भरतपुर महानगरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललेको उम्मेदवारी फिर्ता नहुने भएको छ।
सत्तारूढ गठबन्धनको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रलाई परेको थियो। माओवादीलाई मेयर दिन नहुने भन्दै कांग्रेस नेता एवं पूर्वसांसद पौडेलले उम्मेदवारी दिएका थिए।
पौडेलको उम्मेदवारी फिर्ता गराउन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका दूत बनेर गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर पुगेका थिए।
बिहीबार गृहमन्त्री खाणले पौडेलको घरमै गएर उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। पौडेलले उक्त आग्रह अस्वीकार गरेका थिए।
बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई फोन गरेर उम्मेदवारी फिर्ता लिन भनेका थिए। जवाफमा पौडेलले आफू धेरै अघि बढिसकेको र अब उम्मेदवारीबारे चितवनका कांग्रेस कार्यकर्ताले निर्णय गर्ने बताएका थिए। पौडेललाई कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि फोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।
बिहीबार साँझ गृहमन्त्री खाणले पौडेललाई आफू बसेको होटल सेन्ट्रल पाममा बोलाएका थिए तर पौडेल आउन मानेनन्।
पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि मन्त्री खाण र राज्यमन्त्री श्रेष्ठ आज काठमाडौं फर्किँदै छन्। उनीहरू अहिले साढे ११ बजेतिर छुट्टाछुट्टै जहाजमा काठमाडौं जान लागेको स्रोतले बतायो।
काठमाडौं फर्किनुअघि उनीहरूले होटलमा भरतपुरका कांग्रेस नेता/कार्यकर्तासँग कुराकानी गरेका छन्।
उता बागी उम्मेदवार पौडेलको घरमा पनि कांग्रेस कार्यकर्ताको घुइँचो लागेको छ।
शुक्रबार बिहान सेतोपाटीसँग कुरा गर्दै पौडेलले अब दुनियाँको कुनै पनि तागतले आफ्नो उम्मेदवारी फिर्ता गराउन नसक्ने बताए।
पौडेलसँगको विस्तृत अन्तर्वार्ता केहीबेरमा प्रकाशन हुँदैछ।