भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ‘सुन्दर र समृद्ध भरतपुर’ शीर्षकमा २३ पृष्ठ लामो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।
प्रतिबद्धतापत्रमा महानगरका दस ठाउँमा आकासे पुल निर्माण गर्ने, भरतपुर विमानस्थललाई स्थानान्तरण गरी हाल विमानस्थल भएको स्थानलाई हरित क्षेत्र, उच्च प्रविधियुक्त व्यवसायिक क्षेत्र र खुला सहरी क्षेत्र (टुँडिखेल)का रूपमा उपयोग गर्नेदेखि भरतपुरमा सहरी रेल चलाउने, नारायणी नदीमा नयाँ सिग्नेचर पुल बनाउनेसम्म छन्।
प्रतिबद्धतापत्र सार्वजनिक गर्दै सुवेदीले बसपार्क चोक, हाकिमचोक, चौविस कोठी, वीरेन्द्र क्याम्पस आगाडि, सहिद चोक, पुल्चोक, पोखरा बसपार्क, बाइपास रोडको मालपोत चोक, नहर चोक, विशाल चोकलगायतका स्थानमा प्राथमिकता आधारमा क्रमशः आकासेपुल निर्माण गरिने बताए। महानगरले २०७४ मा पास गरेको पहिलो नीति तथा कार्यक्रममा पनि विभिन्न ठाउँमा आकाशे पुल निर्माण गर्ने भनेको थियो। तर पाँच वर्षमा एउटा पनि बन्न सकेन।
सुवेदीको प्रतिबद्धता भरतपुर विमानस्थललाई अहिलेको ठाउँबाट स्थानान्तरण गर्ने छ। अघिल्लो निर्वाचनअघि पनि सबै दलहरूको घोषणापत्रमा सहरको मध्यभागमा रहेको विमानस्थल स्थानान्तरण गर्ने उल्लेख थियो। तर पछि महानगरले उक्त विमानस्थललाई स्थानान्तरण नगरी यही ठाउँमा विस्तार गर्न नेपाली सेनाको व्यारेकलाई अन्यत्र सार्न प्रस्ताव गरेको थियो।
उनले भरतपुर–रामपुर–मेघौली तथा भरतपुर–गीतानगर–जगतपुर जस्ता महानगरका मुख्य रूटहरूमा ट्रली बस, ट्राम तथा सहरी रेल प्रणालीको सम्भाव्यता अध्ययन गर्ने र सम्भव देखिएमा क्रमिक रुपमा कार्यान्वयन गर्ने बताए। साथै स्थानीय तह, प्रदेश र संघको एकल तथा साझा अधिकारको सूचीको आधारमा समन्वय गरी भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरूसँग द्रुत रेल मार्ग, मेट्रो सेवा मार्फत जोड्न सकिने उनले बताए।
नारायणी नदीमा हालको पुलको विकल्पमा सिग्नेचर पुल निर्माण गर्ने र सम्भाव्यताको अध्ययनगरी नवलपुरसँग जोड्नेगरी थप पुलको व्यवस्था मिलाउन समन्वय गर्ने उनले बताए। महानगरले २०७४ सालमा पास गरेको पहिलो नीति तथा कार्यक्रममा पनि नारायणी नदीमा कम्तीमा तीनवटा पुल निर्माण गर्ने भनिएको थियो। तर यसको सुरुआत नै हुन सकेन।
सुवेदीले महानगरको २० वर्षे दीर्घकालीन गुरूयोजना निर्माण गरेर यसमा असर नगर्नेगरी पूर्वाधार निर्माणको काम अघि बढाउने बताए। ‘कुनै पनि काम गर्दा म सम्बन्धित विषयका विज्ञहरुसँगको परामर्शमा गर्नेछु,’ उनले भने, ‘महानगरका योजनाहरु तत्कालीन, मध्यकालीन र दीर्घकालीन हुनेछन्।’
उनले महानगरलाई व्यवस्थित सहर बनाउन विज्ञहरुसँग छलफल गरेर समग्र महानगरको सडक सञ्जाल योजना बनाउने, खानेपानी तथा ढल निकास योजना, वर्षाको पानी तथा बाढी निकासका लागि सञ्जालको योजना, प्रमुख नयाँ बजार केन्द्रलगायत हरेक वडामा स्थानीय बजार केन्द्र विकासको योजना, खुल्ला क्षेत्र र सार्वजनिक पार्क विकास, शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक सेवा सुधार तथा पर्यटन विकास तथा साँस्कृतिक संरक्षणका योजनाहरु तयार पार्ने बताए।
सुवेदीले मेयरको पाँच वर्षे कार्यकाललाई तीन भागमा विभाजन गरेको बताए। पहिलो एक वर्षमा विज्ञहरूको सहभागितामा महानगरको गुरूयोजना निर्माण गर्ने, देश, विदेशमा रहेका भरतपुरबासीको बायोडाटासहितको अभिलेख राख्ने, उनीहरूमध्ये गरिबीको रेखामूनि कति छन् त्यसको लगत संकलन गर्ने, भरतपुरलाई सफा र हरियाली बनाउने अभियान सुरू गर्ने लक्ष्य उनको छ।
त्यसपछिका तीन वर्ष गुरूयोजनाअनुरुपको योजनाबद्ध विकासका काम सुरू गर्ने लक्ष्य उनले राखेका छन्। यसका लागि महानगर बाहिर देश, विदेशमा रहेका यहाँका बासिन्दालाई भरतपुरको विकास अभियानमा आवद्ध हुन आह्वान गर्ने उनले बताए।
‘हामीसँग विदेशिएका जनशक्तिको लेखाजोखा छैन, उनीहरूलाई आफ्नै ठाउँमा पनि अवसर छ है भनेर सन्देश दिनुपर्नेछ,’ उनले भने, ‘आफ्नै ठाउँमा केही गर्ने वातावरण बनेको छ भन्ने सन्देश हामी सबैतिर पुर्याउँछौं।’
उनले युवाहरुका लागि सीपमूलक तालिम, रोजगारी दिएर विदेशिनबाट रोक्न स्थानीय तहको भूमिका बढाउनुपर्ने बताए।
‘सकेसम्म यहीँ बसेर केही गर्न प्रोत्साहन गर्ने, जान खोज्नेलाई दक्ष बनाएर पठाउने वातावरण बनाउनेछौं,’ उनले सेतोपाटीसँग भने।
जनप्रतिनिधिदेखि कर्मचारीहरु सेवक नभई अवरोधक बन्दा स्वदेशमै केही गरौं भन्ने सोच भएका युवाहरुलाई संस्था दर्ता गर्न, ऋण लिन समस्या भइरहेको र बाध्यताले विदेश पलायन हुने गरेको भन्दै उनले सेवालाई चुस्त र जनमूखि बनाउन भूमिका खेल्ने बताए।
‘अबको दिनमा मानवशक्तिको व्यवस्थापन बिना विकास सम्भव छैन, हामीलाई चुनेर पठाउने मानवशक्तिको व्यवस्थापनमा हामीले ध्यान दिनैपर्छ। भरतपुरका नागरिक कोही पनि मागेर खानुपर्ने अवस्था आउँदा यहाँको इज्जत हुँदैन,’ उनले भने, ‘गरिबीको रेखा मुनी रहेका जनताको लगत लिएर उनीहरुको हातमुख जोर्ने समस्या हल गर्छौं। यसका लागि प्रत्येक जनतालाई सम्बोधन गर्नेगरी व्यवस्थित गुरुयोजना बनाउनुपर्छ। हामी भरतपुरलाई अन्तराष्ट्रिय मापदण्डको सहर बनाउन सक्छौं।’
सबै जनताको लवाई, खवाई, डुलाई, जीवन यापनदेखि भौतिक पूर्वाधारसम्म महानगरको मापदण्डमै हुनेगरी विकास गर्नुपर्ने सुवेदी बताउँछन्। यसका लागि शिक्षा, स्वास्थ्य क्षेत्रको विकास गर्दै मानवीय संकारको विकासमा ध्यान दिइने उनले बताए।
महानगरको सबै क्षेत्रमा एकैसाथ ‘एकीकृत विकास’ गर्नेगरी योजना बनाइने उनले बताए। सुवेदीले नारायणी, राप्ती नदी, विभिन्न खोला, निकुञ्ज, तालतलैयालगायतका पर्यटकीय गन्तव्यहरुको सदुपयोग हुन नसकेको बताए। यी सबैको विकास र प्रचार गर्दै यहाँको समथर र उर्भर भूमिमा कृषिको विकासका लागि प्राथमिकतामा राख्ने बताए।
फोहोर व्यवस्थापनको समस्या भरतपुरको ठूलो समस्या बनिरहेको छ। सुवेदीले फोहोर व्यवस्थापनका लागि आफूसँग विशेष योजना रहेको सुनाए। ‘फोहोरलाई काम नलाग्ने बस्तुकोरुपमा बुझ्दा समस्या भइरहेको छ। तर जब यसलाई पैसामा बदल्न सकिन्छ भन्ने बुझिन्छ त्यसपछि समस्याको विषय रहँदैन,’ उनले भने, ‘म सँग फोहोरलाई मोहरमा रुपान्तरण गर्ने योजना छ।’ उनले निर्वाचित भएको एक वर्षभित्रमा महानगरलाई सफा सहर बनाउन सकिने दाबी गरे।
‘प्रदेश सांसदकोरुपमा मैले भरतपुर एक बगैंचा कार्यक्रम ल्याएँ। महानगरसँग मिलेर सार्वजनिक र व्यक्तिका खाली जमिनमा फलफूलका बिरुवा रोप्ने अभियान चलाएँ तर स्थानीय तहको महत्वपूर्ण सहयोग नहुँदासम्म प्रदेशको योजनाले मुर्तरुप नदिँदो रहेछ,’ उनले भने, ‘यो योजनालाई सम्पन्न गर्न पनि म मेयर नै बन्नुपर्ने भयो।’ उनले सडकको दुबै छेउमा फलफूलका बिरुवा रोप्ने र खाली जमिनमा पनि वृक्षारोपण गर्ने अभियानले एक दिन महानगरमा हरियाली छाउने बताए।
उद्योग, व्यवसायको विकास र संरक्षण गरेर महानगरको आर्थिक विकास गर्ने लक्ष्य उनको छ। उनले संघीय र प्रदेशको बजेटलाई महानगरमा छर्न नदिने बताए। ‘प्रदेशले मनलाग्दी बजेट छरेर राज्यको पैसा हिनामिना गर्ने काम गरेको छ। महानगरको वडामा प्रदेशले ५–७ लाखको बजेट छर्ने होइन, पैसा भए प्रदेशले स्थानीय तहलाई दिने र एकमुस्ट विकास गर्ने प्रणाली स्थापित गनुपर्छ,’ उनले भने, ‘म कम्तिमा पनि भरतपुरमा अहिले जसरी राज्यको पैसा हिनामिना गर्न दिन्नँ।’ प्रदेश र संघले गौरबका योजना ल्याउनुपर्छ, बजेट छर्ने साना योजना होइन भन्नेमा सुवेदी छन्।
कार्यकालको अन्तिम वर्ष काम हेर्ने वर्षकारुपमा रहने सुवेदीले बताए। ‘अन्तिम वर्ष हामीले गरेका काम हेर्ने वर्ष हो। हामीले विकास र परिवर्तन गरेको महानगर कस्तो भयो संसारलाई देखाउने छौं,’ उनले भने, ‘म आफ्नो प्रतिबद्धतामा खरोरुपमा उत्रनेछु। यो एक कार्यकाल नै मेरो लागि पर्याप्त हुन्छ काम देखाउन।’
उनले विकास र परिवर्तनका लागि आफूले जनतासामू राखेका प्रतिबद्धता पुरा गर्न यस पटक वारपारको लडाईमा उत्रने बताए।
‘मैले जनताको काम गर्ने ठूलो अवसर पाएको छु। यो अवसरलाई म यसै खेर फाल्दिनँ,’ उनले भने, ‘म यसपाली वारपारको लडाई लड्दैछु।’ यो लडाईंका लागि देश, विदेशमा रहेका विषय विज्ञहरुको सहयोग लिने उनले बताए। ‘म महानगरपालिकामा रहुञ्जेल मेरो वरीपरी विज्ञहरुको समूह रहनेछ। उहाँहरुसँगको सल्लाहमा योजनाबद्ध र दीर्घकालीन विकासमा म लाग्नेछु।’
सुवेदीले अहिलेको नेतृत्वलाई पनि विभिन्न सुझावहरु दिने, विज्ञहरु ल्याएर जोडिदिनेलगायतका सहयोग गर्दै आएपनि बाँकी काम गर्न आफैं आउनुपरेको बताए।
सुवेदीको योजनामा नवलपुर र मकवानपुरका केही स्थानीय तहलाई पनि समेटेर भरतपुर महानगरले वृहत सहरी विकासको नेतृत्व गर्ने पनि छ। उनले पश्चिमा सभ्यताको भौतिक विकास र पूर्वीय सभ्यताको मानवीयतालाई जोडेर भरतपुर क्षेत्रलाई संसारकै नमूना बनाउन सकिने योजना सुनाए।
‘राजनीतिक क्रान्ति पुरा भइसकेकाले अब आर्थिक क्रान्तिको सुरूआत भरतपुरबाट गर्न नागरिक समाजको सहयोग चाहिएको छ,’ उनले भने।
मेयरको उम्मेदवार बन्न सुवेदीले प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिएका छन्।