्रतिघन्टाको गतिमा गाडी चलाउन सकिने, राजमार्गमा त कम्तीमा पनि ७० माइलको गतिमा चलाउनुपर्ने। राजमार्गको पिच टाढाबाट हेर्दा खुइलिएको देखिने तर नौ इन्चसम्म बाक्लो पिच हुने भएकाले धेरै वर्ष पुरानो हुँदा पनि ज्युँका त्युँ।
हाम्रा अलिक राम्रा भट्टीजस्ता पसलहरू त्यहाँको सामाजिक जीवनका मुख्य अंग रहेछन्, सहरमा होस् कि गाउँमा। यसलाई पव भन्दा रहेछन्।
आफ्नो दैनिक काम सकेपछि साँझमा उनीहरू पबमा पस्नै पर्ने। पब भनेर मादक र अन्य पेय पदार्थ सेवन गर्ने ठाउँ मात्र नभई सामाजिकीकरणको ठाउँ पनि रहेछ।
मूलतः त्यहाँ रक्सीका विभिन्न प्रकार र बियरहरू पाइने रहेछ। मादक पदार्थ सेवन नगर्नेका पनि सफ्ट ड्रिंक भनिने पेय पाइने रहेछ। त्यस्ता पबहरूमा खानेकुरा बेचेको चाहिँ देखिएन।
मैले जीवनमा पहिलोपटक 'जिरो अल्कोहल' बियर त्यहीँ पिएको थिएँ। गाडी चलाउनु पर्नेले मादक पदार्थ सेवन गर्न नपाइने भएकाले सफ्ट ड्रिंक वा जिरो अल्कोहल बियर पिउँदा रहेछन्।
नेपालमा जस्तो कानै खाने गरी गीत बजाएको कतै सुनिएन। मलाई रोचक लागेको अर्को कुरा, पेय पदार्थ पाइने त्यस्तो पवमा केबल वयस्क पुरूषहरू जाँदा रहेछन्। परिवारका सबै सदस्य गएर रमाइलो गर्ने सुविधा भएका पब पनि हुँदा रहेछ।
त्यस्ता पबहरू काठको दलिन राखेर पुरानो शैलीमा बनाइका होचा घरहरूमा थिए। त्यो देखेर मलाई मान्छेलाई ठूला आधुनिक घर मात्र चाहिने होइन रहेछ भन्ने लाग्यो। पुराना शैलीका ती घर साजसज्जामा उत्कृष्ट देखिन्थे। परिवारै जाँदा बालबालिका र वयस्कहरू सँगै खेल्न मिल्ने खेल सामग्रीहरू थिए।
यस्ता पब आपसमा भेटघाट गर्ने र रमाउँदै रूचि अनुसारको ड्रिंक हातहातमा लिएर मस्त हुने ठाउँहरू रहेछन्। सहभागीहरूसँग कुरा गर्दा गाउँका अधिकांश मानिस नियमित वा कहिलेकाहीँ पवमा जान्छन् भन्ने थाहा भयो।
यस्तो पब नै उनीहरूको सामाजिक जीवन भएपछि आर्थिक जीवन कस्तो होला!
कृषि र पशुपालन उनीहरूको मुख्य पेसा थियो। कृषि भनेपछि त विभिन्न अन्न र तरकारीको खेती हुनुपर्ने तर त्यो गाउँमा गहुँको मात्र खेती थियो, त्यो पनि वर्षको एक बाली मात्रै लगाउने रहेछन्। त्यति ठूलो गाउँमा तरकारी खेती कतै देखिएन।
सबै जसो किसानहरू पारिवारिक स्तरमै खेती गर्दा रहेछन्। यसो गर्दा पनि एकै परिवारले सय हेक्टरसम्म जमिनमा खेती गरेको हुँदो रहेछ। जोत्ने, रोप्ने, थन्क्याउने सबै काम उपकरणबाटै हुने।
किसानले खती गर्नु भनेको उसले आधुनिक उपकरणहरू चलाउन जान्नु पनि हो रहेछ। सामान्य मर्मत सम्भार गर्ने सीप पनि हुँदो रहेछ। यसरी प्राविधिक सीपसहितका किसान र आधुनिक प्रविधिको खेती ग्रामीण जीवनमा उद्यमको रूपमा विकास भएको रहेछ।
यसमा अनौठो के थियो भने किसानलाई क्षमताअनुसार अधिकतम उत्पादन गर्ने मौका थिएन। उनीहरूका लागि उत्पादनको परिमाण तोकिँदो रहेछ।
यता हामीलाई उत्पादन बढाउन नसकेर चिन्ता छ, उता उनीहरूले उत्पादन घटाउनुपरेको छ।
मैले त्यहाँको एउटा गाई फार्म हेरेँ। एउटा ठूलो डाँडोमा एक जनाले करिब तीन सयवटा गाई पालेका थिए। उनीसँग अनेक किसिमका यन्त्रहरू थिए। ठूला यन्त्र त्यस्तै व्यवसायीहरूले संयुक्त रूपमा पनि किनेका हुँदा रहेछन्।
ती गाई हरियो घाँसले ढाकेको डाँडामा खुलै छाडिँदा रहेछन्, गोठमा पनि ल्याउन नपर्ने। सामान्य तारबारले घेरेर राखिएका थिए। ती किसानसँग एउटा सानो रेकर्डिङ यन्त्र पनि थियो।
उनले घुम्दाघुम्दै बेलाबेलामा यन्त्रमा रेकर्ड गरिएका केही आवाज सुनाए। आवाज गाईको थियो। समय समयमा गाईले निकाल्ने अनौठो आवाज रेकर्ड गरेको हो, बिरामी परेका बेला उपचारमा सहयोगी हुन्छ भन्थे।
यता नेपालमा सरकारले खरको छाना हटाउने अभियान चलाएको छ। चार्ड सोमरसेट गाउँमा खरले छाएका केही घरहरू पनि देखिन्थे। त्यस्तो घर हुनु सम्पन्नताको प्रतीक मानिँदो रहेछ।
यता खरको छानो भएको घरले विपन्नता देखाउँछ।
खरको छानो भएको घर जाडोमा न्यानो हुने र गर्मीमा शीतल हुने मानिँदो रहेछ। खरको छानो भएको घरको बीमामा महँगो प्रिमियम तिर्नुपर्दो रहेछ। सम्पन्नताको प्रतीक मानिनुको कारण पनि त्यही रहेछ।
लन्डनको तुलनामा त्यो गाउँ शान्त थियो, रमाइलो पनि। सहरका सबै सुविधा उपलब्ध थिए। आर्थिक–सामाजिक जीवन उच्च गुणस्तरीय थियो। ग्रामीण जीवन साँच्चै मनमोहक थियो।
त्यसरी पो गाउँ प्यारो हुँदो रहेछ!