नेकपा एमालेले भरतपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्ने अन्तिम तयारी गरिरहेको छ। भरतपुर महानगरपालिकाको उपमेयर र केही वडा राप्रपालाई दिनेगरी तालमेल गर्न लागिएको नेकपा एमालेका एक नेताले सेतोपाटीलाई बताए।
भरतपुर महानगरपालिकामा गत स्थानीय निर्वाचनमा राप्रपाका उम्मेदवारले मेयरमा ६ हजार ८ सय ४२ मत ल्याएका थिए।
एमालेले सातै स्थानीय तहमा मेयरको उम्मेदवार टुंगो लगाएको छ। ५ वटा तहमा उपमेयरको उम्मेदवार टुंगो लगाएको छ।
राप्रपासँग तालमेल भएको अवस्थामा भरतपुर र माडीको उपमेयर पद दिने तयारी एमालेको छ। यी दुई तहमा वडाध्यक्षमा कुरा मिलिसकेको छैन।
राप्रपाले संघीय संसदको चुनावसम्मकै लागि सहमति गरेर जान चाहेकाले त्यसका लागि केन्द्रीय तहबाटै कसरत भइरहेको ती नेताले बताए। राप्रपाका नेता विक्रम पाण्डे अबको प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्न चाहन्छन्। राप्रपाले उक्त निर्वाचनमा एमालेले सघाउनु पर्ने माग बैठकमा राखेको छ।
भरतपुर महानगरमा विजय सुवेदी, रत्ननगर नगरपालिकामा विमला दुवाडी, खैरहनीमा लालमणि चौधरी, राप्तीमा गोविन्द कँडेल, कालिकामा विनोद रेग्मी, माडीमा ताराकाजी महतोलाई मेयरको र इच्छाकामना गाउँपालिकामा दानबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले बताए। उनीहरुमध्ये खैरहनीका चौधरी अघिल्लो कार्यकालका पनि मेयर हुन्। रत्ननगर र माडीका मेयरका उम्मेदवार बन्न लागेका दुवाडी र चौधरी पूर्वउपमेयर हुन्। कालिकाका मेयरका उम्मेदवार रेग्मी पूर्व वडाअध्यक्ष हुन्।
भरतपुर महानगरपालिकाका मेयरमा सुवेदीले बागमती प्रदेश सभा सदस्य र इच्छाकामनाको अध्यक्षमा गुरुङले शिक्षकबाट राजीनामा दिएर उम्मेदवार बन्न लागेका हुन्। राप्तीका कँडेल
रत्ननगरमा यादव पाठक, खैरहनीमा कविता उप्रेती, राप्तीमा मेनका पाठक, कालिकामा विमला लामालाई उपमेयर र इच्छाकामना गाउँपालिकामा माया सिलवाललाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय एमाले चितवनले गरेको छ।