सत्तारूढ गठबन्धनले भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति गरेसँगै चितवनका बाँकी स्थानीय तहमा पनि तालमेलको तयारी सुरू भएको छ।
नेपाली कांग्रेसको जिल्ला समितिले केही दिनअघिसम्म भरतपुरको मेयर आफूले नपाउँदासम्म अरूमा तालमेलको छलफल सुरू हुनै नसक्ने अडान लिँदै आएको थियो। गठबन्धनमा भएको सहमति कार्यान्वयन गर्न पार्टीको केन्द्रले निर्देशन दिएपछि चितवनमा बुधबारदेखि तालमेलको छलफल सुरू भएको छ।
भरतपुरको मेयरमा उम्मेदवारी दिन नपाएको कांग्रेसमाथि उसले दाबी गरेका अन्य पालिकाका प्रमुख, उपप्रमुख पद पनि छाड्न दबाब परेको छ।
‘प्रारम्भिक छलफलमा अन्य चार दलले आफ्नो जनमत नै नभएको ठाउँमा प्रमुख पद दाबी गरेका छन्। ९० प्रतिशत भन्दा बढी वडाध्यक्षमा दाबी गरेका छन्,’ नेपाली कांग्रेस चितवनका एक पदाधिकारीले भने, ‘जताततै कांग्रेसलाई नै पेल्न खोजिएको छ। तै पनि केन्द्रको निर्देशन भएकाले छलफल गरिरहेका छौं।’
नेकपा एमालेले भने ६० प्रतिशत बढी वडाध्यक्षको उम्मेदवार सर्वसम्मत भइसकेको दाबी गरेको छ। जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले भरतपुरका २० वटा वडाका उम्मेदवारहरू सर्वसम्मत भएर घरदैलो अभियानमा लागिसकेको बताए।
‘अन्य स्थानीय तहहरूमा पनि प्रायः वडामा सर्वसम्मत भएको छ,’ उनले भने, ‘नभएकामा भोलिसम्ममा टुंग्याउँछौं।’
उनले भरतपुर र इच्छाकामना गाउँपालिकाका प्रमुख पदका उम्मेदवार सर्वसम्मत तय भइसकेको र बाँकी तहका उम्मेदवारको विषयमा शुक्रबारसम्ममा प्रदेश समितिले निर्णय गर्ने बताए।
‘हामीले प्रमुख/उपप्रमुखकामा सिफारिस भएका नाम पठाइसकेका छौं। प्रदेश समितिले शुक्रबारसम्म टुंग्याउँछ,’ उनले भने।
नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा भने उम्मेदवार टुंग्याउन सकस देखिएको छ। जिल्लाका ७ वटै स्थानीय तहमा तालमेलका लागि बुधबार दिनभर भरतपुरको एक रिसोर्टमा जिल्ला स्तरीय गठबन्धनको बैठक बसेको थियो।
‘दिनभरको छलफलबाट नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुख पदमा सहमति हुने अवस्था देखिएको छ। तर टुंगिसकेको छैन,’ जिल्ला स्तरीय गठबन्धनका सदस्य रहेका नेपाली कांग्रेसका जिल्ला सचिव ध्रुव पोखरेलले भने, ‘बिहीबार दिनभरमा सबै टुंग्याउने प्रयास गर्नेछौं।’
पोखरेलका अनुसार कांग्रेसले दाबी गरेका केही तहका प्रमुख/उपप्रमुखमा गठबन्धनका अन्य दलहरूले दाबी बढाएपछि सहमति हुन सकेको छैन।
नेपाली कांग्रेसले जिल्लाका ७ मध्ये कम्तीमा ४ स्थानीय तहको प्रमुख मागेको छ। कांग्रेसले रत्ननगर, खैरहनी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका छाड्न चाहेको छैन। माओवादीले माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा दाबी गरेको छ। गत निर्वाचनमा इच्छाकामना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुबै पद कांग्रेसले जितेको थियो।
राप्ती नगरपालिकाको प्रमुख भने नेकपा एकीकृत समाजवादीलाई दिन गठबन्धन सहमत भएको छ।
‘केही तहको मेयर र उपमेयरको विषय टुंगिएको छ तर हामीले दाबी गरेका तहमा अन्य दलले नछाडेका कारण सबै टुंगिन सकेन। बिहीबार वडाध्यक्षमा समेत तालमेल गरेर टुंग्याउछौं,’ पोखरेलले भने।
गठबन्धनका कारण बिच्किएका मतदाता फकाउँदै एमाले
नेकपा एमालेले विजय सुवेदीलाई भरतपुर महानगरपालिकाको उम्मेदवार बनाएको छ। भरतपुर नगर कमिटीको बैठकले उनलाई सर्वसम्मत रूपमा मेयरको उम्मेदवार बनाउने घोषणा गरेको एक साता बढी भइसक्यो।
घोषणालगत्तै सुवेदी घरदैलो अभियानमा व्यस्त भएका छन्। सँगै उनी विभिन्न क्षेत्रका विज्ञ, पेशागत संघ, संगठनका प्रमुखहरूसँग सुझाव लिएर आफ्नो घोषणापत्र तयार गर्दैछन्। उनले देश, विदेशमा रहेका भरतपुर बासीलाई घर फर्कने वातावरण बनाएर विकासमा सामेल गराउने लक्ष्य राखेका छन्।
भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको उम्मेदवार नहुँदा नेकपा एमालेले राहत महशुस गरेको छ। भरतपुर महानगरको क्षेत्र र चितवनको निर्वाचन क्षेत्र नम्बर ३ नेपाली कांग्रेसको पुरानो आधार क्षेत्र हो। यहाँबाट कांग्रेसको उम्मेदवार नहुँदा कांग्रेसका कार्यकर्ताहरूको मत तान्न सजिलो हुने एमालेलाई लागेको छ। एमालेका उम्मेदवारहरू गठबन्धनका कारण बिच्किएका नेपाली कांग्रेसका कार्यकर्तालाई खोजी–खोजी भोट मागिरहेका छन्।
‘वियजजी जिल्लाको तल्लो तहसम्मै भिजेको नेता हो। उहाँले अवसर पाउँदा पार्टीलाई मात्र नहेरी सबैका लागि काम गर्नुभएको छ। त्यसैले यसपालि गठबन्धनभित्रैको मत पनि पाएर उहाँले जित्नुहुन्छ भन्नेमा हामी छौं,’ नेकपा एमालेका पोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवालीले भने, ‘हामी एक ढिक्का भएर मतदातासमक्ष पुगेका छौं। यसको परिणाम राम्रो आउने विश्वास छ।’
नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले केही स्थानीय तहमा सत्तारूढ गठबन्धनमा रहेका बाहेकका दलहरूसँग सहकार्य गर्ने विषयमा छलफल जारी रहेको बताए।
‘केही तहमा तालमेल गर्न सकिने अवस्था कायमै छ। आवश्यकताअनुसार तालमेल हुनसक्छ, हामी छलफलमै छौं,’ न्यौपानेले भने, ‘सबैतिर एक्लै प्रतिष्पर्धा गर्ने तयारी पनि भइरहेको छ।’
भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको जनमत राम्रो छ। गत निर्वाचनमा भरतपुरमा राप्रपाका मेयर पदका उम्मेदवारले करिब ७ हजार मत ल्याएका थिए। माडीको मेयर पदमा राप्रपाको उम्मेदवारले माओवादी, एमाले र कांग्रेसका उम्मेदवारले भन्दा केही मात्रै कम भोट पाएका थिए। यी दुई स्थानीय तह राप्रपाका नेता विक्रम पाण्डेले २०७० सालमा जितेको निर्वाचन क्षेत्रमा पर्छन्।
भागबन्डाले माओवादी उत्साहित, कांग्रेसमा आक्रोश
भरतपुरको मेयर पद आफ्नो भागमा परेपछि नेकपा माओवादी केन्द्र उत्साहित छ। माओवादी केन्द्रले अहिलेकी मेयर रेनु दाहाललाई नै अबको मेयरको उम्मेदवार बनाउँदैछ। माओवादी केन्द्रले मेयर दाहालले पाँच वर्षे कार्यकालमा उल्लेख्य काम गरेको भन्दै उनले फेरि पनि चुनाव जित्ने दाबी गरेको छ।
‘पाँच वर्षसम्म भरतपुर महानगरपालिकामा भएको कामहरूका कारण पनि रेनु दाहाल हाम्रो पार्टीको स्वभाविक उम्मेदवार हो,’ पार्टीका जिल्ला संयोजक रामचन्द्र अधिकारीले भने, ‘उहाँले गरेका काम नै जितका आधार हुन्।’
दाहाल भरतपुरमा पहिलो पटक मेयरको उम्मेदवार बन्दा भन्दा निकै राम्रो जनमत माओवादी केन्द्रको भएको बताउँछिन्। उनले दोहोर्याएर मेयर पदको उम्मेदवार बन्ने रहर नभए पनि पार्टी, जनताले चाहेमा पुनः उठ्न तयार रहेको बताउँदै आएकी थिइन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त छोरी रेनु दाहालको ठूलो प्रसंशक हुन्। गत चैतमा भरतपुरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई ‘रेनुका बा’ भनेर चिन्न थालिएको बताएका थिए। उनले रेनु दाहालको कार्यकालमा भरतपुर महानगरपालिकाले गरेको विकासको विदेशीले पनि प्रशंसा गरेको बताउने गरेका छन्।
भरतपुर महानगरपालिकाको मेयर पद फुत्किएपछि नेपाली कांग्रेसका कार्यकर्ता भने पार्टीको नेतृत्वप्रति आक्रोशित छन्। पार्टीको जिम्मेवार नेताहरूले नै सामाजिक सञ्जालमार्फत नेतृत्वले गरेको निर्णयको चर्को विरोध गरिरहेका छन्। उनीहरूले पार्टीले निर्णय गरे पनि अबको निर्वाचनमा अरू निर्वाचन चिन्हमा भोट हाल्न नसकिने अभिव्यक्ति दिइरहेका छन्।
पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा र युवा नेता सुबोध श्रेष्ठले गठबन्धनका उम्मेदवारविरूद्ध बागी उठ्ने घोषणा गरेका छन्।
जिल्ला समिति भने पार्टीको निर्देशनअनुसार अन्य स्थानीय तहमा पनि तालमेल गर्न सक्रिय भएको छ। भरतपुर मेयर पदलाई प्रमुख सर्त बनाएको जिल्ला समितिले उक्त पद नपाउने निश्चित भएसँगै बढी वडाध्यक्ष पाउनु पर्ने दाबी बढाएको छ। यद्यपी यस विषयमा कुनै सहमति हुन सकेको छैन।
चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले निर्वाचनमा गठबन्धनका मेयर पदका उम्मेदवारका लागि भोट माग्न नसकिने अभिव्यक्ति दिएका छन्। केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरूङ र दिनेश कोइरालाले गठबन्धनका नाममा चितवनको कांग्रेसलाई कमजोर बनाउने गरी भएको सहमतिको समर्थन गर्न नसकिने बताएका छन्। उनीहरूले कांग्रेसका कार्यकर्तालाई फेरि पनि ‘हँसिया हथौडा’ मा भोट हाल भनेर आह्वान गर्न नसकिने बताए।
मेयर पदका लागि दबाब दिने कांग्रेस भरतपुरका वडा सभापतिहरूले महानगर र जिल्ला समितिलाई र जिल्ला समितिले केन्द्रीय समितिलाई दबाब दिँदै आएका थिए। वडा सभापतिहरूले त कांग्रेस बाहेकका मेयरलाई भोट दिन नसकिने र गठबन्धन गरिए सबै वडामा स्वतन्त्र उम्मेदवार खडा गर्ने निर्णय गरेका थिए।
भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति गर्नुअघि पार्टी सभापति शेरबहादुर देउवासँगको भेटमा जिल्ला सभापति राजेश्वर खनालले केन्द्रले निर्णय गरे पनि कार्यकर्तालाई सम्झाउन आफूले नसक्ने बताएका थिए।
‘सभापतिले मलाई बोलाएर भरतपुरमा माओवादीले नमान्ने भयो, मेयरमा अर्को पार्टीलाई मतदान गर्न नसक्ने निर्णय फिर्ता लिन र कार्यकर्तालाई सम्झाउन आग्रह गर्नुभएको थियो। मैले केन्द्रीय समितिले निर्णय गरेपछि मैले मान्नुपर्छ तर कार्यकर्तालाई सम्झाउन सकिँदैन भनें,’ भेटपछि खनालले सेतोपाटीसँग भनेका थिए।
जिल्ला सचिव ध्रुव पोखरेल केन्द्रीय समितिले गरेको निर्णय मान्न जिल्ला समिति बाध्य हुनेभएपनि निर्वाचन परिणाम केन्द्रले सोचेअनुसार आउने सम्भावना कम रहेको बताउँछन्।
अर्का जिल्ला सचिव सूर्य अर्याल लामो समयसम्म रूख चिन्हमा भोट हाल्न नपाउँदा कार्यकर्तामा ठूलो आक्रोश देखिएको बताउँछन्। चालिसको दशकमा जन्मिएका भरतपुरका युवा मतदाताले स्थानीय निर्वाचनमा रूख चिन्हमा मतदान गर्ने अवसर नै नपाएको र यसपटक पनि प्रमुख पदमा अर्को चिन्हमा भोट हाल्दा पार्टीलाई ठूलो घाटा हुने उनले बताए।
‘पार्टीको भविष्यका रूपमा रहेका युवाहरूले सधैं हँसिया हथौडामा भोट हाल्नुपर्ने अवस्था ल्याउनु हुँदैन। अघिल्लो पटक माओवादीलाई भोट हालियो यसपटक कांग्रेसलाई नै भोट हाल्ने व्यवस्था मिलाउनुपर्छ भनेर कार्यकर्ता तहबाट ठूलो दबाब छ,’ जिल्ला सचिव अर्यालले भने, ‘पार्टी नेतृत्वले यसलाई बुझ्छ भन्नेमै हामी थियौं।’
उनले आलोपालो प्रणाली गर्दा पनि यसपटक भरतपुरको मेयर कांग्रेसले र उपमेयर माओवादी केन्द्रले लिनुपर्नेमा त्यसो नगरिँदा कार्यकर्ता आक्रोशित भएको बताए।
‘गठबन्धनका नाममा सबैभन्दा बढी जनमत भएको दललाई पेल्न खोजिएपछि कसरी तालमेलले राम्रो नतिजा दिन सक्छ र,’ उनले भने, ‘हामी त पार्टीको निर्णय मानौला तल्लो तहका कार्यकर्ताले नमान्न सक्छन्।’
भरतपुर महानगरपालिकाबाट उपमेयरमा कांग्रेसका २४ जनाले चाहना देखाएका छन्। त्यो सूची जिल्लाले केन्द्रमा पठाइसकेको छ। वडाध्यक्ष टुंग्याउन पनि गठबन्धनमा सकस छ। जिल्ला स्तरीय गठबन्धनले वडाहरूको भागबन्डा गरेपछि बल्ल दलले उम्मेदवार टुंग्याउन सक्छन्। जिल्लाका सबै ९८ वडाले वडाध्यक्ष र सदस्यहरूको नाम जिल्लालाई पठाइसकेको छ। तालमेलमा अन्य दलको भागमा परेको वडामा कार्यकर्तालाई सम्झाउन कांग्रेसलाई सजिलो छैन।
भरतपुरका वडाहरूमा नेकपा एकीकृत समाजवादीले पनि सम्मानजनक हिस्सा खोजेको छ। उक्त पार्टीका नेता अरूणपीडित भण्डारीले तालमेल हुँदा आफूले जितेका वडा आफैंले राख्ने र एमालेले जितेका वडाहरू गठबन्धनले भागबन्डा गर्नुपर्ने माग रहेको बताए।
‘एक्लै जाँदा त सबै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाहरूमा हाम्रो उम्मेदवारी हुन्छ। भरतपुर महानगरपालिकाको मेयरमा म आफैं उठ्छु तर तालमेल हुँदा एमालेले जितेका वडा भागबन्डा गर्नुपर्छ भन्ने हाम्रो कुरा हो,’ उनले भने, ‘गठबन्धनको बैठकमा सबैले सकेसम्म धेरै भाग खोज्नु त स्वभाविकै हो।’
भरतपुरमा गत निर्वाचनमा नेकपा एमालेले १४ वटा वडामा वडाध्यक्ष जितेको थियो। ती मध्ये ५ वटा वडाका अध्यक्षहरू एकीकृत समाजवादीमा गएका थिए। उक्त पार्टीले ती पाँचसहित कम्तीमा ८ वडाध्यक्षमा दाबी गरेको छ। यसअघि भरतपुरमा वडा सदस्यसमेत नजितेको राष्ट्रिय जनमोर्चाले समेत सम्मानजनक हिस्सा मागेको गठबन्धनमा रहेका एक नेताले बताए।
स्थानीय तहको निर्वाचन आउन अब २३ दिन बाँकी छ। वैशाख १२ र १३ गते उम्मेदवारी दर्ताको लागि तोकिएको छ।