नेकपा एमालेलाई निर्वाचन कार्यालयले उम्मेदवारी दर्ता गर्न बिहान ११ बजेको समय दिएको थियो। तर राप्रपा लगायतका दलहरूसँग तालमेल मिलाउन समय लागेकाले एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदी समयमै निर्वाचन कार्यालय पुग्न सकेनन्। १२ बजेदेखि वडाध्यक्षका उम्मेदवार फाट्टफुट्ट पुग्न थाले पनि सुवेदी पुग्दा पौने २ बजिसकेको थियो।
उम्मेदवारी दर्ता गर्न जानुअघि सुवेदी भरतपुरस्थित क्यान्सर अस्पतालमा पुगेर बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेका थिए।
नेकपा एमालेका उम्मेदवार बिपी कोइरालाको सालिकमा माल्यार्पण गर्न पुग्दा धेरैले नौलो मानेर हेरे।
सुवेदीले बिपी कोइरालालाई आदर्श नेता मान्ने गरेका कारण महत्वपूर्ण पदमा उम्मेदवारी दिनुअघि माल्यार्पण गर्न पुगेको सुनाए।
‘म जीवनमा सबैभन्दा पहिले बिपी कोइरालाको राजनीतिबाट प्रभावित भएको थिएँ। उहाँले विद्रोहको शैली, आफूमाथि ७ वटा मुद्दा लाग्दा पनि कार्यकर्ता कसैको दोष छैन मेरो मात्र दोष हो भन्न सक्ने उहाँका आँटबाट म त्यतिखेरै प्रभावित भएको थिएँ,’ सुवेदीले सेतोपाटीसँग भने, ‘बिस्तारै चिनियाँ कम्युनिष्ट पार्टीको प्रभाव ममा त्यसभन्दा बढी परेपछि म कम्युनिष्ट भएको हुँ। तर पनि बिपी कोइरालाप्रतिको श्रद्धा ममा सधैं रहिरह्यो।’
त्यसअघि उनले पार्टी कार्यालयमै रहेको मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण गरेका थिए।
उम्मेदवारी दर्ता गर्न जानुअघि उनले जनआन्दोलन २०६२/०६३ मा चितवनमा सहिद भएकी तुलसी क्षेत्रीको छोरालाई सम्मान गरेका थिए।
सुवेदीले अग्रज नेता र सहिदका कारण जनताले लोकतन्त्र प्राप्त गरेको भन्दै उनले कसैलाई अन्याय नगरी सम्मान गर्ने बताए।
महानगरमा एमालेले राप्रपासँग तालमेल गरेको छ। उसले उपमेयरमा राप्रपाकी उम्मेदवार हिमाला गुरूङलाई समर्थन गरेको छ।
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनकातर्फबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्।
नेपाली कांग्रेसले गठबन्धनबाट मेयरमा आफ्नो पार्टीको उम्मेदवार हुनुपर्ने दाबी गर्दै आएको थियो।
केन्द्रीय गठबन्धनले भरतपुरको मेयर माओवादी केन्द्रको भागमा पारेपछि कांग्रेस कार्यकर्ताहरू रूष्ट छन्।
सुवेदीले ती रूष्ट कार्यकर्तालाई फकाउने प्रयास गरिरहेका छन्। सोमबार उम्मेदवारी दर्ता गर्नुअघि बिपी कोइरालाको सालिकमा माल्यार्पण गर्नुलाई पनि धेरैले त्यही प्रयासको रूपमा बुझेका छन्।
नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ताको तर्फबाट पूर्वसांसद जगन्नाथ पौडेलले पनि सोमबार छुट्टै उम्मेदवारी दर्ता गरेका छन्।
उनलाई पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मिना खरेलले समर्थन गरेकी थिइन्।