भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार जगन्नाथ पौडेललाई फकाउने पाँच दलीय गठबन्धनको प्रयास असफल भएको छ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन पाउने समय शुक्रबार साँझ ५ बजेसम्मलाई तोकेकाले त्यो समयसम्ममा उनको उम्मेदवारी फिर्ता गराउन सकिन्छ कि भन्ने कसरत अझै पनि चलिरहेको छ।
तर पौडेलले अब त्यो कुरा सुन्न पनि तयार नभएको बताएका छन्।
उनलाई फकाउन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले प्रयास गरेका थिए।
उनीहरूले फोन गरेर उम्मेदवारी फिर्ता गरी गठबन्धनलाई सहयोग गरिदिन पौडेललाई आग्रह गरेका थिए। तर पौडेलले आफू धेरै अघि बढिसकेकाले अब फिर्ता हुने ठाउँ नरहेको बताउने गरेका छन्।
मेयरका उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्रीसमेत रहेका पार्टीका नेता बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई देउवाले भरतपुर पठाएका थिए। भरतपुरमा बसेर दुई दिनसम्म प्रयास गर्दा उनीहरूले पौडेललाई मनाउन सकेनन्।
शुक्रबार बिहान भरतपुर-७ कृष्णपुरस्थित निवासमा पुग्दा पौडेललाई कार्यकर्ताले घेरिरहेका थिए। उनको घरको कम्पाउण्ड र सडक कार्यकर्ताले खचाखच थिए। पौडेललाई तारन्तार केन्द्रीय नेताहरूको फोन आइरहेको थियो।
उनी भन्दै थिए अब म फिर्ता हुन सक्ने अवस्था छैन। कार्यकर्ता उनलाई कुनै हालतमा उम्मेदवारी फिर्ता नलिन दबाब दिइरहेका थिए।
यो माहौलमा पौडेल केहीबेर सेतोपाटीसँग कुरा गर्न तयार भए।
कुराकानीका क्रममा उनले आफूलाई उम्मेदवारी फिर्ता लिन पार्टीभित्र बाहिरका विशिष्ट सरकारी, गैरसरकारी तहका उच्च पदस्थ धेरैले आग्रह गरेको बताए।
उनीहरूबाट धेरै आश्वासन पनि आएको भन्दै उनले आफूलाई त्यस्ता आश्वासनको लोभ नभएको बताए। पौडेलले आफूलाई कार्यकर्ताबाट सोच्दै नसोचेको समर्थन प्राप्त भइरहेको बताए।
‘सयौं कार्यकर्ता मेरो घरमै आएर मलाई हौसला दिइराख्नुभएको छ। गाउँगाउँबाट टोली आइरहेका छन्,’ उनले भने, ‘मैले सोच्दै नसोचेको समर्थन प्राप्त भइरहेको छ।’
उनले शीर्ष नेताहरुले सम्झाउन खोजेको तर आफूले हात जोडेर निवेदन गरी ‘एउटा चरणमा तपाईंहरूले भनेको सबै कुरा मान्थें तर अहिले म पोइन्ट अफ नो रिटर्नमा छु। म त्यहाँबाट फर्कन सक्दिनँ यो मेरो निमित्त निकै कष्टकर छ, मैले दु:खका साथ भन्नुपर्छ नाम फिर्ता लिन सक्दिनँ’ भन्ने गरेको बताए।
पौडेलले कांग्रेस पार्टी रूखका विरूद्धमा आफ्नो उम्मेदवारी नभएकाले पार्टीले आफूलाई कारबाही गर्ने कानुनी आधार नरहेको बताए। तर कारबाही गरिहाले पनि त्यसलाई सहने उनले बताए।
उनले नेताहरुको आदेश सधैं मान्ने भए पनि चितवनको कांग्रेसलाई बचाउन सधैं सक्रिय हुने बताए।
उनले केन्द्रीय गठबन्धनमा आफ्नो विषयमा बोलिदिने एक जना मान्छे पनि नभएको उम्मेदवारी छोड भन्ने एक सुत्रीय माग मात्र राखिएको गुनासो गरे।
हेर्नुस् भिडिओ: