भरतपुर महानगरपालिकाको मेयर पदलाई नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएको थियो। सत्तारूढ गठबन्धनले देशभरका महानगर र उपमहानगरमा भागबन्डाको छलफल गरिरहँदा यहाँका नेताहरू भन्थे- भरतपुरको मेयर हामीले पाएपछि मात्रै अरूमा तालमेल अघि बढ्छ।
जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवारले मुख्य नारा नै अबका निर्वाचनमा रूख चिन्ह बाहेकमा मतदान गर्नु नपर्ने बनाएका थिए। त्यही नारा बोकेका नेता राजेश्वर खनाल जिल्ला सभापतिमा निर्वाचित भए। उनले भरतपुरको मेयर कांग्रेसले नपाउँदासम्म जिल्लामा अन्य तालमेल सुरू नै नहुने निर्णय जिल्ला समितिको बैठकबाटै गराए। निर्णय बोकेर शीर्ष नेताहरूको घर चहारे। नेताको फूर्ति देखेर वडा सभापतिले अरू पार्टीसँग गठबन्धन गरे विद्रोह गर्ने चेतावनी दिए। केहीले त स्वतन्त्र अभियान चलाउन पार्टी छाडेको घोषणासमेत गर्न भ्याए।
जब पार्टीको केन्द्रले भरतपुरको मेयर आफ्नो पार्टीलाई नभई माओवादी केन्द्रलाई दिने निर्णय गर्यो यहाँका जिल्ला समितिमा रहेका नेताहरूको घाँटीसुक्यो। उनीहरू अचेल ‘पार्टीले निर्णय गरेपछि मान्नैपर्यो’ भन्न थालेका छन्। जिल्लाका सबै स्थानीय तहमा तालमेल अघि बढाउँदै छन्।
शुक्रबार त जिल्ला सभापति राजेश्वर खनालले कार्यकर्तालाई गठबन्धनको विरोध नगर्न आग्रह नै गरे। सभापतिको आग्रह जिल्ला नेताहरूले त मान्लान्, कार्यकर्ता, मतदाताले के गर्लान् त्यो हेर्न मतपरिणाम नै कुर्नुपर्छ।
पार्टी केन्द्रको निर्णयले चितवनसँग जोडिएको मकवानपुरको कांग्रेस पनि असन्तुष्ट छ। यहाँको जिल्ला समितिका बहुमत पदाधिकारी र केही पूर्वसभापतिले हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णयमा पुनर्विचार नगरिए विद्रोह गर्ने चेतावनी दिएका छन्।
सेतोपाटीसँग कुरा गर्दै जिल्ला उपसभापति आनन्द कठायतले पार्टीले सांगठनिक अवस्था, मतभारलाई पूर्ण रूपमा बेवास्ता गर्दै मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरिएको बताए। उनले पार्टीले यो निर्णयमा पुनर्विचार नगरे मकवानपुरमा नेपाली कांग्रेस कमजोर बन्ने तर्क गरे।
‘अहिले गठबन्धनले जे निर्णय गरेको छ त्यसरी चुनावमा जाँदा गठबन्धनले जित्ने कुनै सम्भावना देखिँदैन। जनाधार नै नभएको पार्टीलाई टिकट दिँदा यसको असर परिणाममा पर्छ,’ उनले भने, ‘नेकपा एमालेलाई हराउने हो भने नेपाली कांग्रेसको उम्मेदवार नबनाई हुँदैन। पाँच दलको गठबन्धनले एउटा दलसँग चुनाव हार्नु त ठूलो बेइज्जत हुन्छ।’
नेपाली कांग्रेस मकवानपुरको राजनीतिमा पार्टीका सहमहामन्त्री डिना उपाध्याय र बागमती प्रदेशका सभापति ईन्द्र बानियाँको प्रभाव बढी देखिन्छ। उनीहरू दुबै पार्टीको संस्थापन समूहका हुन्। मकवानपुरका संस्थापनइतर नेताहरू केन्द्रमा प्रभाव भएका नेताहरू नै जिल्लामा कांग्रेस सिध्याउन लागिपरेको आरोप लगाउँछन्।
‘उहाँहरूलाई सोधेर नै केन्द्रले निर्णय गर्यो होला। हामीलाई त कसैले केही पनि सोधेन,’ एक जना जिल्ला नेताले सेतोपाटीसँग भने, ‘हामी पछि लागेर हिँडेका नेताहरूले नै पार्टी सिध्याउने निर्णयमा किन मञ्जुरी दिनुभयो बुझ्न सकिएको छैन।’
उनले संस्थापन बाहेकका नेता कार्यकर्तासँग ‘इगो’ राखेर यस्तो निर्णय गरिएको आरोप लगाए।
पार्टीको निर्णयमा असन्तुष्टि राखेर विरोधमा उत्रिएको समूहको विश्लेषण गठबन्धनले हेटौंडामा मात्रै नभएर समग्र जिल्लाभरमै कांग्रेसलाई घाटा पर्छ भन्ने छ।
‘यहाँका दस वटै तहमा मित्रवत् प्रतिष्पर्धामा गर्यौं भने हामीलाई धेरै फाइदा छ। यो कुरा हामीले सबैलाई भनेका पनि छौं तर गठबन्धन नै चाहिन्छ भनिएको छ,’ उपसभापति कठायतले भने, ‘यसले पार्टीलाई हानी गर्छ।’
उनले क्षमतावान् उम्मेदवारलाई नउठाई आफ्ना मान्छेलाई उठाइए नेपाली कांग्रेसले पाउने उपमेयर पनि गुम्ने खतरा रहेको दाबी गरे।
अघिल्लो निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एमालेले जितेको थियो। नेपाली कांग्रेसका उम्मेदवार एमालेका हरिबहादुर महतसँग ६ सय १५ मतले पराजित भएका थिए। त्यो चुनावमा ७ हजार मत बदर भएको थियो।
नेकपा एमालेबाट यसपालि पनि महत मेयर उम्मेदवार बन्ने चर्चा छ। उनीसँगै संविधान सभा सदस्य अनन्त पौडेल र गणेशकुमारी श्रेष्ठको नाम मेयरका लागि सिफारिस भएको छ। हेटौंडामा एमालेले राप्रपा नेपालसँग तालमेलको तयारी गरेको छ। केन्द्रीय निर्देशनअनुसार परिवार दलसँग पनि तालमेल गर्दैछ।
कांग्रेस उपसभापति कठायतले विपक्षी दल जुटेर, गठबन्धन फुटेर चुनावमा जाने अवस्था आएको भन्दै निर्णयमा पुनर्विचार गर्न दबाब दिइएको बताए।
पार्टीभित्रैबाट विरोध बढेपछि नेपाली कांग्रेस मकवानपुरले पार्टी नेता र कार्यकर्ताको भावनालाई रायका रूपमा लेखेर प्रदेश समितिमा पठाएको छ। जिल्ला सभापति बुद्ध लामाले केन्द्रीय गठबन्धनले मेयर अर्को पार्टीलाई दिने सहमति गरे पनि जिल्लामा नेता, कार्यकर्ताले विरोध गरेपछि उनीहरूको कुरालाई जस्ताको तस्तै रायका रूपमा प्रदेश समितिमा पठाइएको बताए।
‘प्रदेशले त्यसलाई केन्द्रमा पठाउँछ। त्यसलाई हेरर पुनर्विचार हुन पनि सक्छ। भएन भने पनि पार्टी केन्द्रको निर्णय उल्लंघन गर्न मिलेन,’ सभापति लामाले भने।
उनले साना पार्टी मिलेरै नेपाली कांग्रेसका सभापतिलाई देशको प्रधानमन्त्री बनाएकाले यहाँ सानो पार्टीलाई सहयोग गर्न सकिँदैन भन्नु गठबन्धनको भावनाअनुरूप नहुने बताए।
‘मेरो पनि मनमा त आफ्नै पार्टीका नेता मेयर भइदिए हुन्थ्यो भन्ने छ नि! तर मनको कुरा मनैमा छ, यो राजनीतिक कुरा हो। केन्द्रको निर्णयको पक्षमै रहनुपर्ने बाध्यता छ। उल्लंघन गर्न सकिँदैन,’ उनले सेतोपाटीसँग भने।
नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले विगतको निर्वाचनमा पाएको मतको आधारमा हेटौंडाको मेयरमा कांग्रेसले दाबी गर्नु स्वभाविक भए पनि गठबन्धनले गरेको निर्णय मान्ने विश्वास व्यक्त गरे। उक्त पार्टीले जिल्ला अध्यक्ष पोखरेललाई हेटौंडा उपमहानगरपालिकाको मेयर उठाउने तयारी गरेको छ।
उनले भने- गठबन्धन एक भएरै जान्छ। हाम्रो पनि दाबी थियो। तर समग्रमा मिलाउँदा यहाँ हाम्रोमा पर्यो।
नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक सर्केस घलानले हेटौंडामा आफ्नो पार्टीको पनि दाबी रहे पनि केन्द्रको निर्णयलाई मानेको बताए।
अन्य तहको भागबण्डा टुंग्याउँदै गठबन्धन
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जिल्लाका स्थानीय तहहरूमा प्रमुख, उपप्रमुखदेखि वडाध्यक्षसम्मको भागबन्डा टुंग्याउने प्रयास चलिरहेको बताए। उनले जिल्लास्तरीय गठबन्धनले शुक्रबार भित्रैमा सबै स्थानीय तहमा भागबन्डा टुंग्याउने बताए।
‘केही पालिकामा पार्टीहरूका आ-आफ्ना अडान छन् तर हामी अब टुंग्याउँछौं। यो पार्टीलाई यो पद दिने भन्ने मात्रै होइन, त्यो पार्टीको कुन व्यक्तिलाई दिने भनेर पनि टुंग्याउँछौं,’ उनले भने, ‘योग्य, चर्चित र जित्ने उम्मेदवार उठाउने गरी तयारी भइरहेको छ।’
नेकपा माओवादी केन्द्रका संयोजक सर्केस घलानले पनि वडा सदस्यसम्मै तालमेल गरेर जाँदा समय लागेको बताए।
‘जनचाहना, संगठन र माहोललाई हेरेर सबैले आ-आफ्नो दाबी गर्नुभएको छ। यो स्वभाविक र वैज्ञानिक पनि छ,’ उनले भने, ‘अब हामी सबैको सम्मान हुनेगरी भागबन्डालाई अन्तिम रूप दिन्छौं।’
उनल गठबन्धनभित्र देखिएका केही कमजोरीलाई विपक्षीले फाइदाको विषय बनाउन खोजेको भन्दै एक ढिक्का भएर चुनावमा जाने बताए।
‘हामीले विवेक पुर्याउनुपर्छ, गठबन्धनको जो आए पनि जिताउनुपर्छ,’ उनले भने, ‘नेताले कार्यकर्तालाई बुझाउनुपर्छ, बुझाउन सकिन्छ भन्नेमा म ढुक्क छु।’
एकीकृत समाजवादीका अध्यक्ष श्रीधर पोखरेलले आफ्नो पार्टीको दाबी नेकपा एमालेले पहिले जितेका तहमा रहेको बताए।
‘उपमहानगर केन्द्रले टुंग्याएपछि हाम्रो दाबी अब कैलास र इन्द्रसरोवर गाउँपालिकको प्रमुखमा छ,’ उनले भने, ‘सहमतिमै सबै टुंग्याउँछौं।’