चितवनको भरतपुरमा नेपाली कांग्रेसबाट मेयरमा बागी उम्मेदवारी दिएकालाई मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई दूतका रूपमा पठाएका छन्।
खाण बुधबार दिउँसो भरतपुर आइपुगेका छन्।
भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले असन्तुष्टलाई सम्झाउन आफू चितवन आएको बताए।
‘मैले बागीलाई मिलाउन प्याकेज त ल्याएको छैन। तर मन ल्याएर आएको छ। म उहाँहरूलाई सम्झाउँछु,’ खाणले भने,‘उहाँहरूले केन्द्रको निर्णय मान्नुहुन्छ।’
सत्ता गठबन्धनको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रले पाएको थियो। माओवादीबाट रेनु दाहाल मेयर उम्मेदवार बनेकी छन्।
कांग्रेसका नेता एवं पूर्वसांसद जगन्नाथ पौडलले पनि मेयरमा उम्मेदवारी दिएका छन्।
आफ्नी छोरी मेयर उम्मेदवार बनेको ठाउँमा कांग्रेसले बागी उम्मेदवारी दिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार सुटुक्क चितवन पुगेका थिए।
भरतपुरमा उनले चितवन कांग्रेस सभापति राजेश्वर खनाल र उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीलाई भेटेका थिए।
प्रचण्डसँग भेटेका कांग्रेसका दुई नेताले पछि बागी उम्मेदवार पौडेललाई भेटेका थिए।
चितवनबाट फर्किएपछि प्रचण्डले कांग्रेस सभापति देउवालाई घटनाक्रमबारे बताएका थिए।
देउवाले बागी उम्मेदवार मिलाउन बुधबार आफ्ना दूतका रूपमा खाणलाई भरतपुर पठाएका हुन्। कांग्रेस प्रभावशाली नेता खाण नेपाली कांग्रेसको चितवन कार्यसमितिको बैठकमा पनि सहभागी हुँदैछन्।