भ्रमण वर्ष २०२० को सफलताको कामना गर्दै सगरमाथा आधार शिविरसम्म साइकल यात्रामा निस्केका रञ्जीत साह शुक्रबार बिहान आधार शिविर पुगेका छन्।
३२ वर्षीय रञ्जीत १८ दिन ७ घण्टाको यात्रा तय गर्दै शुक्रबार बिहान ९ बजे सगरमाथा आधार शिविरसम्म पुगेका हुन्।
गत भदौ ९ गतेदेखि जनकपुरधामबाट उनी साइकल यात्रामा निस्केका हुन्।
यात्राको अनुभव सुनाउँदै उनले भने, ‘कतै साइकललाई बोकेर निस्किनु पर्यो भने कहीँ साइकललाई सहयात्री बनाउँदै यात्रा गरेँ।'
उनले अब सगरमाथा पुग्ने लक्ष्य बनाएको सुनाए।
उनले भने, ‘आधार शिविरको यात्रा तय पश्चात अब सगरमाथासम्म पुग्ने लक्ष्य तयारी गर्ने छु।’
जनकपुरधामदेखि साइकल यात्रामा निस्केका रञ्जीत खुर्कोट, दोलखा, कालिन्चोक, पुनः दोलखा हुँदै दोलालघाट, काठमाडौं, खुर्कोट, घुर्मी, ओखलढुंगा, सल्लेरी, खपरीखोला, लुक्ला, सोलुखुम्बू, थागदिंग हुँदै गन्तव्यस्थलसम्म पुगेका हुन् ।