(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
सँगसँगै जिन्दगी
विक्रम सम्बत् २०२४ साल — यो वर्ष कति जनाले सँगसँगै एसएलसी दिए होलान्?
सँगसँगै एसएलसी दिएका विद्यार्थीको आँकडा खोज्नु यो स्टोरीको उद्देश्य होइन। हामी खोज्दै छौं, त्यस वर्ष सँगसँगै एसएलसी दिएर संयोगले जिन्दगी पनि सँगसँगै बिताउन पुगेका एक जोडीको आरोह-अवरोहको कथा।
उनीहरू हुन्, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र उनकी पत्नी अमुदा पोखरेल।
भोजराज र अमुदाले ४२ वर्ष सँगसँगै बिताइसके। उनीहरूको यति लामो सँगसँगै जिन्दगीको राज के हो त?
दुवै एकै स्वरमा जबाफ दिन्छन्, 'जस्तोसुकै परिस्थिति स्वीकार्दै अघि बढ्ने, परिस्थितिसँगै आफूलाई बदल्ने तर त्यो परिस्थितिले तरंगित नहुने। यत्ति गर्न सके जिन्दगी होइन, जुनी-जुनी सँगसँगै बित्छ।'
२०२४ सालमा एसएलसी दिएपछि विराटनगरकी अमुदा उच्च शिक्षाका लागि भारतको वनारस गइन्। त्यहाँ स्नातकोत्तर सकेर विराटनगरै फर्किन्।
अमुदाले पढाइलेखाइमा घरपरिवारको जति साथ, सहयोग र स्वतन्त्रता पाइन्; त्यति नै स्वतन्त्रता रोजगारीमा पाउन सकिनन्।
पढ्न हौस्याउने बुबाले आफ्नी छोरी घरबाहिर गएर काम गरोस् भन्ने चाहेनन्। बुबाको कडा अनुशासनमा बाँधिएकी अमुदाले ठूलो घरको चार पर्खाल नाघ्ने हिम्मत गरिनन्।
ज्ञानको दायरा फराकिलो भए पनि सामाजिक र पारिवारिक दायरा नाघ्न नसकेपछि अमुदा घरभित्रै खुम्चिइन्।
उनको ज्ञानले पखेटा हाल्न सकेन।
उता २०२४ सालमै एसएलसी दिएका भोजराजलाई भने घरव्यवहार चलाउन सानैबाट काम खोज्नुपर्यो। खोटाङका उनको परिवार अमुदाको जस्तो सम्पन्न थिएन। बुबा शिक्षक त थिए, तर त्यतिले मात्र परिवार चलाउन गाह्रो थियो।
बुबाको जिम्मेवारी बाँड्न भोजराजले उनकै पदचिह्न पछ्याए र एसएलसीलगत्तै शिक्षणमा लागे। सोलुखुम्बुको नेचामा रहेको प्राथमिक विद्यालयमा पढाउन सुरू गर्दा उनी जम्मा १५ वर्षका थिए।
जिम्मेवारीले थिचे पनि उनले आफ्नो सपनाको उडानलाई खुम्चिन दिएनन्।
एसएलसी दिएको दुई वर्षपछि २०२६ सालमा उनी खोटाङबाट सात दिन हिँडेर उच्च शिक्षाका लागि काठमाडौं आए। उनी पढाइमा मिहिनेती थिए। कामप्रतिको रनाहा यति तीव्र थियो, स्नातक सक्ने बेलासम्म उनी लोकसेवा आयोगको परीक्षा पास गरेर पूर्णकालीन सरकारी जागिरे भइसकेका थिए।
यसरी अलग-अलग ठाउँमा अलग-अलग परिस्थितिबीच जिन्दगी बिताइरहेका अमुदा र भोजराजको सँगसँगै यात्रा विराटनगरबाट सुरू भयो।
पारिवारिक पृष्ठभूमि हेर्दा दुई ध्रुवका उनीहरूको जीवनको बाटो कसरी एकअर्कासँग जोडियो त?
हाम्रो यो प्रश्नमा भोजराज मुसुक्क हाँसे र विराटनगरमा बिताएका ती दिनमा फर्के जब उनको अमुदासँग पहिलो भेट भएको थियो।
'हाम्रो भेट जोगले जुराएको हो,' भोजराजले भने, 'म जुन घरमा डेरा लिएर बस्थेँ, त्यो उनको माइजूको घर रहेछ। कुराकानी पनि उनको मामाहरूकै तर्फबाट अघि बढ्यो।'
'यत्तिको केटा भए त हुन्थ्यो कि भन्ने लाग्यो होला,' भोजराजले हाँस्दै अगाडि भने, 'त्यसपछि उहाँहरूले नै मलाई विवाहको प्रस्ताव राख्नुभयो।'
त्यति बेला सरकारी सेवामा भर्खर करिअर सुरू गर्दै गरेका भोजराजलाई एक्कासि आएको विवाहको प्रस्तावले केही समय रनभुल्ल पार्यो। उनले तत्काल कुनै जबाफ दिन सकेनन्। आफ्नो घरेलु पृष्ठभूमि र अमुदा हुर्किरहेको समाज यति भिन्न थियो, उनलाई निर्णय लिन एकदमै कठिन भयो।
त्यो बेला अमुदा र भोजराज दुवै २८ वर्षका थिए। आजको समय त २८ वर्ष पुगेका केटा-केटीले विवाहको थामिनसक्नु दबाब झेल्नुपर्छ भने झन् त्यो जमानामा त २८ वर्षलाई विवाहको उमेर भइसकेको भन्दा पनि गइसकेको उमेरका रूपमा लिइन्थ्यो।
त्यही पारिवारिक दबाबबीच अमुदा र भोजराजले भेटेर कुराकानी गर्ने निर्णय गरे।
भेटघाटको ठाउँ पनि निधो भयो — विराटनगरको जलजला सिनेमा हल।
अमुदा र भोजराजलाई अहिलेसम्म राम्ररी याद छ, त्यो दिन जलजला हलमा अमिताभ बच्चन र रेखाको 'मुकद्दरका सिकन्दर' प्रदर्शन भइरहेको थियो।
'हामी भेटेर कुराकानी गर्न भनेर सिनेमा हेर्न त गयौं, तर भेट भएपछि चाहिँ के बोल्ने, कसरी बोल्ने अलमल भयो,' अमुदाले सम्झिइन्।
अँध्यारो हलमा केही समय दुवै चुपचाप रहे। पर्दामा अमिताभ र रेखा मात्र बोल्दै थिए।
केही समयपछि भोजराजले हिम्मत गरेर सोधे, 'म त पहाडको मान्छे, तिमी मधेसमा हुर्कियौ। मसँग एड्जस्ट हुन सक्छौ?'
अमुदा केही बोलिनन्। उनले जबाफ दिनै सकिनन्।
सायद हलको अँध्यारोमा लाजले उनको गाला रातो भएको कसैले देखेनन् कि!
'फ्लिम चलुञ्जेल हामीबीच कुराकानी भएको त्यत्ति हो,' अमुदाले भनिन्।
'फ्लिम सकिनेबित्तिकै उनी रिक्सा चढेर फर्किहालिन्, मैले थप कुरा गर्ने मौकै पाइनँ,' भोजराजले थपे।
त्यसपछि पनि उनीहरूबीच खासै कुराकानी भएन। अमुदाको पारिवारिक सम्पन्नता र आफ्नो आर्थिक स्थितिबीच मेल हुन सक्दैन भन्ने सोच भोजराजको मनमा पहाड बनेर उभिएको थियो। मधेसमा सुखमा हुर्किएकी केटीले आफूसँग विवाह गरेपछि झेल्नुपर्ने सम्भावित दु:खबारे पनि भोजराज सजग थिए।
'हाम्रो खानपान, रहनसहन सबै अलग थियो। भोलि उनलाई गाह्रो हुन्छ कि भन्ने भयो,' भोजराजले भने, 'बुबाहरूसँग कुरा गर्न सजिलो थिएन। मैले दाइसँग सोधेँ। उहाँले केही फरक पर्दैन, एकचोटि सँगसँगै हिँड्न थालेपछि जिन्दगीको बाटो बन्दै जान्छ भनेर हौसला भर्नुभयो। तिमी केटी पक्षसँग कुरा चलाऊ, घरमा म भनुँला भनेर उहाँले मलाई सजिलो पारिदिनुभयो।'
दाइसँगको यस्तो सल्लाहपछि भोजराजले आँट गरे। र, अमुदालाई फोन गरेर फेरि एकचोटि भेट्ने प्रस्ताव राखे।
अमुदा तयार भइन्।
यसपालि उनीहरूले सिनेमा हलको साटो सार्वजनिक स्थल रोजे।
खुला ठाउँको उज्यालोमा उनीहरूबीच वर्तमान र भविष्यको खुलस्त कुराकानी भयो। उनीहरूले एकअर्काको गुण बुझे, अवगुण केलाए। जीवनको उद्देश्य साटे, जीवन बाँच्ने तौरतरिका सुनाए।
करिब डेढ घन्टा बसेर सिक्काको दुवै पाटो पर्गेलेपछि अमुदाले नै कुराकानीको बिट मारिन् र भनिन्, 'मलाई एड्जस्ट हुन गाह्रो छैन। चिन्ता नलिनू।'
उनीहरूले एकअर्कासँग यो पनि भने — जस्तोसुकै परिस्थिति स्वीकार्दै अघि बढ्नुपर्छ। परिस्थितिसँगै आफूलाई बदल्नुपर्छ तर त्यो परिस्थितिले तरंगित हुनुहुँदैन। यत्ति गर्न सके जिन्दगी होइन, जुनी-जुनी सँगसँगै बित्छ।
अमुदा र भोजराजको त कुरा मिल्यो, तर अमुदाको परिवारको मनमा शंकाको एउटा बादल बाँकी नै थियो।
पहाडका केटाहरूको सानैमा विवाह भइसकेको हुन्छ भन्ने उनीहरूले सुनेका थिए। भोजराजको पनि गाउँमै विवाह भइसकेको छ भन्ने उनीहरूलाई शंका थियो। यही शंका दूर गर्न भोजराजबारे सोधखोज गर्न थाले।
सबैतिरबाट ढुक्क भएपछि बल्ल उनीहरू राजी भए।
२०३८ साल मंसिरमा भेट भएका अमुदा र भोजराजको त्यसै वर्ष फागुन २ गते विवाह भयो।
जन्ती भोजराजकै क्वार्टरबाट गएको थियो। त्यस दिन भोजराजले लगाएको कालो टोपी अमुदा अझै सम्झन्छिन्।
'उहाँ कालो टोपी ढल्काएर आउनुभएको थियो,' अमुदाले यसो भन्दा भोजराज मुसुक्क हाँसे र जबाफ दिए, 'हाकिम थिएँ नि त!'
हामीले लुगाफाटो र गरगहनाको जोरजामबारे कुरा निकालेपछि भोजराजले आफ्नो पोल आफै खोल्दै गए। अमुदा हाँसिरहिन्।
'मसित एक पैसा थिएन। दाइले अलि अलि दिनुभयो। भिनाजुसँग पनि मागेको थिएँ। सबैसँग सरसापट लिएर साढे दुई तोला सुन किनेँ। तर त्यति ठूलो घरमा जन्ती जानुछ, गहना त अलि धेरै लानुपर्छ भनेर इष्टमित्रले उकासे,' भोजराजले भने, 'देखाउनकै लागि भए पनि मागेर गहना लगेँ। बिहेपछि सबै फिर्ता गरियो। साह्रै लाज भयो मलाई।'
भोजराजले यति भनेपछि अमुदाले उनलाई सजिलो पारिदिइन्, 'मैले त तपाईंलाई गहना ल्याउनुपर्दैन भनेकै थिएँ नि! उहाँले आफै ल्याउनुभएछ। त्यसैले फिर्ता गर्न मलाई कुनै गाह्रो भएन।'
जन्मघरको झकिझकाउ छाडेर साँघुरो सरकारी क्वार्टर पुगेपछि भोजराजले सोधेका थिए, 'ठूलो घरबाट सानो ठाउँमा आयौ, मन कुचुक्क भयो होला है?'
अमुदाले मुखले केही भनिनन्।
जबाफ उनको मनमै थियो — मन जित्ने घरले होइन, मायाले हो!
सँगसँगै जिन्दगी सुरू भएको दुई वर्षपछि नै भोजराजको काठमाडौं सरूवा भयो।
उनी काठमाडौं आए, अमुदा विराटनगरमै रहिन्।
उनको सरूवा यस्तो समय भएको थियो, जति बेला अमुदालाई सबभन्दा धेरै पतिको साथ चाहिन्थ्यो। उनको गर्भमा पहिलो सन्तान हुर्किरहेको थियो।
काठमाडौं आएको केही समयपछि नै भोजराज एउटा कार्यक्रमका लागि दक्षिण कोरिया गए। उनी कोरियामै छँदा यता छोरी जन्मिइन्।
'छोरी जन्मिँदा म उनको साथ दिइनँ। मलाई आज पनि जिन्दगीमा गुमाएको सबभन्दा सुनौलो घडी त्यही हो भन्ने लाग्छ,' भोजराजले भने, 'आमाबुबाका लागि सन्तान जन्मिनु जत्तिको ठूलो कुरा अरू केही हुन सक्दैन। तर जिन्दगीको त्यति महत्त्वपूर्ण घडीमा म आफ्नो परिवारसँग थिइनँ। आज पनि त्यो समय सम्झिँदा मलाई थकथकी लाग्छ।'
अमुदाले पनि त्यति बेलाको गुनासो थोरै पोखिन्, 'सबैका श्रीमान सँगै हुन्थे। आफ्नो मात्रै नहुँदा नरमाइलो त लाग्यो नि! सँगै भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो। तर मनमा उठेको यो कुरा मैले धेरै पछिसम्म उहाँलाई भनिनँ। मनमै राखेँ।'
'मनमा लागे पनि मुखले केही नभनिदिने! यही गुण छ उनको,' भोजराजले फुर्क्याए।
उनले छोरी जन्मिएको खबर न्वारनको दिन मात्र थाहा पाएका थिए। कोरियाबाट फर्किनेबित्तिकै काठमाडौंमा कोठा खोजेर श्रीमती र छोरीलाई यतै ल्याउने तयारीमा लागे।
करिब तीन महिनापछि अमुदा छोरीसहित काठमाडौं आइन्।
आउन त आइन्, तर फेरि पनि श्रीमान-श्रीमती लामो समय सँगै बस्न पाएनन्। २०४० सालमा सुदूरपश्चिममा गएको ठूलो बाढीपहिरोले क्षतिग्रस्त सिँचाइ आयोजना पुनर्निर्माणमा भोजराजलाई खटाइयो।
भोजराज सुदूरपश्चिम खटिएर जाँदा पनि अमुदा गर्भवती थिइन्। उनी उतै छँदा दोस्रो सन्तान जन्मियो।
'छोरा जन्मेको खबर आउँदा म दार्चुलामा थिएँ,' उनले भने, 'खबर पाएपछि दार्चुलाबाट डडेल्धुरा हिँडेँ र करिब तीन महिनापछि काठमाडौं आइपुगेँ। दोस्रो सन्तान जन्मिँदा पनि उसलाई जन्मिनेबित्तिकै काखमा बोक्ने जुन रहर थियो, त्यो चाहिँ पूरा भएन। त्यो रहर आजसम्म मिस हुन्छ।'
२०४३ सालपछि भने अमुदा र भोजराज सँगसँगै बस्न पाए। त्यसै वर्ष मन्त्रिपरिषद कार्यालयमा उनको पोस्टिङ भएको थियो। उक्त पोस्टिङपछि परिवारकै बीचमा बस्न पाए पनि आफ्नो व्यस्तताका कारण सोचेजति समय दिन नसकेको उनी बताउँछन्।
उनी मन्त्रिपरिषद कार्यालयमै हुँदा देशमा राजनीतिक परिवर्तन भयो। पञ्चायतबाट प्रजातन्त्रतर्फको संक्रमण कालमा उनी संविधान निर्माणदेखि प्रशासनिक सुधारसम्मका अनेक जिम्मेवारीमा व्यस्त रहे। बिहान ७ बजे घरबाट निस्केको मान्छे फर्किँदा राति १० बजिसकेको हुन्थ्यो।
उनको दिनचर्या सिंहदरबारको चौघेरामा खुम्चिरहेका बेला छोराछोरीको दायरा भने फराकिलो हुँदै थियो। उनीहरू हुर्कँदै थिए।
'म संसारकै यस्तो अभागी बाबु हुँ, जसले आफ्ना छोराछोरीलाई ओछ्यानमै हुर्किरहेको देख्यो,' भोजराजले थकथकाउँदै भने, 'उनीहरूको हुर्काइबढाइको सम्पूर्ण काम अमुदाले एक्लै गरिन्। बाबुका रूपमा छोराछोरी हुर्काउन नपाएको र अमुदालाई साथ दिन नपाएकोमा मलाई अत्यन्तै दु:ख लाग्छ।'
'मेरो जिन्दगीको सबभन्दा ठूलो रिग्रेट (पछुतो) नै यही हो। न छोराछोरी जन्मिँदा म सँगै थिएँ, न उनीहरू हुर्किँदा सँगै रहन पाएँ। उनीहरूलाई जति बेला आमाबाबुको सबभन्दा बढी साथ र मायाको खाँचो हुन्छ, त्यही बेला म उनीहरूसँग थिइनँ। अमुदाले नै उनीहरूलाई आमा र बाबु दुवै बनेर हुर्काइन्,' यसो भन्दै गर्दा भोजराजको अनुहारमा पश्चातापको राँको बलेको देखिन्थ्यो।
यति मात्र होइन, कहिलेकाहीँ बिदामा घरै बस्दा पनि उनी छोराछोरीसँग समय बिताउँथेनन्। न स्कुलको कुरा गर्थे, न साथीभाइको कुरा गर्थे। न उनीहरूको इच्छा सोधे, न उद्देश्यबारे चासो राखे। उनीहरूको दिन कसरी बित्यो भनेर पनि कहिल्यै सोधेनन्।
बिदामा घरै बस्दा पनि उनी छोराछोरीलाई पढ मात्र भनिरहन्थे।
'अहिलेजस्तो आँखा खुलिसकेको थिएन मेरो,' भोजराजले दु:खमनाउ गर्दै भने, 'म छोराछोरीसँग एकदमै कम कुराकानी गर्थेँ। कहिलेकाहीँ कुरा गर्दा पनि पढाइकै बारेमा मात्र सोध्थेँ। पढ्न जानेनन् भने पिट्थेँ पनि।'
'छोराछोरीले आफ्ना बाबुबाट जे अपेक्षा राखेको हुन्छ, त्यो उनीहरूले मबाट पाएनन्,' उनले भने।
भोजराजले पछुतो मान्दै आफ्नो मुटुको ढोका खोलिरहेका बेला अमुदाले पनि मुटु चसक्क हुने गरी भनिन्, 'म र छोराछोरी मात्र घरमा हुँदा एकदमै धेरै कुराकानी हुन्छ। हाँसोठट्टा हुन्छ। तर उहाँ (भोजराज) आएपछि हामी तीनै जनाको बोली ट्याप्पै हुन्छ। हाम्रो गफ आफै कम हुन्छ।'
यो क्रम भोजराज सरकारी जागिरमा हुँदासम्म चलिरह्यो।
उनले आफ्नो कामबाहेक परिवारबारे सोच्दै सोचेनन्, अमुदाले पनि छोराछोरी र उनीहरूको पढाइभन्दा पर केही सोचिनन्।
२०५५ सालमा सरकारी सेवाबाट अवकाश पाएपछिको समयलाई भोजराज आफ्नो जिन्दगीको 'दोस्रो इनिङ' भन्छन्।
कामबाट फुर्सद पाएका उनले त्यसपछि बल्ल श्रीमती र छोराछोरीसँग घुमफिरको योजना बुने। अवकाश पाएकै साल उनी पहिलोपटक परिवारलाई लिएर भारतको कन्याकुमारी घुम्न गए।
अमुदा, भोजराज र छोराछोरीको पहिलो सँगसँगै यात्रा त्यही थियो।
'मैले जिन्दगीभरि काम गरेँ। कामै गरेर जीवन बिताएँ। आज फर्केर हेर्दा ती काम मलाई खासै याद छैनन्। के-के गरेँ, खासै सम्झना हुन्न। महत्त्वपूर्ण काम मात्र सम्झिन्छु। अरूले त ती पनि सम्झिँदैनन्। तर श्रीमती र छोराछोरीलाई लिएर पहिलोपटक कन्याकुमारी यात्रामा बिताएको एक-एक पल मलाई सिनेमाका दृश्यझैं याद आउँछन्। त्यतिखेर हामी कति रमाएका थियौं, कति खुसी थियौं, मलाई सबै याद छन्। आज फर्केर हेर्दा सोच्छु, व्यावसायिक जीवनमा अल्झेको मजस्तो मान्छेले आफ्नो काम सँगसँगै घरपरिवार र आफूलाई माया गर्नेहरूसँग पर्याप्त समय बिताउनुपर्ने रहेछ। समयक्रममा मान्छेलाई खुसी रहन चाहिने त्यही मात्र रहेछ,' भोजराजले भने।
उनको यस्तो कुरा सुनेपछि मैले भनेँ, 'तपाईंले निजामती प्रशासकका रूपमा देश र समाजलाई ठूलो गुण पनि त लगाउनुभएको छ नि! ती पनि त महत्त्वपूर्ण काम नै हुन्, होइन?'
उनले यसको जबाफ दिएनन्। हो पनि भनेनन्, होइन पनि भनेनन्।
एकछिन मौन रहे र फेरि सन्तानकै कुरा निकाले, 'मैले बाबुका रूपमा सन्तानलाई राम्ररी बुझ्नै सकेको रहेनछु।'
रसिला आँखा झिमझिम गर्दै उनले अगाडि भने, 'मेरो छोराले त्यत्रो समयसम्म आफ्नो लैंगिक पहिचान कसरी लुकाएर राख्न सक्यो होला! मान्छेको निम्ति आफ्नो पहिचानभन्दा ठूलो केही हुन्न। मेरो छोराले त्यही पहिचान आफ्नो समाज, साथीभाइ, इष्टमित्र र आफ्नो बाबुसँग पनि लुकाएर राख्नुपर्दा उसलाई कति पीडा भयो होला! उसको पीडा सम्झिँदा अहिले पनि मेरो मुटु चसक्क हुन्छ।'
२०७४ सालको कुरा हो। एक साँझ उनका छोराले आमाबाबु दुवैलाई अगाडि राखेर आफ्नो लैंगिक पहिचान खोले र भने, 'म गे हुँ।'
त्यति बेला भोजराजले बल्ल बुझे — उनी आफ्नो छोरालाई तँ किन सामाजिक नभएको, किन मान्छेहरू भेट्न नगएको, किन साथी नबनाएको, किन एक्लै धुम्धुम्ती बसेको भनेर गाली गर्थे। तर उनले किन त्यसो गरे भनेर सोधीखोजी गरेका थिएनन्।
त्यो साँझ आमाबाबुका अगाडि आफ्नो लैंगिक पहिचान खोलेपछि छोराले यस्तरी सन्तोषको सास फेरे, उनको छाती यस्तरी हलुका भयो; उनको त्यति बेलाको अनुहारको चमक भोजराजले आज पनि बिर्सेका छैनन्।
'ऊ त हलुंगो भयो, म भने छोराले त्यत्रो ठूलो कुरा कसरी लुकाएर राख्यो होला भन्ने सोचेर बेचैन भएँ,' भोजराजले भने, 'त्यही छटपटीमा कान्तिपुर दैनिकमा लेख नै लेखेँ र एक बाबुका रूपमा आफ्नो पछुतोसहित छोराको लैंगिक पहिचान संसारका अगाडि खुलस्त राखेँ।'
उनले छोराप्रति जुन सकारात्मक भावका साथ त्यो लेख लेखेका थिए, पढ्नेहरूले पनि त्यस्तै सकारात्मक भाव दर्शाए।
'उहाँले त्यो लेखमा आफ्नो गह्रुंगो छाती ह्वांग पारिदिनुभयो,' अमुदाले भनिन्, 'त्यसले समाजलाई पनि हौसला भयो भन्ने मलाई लाग्छ।'
अहिले उनीहरूका छोरा खुसी छन्, छोराको प्रगतिले अमुदा र भोजराज पनि पुलकित छन्।
कुराकानीको आखिरीमा मैले दुवैलाई सोधेँ, 'सँगसँगै जिन्दगीको ४२ वर्षमा के परिवर्तन भयो त?'
जबाफमा अमुदाले भनिन्, 'पहिलेभन्दा अलि बढी समय दिनुहुन्छ। अरू त त्यस्तै हो। उहाँ पहिले पनि काममै व्यस्त हुनुहुन्थ्यो, अहिले पनि व्यस्तै रहनुहुन्छ। उहाँ काम गरिरहँदा म घरमा एक्लै हुन्छु। अब त एक्लै बस्ने बानी परिसक्यो।'
उनले यो पनि भनिन्, 'पहिल्यैदेखि धेरै कुराकानी नगर्ने भएकाले अहिले पनि खासै बोलचाल हुँदैन। फेरि मेरो खासै बोल्ने बानी पनि छैन। चाहिएको कुरा बोल्छु, नभए चुप्प लाग्छु।'
अमुदाको जबाफलाई निरन्तरता दिँदै भोजराजले भने, 'मैले मेरो व्यस्तताका कारण केही कुरा पक्कै गुमाएँ। उनले मेरो ताल देखेर होला, दुवै जना कामकाजमा लागे बच्चाहरू कसले हेर्छ भनेर आफू काम नगर्ने निधो गरिन्। उनले घरव्यवहार सम्हालेपछि म पनि काममा हराउँदै गएँ। त्यो बानी आज पनि उस्तै छ। एकछिन दुई जना गफ गरौं न भन्दा पनि गफै हुन्न। मेरो ७५ प्रतिशत समय लेखपढमै बित्छ। उनी पनि घरेलु काममै अल्झिरहन्छिन्।'
दुवै आ-आफ्नै धुनमा मग्न रहे पनि उनीहरूलाई एउटै कुराले जोडेको छ — जस्तोसुकै परिस्थिति स्वीकार्दै अघि बढ्ने, परिस्थितिसँगै आफूलाई बदल्ने तर त्यो परिस्थितिले तरंगित नहुने।
'यत्ति गर्न सके जिन्दगी होइन, जुनी-जुनी सँगसँगै बित्छ,' उनीहरूले एकै स्वरमा भने।
***