विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दैलोकै रूपमा लिइन्छ, सोलुखुम्बु जिल्लाको लुक्ला।
सगरमाथा आरोहणका लागि त लुक्ला प्रवेशद्वार नै भयो, आधार शिविर र आसपासको यात्राका लागि पनि यही बाटो भएर पर्यटकहरू हिँड्नुपर्छ।
लुक्ला पुग्ने माध्यम दुइटा मात्र छ, एक हवाई यात्रा, अर्को पैदल।
लुक्लासम्म नै पुग्नलाई गाडीमोटर चल्ने बाटो छैन। प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार भएर यहाँका हिमालहरूसँग हाँसेर यहाँका नदीनालाहरूसँग नाचेर यहाँका हरियाली वनपाखा र चिसो मौसमसँग गाएर लुक्ला पुग्नुको मज्जा बेग्लै छ।
माघ महिनाको दिन थियो, मौसम प्रतिकूल भएकाले हवाई यात्रा भन्दा पैदल यात्रा गर्ने निर्णय गरें र भोलिपल्ट बिहान सबेरै उठेर सल्लेरीबाट आफ्नो यात्रा सुरू गरें।
माप्पे दूधकोशीको अधेरी बस्तीलाई छिचोल्दै भोक खोला र दूधकोशीलाई पार गर्दै खुम्बुपासाङ्गल्हामुको खरिखोला भन्ने ठाँउमा थौरै गाथ मार्न र चिया पिउन एउटा होटलमा गएँ। गुलियो चिया खाएर हुर्केको भएर होला नुनिलो चिया मेरा लागि नौलो थियो।
नुन चिया पिएर निस्किएँ, साँझको ६ बजिसकेको थियो। गाडीमोटर चल्ने बाटो पनि यहीसम्म मात्र थियो। गाथमा थोरै आराम र चियाको चुस्की लिई सकेपछि भने मेरो लुक्लाको पैदल यात्रा सुरू भयो।
अग्ला अग्ला पहाड चढ्नु र गोरेटो बाटोमा हिँड्नु मेरो जीवनको पहिलो भोगाइ थियो। अग्ला अग्ला पहाड, गोरेटो बाटो अनि घाँटीमा कोलो झुण्डाएर पिठ्युँमा नुन, तेल र खाद्य वस्तु बोकेर लस्करै हिँडेका खच्चड देख्दा लाग्थ्यो, कुनै नौलो संसारमा त आइन। यात्राकै क्रममा साना साना सेता दाना मानौं स्वर्गबाट नै कसैले मोतीका दाना खसाएको जस्तै गरी हिउँ पर्न थाल्यो।
हिउँको स्पर्श पनि मेरा लागि नौलो नै थियो। हिउँले पुरेका बाटा छिचोल्दै छिचोल्दै सोही दिन करिब-करिब ९ बजे पैया बास बस्न आइपुगें र भोलि पल्टै बिहान सबेरै लुक्लाका लागि यात्रा अघि बढाएँ।
वर्षाको पानीमा रुझ्दै, नुन चिया पिउँदै, कहिले उकाली, कहिले ओह्राली गर्दै सुस्केरा हाल्दै अन्तत: मेरो गन्तव्यस्थल लुक्लामा १ बजे आइपुगें। केहीबेर हाइकरसइन होटलमा खाना खाएर आराम गरें।
लुक्ला प्रदेश न. १ सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्गल्हामु गाउँपालिकामा अवस्थित एक सुन्दर सहर हो।
अधिकांश शेर्पा जातिका मानिस बसोबास गर्ने यस ठाउँमा प्राय:ले बुद्ध धर्म मान्ने गर्दछन्। कोङदेभरि हिमाल, लुक्ला चेन, खुम्बीयुला हिमालले घेरिएको सानो समथल क्षेत्रमा फैलिएको छ लुक्ला बजार।
संसारकै १० जोखिमयुक्त विमानस्थल मध्य तेन्जिङ हिलारी लुक्ला विमानस्थल पनि यही अवस्थित छ। दुई हजार आठ सय ६० मिटर उचाइमा रहेको लुक्लाको मौसम भने क्षणक्षणमा बदलिन्छ।
छिनमै हुस्सु लाग्ने, छिनमै घाम लाग्ने,कहिले छिनमै पानी पर्ने लुक्ला मौसमका खास विशेषता हुन्।
प्राय: बाह्रै महिना चिसो मौसम हुने यो लुक्ला बजार वरिपरि सानो क्षेत्रमा तरकारी खेती गरेको पनि देख्न सकिन्छ।
खाना र बसोबास गर्नका लागि भने अलिक लुक्ला महँगो छ। लुक्लामा बसोबासको असुविधा हुँदैन। स्तरीय मात्रै होइन, सबैलाई उपयुक्त हुने थरिथरि होटल पनि छन्।
घरका छानामा बाक्लै हिउँ परेको दृश्य र हिमालका चुचुरोमा लागेका घामका किरण देख्दा शरीरको थकान नै भुलिन्छ।
पर्यटकहरू धेरै संख्यामा भित्रिने यस ठाउँका मानिसको मुख्य पेशा भने पर्यटन व्यवसाय हो।
सबभन्दा बढी पर्यटक अष्ट्रेलिया, युके, जर्मन, अमेरिका, स्पेन, फ्रान्स, क्यानडा, भारत, चीन, इटाली, मलेसिया, जापना, थाइल्याण्ड, पोल्याण्ड, स्वीजरल्याण्ड, नेदरल्याण्डलगायतका देशबाट यहाँ आउने गर्छन्।
प्रकृतिको सुन्दरतासँगै कृषि क्षेत्रलाई पनि सँगसँगै विकास गर्नु आजको आवश्कता हो।
खुम्बु क्षेत्रमा एग्रोटुरिजम अवधारणालाई आत्मसात गर्दै पर्यटन र कृषिको विकास गर्न सके अझ राम्रो हुनसक्छ।
तल्लो खुम्बु क्षेत्रमा किवी, काउली, बन्दा, टमाटर, सिमी, मुला, साग लगाउन सकिन्छ भने माथिल्लो खुम्बु क्षेत्रमा उच्च घनत्वको स्याउ लगाउन सकिन्छ। चौरी-गाई पालेर चिज, कुराउनी, छुर्पी बेच्ने प्रचलन पनि रहिआएको छ, खुम्बु क्षेत्रमा।
लुक्ला घुम्न जानुहुन्छ भने आफू हिमाली भेगको यात्रामा निस्किन लागेको सोचेर तयारी गर्नुपर्छ।
लुक्ला बजार वरपरका डाँडामा सधैं हिउँ रहन्छ , त्यसैले मौसम चिसो हुन्छ। शरीरमा लगाउन बाक्ला लुगा, स्पोर्टस् जुत्ता वा ट्रेकिङ जुत्ता, ट्राउजर, टोपी, बाक्ला मोजा बोक्न बिर्सनु हुँदैन।
साथै, आफूले खाने गरेको नियमित औषधि भए बोक्नैपर्छ। त्यति मात्र होइन, सामान्य प्रकारका जस्तै टाउको दुख्दा खाने, झाडापखाला लाग्दा खाने, पेनकिलर, भिक्स, ग्यास्ट्रिक कम गर्नेजस्ता औषधि बोक्दा फाइदा हुन्छ। पूर्वनिर्धारित समयमै लुक्लाबाट फर्किन गाह्रो हुन्छ।
कतिपय अवस्थामा त हप्तौं पनि उडान नहुन सक्छ। त्यसैले लुक्ला यात्राका लागि अतिरिक्त खर्चको जोहो गर्नुपर्छ। यससँगै लुगाकपडा तथा अन्य सामान पनि पर्याप्त मात्रामा बोक्नैपर्छ।
त्यसैले मानसिक रूपमा पनि तयार रहनुपर्छ। दुई दिनको लुक्ला बसाइँपछि मौसम मज्जाले खुलेकाले यस पटक भने म हवाई यात्रा गरेर पुन: फाप्लु विमालस्थलमा अवतरण गरें।
प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार भएर त्यहाँका हिमालहरूसँग हाँसेर,नदीनालाहरूसँग नाचेर, हरियाली वनपाखा र चिसो मौसमसँग गाएर लुक्ला घुमी फर्केर आउँदा लाग्छ स्वर्गबाट फर्किएर आएँ। मेरा लागि लुक्ला यात्रा सधैं अविस्मरणीय हुनेछ, मिस यु लुक्ला!