सत्तारूढ गठबन्धनले भागबन्डा गरेर भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिएपछि भरतपुरका कांग्रेस नेता/कार्यकर्तामा देखिएको असन्तुष्टि मत्थर हुन सकेको छैन।
शुक्रबार बिहान जिल्ला सभापति राजेश्वर खनालले सबैलाई केन्द्रको निर्णय मान्न आग्रह गरेपछि असन्तुष्टि बिस्तारै मत्थर हुँदै जाने अपेक्षा गरिएको थियो। तर दिउँसो असन्तुष्टहरूले पार्टी कार्यालयमा भेला गरेका छन्।
कांग्रेस केन्द्रीय सदस्य रहेका टेकप्रसाद गुरूङ र दिनेश कोइराला, पूर्वसांसद जगन्नाथ पौडेल, भीमबहादुर श्रेष्ठ, पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा र जितनारायण श्रेष्ठलगायत सहभागी भेलाले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने निष्कर्ष निकाले छ।
पूर्वसांसद पौडेलले भोलिसम्ममा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लाग्ने सेतोपाटीलाई बताए।
‘कांग्रेसको जनमत राम्रो भएको चितवनमा माओवादीलाई भरतपुरको मेयर दिनु कांग्रेसका लागि घाटा हो। हामीले कांग्रेसलाई जोगाउन मेयरमा स्वतन्त्र उम्मेदवारी दिने निष्कर्ष निकालेका छौं,’ उनले भने।
भेलापछि उनीहरूले पार्टी जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा ताला लगाइदिएका छन्। भेलामा अधिकांश वडाका सभापति सहभागी भए पनि कांग्रेस जिल्ला समितिका पदाधिकारी भने थिएनन्।