कुनै ठाउँ वा क्षेत्र कति समृद्ध छ भन्ने कुरा त्यहाँको खाद्य संस्कृतिले प्रतिविम्बित गर्छ। महाराष्ट्र भन्ने बित्तिकै हाम्रो दिमागमा भारतको आर्थिक राजधानी मुम्बई झुल्किन्छ। त्यो भव्य सहर आसपासका वा अलिक परका गाउँबस्तीका बारेमा कसैले सोच्दैन। धेरैको दिमागमा सबैतिर यस्तै होला भन्ने लाग्छ।
मैले भ्रमण गरेको महाराष्ट्रको ग्रामीण क्षेत्र भने धेरै फरक छ।
भारतका विभिन्न प्रान्तका खानाका आआफ्ना विशेषता छन्। कतिपय प्रान्तका परिकार त संसारप्रसिद्ध छन्। पञ्जाबको तन्दुरी रोटी र चिकट टिक्का, हैदरावादको बिरयानी, मद्रास र दक्षिण भारतको इड्ली, डोसा, उत्तर भारतको थाली जस्ता अनगन्ती परिकार संसारभर फैलिएका छन्। विकसित पश्चिमा देशहरूमा पनि प्रसिद्ध छन्।
धेरै वर्षअघि म अमेरिकाको न्यूयोर्क जाँदा त्यहाँ भारतीय रेस्टुरेन्टमा काम एक जना नेपाली भेटिएका थिए। मैले उनीसँग कुरा गर्न खोजेँ। तर उनी हतारमा थिए। रेस्टुरेन्टमा कुनै रैथाने गोरा अमेरिकीको बिहेभोजका लागि भारतीय परिकार समोसा अर्डर भएको रहेछ। उनी त्यही समोसा बनाउन व्यस्त रहेछन्।
यसबाट भारतीय परिकारको व्यापकता थाहा पाउन सकिन्छ।
महाराष्ट्रको बम्बईया खाना भनेर पावभाजी, बडापाव, पुरनपोली र भाख्रीको धेरै चर्चा हुन्छ। चर्चाका अन्य परिकार पनि छन्। बडापाव र पावभाजी पाउरोटीका विभिन्न स्वरूपमा तरकारी राखेर बनाइने परिकार हुन्।
खासगरी पाउरोटी अंग्रेजको खाना हो। महाराष्ट्रको पाउरोटी त्यहीँ फल्ने बाजरा प्रजातिको गहुँबाट बन्छ। भाख्री पनि त्यहीँ फल्ने ज्वार, गहुँ वा चामलको पिठोबाट बनाइने सुख्खा रोटी हो। स्वादका हिसाबले यसमा खास विशेषता छैन। आममानिसले खाने परिकार हो।
खानाको यस्तो परिकार संस्कृतिले विगतको कुनै समय महाराष्ट्र समृद्ध ठाउँ थिएन भन्ने देखाउँछ। मुम्बईका रेस्टुरेन्टहरूमा पस्किइने ‘मराठी थाली’ धेरै पछि विकास भएको अनुमान गर्न सकिन्छ।
भ्रमणको सिलसिलामा हामी अधिकारमा आधारित विकास पद्धति के हुन सक्छ भन्ने जानकारी लिन मुम्बई सहरबाट ४० किलोमिटर टाढा महाराष्ट्रको दहिसर भन्ने ग्रामीण क्षेत्रमा पुगेका थियौं।
त्यहाँ हामीले बँधुवा मजदुरको मुक्तिका लागि भएका काम र ‘एन्टी स्लेभरी इन्टरनेसनल अवार्ड’ विजेता विवेक पण्डितले चलाएको बँधुवा मजदुरी विरूद्धको अभियानबारे जानकारी लिनु थियो। पण्डितकै ‘विधायक संसद’ भन्ने कार्यक्रम हेर्नु पनि हाम्रो उद्देश्य थियो।
हामी बाटोमा एउटा सानो लज र चियापसल समेत भएको घरमा रोकियौं। त्यहाँ एक नेपाली युवक भेटिए। ती युवकलाई देख्दा अचम्म लाग्यो। मुम्बईमा विभिन्न काममा नेपालीहरू भेटिनु सामान्य कुरा थियो तर ४० किलोमिटर परको ग्रामीण क्षेत्रमा भेट्दा अचम्म लाग्यो।
ती युवक नवलपरासीका रहेछन्, २५ वर्ष उमेरका। उनले दस कक्षा उत्तीर्ण गरेपछि १८ महिनाको कम्युनिटी हेल्थ असिस्टेन्ट (सिएमए) पढाइ पूरा गरेका रहेछन्। लामै समय प्रयास गर्दा पनि काम नपाएपछि एकजना आफन्तका साथ महाराष्ट्रको त्यो गाउँमा पुगेका रहेछन्।
चियापसलका मालिक पढेलेखेका जस्ता देखिन्थे। उनले ती कामदार नेपाली युवकलाई राम्रो गरेका रहेछन्। उनको शिक्षाकै प्रभाव हो कि व्यक्तिगत स्वभाव, कामदार युवकलाई परिवारकै सदस्यजस्तो मानेका रहेछन्।
हामीले ती नेपाली युवकको काम, परिश्रमिक र खर्चबारे सोध्यौं। खान र बस्नमा उनको खर्च नहुने रहेछ। आफ्नो व्यक्तिगत खर्च छुट्ट्याएर महिनाको सरदर चार हजार रुपैयाँ घर पठाउँदा रहेछन्।
त्यो ग्रामीण क्षेत्रमा जति भित्र पुग्यो उति उजाड र सुख्खा ठाउँ देखिन्थ्यो। कहिलेकाहीँ मुम्बई सहर वर्षाले जलमग्न भएको खबर सुनेका थियौं। यहाँबाट ४० किलोमिटर पर त्यति सुख्खाग्रस्त ठाउँ देख्दा प्रकृतिको लीला पनि अचम्मको हुँदोरहेछ भन्ने लाग्यो।
त्यस्तो ठाउँमा उब्जनी हुने बाजरा लगायतका अन्नले उनीहरूको खाद्य संस्कृति कसरी समृद्ध हुँदो हो र! सुख्खा ठाउँमा घना जंगल हुने कुरा भएन। संरक्षित जंगल पनि खासै घना थिएन।
वर्षाको पानी संकलन गर्न ठाउँठाउँमा ससाना पोखरी बनाइएका थिए। मैले अंग्रेजी शब्द ‘पर्कुलेसन’ त्यहीँ सुनेँ र अर्थ थाहा पाएँ।
वर्षाको पानी खुला पोखरीमा संकलन गर्दा लामो समय टिक्दैन थियो, सुख्खा जमिनले पानी सोस्ने नै भयो। त्यहाँका बासिन्दाहरू जमिनले सोसेको पानी तल्लो भागमा मूल भएर निस्किन्छ र त्यो पानीले सुख्खापन कम गर्न मद्दत गर्छ भन्थे।
अहिले हाम्रो देश नेपालको चुरे क्षेत्रको वन मासिँदैछ। कतै वन पातलो हुँदै गएको छ भने कतै सखापै भएको छ। खहरेहरूबाट अनियन्त्रित रूपमा गिटी-बालुवा दोहन गर्दा तराई क्षेत्रमा मरूभूमीकरण सुरू भएको भन्दै चिन्ता प्रकट हुन थालेको छ।
हामीले महाराष्ट्रको पर्कुलेसन विधि अवलम्बन गर्न आवश्यक भएको छ तर त्यसतर्फ कसैले पनि सोचको देखिँदैन।
दहिसरमा एउटा भव्य देवीमन्दिर रहेछ। म दलित समुदायको व्यक्ति भएकाले मन्दिरमा जाने आँट गर्दिनँ। मलाई कसैले नचिन्ने ठाउँमा पनि मन्दिरभित्र पस्न एक प्रकारको डर भइरहेको हुन्छ। कसैले फ्याट्ट तँ जान मिल्दैन भनेर रोक्ने पो हो कि भन्ने भइरहन्छ।
त्यहाँका मानिसहरू त्यो देवीमन्दिर छत्रपति शिवाजी नामका व्यक्तिले निर्माण गराएका हुन् भन्थे। ढुंगैढुंगाले बनेको त्यो मन्दिरमा हामी पुग्दा अत्यधिक भिड थियो।
हाम्रो टोलीका पाँच जना मन्दिरको प्रांगणमा उभिएका थियौं। हामीले नेपाली भाषा बोलेको सुनेर मन्दिरका एक सुरक्षा गार्ड हाम्रो नजिक आए अनि नेपाली भाषामै हाम्रो बारेमा सोधे। हामीले नेपालमा हाम्रो गाउँठाउँ र महाराष्ट्र आउनुको उद्देश्य बतायौं।
ती सुरक्षा गार्ड दैलेखका रहेछन्। उनले त्यहाँ काम गरेको धेरै वर्ष भएको रहेछ। उनका परिवारजन पनि धेरै पटक त्यहाँ पुगेका रहेछन्। ती व्यक्ति परियार थरका रहेछन्। मेरा अन्य सहकर्मीहरूलाई उनको बारेमा खासै उत्सुकता भएन तर मैले थप केही जान्न चाहेँ।
उनको गाउँबाट दलित समुदायका अन्य केही व्यक्ति पनि मन्दिरमा कार्यरत रहेछन्। उनले १५ जना सुरक्षा गार्डमध्ये पाँच जना नेपाली नै छौं भने। दलित समुदायका अन्य केही नेपालीहरू पनि आसपासका गाउँहरूमा रोजगार रहेको उनले बताए।
हामी लाइन लागेर देवीकोको दर्शन गर्ने मनसायमा थिएनौं। यो थाहा पाएर ती सुरक्षा गार्ड मन्दिरभित्र गए अनि एउटा टपरीमा मन्दिरको फूलपाती र अक्षता ल्याइदिए। त्यो भव्य र पुरानो देवीमन्दिरमा पशुबलि दिने चलन रहेनछ। दर्शनार्थीहरूले दिने नगद भेटी पारदर्शी बाकसमा खसाउने व्यवस्था रहेछ।
ती सुरक्षागार्डका अनुसार मन्दिरका ट्रस्टीहरूले हरेक महिना भेटीको बाकस खोलेर पैसाको हिसाब राख्दा रहेछन्। मन्दिरको मुख्य आम्दानी पनि भक्तजनहरूले चढाउने भेटी नै रहेछ।
नेपालका कुनै पनि हिन्दु मन्दिरमा दलित पुजारी त परको कुरा, दलित व्यक्ति सुरक्षा गार्ड हुने र तिनले मन्दिरबाट फूल–अक्षता ल्याएर कोही भक्तजनलाई दिने कल्पना पनि गर्न सकिन्नँ।
दहिसरको देवीमन्दिरका ती नेपाली सुरक्षा गार्डको कुरा सुनेर म दलित व्यक्तिलाई एक साथ अचम्म र खुसी उत्पन्न भयो।
दहिसर सुख्खा क्षेत्र भए पनि जमिनदारी प्रथा निकै बलियो रहेछ। त्यहाँका आदिवासी र दलितहरू सयौं वर्षदेखि बँधुवा मजदुरका रूपमा शोषित–पीडित रहेछन्। यही प्रथाविरूद्ध विवेक पण्डितको नेतृत्वमा ठूलो अहिंसात्मक आन्दोलन भएको रहेछ। त्यसकै परिणाममा हजारौं बँधुवा मजदुरले जमिनदारहरूबाट मुक्ति पाएका रहेछन्।
एक दिन केही बेर हामी करिब पाँच सय जना मुक्त बँधुवा मजदुरहरूको एउटा मोर्चामा सहभागी भयौं। त्यस दिन त्यो मोर्चाले स्थानीय प्रहरी अधिकृतलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो।
बँधुवा मजदुरी प्रथाविरूद्ध विवेक पण्डितले चलाएको अभियानका लागि उनले ‘एन्टी स्लेभरी इन्टरनेसनल अवार्ड’ प्राप्त गरेका रहेछन्। उनको सम्मानमा बेलायती संसदले बँधुवा मजदुरीको विषयमा एउटा विशेष प्रस्ताव पनि पारित गरेको रहेछ।
हामीले पनि नेपालमा उनै विवेक पण्डितलाई बोलाएर कमैया मुक्तिको जग बसाल्ने काम गरेका थियौं।
हाल दहिसर क्षेत्र सानो सहरमा विकास हुँदै गरेको थाहा भएको छ। भारतको तीव्र आर्थिक वृद्धिको प्रभाव त्यहाँ पनि परेको छ। ती हजारौं बँधुवा मजदुरहरू जमिनदारबाट मुक्त त भए अझै पनि उनीहरूको उचित पुनर्स्थापनाको चिन्ता भने यथावत् छ।
हिरा विश्वकर्माका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्