चितवनको माडी नगरपालिकाको मेयरका लागि बहालवाला मेयर ठाकुरप्रसाद ढकाल पनि दाबेदार थिए। अन्त्यमा अर्का नेता ऋषिराम काफ्लेले बाजी मारे। उनले सत्ता गठबन्धनका तर्फबाट माडीको मेयरमा उम्मेदवारी दिएका छन्। उनी नेकपा माओवादी केन्द्रका नेता हुन्।
काफ्लेले मेयर उम्मेदवार बन्न ३२ वर्षको शिक्षण पेसाबाट राजीनामा दिए। दिवाकर स्मृति मावि, रमाइलोडाँडाका प्रधानाध्यापक भइसकेका काफ्लेले निर्वाचन घोषणा भएपछि राजीनामा दिएका थिए।
२०२५ सालमा जन्मिएका काफ्ले २०४६ सालमा शिक्षक नियुक्त भएर २०६५ सालदेखि प्रधानाध्यापक थिए।
उनी एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सचिवालय सदस्य, चितवन जिल्ला इन्चार्ज र केन्द्रीय अनुशासन समितिका सचिव छन्।
शैक्षिक पृष्ठभूमिका काफ्लेले आफू मेयरमा निर्वाचित भए माडीलाई ‘शैक्षिक हब’ का रूपमा विकास गर्ने योजना रहेको बताएका छन्।
‘माडीका विद्यालयहरूलाई स्मार्ट बनाउने र गरिब, सुकुम्बासीलाई निःशुल्क पढ्ने व्यवस्था मिलाउने लक्ष्य छ,’ काफ्लेले भने, ‘म माडीलाई शैक्षिक हबका रूपमा विकास गर्ने योजनालाई निरन्तरता दिनेछु।’
उनले गरिब र विपन्नलाई निःशुल्क स्वास्थ्योपचारको व्यवस्था मिलाउने, अस्पतालको स्तरोन्नति गर्ने, सडक र विद्युत आधुनिकीकरण गर्ने, डिजिटल माडी बनाउने तथा सुकुम्बासीलाई लालपुर्जा दिने प्रतिवद्धता जनाएका छन्।
उनले चितवन राष्ट्रिय निकुञ्जलाई माडीको पर्यटनअनुकूल बनाउने, कृषिमा आधुनिकीकरण गर्दै पर्यटनसँग जोड्ने, माडीका उत्पादन बाहिर लैजान उचित प्रबन्ध गर्ने, एम्बुलेन्स सञ्चालन गर्न निकुञ्ज चौबिसै घन्टा खुला राख्ने योजना पनि अघि सारेका छन्।
उनले चारैतिर जंगलले घेरिएको माडीलाई तारले घेर्ने, ठाडा खोलाको तटबन्ध अघि बढाउने, पुल निर्माण गर्ने तथा दलित र महिलामाथिको उत्पीडन न्यूनीकरण गर्ने लगायतका योजना सुनाएका छन्।
२०४० सालमा क्रान्तिकारी विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका काफ्लेले २०४७ सालमा रूपलाल विश्वकर्मा नेतृत्वका सर्वहारा श्रमिक संगठनको सदस्यता लिएका थिए। २०४८ सालमा उनी एकता केन्द्रको सदस्य बने। २०५१ सालमा माडी इलाका कमिटी सदस्य भए, २०५८ सालमा सह सेक्रेटरी, २०६४ सालपछि आठ वर्षभन्दा बढी सेक्रेटरी भएर काम गरे।
तत्कालीन नेकपा माओवादीसँग एकता भएपछि उनी जिल्ला सदस्य हुँदै माडी नगरपालिकाको सहइन्चार्ज बने। गत निर्वाचनताका उनी माओवादी केन्द्रको माडी नगर अध्यक्ष थिए।
सोही नगरपालिकाका डिल्लीराम चौधरीले पनि शिक्षण पेसाबाट राजीनामा गरेर वडा नम्बर ३ को वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। उनी माडी माविका शिक्षक थिए। उनी नेपाली कांग्रेसका उम्मेदवार हुन्। त्यस्तै, पूर्वशिक्षक दीपेन्द्र पौडेलले नेकपा एमालेबाट माडीको वडानम्बर ६ मा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
इच्छाकामना गाउँपालिकामा पनि शिक्षक दानबहादुर गुरूङले शिक्षण पेसाबाट राजीनामा दिएर अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। उनी नेकपा एमालेका उम्मेदवार हुन्। उनी इच्छाकामना–६ पैरेनीस्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक थिए।
इच्छाकामना-६ को याक्राङमा २०२८ सालमा जन्मिएका गुरूङ चार पटक नेकपा एमालेको जिल्ला समिति सदस्य भए। उनी हाल पार्टीको इच्छाकामना गाउँपालिकाका इन्चार्ज छन्। उनी नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वजिल्ला अध्यक्ष पनि हुन्।
उनले सेतोपाटीसँग भने, ‘म जनताको सेवक बनेर शिक्षा, स्वास्थ्य र विपन्न वर्गको जीवनस्तर सुधार्ने काममा सक्रिय हुन चाहन्छु। त्यसैले मैले सक्रिय राजनीतिमा आउन शिक्षक पदबाट राजीनामा दिएँ।’
गुरूङले गाउँपालिकाको अध्यक्षमा विजयी भए सबैभन्दा पहिले शिक्षाका समस्या समाधानमा लाग्ने बताएका छन्। चेतना अभावका कारण बालमजदुरको संख्या बढेको र प्राथमिक विद्यालयमा पनि सबैको पहुँच उनको भनाइ छ। उनले बालबालिकाले पढ्न पाउने व्यवस्था मिलाउने र बाल मजदुरको संख्या शून्यमा झार्ने बताए।
गुरूङले इच्छाकामना किसान शिक्षासँग जोडेर उत्पादन बढाउने कार्यक्रम ल्याउने र आफ्नो गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बन्न प्रेरित गर्ने पनि बताए।
गुरूङले गरिबीको रेखामुनि रहेका चेपाङ र दलित समुदायको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउने, मेयर आवास कार्यक्रम सञ्चालन गरी बासस्थानको व्यवस्था गर्ने र सुकुम्बासीलाई व्यवस्थित गर्न लालपुर्जा वितरण गर्ने योजना सुनाएका छन्।
इच्छाकामनालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा प्रवर्द्धन गर्ने, सडक सञ्जाल विस्तार गर्नेलगायतका योजना रहेको उनको भनाइ छ।
इच्छाकामनाका ग्रामीण क्षेत्रमा सडकको अवस्था दयनीय रहेकाल स्तरोन्नति गर्ने र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्ने पनि गुरूङले बताए।
यसअघि फोटो अन्यथा परेकाले सच्याइएको छ। -सम्पादक