भरतपुर महानगरपालिकाको मेयरमा ३० जनाको उम्मेदवारी परेको छ। उपमेयरमा १३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
सोमबार मेयरमा नेकपा एमालेका विजय सुवेदी, नेकपा माओवादी केन्द्रकी रेनु दाहाल, लोकतान्त्रिक समाजवादी दलका गणेश गिरी, विवेकशील साझा पार्टीका प्रविन काफ्ले, राष्ट्रिय जनमोर्चाका भक्तिराम गौतम शर्मा, राष्ट्रिय नागरिक पार्टीका पूर्णबहादुर गुरुङ, जनमत पार्टीका संजयकुमार ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका लक्ष्मण अधिकारी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका सुरेन्द्र परियार र सामाजिक एकता पार्टीका खेम प्रसाईंले उम्मेदवारी दर्ता गरे।
त्यस्तै मेयरमा जगन्नाथ पौडेल, उद्धव अर्याल, सुमन अधिकारी, योगलाल श्रेष्ठ, कुलराज कँडेल, दुर्गाप्रसाद शर्मा, हरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
यसअघि हिजो (आइतबार) भरतपुरको मेयरमा नेकपा मालेका सूर्यप्रसाद रेग्मी, नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुवाल, राष्ट्रिय मुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङ, उन्नत लोकतान्त्रिक पार्टीका दिपेन्द्र वस्ती, मौलिक जरोकिलो पार्टीका विनोदकुमार गिरीले उम्मेदवारी दर्ता गरेका छन्।
त्यसैगरी भरतपुर–११ का रुद्रप्रसाद सापकोटा, भरतपुर–१६ का मोहित पाण्डे, भरतपुर–१ का यमकान्त शर्मा, भरतपुर–१ का रामकृष्ण ओझा र भरतपुर–८ का हरिश्चन्द्र घिमिरेले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए।
आइतबार भरतपुर महानगरपालिकाका विभिन्न वडाहरूमा गरेर १५ जनाले वडा अध्यक्ष, १५ जनाले वडा सदस्य र ३ जनाले महिला वडा सदस्यमा उम्मेदवारी दर्ता गरेको पौडेलले जानकारी दिए।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रशेन अधिकारीले उम्मेदवारी दर्ता गरे। नेकपा एमालेले राप्रपासँग तलमेल गरेर उपमेयर उठाएन। राप्रपाले हिमला गुरुङलाई उपमेयरको उम्मेदवार बनाएको छ। विवेकशील साझा पार्टीले पुष्पा सापकोटालाई उपमेयरको उम्मेदवार बनाएको छ।
राष्ट्रिय जनमोर्चाकी देवी शर्मा, नेकपा मालेकी इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीकी मीना मगर, मंगोल नेसनल अर्गनाइजेसनकी सुस्मा तामाङ, राप्रपा नेपालकी कल्पना थापा र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीकी कौशिला खत्रीले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन्।
त्यसैगरी रविचन्द्र अधिकारी, पवीत्रा जोशी, चन्द्रबहादुर तामाङ र भोजराज कौडालले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
रत्ननगर नगरपालिकाको मेयरमा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका प्रह्लाद सापकोटा र उपमेयरमा बद्रिनाथ घिमिरेले उम्मेदवारी दर्ता गरे। नेकपा एमालेबाट मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठकले उम्मेदवारी दर्ता गरेका छन्।
खैरहनी नगपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका शशी खनियाले मेयरमा र माओवादी केन्द्रकी लक्ष्मी ढकालले उपमेयरमा उम्मेदवारी दर्ता गराए। नेकपा एमालेबाट मेयरमा लालमणि चौधरी र उपमेयरमा कविता उप्रेतीले उम्मेदवारी दर्ता गरेका छन्।
राप्ती नगरपालिकाको मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीका शमशेर लामाले उम्मेदवारी दर्ता गरेका छन्। उपमेयरमा नेपाली कांग्रेसका देवेन्द्र लामाले उम्मेदवारी दिए। नेकपा एमालेबाट मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनका पाठकले उम्मेदवारी दर्ता गरेका छन्।
कालिका नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका शिवराम केसीले मेयरमा उम्मेदवारी दर्ता गरे। उपमेयरमा माओवादी केन्द्रकी सविता लामाले उम्मेदवारी दर्ता गरेकी छन्। नेकपा एमालेबाट मेयरमा विनोद रेग्मी र उपमेयरमा विमला लामाको उम्मेदवारी दर्ता भएको छ।
माडी नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा नेकपा माओवादीका ऋषिराम काफ्ले र उपमेयरमा नेपाली कांग्रेसका खेमप्रसाद महतोले उम्मेदवारी दर्ता गरे। यहाँ माओवादी केन्द्रले ५ र नेपाली कांग्रेसले ४ वडा पाउनेगरी भागवण्डा गरेका छन्। गठबन्धनमै रहेको एकीकृत समाजवादीले दुई वडामा भने छुट्टै उम्मेदवार उठाएको छ।
माडीमा नेकपा एमालेले राप्रपासँग तालमेल गरेको छ। मेयरमा एमालेकी ताराकाजी महतो र उपमेयरमा एमालेकै रेशमलाल आचार्यले उम्मेदवारी दर्ता गरेका छन्। आचार्यले फिर्ता गर्नेगरी राप्रपाका उपमेयर पदका उम्मेदवार मदन पौडेललाई समर्थन गर्ने सहमति दुई पार्टीका बीचमा भएको छ।
यस नगरपालिकामा अघिल्लो निर्वाचनमा वडा नम्बर १ मा कांग्रेसबाट वडाध्यक्ष जितेका कृष्णप्रसाद पौडेल, वडा नम्बर ४ मा जितेका रमेश पाण्डे र वडा नम्बर ७ मा जितेका हरि रानाभाटले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
इच्छाकामना गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट फेरि गीताकुमारी गुरुङ नै उम्मेदवार बनेकी छन्। उपाध्यक्षमा माओवादी केन्द्रका प्रताप गुरुङले उम्मेदवारी दर्ता गरेका छन्।
नेकपा एमालेबाट अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवालले उम्मेदवारी दर्ता गरेका छन्।