केही समयअघि मैले एक पुरानो साथीलाई ट्याम्पोमा यात्रा गरिरहेको देखेँ।
भेटघाटको क्रममा मैले भनेँ, 'मैले तिमीलाई देखेको थिएँ नि।'
उनी एक्कासि असहज भइन् र भनिन्, 'हो, त्यो दिन मेरो गाडी बिग्रिएको थियो, त्यसैले ट्याम्पो चढ्नुपरेको थियो।'
उनको आवाजमा आत्मसम्मान गुमाएको जस्तो भान भयो।
यो सामान्य कुरा जस्तो लाग्न सक्छ, तर यसले समाजमा रहेको गहिरो सोचको संकेत गर्छ।
ट्याम्पो चढ्नु उनको लागि हैसियतको विषय थियो, जसले उनलाई असहज बनायो।
सायद समाजले दिएको सोचले उनलाई प्रभावित गर्यो, जहाँ भौतिक सम्पन्नताले मात्र मान्छेको मूल्य निर्धारण गर्छ। यसैले ट्याम्पो वा सार्वजनिक यातायातको प्रयोग हैसियतसँग जोडिएको उनको समस्या मात्र थिएन, यो समाजमा देखिँदै गएको सोचाइको उपज थियो, जसले उनीजस्ता धेरैलाई प्रभावित बनाउँछ।
समाजमा भौतिक सम्पन्नता र सामाजिक धारणा बीचको सम्बन्ध निकै गहिरो छ।
हाम्रो समाजमा मानिसहरूको सफलताको मापन प्रायः उनीहरूको भौतिक सम्पत्तिको आधारमा गरिन्छ। घर, गाडी, जग्गा, महँगा लुगा, र विलासी जीवनशैलीजस्ता भौतिक उपलब्धिहरूले मानिसहरूलाई सामाजिक रूपमा सफल र सम्मानित देखाउने मान्यता रहेको छ।
समाजमा कसैको मूल्याङ्कन गर्दा प्रायः मानिसहरू उसले कति सम्पत्ति आर्जन गरेको छ, कस्तो जीवनशैली अपनाएको छ र बाहिरी रूपमा कति सम्पन्न देखिन्छ भन्ने कुरामा ध्यान दिन्छन्। यसको परिणामस्वरूप, मानिसहरूले आफ्नो जीवनको वास्तविक सन्तुष्टि, आत्मसम्मान र व्यक्तिगत खुसीलाई गौण मान्दै भौतिक सम्पन्नतालाई प्राथमिकता दिन थालेका छन्।
आजको समाजमा यस्तो मानसिकता गहिरो रूपमा जरा गाडेर बसेको छ। मानिसहरूले भौतिक सम्पत्तिलाई मात्र आधार बनाएर आफूलाई सफल वा असफल ठान्छन्।
भौतिक वस्तुहरूको अभावले मानिसहरूको आत्मविश्वास र सामाजिक स्थानलाई खस्काउने गर्छ। जस्तै: कसैले महँगो गाडी किन्यो भने समाजले उसलाई सफल ठान्छ, जबकि उसले कसरी त्यो गाडी किनेको छ भन्ने कुरामा ध्यान दिइँदैन। के उसले ऋण लिएको हो वा आफूलाई आर्थिक संकटमा पारेर त्यो गाडी किनेको हो भन्ने कुरा गौण मानिन्छ। मानिसहरूको मानसिकता भौतिक वस्तुहरूको स्वामित्वले उनीहरूको सामाजिक र व्यक्तिगत पहिचान निर्धारण गर्छ भन्ने भएको छ।
यसका परिणामस्वरूप, मानिसहरूले आफ्नो जीवनमा सन्तुष्टि र खुसी पाउनुभन्दा बाहिरी संसारमा सम्पन्न देखिन खोज्छन्। यसले उनीहरूको मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पारिरहेको छ।
लगातार अरूसँग तुलना गर्नु, सफल देखिनको लागि भौतिक सम्पत्ति जम्मा गर्नु, र बाहिरी दुनियाँमा मात्र आफूलाई साबित गर्न खोज्नुले मानिसहरूलाई दबाबमा राखिरहेको छ। यो प्रवृत्तिले मानिसहरूलाई आफ्नो वास्तविक खुसी र सन्तुष्टिबाट टाढा पुर्याइरहेको छ।
चाडपर्वको रौनकसँगै सम्पन्नताको दौडधुप पनि साथमा आउँछ। मानिसहरू चाडपर्वलाई रमाइलोको अवसर मात्र होइन, धनी देखिन प्रतिस्पर्धा गर्ने एउटा मञ्च बनाउँछन्। सबैभन्दा ठूलो चिन्ता भनेको अरूले के भन्छन् भन्ने हुन्छ। 'फलानो मान्छे त कति धनी छ,' भन्ने गफगाफ चल्न थाल्छ, कसले के खायो, के दियो, कस्तो गाडी चढ्यो भन्ने कुरा सबैको चासोको विषय बन्छ। चाडपर्वको समयमा नयाँ वस्त्र, गाडी, महँगा सामग्री किनेर आफ्नो सम्पन्नता देखाउन सबै लालायित देखिन्छन्। दसैंको समयमा मैले यस्तो दृश्य देखेँ जुन बाहिरी रूपमा रमाइलो देखिए पनि, भित्री रूपमा धेरै फरक थियो।
मानिसहरू आफ्नो वास्तविक आर्थिक अवस्था ख्याल नगरी, धनी देखिन समाजसँग प्रतिस्पर्धा गरिरहेका थिए। यो सम्पन्नताको दौडधुपले गर्दा उनीहरू मानसिक तनावको शिकार बन्दै थिए। चाडपर्व मनाउनकै लागि धेरैले ऋण लिइरहेका थिए, किनकि समाजमा प्रतिष्ठा कायम राख्न उनीहरू अत्यधिक खर्च गर्न बाध्य भइरहेका थिए। यस बाहिरी चमकधमकको चाडपर्वले मानिसहरूको ध्यान आन्तरिक खुसी र सन्तोषभन्दा बाहिरी मान्यता र समाजको दृष्टिकोणमा केन्द्रित बनाइदिएको थियो।
तर, म यो भन्न खोजेको होइन कि चाडपर्वमा कन्जुस्याइँ गर्नुपर्छ। निश्चय पनि, जसले सकेको छ, उसले विलासितामा रमाउन सक्छ। मेरो भनाइ सबैलाई एउटै कोटीमा राखेर दोष लगाउन होइन। मैले कतिपय अवस्थामा गरेको अनुसन्धानले देखाएको कुरा मात्र हो। जसले जस्तो मनाउन सक्छ, उसले त्यस्तै मनाओस्।
नेपालीमा एउटा भनाइ छ, 'घाँटी हेरेर हाड निल्नु,' जसको अर्थ आफ्नो हैसियतअनुसार चाडपर्व मनाउनु हो भने मानिसहरू सन्तुष्ट हुन्छन्। अरूले कसरी मनायो भन्नेमा ध्यान दिनुभन्दा आफ्नो जीवनशैली र आर्थिक अवस्थाअनुसार चाडपर्व मनाउँदा सन्तुष्टि र सद्भाव मिल्छ।
यो समस्या केबल व्यक्तिगत जीवनमा मात्र सीमित छैन, बरू विभिन्न क्षेत्रमा पनि यसलाई देख्न सकिन्छ। शिक्षाको क्षेत्रमा पनि यो धारणाले प्रभाव पारेको छ। शिक्षाको मूल्यांकन गर्दा, मानिसहरूले शिक्षण संस्थाको प्रतिष्ठा, शुल्क र सुविधाहरूलाई बढी महत्त्व दिन्छन्। उदाहरणका लागि, निजी विद्यालयहरूमा पढ्ने विद्यार्थीहरूलाई समाजले सफल हुने सम्भावना बढी देख्छ, जबकि सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई कम महत्त्व दिने सोचाइ छ। तर वास्तविकतामा, शिक्षा भनेको केवल भौतिक उपलब्धिहरूले निर्धारण गर्ने कुरा होइन। विद्यार्थीको ज्ञान, दक्षता, र मेहनतले उसको भविष्य निर्धारण गर्छ, न कि विद्यालयको शुल्क वा भौतिक सुविधा।
यो प्रवृत्ति स्वास्थ्य क्षेत्रमा पनि देख्न सकिन्छ। स्वास्थ्य सेवा लिनका लागि पनि मानिसहरूले महँगा निजी अस्पतालहरू रोज्छन्, र सस्तो वा सरकारी अस्पतालमा उपचार गराउनुलाई लाजमर्दो ठान्छन्। मानिसहरू स्वास्थ्य सेवा जस्तो महत्वपूर्ण कुरामा पनि भौतिक सम्पन्नताको आधारमा आफ्नो पहिचान बनाउने प्रयास गर्छन्। यस्ता उदाहरणहरूले समाजमा भौतिक सम्पन्नतालाई मात्र प्राथमिकता दिनु कति ठूलो समस्या बन्दै गएको छ भन्ने देखाउँछ।
यदि सबैले सार्वजनिक अस्पताल र विद्यालयहरूमा शिक्षा र उपचारको लागि जान थाले भने, ती संस्थाहरूमा सुधारको दबाब पर्नेछ।
यसले सरकारी शिक्षण संस्थाहरू र अस्पतालहरूको सेवा स्तरमा सुधार गर्न बाध्य पार्नेछ। अहिलेको धारणा भनेको सरकारी सेवाहरू प्रायः सन्तोषजनक छैन, तर यदि जनताले यसमा सक्रियता देखाए भने, यो धारणा र परिपाटीमा परिवर्तन आउन सक्छ।
सार्वजनिक क्षेत्रबाट उत्पन्न भएको दबाबले सेवाहरूको गुणस्तर र सुविधामा सुधार ल्याउने सम्भावना धेरै छ। तर, समस्या के हो भने, सरकारी सेवाहरूप्रति रहेको बेवास्ताले नै यो धारणा निर्माण गरेको छ कि यहाँको शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी छैन। यदि हामीले यो स्वीकारोत्तिलाई परिवर्तन गर्न सके, भने सार्वजनिक विद्यालय र अस्पतालहरूको गुणस्तरमा सुधार ल्याउन सकिन्छ। यसले निजी विद्यालय र अस्पतालहरूको मान्यतालाई पनि चुनौती दिनेछ, जसले गर्दा सम्पूर्ण क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव हुन्छ।
समाजमा फैलिएको यो सोचाइको जरो गहिरो छ। मानिसहरूले भौतिक सम्पन्नतालाई नै आफ्नो पहिचानको आधार बनाएर अरूसँग तुलना गर्छन्। यो प्रवृत्तिले मानिसहरूबीच असमानता र विभाजन सिर्जना गरिरहेको छ। कसैले महँगो लुगामा नयाँ गाडी चढिरहेको देख्दा, त्यो मानिसलाई सफल ठानिन्छ। तर, वास्तविकतामा, त्यो व्यक्ति आर्थिक संकटमा छ कि छैन, मानसिक रूपमा सन्तुलित छ कि छैन भन्ने कुरा गौण बनाइन्छ।
सामाजिक सञ्जालमा यो प्रवृत्तिले झनै बढी प्रभाव पारेको छ। फेसबुक, इन्स्टाग्रामजस्ता प्लेटफर्महरूले मानिसहरूलाई आफ्नो भौतिक सम्पन्नता देखाउन प्रेरित गर्छन्।
मानिसहरूले महँगा ठाउँमा खाएको, नयाँ गाडी किनेको, वा विदेश घुम्न गएको तस्बिरहरू सेयर गर्छन्। यसले अरू मानिसहरूलाई पनि त्यस्तै गर्न प्रेरित गर्छ, जसले गर्दा समाजमा प्रतिस्पर्धात्मक मानसिकता बढ्दै जान्छ।
सामाजिक सञ्जालले मानिसहरूको वास्तविक जीवनको सन्तुष्टि र खुसीलाई बिगार्दै लगेको छ। मानिसहरूले आफ्नो जीवनमा के कति खुसी छन् भन्ने कुरामा ध्यान दिनुभन्दा अरूसँग तुलना गरेर सम्पन्न देखिन खोजिरहेका छन्। उनीहरू सामाजिक सञ्जालमा अरूले सेयर गरेका तस्बिरहरू हेरेर आफ्नो जीवनसँग तुलना गर्छन् र निराश हुन्छन्। यसले मानसिक तनाव र आत्मसन्तुष्टिमा कमी ल्याउँछ।
परिवारभित्रको सम्बन्धमा पनि भौतिक सम्पन्नताको प्रभाव देखिन्छ। परिवारका सदस्यहरूबीच पनि भौतिक उपलब्धिहरूको आधारमा सम्बन्ध बनाउने र बिगार्ने प्रवृत्ति बढिरहेको छ। जस्तै, कोही छोराले महँगो घर किन्यो भने, उसको परिवारले उसलाई गर्वका साथ हेर्छ। तर, त्यो छोराको व्यक्तिगत खुसी, सन्तुष्टि, र सम्बन्धको अवस्थाबारे सोच्ने फुर्सद कसैलाई हुँदैन।
यो समस्या समाजमा निकै गहिरो बनेको छ। भौतिक सम्पन्नताले मानिसहरूको व्यक्तिगत मूल्य, खुसी, र आत्मसन्तुष्टिलाई ओझेलमा पारिरहेको छ।
मानिसहरूले आफूलाई अरूसँग तुलना गरेर सम्पन्न देखिन खोजिरहेका छन्। यसले गर्दा उनीहरू वास्तविक रूपमा कति खुसी छन् भन्ने कुराको मूल्यांकन गर्न असमर्थ भइरहेका छन्।
यस्तो प्रवृत्ति देखेर मैले सोच्न थालेँ कि मानिसहरूले आफ्नो जीवनलाई कसरी बिताइरहेका छन्। के भौतिक सम्पन्नताले मात्र मानिसको मूल्य निर्धारण गर्न सक्छ? के महँगो गाडी, ठूलो घर, र विलासी जीवनशैली नै मानिसको वास्तविक सफलताको मापन हुन सक्छ?
समाजले मानिसको मूल्याङ्कन गर्दा केवल बाहिरी रूपमा देखिने भौतिक सम्पन्नतालाई मात्र आधार बनाउनु हुँदैन। मानिसको आन्तरिक खुसी, आत्मसन्तुष्टि, र मानसिक स्वास्थ्यको पनि मूल्याङ्कन हुनुपर्छ। भौतिक सम्पन्नता जीवनको एक अंश मात्र हो, सम्पूर्णता होइन। जीवनको साँचो सफलताको मापन भनेको आत्मसन्तुष्टि, सम्बन्धको बल र समाजप्रतिको उत्तरदायित्वमा आधारित हुनुपर्छ।
मानिसहरूको जीवनमा वास्तविक खुसी र सन्तुष्टि भौतिक वस्तुहरूमा निर्भर गर्दैन। भौतिक सम्पन्नता जीवनलाई सहज र सुखद् बनाउन सक्छ, तर यो जीवनको वास्तविक ध्येय होइन। मानिसको जीवनको सार भनेको आत्मसन्तुष्टि, सम्बन्धको महत्व, र समाजप्रतिको उत्तरदायित्वमा निहित छ।
समाजले भौतिक सम्पन्नतालाई मात्र प्राथमिकता दिएर मानिसहरूको आन्तरिक खुसीलाई नजरअन्दाज गर्नु हुँदैन।
यसले मानिसहरूको मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र व्यक्तिगत सन्तुष्टिलाई ह्रास पारिरहेको छ। समाजलाई सन्तुलित रूपमा अगाडि बढ्नका लागि, हामीले भौतिक सम्पन्नतालाई जीवनको एक अंश मात्र ठान्नुपर्छ, सम्पूर्णता होइन।
आखिरमा, भौतिक सम्पन्नता जीवनको सुत्र होइन, यो केवल एक साधन हो। वास्तविक खुसी भनेको मनको शान्ति, सन्तोष, र सम्बन्धको बलमा निहित छ। हामीले भौतिक र आन्तरिक जीवनको बीचमा सन्तुलन खोज्नुपर्छ। समाजमा धनी र गरिबको भेदभाव कम गर्न, असमानताको विरूद्धमा खडा हुन, र जीवनको वास्तविक अर्थ खोज्नका लागि हामीले यथार्थपरक सोचको विकास गर्न आवश्यक छ। यदि हामी भौतिक सम्पन्नतालाई मात्र प्राथमिकता दिन्छौं भने, हामी साँचो खुसी र सफलताको अर्थ गुमाउने छौं।
समाजमा सकारात्मक परिवर्तन ल्याउन, हामीले एकअर्कालाई मूल्यांकन गर्ने तरिका परिवर्तन गर्नुपर्छ।
मानिसहरूको सफलताको मापन केवल भौतिक सम्पत्ति होइन, बरू उनीहरूको ज्ञान, कौशल, र जीवनका अनुभवहरूमा आधारित हुनुपर्छ। हामीले आन्तरिक खुसी र व्यक्तिगत सन्तुष्टिलाई महत्व दिनुपर्छ, जसले जीवनको वास्तविक अर्थलाई उजागर गर्छ।
हाम्रा विचार र सोचमा परिवर्तन ल्याउनु हाम्रो जिम्मेवारी हो। यो परिवर्तन व्यक्तिगत स्तरबाट सुरू हुनुपर्छ। हामीले भौतिक सम्पन्नतालाई मात्र सफलता मान्न छोड्नुपर्छ र त्यसको सट्टा साँचो खुसी, सम्बन्धको महत्व, र आन्तरिक शान्तिको मूल्यांकन गर्नुपर्छ। यसले गर्दा हाम्रो समाजमा सकारात्मक परिवर्तन आउन सक्छ र वास्तविक सफलताको परिभाषा बदल्न सकिन्छ।
वर्तमान समयमा, नयाँ पुस्तामा भौतिक सम्पन्नताको चाहना दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। यो प्रवृत्ति समाजको विकास र प्रगतिको एक संकेतको रूपमा देखिन्छ।
हामीले मेहनत गर्न र प्रगति गर्न प्रयास गर्नु आवश्यक छ, तर अरूसँग तुलना गरेर आफ्नो मूल्याङ्कन गर्नु सही होइन।
कुनै पनि व्यक्तिलाई केवल भौतिक सम्पन्नतामा आधारित भएर मूल्याङ्कन गर्नुले आवश्यक र महत्त्वपूर्ण तत्वहरूलाई बेवास्ता गर्न सक्छ।
भौतिक र आन्तरिक जीवनको बीचमा सन्तुलन कायम गरेर मात्र हामी सफल र खुसी जीवन व्यतित गर्न सक्छौं। यही हो साँचो सफलताको रहस्य।