घटना नं. १
समय साँझको ६: १५ बजे
स्थान: नयाँ बानेश्वर, एभरेष्ट होटल अगाडि
खचाखच भरिएका यात्रुसहित हुँइकिएका सार्वजनिक सवारी।
यात्रु उभिएको देख्यो कि भक्तपुरदेखि धुलिखेलसम्मका बसहरूको एउटै आवाज- ए! दिदी जाने हो?
आफ्नो गन्तव्य पुग्न हरेक दिन कम्तिमा दश मिनेट बस कुर्नुपर्छ। खचाखच भरिएको बस उसैगरी आउँछ- ए! दिदी जाने हो?
अर्को दश मिनेट कुर्नुभन्दा कोचिएर जानुको विकल्प छैन।
बस चढ्छु, हप्ताका ६ साँझमा दोहोरिएका दृष्टान्तहरूले भने मनै अमिलो बनाए।
सार्वजनिक बसमा अशक्त सिट, महिला सिट, ज्येष्ठ नागरिक सिट भनेर ठूला अक्षरमा सबैले बुझ्ने नेपाली भाषामै लेखिएको हुन्छन्। सिटमा कोही यात्रु नहुँदा जो बसेपनि भयो त्यसमा आपत्ति छैन तर उक्त सिटका दाबेदार व्यक्ति आइसकेपछि नैतिकताका हिसाबले सिट छोडिदिनुपर्ने हो कि होइन?
महिला सिट लेखेको ठाउँमा भर्खरका युवतीहरू बसेका हुन्छन्। जब बच्चा बोकेका आमाहरू बस चढ्छन्, या आफू भन्दा अलि पाको उमेरका महिलाहरू बस् चढ्छन् ती युवतीहरू एकाएक निदाउँछन्। एकदिनको घटना वा एक जना होइन, हरेक दिनको यात्रामा यस्ता दृष्टान्तहरू देखिन्छन्। जसरी पनि गन्तव्यमा जानुपरेको छ। खचाखच भरिएको बस भनेर नचढ्ने कुरा भएन, कन्डक्टर भाइ कराउँछ- ए महिला दिदी बहिनीहरू हो, बच्चाको आमालाई एउटा सिट छोडिदिनुहोस्...!
कन्डक्टर भाइले यति भन्नु नै आरक्षण सिटको लज्जा हो भन्दा फरक पर्दैन। कन्डक्टर भाइले भन्नु भन्दा पहिल्यै काखमा बच्चा बोकेको देखेपछि ती युवतीहरू उठ्नुपर्छ कि पर्दैन? अहँ उनीहरू उठेनन्, निदाएकाहरूलाई उठाउने कुरा पनि भएन। ज्येष्ठ नागरिकको सिटमा बसेका बुढा बा उठेर सिट छोडिदिए। ज्येष्ठ नागरिक सिट पछाडि उभिएर यो दृष्य हेर्दा आफैलाई धिक्कार लाग्यो।
सेतै कपाल फुलेका हजुर बा उठेर नातिनी उमेरकी बच्चा बोकेकी महिलालाई सिट छोडिदिए। ती महिला तपाई जस्तो बालाई उठाएर म कसरी बस्नु? बरू मेरो बच्चा समाइदिनुहोस म उभिन्छु भनिन्। ती बा ले मानेनन्, के गर्नु नानी? तिमीहरूको अधिकारले यही सिकाएको त होला नि? महिला सिटका नानीहरू भुसुक्कै निदाए, तिमी यो सानो बच्चा बोकेर कसरी उभिने? आफ्नै छोरी जस्तै ठानेर मैले सिट छोडिदिएँ, बस नानी।
ती हजुर बा उभिए, बच्चाकी आमाले सिट पाइन्। त्यसपछि महिला सिटमा बसेका युवतीहरू कानको एयरफोन मिलाउँदै ब्युँझिए। यो कस्तो संस्कार हो!
हामी त आफूभन्दा कमजोर, अशक्त, वृद्ध व्यक्तिलाई मानवताको हिसाबले आफ्नो सिट छोडिदिन्छौं। भोलि ती युवतीहरूको आमा बन्ने अवस्था आउँदैन र? महिलाले महिलाको व्यथा बुझदैनन् भने अरू कसले बुझ्छ? यो एकदिनको घटना होइन, प्राय सार्वजनिक सवारी साधनमा यात्रा गर्दा हरेक दिनजसो देखिन्छ। एक साताको अवधिमा हरेक दिनजसो यही दृष्य देखियो। बुढी आमाहरू उभिएको देख्दा, ल आमा यहाँ बस्नुहोस् भनेर पुरूषले सिट छोडिदिन्छन् तर तिनै पुरूषको छेऊमा बसेका महिलाहरू ती बुढी आमा देखेको नदेखै जस्तै गर्छन्।
कहिलेकाँही हातमा लठ्ठी समाएका शारीरिक अशक्तता भएका व्यक्तिहरू त्यही लठ्ठीको साहारामा उभिएको देखिन्छ तर अशक्तको सिटमा बसेकाहरू उठ्दैनन्।
हामीलाई आरक्षणले के सिकाएको छ? हामी कस्तो संस्कार अवलम्बन गरेका छौं? हाम्रो चेतना कुन स्तरको छ? एक हप्ता यही विषयमा अध्ययन नै गरेँ, हरेक स्टपमा यात्रुहरू चढ्दा अवस्था हेरेर पुरूषहरू नै महिलालाई सिट उपलब्ध गराएको देखेँ। गर्भवती महिलाको पीडा, काखमा बच्चा बोकेकी महिलाको पीडा, वृद्ध आमाको पीडा महिलाहरूले बुझ्न नसक्ने कस्तो आरक्षण? कस्तो महिला अधिकारको व्यवस्था गरेका रहेछौँ हामीले? यो भन्दा राम्रो संस्कार त केही महिना पहिले साना स्कुले भाइबहिनीले बनाएको सार्वजनिक बसको भिडियोको सन्देश धेरै राम्रो थियो।
घटना नं. २
कार्यालय प्रमुख वा शाखा प्रमुख महिला भएको ठाउँमा महिलाहरूको अधिकारको धेरै सम्मान भएको होला भन्ने लाग्छ। महिला प्रमुखको मातहतमा काम गर्दा कति सहज होला भन्ने अनुमान गर्छौं नि एकाध अपवाद बाहेक त्यो मित्था हो भन्दा फरक पर्दैन।
करिब दुई दर्जन कार्यालयमा कार्यरत महिला कर्मचारीको अनुभव पछि त्यो कुराको चुरो पत्ता लागेको हो।
हामी सामान्यतया पुरूषको हेपाहा प्रवृत्तिको शिकार भएको गुनासो गर्छौं। तर त्यो ठाउँमा महिला पुगेको हेरौं, अपवादलाई छोडेर, पुरूषको भन्दा चर्को दमन कथित महिला हाकिमहरूको हुने रहेछ भन्ने कुरा भुक्तभोगी महिला कर्मचारीहरूको अनुभवले देखाउँछ।
हरेक महिला कर्मचारी श्रीमती बनेका हुन्छन्, आमा बनेका हुन्छन्, बुहारी बनेका हुन्छन् र कर्मचारी बनेका हुन्छन्। कम्तिमा यी भूमिका निर्वाह गर्ने महिलाहरूलाई त आफ्नो जस्तै पीडा अरू महिला कर्मचारीहरूको पनि हुन्छ भन्ने किन हेक्का हुँदैन?
कि पदको कुर्सी त्यस्तै प्रकृतिको हुन्छ? हिजोसम्म गुनासो गर्ने महिला कर्मचारीहरू जब माथिल्लो दर्जाको कुर्सीमा पुग्छन् तब उनीहरूमा विगतको इतिहास हराउने रोग कसरी उत्पन्न हुन्छ एकाएक?
पद जे जस्तो होस, पद भन्दा अगाडि ती महिला आमा हुन्, श्रीमती हुन्, बुहारी पनि हुन् नि होइन र?
कुनै महिला कर्मचारीले बिदा माग गर्छिन्।
‘म्याम, मेरो बच्चा बिरामी भएछ आज चाँडै घर जानु पर्यो।’
साथीलाई कामको जिम्मा दिनुहोस्, भोलि आएर गर्दा हुन्छ जानुस्। बच्चाको ख्याल गर्नुस्... भनिन्थ्यो/ सायद यही शब्द बोलिदिएको भए, बिरामी बच्चाकी आमाको आधा तनाव समाप्त हुन्थ्यो होला। तर जबाफ के आयो?
यो काम आजै सक्नुपर्छ, आज तपाईंको बच्चा बिरामी हुन्छ? भोलि अर्कीको साशु बिरामी होला, पर्सी कसैको बुढा बिरामी होला, काम पहिले गर्नुस्। हामी पनि बच्चा हुर्काएरै काम गरेको हो बहिनी, सधैँ बच्चा, घर भनेर हुँदैन...।
यो जवाफले ती महिला जसका आफ्नो हाकिम महिला छन्, उनी पनि म जस्तै आमा हुन्, कसो मेरो मर्म नबुझ्ने त? कर्मचारीको मानसपटलमा कस्तो प्रभाव पार्यो होला?
काम त उनले गर्नैपर्यो, भोलिको कार्यसम्पादन मूल्यांकनको अंकको लागि पनि काम त गर्नैपर्यो। तर ती आमाको मन अफिसमा छ कि घरमा रहेको बिरामी बच्चामा? मनोविज्ञानले ठूलो असर पार्छ। कर्मचारीलाई उत्प्रेरणा दिन पैसा नै दिनुपर्दैन, पुरस्कारै दिनुपर्दैन, राम्रो बोली बचन गर्दा पनि कर्मचारी उत्साहित भएर काम गर्छन्। अहिले ती हाकिम महिला अवकाश भइसकिछन् तर उनको व्यवहारको गुणगान ती महिला कर्मचारीले गाइरहन्छिन्।
अलिकति सहज किन बन्न सक्दैनौं हामी? एकदिन कार्यालयमा २ घन्टा ढिलो आउने जानकारी गराउँदा पनि गाली खान पुगिन् सहायक स्तरको एकजना कर्मचारी।
उनका आफन्तको निधन भएको थियो, पशुपति आर्यघाटमा जानुपरेको जानकारी गराएकी थिइन्। जब उनले पशुपति आर्यघाटमा जाने बताएर कार्यालय ढिलो आउने जानकारी गराएसकेकी छिन्, बारम्बार अफिसबाट फोन गरिन्छ, फलानो फाइलको काम कहाँ सम्म पुरा भएको छ? हिजो म्यामले दिएको काम पुरा भएको छ कि छैन? बारम्बार फोन बजेको छ।
आफन्तको बियोगमा तड्पिएको बेलामा अफिसबाट बारम्बार टर्चर गर्दा मानसिकता कस्तो हुन्छ होला? म्यामलाई बिहानै जानकारी गराएकै थिएँ, त्यो दिन यति पीडा भयो कि भन्न पनि सक्दिनँ, एकदिन पिडा सुनाउँदै ती कर्मचारीले विगत सम्झिइन्।
‘कार्यालयमा आउँदा उल्टै म्याम आगो भएकी रहिछन् मसँग। तपाईंको आफन्त मरे भन्दैमा अफिसको काम रोक्न पाइन्छ? हिजो सबै काम सल्टाएर जानु पर्दैन? यो कस्तो प्रश्न हो? मेरो आफन्त आज मर्छन् भन्ने कुरा मलाई हिजै थाहा भएको भए? मेरा आफन्त नै आज मरे त म हिजो कसरी आजको काम सकाएर बसौं? मनमनै त कुरा आएको थियो नि तर के गर्नु? यी हाकिम्नीका कहिल्यै कोही मर्दैनन् जस्तो, के बोलेको होला? सुन्दा पनि दिक्क लाग्छ,’ ती महिला कर्मचारीले पीडा सुनाएकी थिइन्।
अझ समान तहका महिला कर्मचारीहरू एउटै शाखामा हुनुपर्छ, को भन्दा को कम? वाक युद्ध नै चल्छ भन्दा फरक पर्दैन।
एक जना पुरूष कर्मचारीले केही समयअघि सुनाएका थिए, ‘तपाईहरू महिला अधिकारको कुरा त खुब गर्नुहुन्छ, महिला-महिला मात्रै भएको कार्यालयमा प्रतिष्ठाको लडाइँ भएरै महिला सकिन्छन्।’
म पहिले जहाँ कार्यरत थिएँ, त्यहाँ लेखा र प्रशासनका समान तहका महिला कर्मचारीहरू थिए। को भन्दा को कम , उनीहरू दुवैमा पदको यति अहमता थियो कि त्यो विवादको कुरा व्यवस्थापन समक्ष पुग्यो। बाध्य भएर दुई जनाको अलग अलग शाखामा सरूवा भयो।
यो कुन खालको महिला अधिकार हो? भन्ने बेलामा ठूला कुरा गर्ने, व्यवहारमा यो कस्तो संस्कार? महिलाको लडाई फेरी पुरूषले मिलाइदिनुपर्ने? ७/८ घण्टा सँगै बस्ने कार्यालयमा त महिला महिला मिल्न सक्दैनन् भने वर्षौं सम्म बस्ने घरमा नन्द, आमाजु, भाउजु बुहारी, सासु बुहारी मिलेनन् भनेर के गुनासो गर्ने? ती पुरूषले सुनाएको कुरा आज पनि झलझली आइरहन्छ।
यी त प्रतिनिधि घटनाहरू हुन्, यस्ता घटनाहरू हरेक क्षण, हरेक स्थानमा हरेक तरहले घटिरहेका हुन्छन्। हामी महिलाहरू आफू कहिले सुध्रिने? कहिले सच्चिने? अधिकार खोजेर मात्रै हुँदैन, व्यहवारमा लागु गराउन पनि सक्नुपर्छ।