नेकपा माओवादी केन्द्रबाट सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा विजयी भएका राजाबाबु यादवको अहिले चौतर्फी चर्चा छ।
सोमबार दिउँसो आएको मतपरिणाम अनुसार उनले ४०८१ मत ल्याएर जितेका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २३९२ मत ल्याए। उनी राजाबाबुका नातामा काका (हजुरबुवाको भाइका छोरा) पर्छन्। काठमाडौँस्थित एपेक्स कलेजमा बिबिए ८ औं सेमेस्टरमा अध्ययनरत राजाबाबु झन्डै पाँच महिनाअघि मात्र गाउँ फर्केका थिए। कक्षा ४ सम्म गाउँ र ८ कक्षासम्म मलंगवामा पढेर उनी थप अध्ययनका लागि काठमाडौँ पुगेका थिए। छुट्टीका बेला उनी गाउँ घुम्न आइरहन्थे। तर गाउँको अवस्था भने उनलाई फिटिक्कै मन परेको थिएन्।
‘हामी एकाइसौँ शताब्दिमा छौं तर मेरो गाउँको अवस्था हेर्दा सयौं वर्ष पछि परेको जस्तो लाग्छ। न सडक बनेको छ। न बिजुली पुगेको छ। बाढी आउँदा घरमै पानी पस्छ। शिक्षा, स्वास्थ्यको अवस्था जर्जर छ। विकास भएकै छैन,’ उनले भने।
गाउँको समस्या सुनाउन जाँदा पालिका अध्यक्ष/उपाध्यक्षले समाधान गर्न चासो नराख्दा दुई वर्षअघि आफूलाई गाउँपालिका अध्यक्ष बन्नुपर्ने दिमागमा आएको राजाबाबुले सुनाए।
‘हामी पटक-पटक समस्या, गुनासो लिएर गाउँपालिकामा जान्थ्यौं। तर सुनुवाइ भएन्। हामी पीडित भइसकेपछि दुई साल पहिले आफैंले आफ्नो गाउँ बनाउनुपर्छ लाग्यो। यी समस्याहरू सुधार्न युवा नै आउनुपर्छ अरूले पनि भन्न थाले। त्यसै अनुसारले म पहिलेदेखि गाउँमा घुमफिर गर्न थालें र अन्तिममा आएर उम्मेदवारी पनि दिएँ,’ उनले थपे।
आफू चुनाव लड्ने बताएपछि गाउँलेले समेत जोडतोडले हौसला दिएको सुनाए। बुवालाई षडयन्त्र गरेर विपक्षीहरूले चुनाव हराएको र झुठा मुद्दा चलाउन लगाएकाले पनि राजनीतिमा आफू आएको उनको भनाइ छ। राजाबाबु संविधानसभा सदस्य शिवपुजन रायका जेठा छोरा हुन्।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन सर्लाही क्षेत्र नम्बर ६ मा मधेशी जनअधिकार फोरमका उम्मेदवार बनेर तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर तथा नेपाली कांग्रेसका चर्चित नेता अमरेश कुमार सिंह लगायतलाई शिवपुजनले हराएका थिए। २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तराई मधेश सद्भावना पार्टीबाट उठेका शिवपुजन कांग्रेसका सिंहसँग पराजित भए। २०७४ सालमा क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिए पनि रातो पासपोर्ट काण्डका कारण निर्वाचन आयोगबाट शिवपुजन रायको उम्मेदवार खारेज भएको थियो। आफ्नो राजनैतिक विरासत कायम राख्न उनले आफ्नो छोरालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाए। र सफल पनि भए।
गाउँपालिका अध्यक्षमा विजयी भएका राजाबाबुले गाउँपालिकामा भ्रष्टाचारको जरो उखेलेर विकास गर्न आएको राजाबाबुले बताए।
‘नेताहरूले यहाँका सोझा साझा मधेशी जनतालाई सधैँ ठगिरहे। राजनीतिमा भ्रष्टाचार धेरै बढ्यो, अनियमितता र भ्रष्टाचारविरूद्ध लड्न र विकास गर्न म आएको हुँ,’ सेतोपाटीसँग उनले भने। राजाबाबुले आफ्ना प्रमुख प्राथमिकतामा रहेका पाँच काम समेत सुनाए।
जर्जर शैक्षिक अवस्था सुधार गर्न छिटै काम थाल्ने उनले बताए।
‘हाम्रो सरकारी स्कुल पहिले जमानामा बनेछन्। धेरै ठाउँमा विद्यार्थी अनुसार भवनै छैन्। शिक्षक छैन्। आधुनिक युगमा नेपाली माध्यममा मात्र पढाइ हुन्छ अब इन्ङिलिस मेडियममा पढाई हुनेछ। विज्ञान प्रयोगशाला पनि बनाउँछु,’ राजाबाबुले सुनाए।
राम नगर गाउँका अधिकांश सडक कच्ची छन्। वर्षा याममा बाटोमा हिलैहिलो हुन्छन्।
त्यसैले पक्की सडक निर्माण प्रमुख प्राथमिकता दिएर गर्ने उनले बताए।
‘करिब २० प्रतिशत मात्र सडक बनेको छ। गाउँमा पिच छैन्। केही वडाअध्यक्षले राम्रो काम गरेर अलि अलि बनाए तर पालिकाले केही गरेन्। प्रदेश सांसदले पनि यहाँ केही विकासका काम गरेन,’ उनले थपे।
कृषिमा निर्भर रहेको रामनगरमा सिँचाइ सुविधाको अभाव छ। किसानले जहिल्यै मलखादको अभाव झेल्नुपर्छ। कि त स्थानीय स्तरमै ब्ल्याकमा मलखाद किन्नुपर्छ कि भारतबाट महंगो दरमा किनेर ल्याउनुपर्छ। त्यसैले किसानलाई मलखाद र सिँचाइको व्यवस्थापन गाउँपालिकाले गर्ने उनले प्रमुख प्राथमिकतामा राख्ने योजना बनाएका तेस्रो काम सुनाए।
राजाबाबुका अनुसार गाउँपालिकाका सयौं जनता अझै पनि बिजुलीबत्तीबाट बञ्चित छन्। पिछडिएका टोलहरूमा अझै बिजुली पुगेको छैन्।
‘घरदैलोमा जाँदा उनीहरूले बाटो नहुँदा एकदमै समस्या भोग्नु परेको छ। विद्युत नहुँदा अँध्यारोमा बाँच्नु परेको छ। नदीको बाढी गाउँमा पस्छ। कति धेरै कष्ठ सहनुपरेको छ हामीले देख्यौं। त्यसैले यो बाँध बनाउनेदेखि यी सबै कामहरू मेरो प्राथमिकतामा हुनेछ,’ उनले थपे।
टाढाका सहर पुग्न गाउँमा यातायात सुविधा नरहेकाले गाउँबाटै ती सहरसम्म पुग्ने यातायात सेवा सञ्चालन गराउने प्रमुख प्राथमिकतामध्येका पाँचौँ काम रहेको उनले बताए।