नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चितवन आउँदा जिल्लामा हल्लीखल्ली हुन्छ। विमानस्थलमा जिल्लाका नेता, कार्यकर्ताको लाम लाग्छ। तर मंगलबार यस्तो भएन। प्रचण्ड भरतपुर विमानस्थलबाट सुटुक्क चितवन आए, खुसुक्क फर्किए।
आखिर किन यस्तो भयो? भरतपुरमा चुनावी माहोल गर्माएको समयमा प्रचण्ड किन सुटुक्क चितवन आए होलान्?
प्रचण्ड बुद्ध एयरको जहाजबाट बिहान ६ः५० भरतपुर आइपुगेका थिए। उनी ११ः४५ बजे काठमाडौं फर्किए। विमानस्थल स्रोतका अनुसार प्रचण्ड आउँदा थोरै व्यक्तिहरू मात्रै उनलाई स्वागत गर्न विमानस्थल पुगेका थिए।
'अरू बेलामा जस्तो तामझाम थिएन। उहाँकै पार्टीका कार्यकर्तालाई पनि यो कुरा थाहा थिएनजस्तो लाग्यो,' स्रोतले भन्यो।
मंगलबार उनको यहाँ कुनै पनि औपचारिक कार्यक्रम थिएन।
प्रचण्डको यो 'गोप्य' चितवन आगमन भरतपुर महानगरपालिकाको निर्वाचनको सन्दर्भमा भएको स्रोत बताउँछ।
सोमबार नेपाली कांग्रेसबाट असन्तुष्ट कार्यकर्ताको नेतृत्व गर्दै मेयरमा जगन्नाथ पौडेलले उम्मेदवारी दर्ता गराएका थिए। पौडेलको उम्मेदवारीले गठबन्धनका उम्मेदवार रेनु दाहाललाई अप्ठ्यारो पर्न सक्ने आकलन भइरहँदा प्रचण्डको गोप्य रूपमा भरतपुर आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
मेयरमा उम्मेदवारी दिएका पौडेलनिकट नेताका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई तीन पटकसम्म फोन गरेका छन्।
'शेरबहादुर दाइले सोमबार उम्मेदवारी दिएपछि पनि फोन गरेर काठमाडौं बोलाउनु भएको रहेछ। तर उहाँ जान चाहनुभएन,' ती नेताले सेतोपाटीसँग भने, 'उहाँ अहिलेसम्म आफ्नो अडानमा कायम हुनुहुन्छ। भरतपुरको मेयर अर्को पार्टीलाई दिएर गलत गरियो भन्नेमा उहाँ हुनुहुन्छ।'
२०६० सालमा राष्ट्रिय सभाको सदस्य भएका कांग्रेस चितवनका पुराना नेता जगन्नाथ पौडेलले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर भरतपुरको मेयरमा उम्मेदवारी दर्ता गरेका थिए। उनलाई कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमितिका सदस्य मिना खरेलले समर्थन गरेका थिए।
कांग्रेसको चार तारे झण्डा र चुनाव चिन्ह रूख अंकित झण्डा बोकेका सयौं कार्यकर्तासहित पौडेल उम्मेदवारी दर्ता गर्न पुगेका थिए।
कांग्रेसका पूर्वसभापति टीकाराम न्यौपाने, पुराना नेता पूर्वसांसद भीमबहादुर श्रेष्ठ पनि पौडेलसँगै गएका थिए। उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुरा गर्दै पौडेलले आफ्नो उम्मेदवारी चितवनमा कांग्रेसलाई बचाउन भएको प्रतिक्रिया दिए।
'भरतपुर नेपाली कांग्रेसको पुरानो गण हो। पार्टी नेतृत्वले सधैं यो ठाउँमा अरू पार्टीलाई समर्थन गरेपछि कांग्रेस संकटमा पर्ने भयो। हामीले कांग्रेसलाई जोगाउनुपर्छ भनेर अघि बढेका हौं,' उनले भनेका थिए।
उनले पार्टी जोगाउनका लागि कार्यकर्ताहरू जागरूक बनेको दाबी गर्दै भनेका थिए, 'पार्टी जोगाउन खोज्दा कारबाही हुन्छ भने यसमा हामीलाई कुनै डर छैन।'
पौडेलको सारथी बनेर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका पूर्वसभापति कृष्णलाल श्रेष्ठ र टिकाराम न्यौपानेले सधैं अरू पार्टीको चुनाव चिन्हमा भोट हाल्न मनले नमान्ने बताए।
सापकोटाले भने, 'हाम्रो उमेर बुढो भए पनि विवेक बुढो भएको छैन। भरतपुरमा कांग्रेस जोगाउन आफैं प्रस्तावक बसेको छु।'
न्यौपानेले नेपाली कांग्रेसलाई बचाउन पञ्चायतविरूद्ध धेरै पसिना बगाएको र अन्तिम समयसम्म प्रयास गर्ने बताएका थिए। नेपाली कांग्रेसले भरतपुरको मेयर पदमा यसअघि पनि माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गरेको थियो।
२०७४ सालको निर्वाचनमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रकी रेनु दाहाल भरतपुरको मेयरमा निर्वाचित भएकी थिइन्।
कांग्रेस चितवनले यसपटक भरतपुरको मेयर पद नगुमाउन शीर्ष नेताहरूलाई दबाब दिँदै आएको थियो। तर, केन्द्रीय गठबन्धनले यसपटक पनि यहाँको मेयर पद माओवादी केन्द्रलाई नै दिने निर्णय गर्यो।
यो निर्णयविरूद्ध कांग्रेसको एउटा समूह खुलेर लागेको छ। जिल्ला सभापति राजेश्वर खनालले गठबन्धन विरोधी गतिविधि नगर्न कार्यकर्तालाई सजग बनाउँदै आएका छन्। तर कार्यकर्ताहरू खुलेर गठबन्धनको विरोध गरिरहेका छन्।
उनीहरूले जिल्ला पार्टी कार्यालयमै भेला राखेर पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेका थिए।
जिल्ला कार्यालयमा भेटिएका कांग्रेसका एक जना नेताले भने, 'पौडेलले मेयरमा कति भोट ल्याउँछन् त यकिन गर्न सकिँदैन तर उनको उम्मेदवारीले गठबन्धनलाई असर भने गर्ने देखिन्छ।'
जिल्ला उपसभापति राजीव न्यौपानेले गठबन्धनविरूद्ध महानगरको मेयरमा दिइएको उम्मेदवारीको विषयमा केन्द्रले नै व्यवस्थापन गर्ने बताए।
'हामीले नगरपालिका, वडाहरूमा भएका स्वतन्त्र उम्मेदवारीलाई व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौं,' उनले सेतोपाटीसँग भने, 'महानगरको विषय हाम्रो हातमा भन्दा पनि केन्द्रको हातमा छ। उतैबाट व्यवस्थापन हुन्छ।'
स्रोतले प्रचण्ड सोही व्यवस्थापनका लागि चितवन आएको दाबी गर्यो।
'पौडेललाई नै उहाँले भेट्नुभयो कि भएन त भन्न सकिएन,' उक्त स्रोतले भन्यो, 'तर प्रचण्डको भ्रमण चुनावकै विषयमा केन्द्रित छ।'