चिठीको जहाज चढेर साहित्य साधना
'रोम एक दिनमा बनेको होइन'। यो भनाइ मलाई बडो ऊर्जाशील लाग्छ। कुनै पनि व्यक्ति वा संरचना निर्माण हुनुभन्दा अगाडि कस्ता कस्ता चुनौती खेपेर, मेहनत र परिश्रमको कति धेरै घामपानी खाएर आएका हुन्छन् भन्ने कुरालाई यस कथनले पुष्टि गर्दछ।
यो प्रचलित भनाइले हामीलाई कुनै पनि काममा लगनशील भएर इमानदारीपूर्वक निरन्तर अगाडि बढ्न आह्वान गर्छ। यसको अर्थ हो महान् उपलब्धि रातारात प्राप्त हुँदैनन्। चुड्की बजारेर सफलता मिल्दैन। तथास्तुको आशीर्वादले सफलताको शिखर टेक्न सकिँदैन। मेहनत, परिश्रम, लगनको घट्टमा वर्षौं घोट्टिए पिना भएपछि बल्ल सफलता प्राप्त हुनेरहेछ, जसको स्वाद मीठो हुनेरहेछ। दिगो हुनेरहेछ। अनुकरणीय हुनेरहेछ।
सफलता, समृद्धि र सम्पन्नता जादूको छडीले प्राप्त हुने विषय कदापि होइन रहेछ। निरन्तरको प्रयास, लगन, मेहनत, योजना, अनुशासन र धीरताबाट निस्किने आनन्दको पीयूष पो रहेछ सफलता।
यसै सन्दर्भमा आज कुरा गर्दैछु। श्री गोविन्दराज भट्टराईले २०३१ सालदेखि २०५३ सालसम्म आफ्ना अग्रज दाजु डाक्टर तुलसी भट्टराईलाई लेखेका चिठीहरूको संग्रह गोविन्दराज भट्टराईका चिठी-पत्र।
चिठी लेख्ने क्रममा भट्टराई सर कहिले दमकको भूमिमा पुग्नुभएको छ त कहिले विराटनगर, काठमाडौं र कीर्तिपुरको उज्यालोलाई चपक्कै समातेर लेख्नु हुन्छ आफ्ना मनभित्रका छट्पटी, योजना, उत्साह, चिन्ता अनि खुसी।
डा. गोविन्दराज भट्टराई आफ्नो भूमिकामा लेख्नुहुन्छ, ‘यी सबै पारिवारिक पत्र हुन्। यी सबै दाजु तुलसी भट्टराईलाई बनारस पठाइएका चिठीहरू हुन् ... ।‘ तर मलाई चिठी पढेपछि यस्तो लाग्यो यी चिठीहरू पारिवारिक हुँदाहुँदै पनि सार्वजनिक छन्। व्यक्तिगतभन्दा पनि माथिका कुराहरू यहाँ छन्। निजी जीवनका समस्या, पीडा, वेदना, आकांक्षाहरू मात्र छैनन् यहाँ साहित्यको विराट सत्सङ्ग भएको आभास हुन्छ मंसिर २१, २०३७ को चिठीका पङ्तिहरू पढ्दै गर्दा, ‘समयको आँगनमा भुसको बिस्कुन बनी सुकिरहेछु। किन किन जीवन गतिहीन जस्तो मात्र नभई नितान्त निस्सार भइरहेछ। उपलब्धिका आकर्षणहरू कुन बोटमा फल्छन्, फुल्छन् भन्नै नसक्नु भएको छ। यो डिग्रीको सगरमाथामा टेक्नै लागें त्यहाँबाट स्वर्ग च्याउन सकिएला ठान्थेँ तर अर्कै काठमाडौं एउटा बजार शुष्क भूमिखण्ड शिवाय केही टल्किन छोड्यो। पाइएको र गुमाएकोबीच सफलता र विफलताबीच भविष्यको बीच निष्कृय यात्री बनी समय सागरमा सुतिरहेछु।
अति उच्च आकांक्षाहरूले पनि आफ्ना पदचापहरू जमिनमै राख्नुपर्ने रहेछ। आफैलाई विश्लेषण गर्न नसकिने यो निराकार वर्तमानदेखि पनि कहीँ मुक्ति देख्दिनँ। आफू सम्झन्छु आफ्नो कर्तव्य, दिशाहीन आफ्नाहरू र सबको कमजोर प्रयत्नदेखि विछट्टै एक्लोपनले ढाक्न खोज्छ। नसोचेको पारामा जीवन यन्त्र घिसारिरहेको छु। पत्रको यातायात हुँदै रहोस् भनी आशामै यहीँ कलम रोक्छु ... आज्ञाकारी भाइ गोविन्द (पृष्ठ ६६)
ईश्वर कति दयालु भविष्य हेर्न सकेको भए मानव जीवन कति निरस हुनेरहेछ। भविष्य ज्ञात भए जीवनको उकाली ओरालीहरूको आनन्द मान्छेले उठाउन सक्ने थिएन। भविष्य ज्ञात भएको भए बीस बाइस वर्षको ठिटोले जीवन संघर्षमा आकुलब्याकुल भएर आफ्ना दाजुलाई लेखेको यो भाव यसरी साहित्यको रस बोकेर आउँथ्यो होला त?
भट्टराई सरको सपनामय अतीतको अन्धकारमय यथार्थमा पनि साहित्यप्रतिको भावना कति उच्च छ। साहित्यको विषय कदापि निजी नहुँदो रहेछ। साहित्यको चर्चा हामी सबैको साझा विषय हो।
मानवीय संवेदना, चाहना आखिर सबैको एउटै नै हुनेरहेछ। एउटा लेख रचना छापिँदा हामीलाई जस्तो उत्साह छाउँछ आजभन्दा पचास वर्ष अगाडि गोविन्दराज भट्टराईको हृदयमा पनि उस्तै उत्साह उत्पन्न भएको छ।
हामीलाई पनि यस्तो लाग्छ हामीले लेखेको कथा, निबन्ध, उपन्यासका पाण्डुलिपी कसैले पढेर तिम्रो यो लेख राम्रो छ या यसमा यो यो पाटो कमजोर छ भनिदिए हुन्थ्यो लाग्छ। हिजो गोविन्दराज भट्टराईलाई पनि हामीलाई जस्तो लाग्दो रहेछ।
२०३१ चैत १ गतेको चिठीमा भट्टराई सर लेख्नुहुन्छ, ‘पिल्सिएको कामनालाई अझ बोक्रयाउँदै पनि सहृदयी जयज्यूको विशेष र अन्य सम्पूर्ण साथीको एकोहोरो प्रेरणार प्रोत्साहन पाएर केही सहयोगार्थ आश्वस्त समेत भएकोले मेरो सर्वप्रथम कृति मुगलान उपन्यास स्वयं प्रकाशनार्थ छापा गर्न दिएका छौँ। वैशाख १ गते भित्रै निकाल्ने र ७५ (तात्कालीन) रै जिल्लाका साथीलाई वितरण गर्ने योजना गरेका छौँ। हुन त योग्यता र स्तरहीन खोक्रो प्रचारले त के हुनुछ र! तथापि प्रयत्न उन्मुख मैले फैलिने अवसर पाएजतिकै प्रेरणा र सुझाव बटुल्न समेत पाउँला भन्ने आशाले थालिँदैछ ... (पृष्ठ११- १२)’
पहिलो कृति निक्लिन आँट्दा कस्तो उत्साह, छट्पटी हुन्छ भन्ने कुराबाट धन्न म पनि नजिक हुन पाएकी छु भर्खरै। आखिर हरेक मानवको संवेदना उही त हुनेरहेछ। मुगलान प्रकाशनका विषयमा स्रष्टाको हृदय, उत्साह, भय र आर्थिक अवस्थाका गाथालाई नजिकबाट बुझ्न र पढ्न त एकपटक प्रा.डा. गोविन्दराज भट्टराई सरका चिठीहरू त पढ्नै पर्छ।
लेखन पठनप्रतिको लगाव उत्साह, निरन्तरता, छट्पटी, चिन्तामा समय नपुग्दा कुँडिएको भट्टराई सरको मन आजका साहित्य सिर्जना गर्नेहरूले एकचोटि पढ्नै पर्छ। मनन गर्नुपर्ने छ। यस्तै यस्तै साहित्य सिर्जना, सम्पादन, प्रकाशनसँग सम्बन्धित महत्त्वपूर्ण कला यस चिठीमा पढ्न पाइन्छ। आजका शिखर पुरूषका हृदयमा पनि नवसर्जनहरूकै जस्तो संवेदना त्योबेला उठ्दो रहेछ।
यी तमाम चिठीको जहाज चढेर आखिर गोविन्दराज भट्टराईले साहित्यकै साधना गरेका छन्।
पठन, लेखन, प्रकाशनका विषयमा रमाएका छन्। आफ्नो मात्र उन्नतिको कामना छैन यहाँ। दाजुभाइ, दिदीबहिनी, छोराछोरी, बुहारी, भाउजू र श्रीमतीको प्रगति उन्नतिमा चिन्तनशील छन्। आज पनि साहित्यप्रति अनुराग राख्ने तमाम साहित्यानुरागीको भलोको चिन्तन गर्छन्। नवस्रष्टालाई मार्ग निर्देशन गर्न किञ्चित सङ्कोच मान्दैनन्।
सिद्धान्तनिष्ट वरिष्ठ साहित्यकार डा. गोविन्दराज भट्टराईको हिजो र आजको नैतिक सिद्धान्त, विचार र चिन्ता आज पर्यन्त उस्तै छ। डा. गोविन्दराज भट्टराईको सैद्धान्तिक धरातलमा हिजोदेखि आजलाई नियाल्ने हो भने कतै वैचारिक रूपमा विचलन आएको छैन। जीवनभर आफ्नो मूल्यमान्यता, विचार र सिद्धान्तमा अडिग रहनु आजको युगमा ठूलो विजय प्राप्त गर्नु सरह रहेछ।
चिठीहरू पढ्दै गर्दा गोविन्दराज भट्टराईले भोगेको समय, परिस्थिति र परिवेशलाई उबेलादेखि बुझ्न निकै सहज हुन्छ। अर्को महत्त्वपूर्ण कुरा आफ्नो वैचारिक धरातलमा पचासौं वर्षदेखि अडिग रहेको देख्दा बडो गर्व महसुस हुन्छ। यिनै चिठीको आधारमा गोविन्दराज भट्टराईलाई प्रा.डा गोविन्दराज भट्टराई बन्दै गरेको मेहनती समय पाठकले चिहाउन सक्छन्।
अनुशासित र संवेदनशील हृदयका स्रष्टा आफ्ना परिवारप्रति उतिकै कर्तव्यपरायण छन्। बाआमाप्रतिको माया, प्रेम र जिम्मेवारीदेखि लिएर भाइबहिनी र छोराछोरी पुस्ताप्रति पठन लेखनको महत्त्व बुझाउन पनि चुकेका छैनन्। साहित्य लेखन पठनप्रति पोखिएको हृदय यहाँ स्पष्ट रूपमा पढ्न सकिन्छ।
डाक्टर गोविन्दराज भट्टराई सतही रूपमा प्रकट भएका स्रष्टा कदापि होइनन्। संघर्षको कोलमा पेलिएर निस्किएका उदाहरणीय स्रष्टा हुन्। उनी वरिष्ठ समालोचक, अब्बल अनुवादक बन्दै जाने क्रममा उनले हिँडेका समयका डोबहरू कति मज्जाले चिठीको पर्दाबाट हेर्न सकिन्छ। गोविन्दराज भट्टराईका चिठी-पत्र नेपाली साहित्यमा केही गर्ने उत्कट वाञ्छा हुने साहित्य प्रेमीहरूका लागि एउटा गतिलो मार्ग हुनसक्छ।
हरेक मानवले आ-आफ्नो कर्मयुद्धमा महाभारतको युद्ध लड्नु पर्छ। संघर्षको मैदानमा कैयौं पटक भिड्नुपर्छ। अभाव, अप्ठ्यारा र अव्यवस्थाका अकल्पनीय चुनौतीहरूसँग पौँठेजोरी खेल्नुपर्छ। जीवनका अनेकौं सङ्ग्राम छिचोलेर बल्ल पुगिन्छ सफलताको देउरालीमा। हरेक सफल व्यक्तिले सफलताको सगरमाथा उक्लिने क्रममा हृदय र मस्तिष्कभरि धारण गर्नुपर्दोरहेछ विवेक, विश्वास र विनयको गाण्डिव।
हामी आज प्रविधिको युगमा छौं। पर्दामा देखिएका प्रसन्नताका कृत्रिम उपलब्धिमा लोभिन्छौं। हामीलाई सबै कुरा हाइब्रिड चाहिएको छ। रातारात सफल हुने मन्त्र खोज्दछौं। आज टिपेको आधा किलोको लौका भोलि पाँच किलोको हुने समयमा हामी छौं। हुने भए। मिल्ने भए सफलता पनि इन्जेक्ट गरेर छिनको छिन प्राप्त गर्ने थियौँ। अनि निमेषभरमा ख्याति कमाएर शिखरमा उभिने थियौँ।
हामीलाई संघर्ष, मेहनत र साधनाले खारिएका गोडा चाहिएकै छैन। हामीकहाँ सक्छौं धैर्यको सुमेरु बोक्न। हामीलाई बग्नु छैन सिद्धान्तको नाइलमा। चम्चाको पानी आचमन गरेर सफल हुनुछ। दीगो साधनामा रम्दैन मन। क्षणिक सफलतामा रमण गर्न रूचाउँछौं। तल्कालको प्राप्तिमा लोभिएर आफ्नै विवेक, विद्वता र सिद्धान्तको बली चढाउन पछि पर्दैनौं।
हामीलाई नीतिवान हुनु छैन केबल चाहिएको छ देखाउने बौद्धिकता। प्रसाधन भन्दा सस्तो हुँदैछ अचेल बौद्धिकता। अरूलाई देखाउन मात्र चाहिन्छ हामीलाई बौद्धिक सुन्दरता। आफै अनविज्ञ छौं आफ्नो वैचारिक सिद्धान्त के हो भनेर। अवसर अनुसार बदलिरहन्छ आफ्नै नैतिक धरातल। मिहिनेत, लगन र धीरताको पाठ सबैले भुल्दै गएको अवस्था छ। क्षणिक लोकप्रियतामा सबै फस्दै गएका छौं। मेहनत र लगनशीलतालाई उपेक्षा गर्दैछौं। त्यसैले हामी चाहन्छौं तल्कालको उपलब्धि। लगानी गर्ने बित्तिकै प्रतिफल।
हामीलाई जान्नु छैन, सफलता प्राप्त हुनु अघिका संघर्षमा कथा। अध्ययन गर्न सक्दैनौं सफल मान्छेका अनेकौं संघर्षका सूत्रहरू। शिखरमा पुगेका मान्छेले टाकुरामा पुग्नलाई नापेका अनगिन्ती लक्ष्य, उद्देश्य र चुनौतीका कथा र व्यथा। आजका सफल व्यक्तिले कुनै समय अभाव, अप्ठ्यारा र असजिलोका कैयौं डल्ला फोडेका थिए भन्ने हेक्का पनि नराखी प्वाक्क बोल्छौं। हामीलाई अरूको संघर्षको इतिहास पढ्नु छैन। हावाको भरमा कसैको व्यक्तित्वको निन्दा गर्नु छ। नकारात्मक सोचबाट ग्रसित भएपछि हामीलाई हेक्कासम्म रहँदैन। हामी देख्दैनौं सफल व्यक्तिका मेहनतको त्यो भीमकाय पहाड।
आज सफलताको शिखरमा पुगेका कोही पनि मानिस कुनै दिन अभाव र संघर्षमा पैंताला खियाएर आएका हुँदारहेछन्। सफलता प्राप्त गर्न महान् लक्ष्य, उद्देश्य र योजनालाई लौरो बनाएर निरन्तर हिँडिरहनु पर्दोरहेछ। नेल्सन मण्डेला, महाकवि लक्ष्मी प्रसाद देवकोटा,अब्राहम लिङ्कन या माहात्मा गान्धीले संघर्षका अनेकौं उकाली ओराली छिचोलेर हिँडेका हुनाले आज हामी उहाँहरूको उदाहरण सहजै दिनसक्दा रहेछौं। प्रत्येक मान्छेले आफ्नो आधार भूमि बिर्सनु हुँदैन रहेछ। यदि हामीले आफ्नो उद्गम बिर्सियौं भने सफलताको पनि कुनै अर्थ रहँदैन भन्ने लाग्यो।
यी चिठीहरू पढेपछि लाग्यो अहंकारको पोकोले हाम्रो सुन्दरतालाई बिरूप पार्दोरहेछ। अभ्यासको घोडा चढेर अनुशासनको लगाम कस्दै कर्तव्यको जङ्घार तर्ने मान्छे नै चुलीमा पुग्दो रहेछ। जसको ज्वलन्त उदाहरण हुन् प्रा.डा गोविन्दराज भट्टराई।
यसै पृष्ठभूमिमा म कुरा गर्दैछु डाक्टर गोविन्दराज भट्टराईको जीवन संघर्ष, साहित्य साधना, साहित्यप्रतिको मोह, आकर्षण, तपस्याले भरिएका खुल्ला चिठीपत्रहरू। व्यक्तिगत कुराकानीभन्दा माथि उठेर गोविन्दराज भट्टराई चिठीको माध्यमबाट अभिव्यक्त भएका छन्। डाक्टर भट्टराईको सोचको विराट दृश्य यी चिठीमा पढ्न सकिन्छ। साहित्यप्रतिको मोह। अभ्यास कुन हदसम्म थियो नाप्न सकिन्छ।
चिठीको युग सिर्जनाको युग थियो। साहित्यको माहोल थियो। संवेदनाको बहार थियो। चिठीको युग त्यस्तो युग थियो जहाँ आफ्ना मनमा उठेका भवनाहरूलाई अक्षरमा लिपिबद्ध गरिन्थ्यो। अक्षरको माध्यमबाट हृदयको द्वार खुल्थ्यो। प्रेमको राग छुट्थ्यो। आफ्ना आत्मीयजनहरूलाई चिठीपत्रमार्फत पीर, व्यथा, समस्या, योजना, खुसी अभिव्यक्त गरिन्थ्यो। मनमा तनाव र विषादले धुलो जमाउन सक्दैन थियो।
भनिन्छ समयलाई कसैले छेक्न सक्दैन। समय तीव्र गतिमा चलिरहन्छ। समय निरन्तर बगिरहन्छ। समय ईश्वर हो। समय गुरू हो। यो शाश्वत सत्यलाई म यतिखेर मान्न तयार छैन। समयभन्दा शक्तिशाली त साहित्य पो रहेछ। समयलाई सम्बोधन गर्दो रहेछ साहित्यले। समयलाई साहित्यले सुरक्षित राख्दो रहेछ। समयभन्दा माथि माथि कुद्दो रहेछ साहित्य। साहित्यको काँधी चढेर समय बोल्दो रहेछ। शब्दको सुरक्षित संसारमा समयलाई बन्दी बनाउन सकिने रहेछ।
डाक्टर गोविन्दराज भट्टराईले आजभन्दा पचास वर्ष अगाडि कस्तो सोच्दा रहेछन्?, कस्तो दैनिकी बिताउँदा रहेछन्?, पढाइ, जागिर, भविष्य, लेखनप्रति कस्तो योजना बुन्दा रहेछन्?, कस्तो रहेछ भट्टराई सरको साहित्यप्रतिको अटल प्यास भन्ने कुरा चिठीमा पोखिएको भावना त पढ्नै पर्छ।
चिठी पढेपछि लाग्छ कठिन समयको बर्को ओढ्दा पनि भट्टराई सर कति सकारात्मक सोच्दा रहेछन्। नियमितता र लगनशीलता कति आवश्यक रहेछ। एउटा व्यक्ति सफलताको सिँढी चढ्ने क्रममा कसरी योजनाबद्ध हुनुपर्ने रहेछ।
भट्टराई सरको योजनाबद्ध जीवन निर्माणमा समर्पित उत्साह, प्रेम, साधना कति आवश्यक रहेछ भन्ने कुरा पाठकले यी चिठीहरूमार्फत् नजिकबाट हेर्न सक्छन्। पाठकले त्यो समयमा पुगेर सजिलै पत्ता लगाउन सक्छन् भट्टराई सरको जीवन यात्रा।
मलाई चिठीहरू पढ्दा बडो आनन्द आयो कुनै व्यक्ति पचास वर्षसम्म एउटै सिद्धान्त र विचारमा अडिक रहन्छ भने त्यो व्यक्ति साँच्चै महान् हुन्छ। यहाँ त अवसरमा आफ्नो सिद्धान्त र नैतिकता धरौटी राख्ने जमातको कमी छैन। आजभन्दा पचास वर्ष अगाडि पनि आफ्ना, दाजुभाइ, भतिज, भाउजू, छोरी, बहिनी र श्रीमती सबैको उन्नतिको कामना गर्ने भट्टराई सर आज पनि अनुज पुस्ताहरूलाई अघि बढाउन कटिबद्ध छन्। साहित्य लेखनमा रूचि राख्ने नवपुस्तालाई आज पनि मार्ग निर्देशित गर्न उस्तै गरी तयार छन्।
भनिन्छ नेपालका रोडमा गाडी चलाएका ड्राइभरहरूले संसारको जुसुकै ठाउँमा सजिलै गाडी हाँक्न सक्छन्। किनकि चुनौतीले खारिएका मान्छे जहिले सफल हुन्छन्। मलाई त्यस्तै लाग्यो भट्टराई सरका चिठीहरू पढ्दा। प्रकृतिको नजिक बसेर। माटोमा टेकेर उभिएको मान्छे साँच्चै पिपल बन्ने रहेछ।
चिठीहरूमा भट्टराई सरको युवा हृदयमा उठेका विचार, कल्पना, योजना र भावनाहरू दाजुसमक्ष पुर्याउने कत्रो विश्वास र भरोसा दाजुभाइको। चिठी आफ्ना भावना अव्यक्त गर्ने सजिलो माध्यम हो। चिठी संस्थागत पनि हुन्छ। सूचना प्रवाह गर्ने किसिमको मात्र पनि हुन्छ।
चिठी साहित्य संसारभर निकै लोकप्रिय विधा हो। चिठी सूचना सम्प्रेषित गर्नको लागि मात्र होइन रहेछ भन्ने जान्न हामीले इतिहासमा चिठीले रचेको लोकप्रियतालाई मनन गर्नैपर्छ। केही चिठी वास्तवमै अब्बल साहित्य बन्न पुगेका छन्। अब्राहम लिङ्कनले आफ्ना छोराका शिक्षकलाई लेखेको विश्व प्रसिद्ध चिठीदेखि जवाहरलाल नेहरूले आफ्नी छोरी इन्दिरा गान्धीलाई लेखेको ऐतिहासिक चिठी। त्यस्तै गान्धीले हिटलरलाई लेखेको अमूल्य चिठी मेरो स्मरणमा आउँछन्।
यहाँ पनि भट्टराई सरले आफ्ना दाजुलाई आफ्नो मनको पोयो खोलेर लेखेको चिठीले साहित्य साधनाको उडान भरेको छ। आजका पुस्तालाई चिठीको संस्कृति छक्क लाग्न सक्छ। कसरी मान्छेले यति लामो लामो चिठी लेख्न सके होलान् लाग्नसक्छ। चिठी पठाउने प्रकृया सम्झिँदा पनि आजको पुस्ता तीनछक पर्न सक्छन्। त्यो धीरता अब खोइ? त्यो किसिमको लगनशीलता खोइ? अब कसले गर्ने त्यो चिठी आउने लामो प्रतीक्षा?
चिठी त साहित्य लेखनको गजबको चौतारी रहेछ। चिठीले समय बोल्दो रहेछ। संवेदना सम्प्रेषित गर्दोरहेछ। चिठीबाट इतिहास उद्घाटित हुँदोरहेछ। चिठी आदानप्रदान गर्ने, चिठी लेख्ने, पढ्ने रूचिले गहन साहित्य सिर्जना गर्दोरहेछ।
केही समय अगाडि डा. तुलसी भट्टराईले पनि चिठी साहित्य हाम्रो अगाडि ल्याएका छन्। आफ्नो विद्यार्थीकालदेखि पछि राजनीतिक, सामाजिक जीवनको अवधिमा झन्डै ५० वर्षमा भएका पत्राचारबाट छानिएका सङ्कलित चिठीपत्र प्रकाशनमा आएको छ। यो किसिमको सिर्जना अब समाप्त नै हुने अवस्थामा छ।
यसै सन्दर्भमा नागरिक दैनिकमा त्रिभुवनचन्द्र वाग्ले चिठी लेख्न आजका पुस्तालाई आह्वान गर्छन्, ‘प्रिय नानीबाबु तपाईंहरूले चिठी लेख्नुपर्छ , बा-आमा, दाजुभाइ, दिदीबहिनी, साथीलाई चिठी लेख्नाले तपाईंको सिर्जनशील लेखन राम्रो हुन्छ। कल्पना गरी र अभिव्यक्त गर्ने प्रभावकारी साधन हो चिठी लेखाइ ... चिठी सञ्चो, बिसञ्चो खबर दिन वा लिन मात्र लेखिँदैन। त्यसमा तपाईंका तर्क, विचार, आग्रह, अनुरोध, अनुभव, अनुभूति, अपेक्षा र अभिव्यक्ति हुन्छन् (२०७६-११-२४ नागरिक दैनिक) ।’
डाक्टर गोविन्दराज भट्टराईका यी चिठी पढ्दै गर्दा बारम्बार त्रिभुवनचन्द्र वाग्ले सरको यो लेख मस्तिष्कमा आइरह्यो। डा. गोविन्दराज भट्टराई सरको चिठीमा साहित्यको सुगन्ध चारैतिर भेटिन्छ।
पुस्तक छाप्ने कुरामा भट्टराई सर आज पनि भन्छन्, ‘साफी विस्तारै गरौँ। हतार नगरौँ। दश वटा लेख जम्मा भए एउटा पुस्तक निकाल्नु पर्छ। अन्तर्वार्तालाई पनि लिपीबद्ध गरौँ। भोलि ती अमूल्य सम्पत्ति हुन्छ। देखेको कुरा लेखौं। पढ्ने र लेख्ने बरोबरी हुनुपर्छ। लेखेको कुरा सम्पादन गरौँ पुनः पुनः । आज र हिजोमा स्रष्टाको धारणा एउटै छ।
‘...कालीबाबुलाई मुगलान दोस्रो संस्करणलाई दिएँ। २- ४ ठाउँमा भूमिका लिन्छु भन्नुहुन्थ्यो। मेरो पनि दिनु छ तपाईंलाई २-४ शब्द राखे पुग्यो। अर्को म छापिनँ, भनेको जबर्जस्ती जुन नामले छाप्ने गरी लानु भो। यी धरतीका स्पन्दनहरू, अहिले माल बनाएर राख्छु। कुरो मिलाउनुहोला धवनजी त्यसै भन्थे। तपाईंले तयार पार्नु भएको कथा सङ्ग्रह म पनि हेर्छु आजसम्म प्रकाशित पनि केही भए।विस्तारो गरौँ, अत्यन्तै विस्तारै। मैले थाहा पाएँ प्रसिद्धि हतारियो भने उड्ने रहेछ। प्रकाशकको कमी छैन, हाम्रो लक्ष्य त्यतै भएपछि हतार नगरौँ। सो कथा सङ्ग्रह ... (पृष्ठ २६) ।’
चिठीको ग्याजेट चढेर म त पचास वर्ष अगाडिको समयमा विचरण गरेँ। साँच्चै साहित्य नै टाइम मेसिन रहेछ।आजका युवापुस्ताले यी चिठीहरूलाई सन्दर्भ सामग्रीको रूपमा अध्ययन, मनन गरेर, आफ्ना मनमा उठेका विचारहरूलाई चिठीको खुला संसारमा अभिव्यक्त गर्न सके थेरापीकै काम गर्ने थियो।
साँच्चै भूत र भविष्यको यात्रा त साहित्यको मार्गबाट पनि सजिलै गर्न सकिँदो रहेछ। त्रेतायुगमा राम र लक्ष्मणको जोडी उदाहरणीय थियो। यो किसिमको मेलमिलाप अब कहाँ पाउनु दाजुभाइमा पनि। सबै थोक बिकाउ छ अब त। यो पवित्र प्रेम अद्भूत छ। यी दाजुभाइको भ्रातृत्व भाव बडो लोभलाग्दो छ।
धन्य ती दाजु जसले यति महत्त्वपूर्ण चिठीहरूको रक्षा गरिदिए। नमन छ ती भाइ जसले दाजुलाई सर्वोच्च ठानी र आफ्नो मनको पोयो खोले। आजका पुस्ताहरूलाई पनि विनम्र अनुरोध गर्छु आफ्ना साथीभाइ, दाजुभाइ, दिदीबहिनी, आमाबाहरूसँग आफ्ना मनका पोयो खोलौं र मन हल्का पारौं ...।