बाल्यकालका मात्र होइन, किशोरावस्थाका धेरै घटनाहरू मेरो सम्झनामा रहने गरेका छन्। ती मध्येका आफन्त वा नातेदारहरूको बिहेमा जन्त गएका क्षणहरू पनि मानसपटलमा रहिरहेका छन्। २०४० सालअघि गाउँमा रहँदा म पटक-पटक गरी जम्मा छ पटक जन्त गएको सम्झना छ।
पहिलो जन्त प्युठानको हालको स्वर्गद्वारी नगरपालिका- ५ मा पर्ने उपल्लोसारीबाट तल्लोसारीमा साथीहरूसँग गएको थिएँ। बाजे नाता पर्ने उपल्लोसारीका भण्डारी थरका एक व्यक्तिको विवाह तल्लासारीबाट भएको थियो। उपल्लोसारीबाट जन्ती प्रस्थान गर्यो गन्तव्यतर्फ। दूरी खासै नभएकोले दिउँसो मात्र जन्ती प्रस्थान गरेको थियो।
दुलहीको घरमा आवश्यक पूजापाठ भइसकेको संकेत आँगनमा रहेका केराका थाम र बाँसको लिङ्गोले सजिएको यज्ञस्थलले दिएको थियो। जन्तीलाई स्वागत गर्दै स्वयम्बर लगायत विवाह प्रक्रियाका कामहरू भए, साँझ नपर्दै जन्तीहरू भोजन गर्न थाले। म पनि भोजन गर्नेहरूको समूहमा सहभागी त हुनै पर्यो।
भोजन गरेपश्चात् निद्रा लागेपछि ओछ्यानको खोजी गर्यौँ। गोठमा पराल बिछ्याइएको थियो। सबै जन्तीहरू त्यही पराले बिछ्यौनामा आराम गर्न थाले। दिउँसोको हिँडाइको थकानले गर्दा निद्रा लागेपछि पराले ओछ्यानमा निकट साथीहरूको समूह बनाएर लम्पसार पर्यौँ। दुलहीको घरमुनिबाट बगेको कुलोको कलकल आवाज पनि आइरहेको थियो। त्यो मीठो आवाजले पनि हामीलाई निद्रामा थप सघाउ पुर्याएको थियो।
हामी निदायौँ त्यो पराल बिछ्याइएको गोठमा।
अर्को दिन बिहान उज्यालो भएपछि कलकल अनि कञ्चन पानी बग्ने त्यही कुलोको पानीले हातमुख धोएर उभियौँ विवाह भइरहेको प्रांगणको डिलमा, जहाँ पण्डितबाट विवाहका लागि आवश्यक कामहरू भइरहेको थियो। दुलाहा मेरा काका नाता पर्ने नवराज सुवेदीका मामा हुनुहुन्छ। वहाँले पछिसम्म पनि कानमा मुन्द्रा लगाउने गरेको मलाई राम्ररी सम्झना छ।
पछि कुनै दिन दुलाहाको घरमा एक पटक सप्ताह लगाएको बेला हामीलाई टीका लगाएर दक्षिणाको रूपमा चाँदीका एक-एक रुपैयाँका सिक्का दिइएको थियो। त्यस बखत चाँदीको एक रुपैयाँको सिक्का दक्षिणा पाउनु ठुलो कुरा मानिन्थ्यो। सायद त्यति बेला मेरो जन्मथलो खुंग्री प्युठानबाट छुट्टिएर रोल्पामा समावेश भइसकेको जस्तो लाग्दैन। २०३२ सालअघि तत्कालीन हाम्रो गाउँ पञ्चायत प्युठानमा पर्दथ्यो। पिताजीले कसैसँग रकम लेनदेन गर्दा तमसुकमा ‘प्यू. खुंग्री धारापानी’ भनेर उल्लेख गर्नुभएको कुरा पनि सम्झना छ। तमसुकमा प्युठान शब्द पूरै लेख्ने चलन थिएन।
दोस्रो पटक जन्त गएको चाहिँ रोल्पाको नम्जाबासी ठुलीआमाको छोरा अर्थात् दाइ देवेन्द्र पोखरेलको विवाहमा हो। हामीहरू जन्त जानुपर्ने थियो सदरमुकाम लिबाङमा। दमाहा, ट्याम्कुली, सनाई, नरसिङ्गा र झ्याली बजाउँदै बाजा बजाउनेहरू अघिअघि लागे भने बिचमा घोडामा दाइ दुलाहाका रूपमा हुनुहुन्थ्यो। ठाउँ-ठाउँमा पारि-पारि गाउँ बस्तीका सबैले सुन्ने गरी बन्दुक पड्काएको कुरा पनि मलाई सम्झना छ।
पुरानो प्रविधिअनुसार बन्दुकको नालमा फलामको झिरजस्तो लामो मसिनो लट्ठीले बारुद कोच्दै, खाँद्दै र भर्दै गरेको पाइन्थ्यो। बन्दुकमा बारुद भर्ने यो तरिका सायद २०३३/३४ सालतिरको थियो, त्यसपछि पनि थियो होला कुनै बखतसम्म।
मंसिरको महिना थियो, उसै त जाडोको याम त्यसमाथि लिबाङ जस्तो चिसो ठाउँ र दिउँसो तीन नबज्दै घाम डुब्ने गरी बनेको भौगोलिक बनावट। त्यति बेला स्विटर र ज्याकेट कहाँ पाउनु? एकसरो कमिजको भरमा शिशिर याम गुजारिन्थ्यो। मुढासहितका दाउराहरूमा आगो बलिरहेकोले हामी आगोको छेउमा गएर बस्थ्यौँ। कहिले छाती भएकोतर्फ त कहिले पिठ्यूँ भएको तर्फको भाग तताएर ज्यानलाई न्यानो पार्थ्यौँ।
पानीको स्रोत प्रशस्त भएकै कारण लिबाङमा रोल्पाको सदरमुकाम कायम भएको थियो। त्यहाँ सदरमुकाम कायम गर्नेमा मेरा ससुरा खडानन्द सुवेदीको अहम् भूमिका थियो। वहाँले रोल्पामा धेरै विद्यालयहरूको स्थापना पनि गर्नुभएको थियो।
लिबाङमा सदरमुकाम कायम हुनुअघि २०३२ सालअगाडि आइपर्ने कामका लागि पिताजी लगायत अन्य गाउँका मानिसहरू प्युठानको सदरमुकाम खलंगामा जाने गर्नु हुन्थ्यो। हालको सदरमुकाम लिबाङ जाँदा जति उकालो धेरै छ खलंगामा त्यति उकालो छैन र लिबाङजस्तो चिसो पनि छैन।
२०३९ सालको एसएलसी परीक्षा दिन झिमरुक नदीको वारि बागदुला केन्द्रमा गएका थियौँ। त्यस सालको एसएलसीमा जन्मथलो खुंग्रीका लागि हामीले पहिलो इतिहास रचेका थियौँ। २०३९ सालअघि प्युठानको भिंग्रीस्थित अमर माध्यमिक विद्यालयमा पढ्न गएकाहरूमध्ये एसएलसी परीक्षामा उत्तीर्ण हुने खुंग्रीबासी विद्यार्थीको सङ्ख्या एक जना मात्रमा सीमित थियो।
२०३९ सालको एसएलसीमा चार जना खुंग्रेली परीक्षार्थी उत्तीर्ण भए। त्यस साल एसएलसी परीक्षामा देशको समग्र उत्तीर्ण प्रतिशत २५/२६ मात्र थियो भने हामीले अध्ययन गरेको अमर माध्यमिक विद्यालय, भिंग्री, प्युठानबाट ७५ प्रतिशत उत्तीर्ण भएका थियौँ। एसएलसी उत्तीर्ण भएपछि चारै जना सरकारी सेवामा संलग्न भयौँ। एक जना निजामती सेवा, एक जना संस्थान सेवा, एक जना प्रहरी सेवा र एक जना सैनिक सेवामा कार्यरत रह्यौँ।
पहिलो पटक इतिहास रचिएको भए तापनि गाउँवासीलाई ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भने झैँ थियो त्यो सफलता। त्यस सालसम्म एसएलसी परीक्षामा रोल्पा केन्द्रबाट भने फाट्टफुट्ट मात्र उत्तीर्ण हुन्थे। अहिले चारै जना सरकारी सेवाबाट अवकाश भइसक्यौँ भने एक जनाको निधन भइसकेको छ।
माध्यमिक तह पढ्नका लागि आउजाउ गर्न मात्र दैनिक पाँच घण्टा बिताउनुपर्दा पढाइ खासै अब्बल भने हुन सकेको थिएन। २०३९ सालको एसएलसी दिँदा प्युठानको वागदुला पुग्नुअघि टिकुरी भन्ने ठाउँ आउँछ। जहाँ हामी खुंग्रेली परीक्षार्थीहरूको संयुक्त डेरा थियो।
झिमरुक वारि बागदुला, टिकुरी, पुणीखोला, रातामाटा, टारी, बिजुवार र क्वाडी नामका स्थानहरूको सम्झना नआउने कुरै भएन। किनकि ती ठाउँहरू एसएलसी दिनुभन्दा छ महिनाअघि अंग्रेजी र गणितको ट्युसन पढ्ने क्रममा हिँडिरहन्थ्यौँ। झिमरुकपारि माथि डाँडामा खलंगा बजार देखिन्थ्यो। म अहिलेसम्म खलंगा बजार पुगेको छैन, एक पटक पुग्ने इच्छा चाहिँ छ।
तेस्रो पटक जन्त गएको ठाउँ हो प्युठानको तत्कालीन उदयपुर राज्यअन्तर्गत पर्ने धोबाघाट। कुनै बखत उदयपुर राज्यमा अधिकारी थरका ब्राह्मणले नै राज्य गर्दथे अर्थात् उदयपुरमा राजा अधिकारी नै हुन्थे। त्यहाँका अधिकारीलाई कार्की अधिकारी पनि भनिन्छ। छिमेकका दाइ नाता पर्ने वासुदेव सुवेदीको बिहे थियो। बिहेका लागि जन्ती प्रस्थान गर्यो रोल्पाको खुंग्रीदेखि प्युठानको उदयपुरस्थित धोबाघाटसम्म।
ठाउँको नाममा घाट भनिए पनि त्यहाँ डाँडामुनिको हल्का सम्म परेको बस्ती थियो, घाट जस्तो देखिँदैन थियो, न त नदी वा खोला नै थियो। त्यहाँ पनि जन्तीहरूका साथमा पराले ओछ्यानमै रात गुजार्ने काम भयो। बिहान दुलही घरबाट दुलही बोकेर ल्याउने क्रममा दुलही रोएको सुनेर जन्तीमध्ये कसैले ‘नरोऊ नरोऊ दुलै, सिन्की आँटो खाउली’ भनेको सुनिएको थियो। दुलाहा घर आउने क्रममा बिच-बिचमा दुलही बिसाइने गरिन्थ्यो र त्यसै बहानामा सबै जन्तीहरूले पनि आराम गर्न पाउँथे।
चौथो पटकको जन्त जाने काम भएको थियो २०३६ सालमा आफ्नै दाइको बिहेमा। जन्त जानका लागि खासै समय लाग्दैन थियो। गाउँ पञ्चायत एउटै थियो, वडा नम्बर ३ बाट ६ मा पुग्नु थियो। हाम्रो घरबाट बढीमा दुई घण्टा लाग्ने भए तापनि जन्तीहरूको रफ्तार कम हुने हुँदा दिउँसो प्रस्थान गरेको जन्ती साँझमा दुलही घर रोल्पाकै मैरी पुगेको थियो।
मैरीको नाम परिवर्तन गरेर पछि महेन्द्री राखियो, तैपनि मान्छेले मैरी भन्न छोडेका छैनन्। रातो माटो र असारे झरीले तुल्याएको चिप्लो बाटो थियो। मैले नयाँ चप्पल लगाएको थिएँ, त्यति बेला जुत्ता कहाँ पाउनु? बाटो हिँड्दा चप्पल हिलोमा गाडिने हुँदा हिलोबाट चप्पल झिक्न कठिन नै हुन्थ्यो।
दुलही घर पुगेपछि स्वयम्बरको कार्य सकियो र जन्ती भोजपछि सुत्नका लागि पराले ओछ्यान रहेको गोठमा गयौँ। जन्ती बस्नका लागि तयार भएको गोठका गाई भैँसीले एक रातका लागि अन्यत्र वा छिमेकका गोठहरूमा स्थान लिन्थे।
पाँचौँ जन्तको रूपमा प्युठानको नयाँगाउँमा गएका थियौँ। गाउँका बाजे नाता पर्ने बाबुराम सुवेदीको बिहेका लागि हामी लाग्यौँ रोल्पाको खुंग्रीबाट प्युठानको नयाँगाउँमा। स्वयम्बर गर्दा दुलाहाभन्दा दुलही अग्ली देखिएपछि दुलाहातर्फका जन्तीहरू खासखुस गर्न थाले र भन्न थाले- ‘दुलाहाभन्दा त दुलही अग्ली रहिछन्।’
खुंग्रीबाट नयाँगाउँ आउन र जान उकालो-ओरालो थिएन, बाटो तेर्सो-तेर्सो नै थियो। चतुर्भुजको छोटो उकालो मात्र थियो र छ पनि। मोटर बाटो घुमाउरो किसिमले बनेकोले पहिलेको तुलनामा त्यो उकालो खासै उकालो मानिँदैन। दुलही घरबाट जन्तीको बिदाइपश्चात् अलि वर पानी बगिरहेको एउटा खोला किनारमा रहेको चिउरीको बोटमुनि जन्ती भोज पकाइ खाइएको थियो।
छैटौँ जन्त आफ्नै बिहेमा २०४६ साल जेठ ११ गते रोल्पाको गजुल गइयो। आफ्नै बिहे भएकोले यस बारे उल्लेख गरिरहन आवश्यक छैन।
उहिले उहिले गाउँतिरका बिहेमा जन्त जान हिउँदमा कठिन थियो, जाडो सहनु पर्दथ्यो। हिँडुन्जेल ज्यानमा जाडो नभए तापनि दुलही घरमा बास बसेको बेला राती जाडो सहनुपर्थ्यो भने बिहान ‘कति बेला घाम आउला?’ भनिन्थ्यो। आँगन छेउमा बलेको मुढाका आगोले केही राहत मिल्थ्यो। त्यसैले जाडोको बिहे जन्तीका लागि सकस नै हुन्थ्यो।
अहिले गाउँ-गाउँमा पनि क्याटरिङ सेवा उपलब्ध छ। बिहेका लागि भोज तयार गर्न महिलाहरूले राहत पाएको देखिन्छ। हुन त गाउँघर वा छरछिमेकका मानिसहरू जम्मा भएर भोज बनाउँदा बेग्लै महत्त्व हुन्छ, जुन क्याटरिङबाट पाएको सुविधामा हुँदैन। रकमको जोहो गर्नुपर्छ क्याटरिङको सुविधा पाइन्छ।
क्याटरिङ सेवामा केहीले रोजगार पनि पाएका छन्, यो सकारात्मक कुरा हो। यो व्यवसाय सामाजिक कार्यका लागि नियमित नचल्ने हुँदा सेवा केही महँगो हुनु स्वाभाविकै हो। क्याटरिङ सेवाका कारण तामाका खड्कुँला र ठुला खालका गाग्रा भने कामविहीन भए।